
१बमको दर्शन
२यू्रोपमा भईरहेको आन्दोलनबाट नेपालका कम्युनिस्टले सिक्नुपर्ने शिक्षाहरु
३कार्यकर्ता नीतिबारे
४मातृभक्षणवादको नयाँ सिद्धान्त – २
५मातृभक्षणवादको नयाँ सिद्धान्त
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
१०नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
११वैचारिक संघर्षबारे
१२जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
सर्जन पाण्डे
(पहिलो भागमा हामीले बास्तोलाले आफ्नो लेखमा उठाएका केही मूलभूत वैचारिक पक्षलाई हेर्यौँ । त्यसबाट बास्तोलाले प्रतिपादन गरेको मातृभक्षणवादबारे पाठकहरूलाई मोटामोटी जानकारी प्राप्त भयो होला भन्ने लेखकको अपेक्षा छ । यस भागमा मूलतः हामी विचारसँगै व्यवहारलाई समेत जोडेर हेर्नेछौँ । त्यस हिसाबले हेर्दा यो लेख अघिल्लो भन्दा भिन्न देखिन सक्नेछ, तर यो पहिलोबाट अलग नभई त्यसैको परिपूरक भएको समेत अवगत गराउँदछु ।)
बास्तोलाले आफ्नो लेखमा जसरी आफूलाई मालेमावादको सच्चा अनुयायी भएको दाबी गर्न कुनै कसूर बाँकी राख्नुभएको छैन ठीक त्यसरी नै नेकपा (बहुमत) का कार्यकर्तालाई बदनाम गर्न पनि कुनै कसूर बाँकी राख्नुभएको छैन । उहाँको यही तरिकाले हामीलाई वास्तविकताहरू बाहिर ल्याउन र यो दोस्रो भाग लेख्न प्रोत्साहन गरेको छ । सुरुमा हामी आफूलाई मार्क्सवादको सच्चा अनुयायी दाबी गर्ने बास्तोला आफैँले दर्जनौंपटक दलाल पूँजीवादका प्रतिनिधि भनेका शेर बहादुर देउवा लगायतसँग आफ्नो तुलना र दलाल पूँजीवादी पार्टीको आरोप लगाइएका पार्टीहरू — संसदीय पार्टीहरू — सँग नेकपा (बहुमत) को तुलना गर्नुका कारणहरूको खोजी गर्नेछौँ । हाम्रो आशय कसैसँग तुलना गर्नु हुँदैन भन्ने होइन तर जसरी बास्तोलाले एउटै डालोमा हालेर हेर्नुभएको छ, त्यसको वस्तुनिष्ठ छानबिन हुनै पर्छ ।
नेकपा (बहुमत) लाई बास्तोलाले बुर्जुवा पार्टीको श्रेणीमा राखेर बुर्जुवा पार्टीहरूमा जे भइराखेको छ त्यही बहुमतमा भएको कुरा आरोप लगाउनु भएको छ । यस्तो आरोपको खण्डन व्यवहारले अझ राम्रो तरिकाले दिन सक्छ । यसलाई विचार र व्यवहार दुवैको कसीमा जाँचेर हेर्नुपर्ने हुन्छ । आउनुहोस् परिस्थितिलाई हेरौँ ।
मुख्य गरी कांग्रेस, एमाले र नेकपाले गत फागुन २१ को चुनावमा लज्जाजनक हार बेहोरेका छन् । परिणामस्वरुप ती पार्टीहरूमा नेतृत्व परिवर्तनबारे जबर्जस्त प्रश्न उठिरहेको छ । तर मुख्य नेतृत्वमा भएका सबै नेताले नेतृत्व परिवर्तनको कुरालाई अस्वीकार गरिरहेका छन् (कांग्रेसको स्थितिमा केही फेरबदल आएपनि हामी यसै कुरालाई आधार मानेर चल्नेछौ, किनभने शेर बहादुर देउवा र गगन थापा नेतृत्वका दुईवटा कांग्रेस अस्तित्वमा आएका छन्) । ती पार्टीहरूको आन्तरिक स्थिति मूलभूत रूपले यही हो ।
तर हाम्रोमा स्थिति के हो त? चुनावमा हार बेहोरेको स्थिति पनि होइन, बहिष्कारमा सफलता हासिल गर्न नसकेको कारण नेतृत्व परिवर्तनको माग भएको पनि होइन । राष्ट्रिय सम्मेलनबारे त हाम्रो केन्द्रीय समितिको बैठकले तीन–तीन पटक मिति तोकेरै निर्णय गर्यो । त्यो पनि बास्तोला समेतको कुनै असहमति बिना – अर्थात् सर्वसहमतिले । तर तीनैपटक बास्तोला एक्लैले मनपरी ढंगले बिनाकारण सम्मेलन सार्नुभो ! आफैँले गरेको निर्णय बास्तोला आफैँले उल्लंघन गर्दै हिँड्नु भो ! यो सन्दर्भ अन्य कुनै पार्टीसँग मिल्छ र? बिल्कुल मिल्दैन । हाम्रोमा स्थिति बुर्जुवा पार्टीको भन्दा ठीक उल्टो छ ।
यसका बाबजुद जसलाई बास्तोला स्वयंले दर्जनौं पटक बुर्जुवा दलालका प्रतिनिधि घोषणा गर्नुभएको थियो – उनीहरूसँगको तुलना अझ रोचक छ । यो यसकारणले पनि रोचक छ कि एकातर्फ सच्चा मार्क्सवादी भएको दाबी र अर्कोतिर दलाल पूँजीपतिहरूसँग आफ्नो तुलना ! रोचक त यसकारणले पनि छ कि एउटा साम्राज्यवादी मुलुकको खुँखार खुफिया एजेन्सीसँग भेटघाट पश्चात् सम्मेलनबारे केन्द्रीय समितिको बैठकले गरेको सर्वसहमतिको निर्णयलाई एकल ढंगले पटकपटक उल्ट्याइन्छ । यदि यसो हुदैनथ्यो भने राष्ट्रिय सम्मेलनको निर्णय केही समय स्थगित गर्नुलाई आपत्ति जनाउनु पर्ने कुनै कारण थिएन । बास्तोलाको यो हबिगतबाट परिचित भइसकेको केन्द्रीय समितिले उहाँबाट एकल ढंगले रातबिरात जारी हुने सर्कुलरको कुनै प्रवाह गरेन । यसरी तेस्रो पटक स्थगित गर्न खोजिएको सम्मेलन आफूबिना नै सम्पन्न भएको देखेर रन्थनिएका बास्तोलाले नेकपा (बहुमत) का कार्यकर्तालाई तथाकिथत मातृभक्षणको आरोप लगाउनुभो । यसबाट उहाँको राजनैतिक चरित्र उदांगो मात्रै भयो ।
अगाडि बढौँ, बास्तोला आफ्नो लेख मार्फत हाल देश — जम्मा चारजना शेर बहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल र स्वयं बास्तोला — साम्राज्यवादबाट मातृभक्षणको सिकार भएको दाबी गर्नुहुन्छ । यहीँनेर स्पष्ट हुनु आवश्यक छ कि नेपालको राज्यव्यवस्था दलाल पूँजीपति भएको र उल्लेखित तीनै जना दलाल पूँजीवादका नेपाली पक्षपोषक भएको कुरा स्वयं बास्तोलाले पटक–पटक दोहोर्याउँदै आएको कुरा हामी सबैको मानसपटलमा ताजै छ, र यो नै यथार्थ हो । तर बास्तोलाको असलियत पनि यहीँनेर प्रकट हुन्छ कि दलाल पूँजीवादका पक्षपोषकसँग आफ्नो उही स्तर कायम गरेर त्यसको विरोध गर्ने क्रान्तिकारी शक्तिलाई बास्तोलाले मातृभक्षण जस्तो तुच्छ बुर्जुवा आरोप लगाइराख्नु भएको छ । अर्थात्, सजिलो भाषामा बुझ्दा दलाल पूँजीवादको संरक्षण नै मातृसंरक्षणवाद हो; त्यसको विरोध गर्नु मातृभक्षणवाद हो । यसो गरेर उहाँले आफूलाई वर्तमान दलाल पूँजीवादको पक्षपोषक घोषणा गर्नुहुन्छ । साम्राज्यवादका एजेन्टहरूको (दलाल) विरोध गरेवापत हामीलाई यसप्रकारको उपाधि दिइन्छ भने हामीलाई कुनै आपत्ति छैन । हामी अझै स्पष्ट र चर्को स्वरले भन्छौँ दलाल पूँजीवाद मुर्दावाद !
अझ अगाडि बढौँ र घटनाक्रमलाई एकपटक सरसर्ती हेरौँ । फागुन २१ गते आयोजित संसदीय चुनावमा पार्टीले बहिष्कार गर्ने नीति अख्तियार गर्यो । त्यसको निम्ति बास्तोलाकै जोडबलमा फागुन ५ गते नै देशव्यापी हड्ताल आह्वान गरियो । (त्यसको उद्देश्य र परिणामबारे छुट्टै चर्चा गरिनेछ ।) पार्टीले हड्ताल आह्वान गरेकै दिन बास्तोला साम्राज्यवादीको एक खुँखार खुफिया एजेन्सीको एजेन्टलाई भेट्न जाँदा पक्राउ परेको कुरा सबैलाई अवगत नै छ । बास्तोला पक्राउ परेपछि मात्रै पार्टीले उक्त भेटघाटबारे जानकारी पाएको थियो । बास्तोला हिरासत मुक्त भएपछि, उक्त भेटघाटको परिणामस्वरुप, पार्टीको केन्द्रीय समितिले गरेको राष्ट्रिय सम्मेलनको निर्णय पहिलो पटक स्थगित गरिएको थियो । (यो भनिरहनु आवश्यक छैन कि पार्टीको दोस्रो पूर्ण बैठकपश्चात् नै पार्टीमा राष्ट्रिय सम्मेलनबारे पटकपटक मौखिक सहमति हुँदै आएको थियो, र प्रत्येक पटक बास्तोलाले त्यसको उल्लंघन गर्दै आउनु भएको थियो ।) त्यसपश्चात् केन्द्रीय समितिले मिति तोकेर निर्णय गरेका दुईवटा राष्ट्रिय सम्मेलनबारे निर्णयमा बास्तोलाको मनपरी रवैया कायम रह्यो । पार्टीले सर्वसम्मत ढंगले गरेका निर्णय विभिन्न बाहानामा मनपरी ढंगले रातारात सर्कुलर जारी गरेर उल्ट्याइयो । पार्टीका सूचना बेचेको आरोपमा कारबाही परेका पार्टीका भूतपूर्व सदस्यलाई कारबाही अनुमोदन भएको १५ दिन नपुग्दै एकल ढंगले अनुमोदनको सर्कुलर जारी गरिएपछि सम्मेलनबारे उहाँको रवैया झन् स्पष्ट भयो । यसै परिवेशमा सम्मेलनको तयारीबारे चितवनमा चल्दै गरेको अध्यक्षमण्डलको बैठक छोडेर हिँडेका बास्तोलाद्वारा काठमाडौं पुगेर एकाएक पार्टीका नेताहरुलाई कारबाही सहित तेस्रोपटक सम्मेलन स्थगितको सर्कुलर जारी गरियो । अब बास्तोलाले यस कुराको जवाफ दिऊन् कि साम्राज्यवादबाट परिचालित को हो? के हामीलाई आरोप लगाउनाले मात्रै सच्चा मार्क्सवादी भइन्छ? हामीलाई लगाइएको आरोप पुष्टि गर्ने कष्ट बास्तोलाले किन उठाउनुभएन? के यो घटनाक्रम रोचक छैन त? पार्टीको जानकारी बिना अमूक साम्राज्यवादी खुफिया एजेन्सीसँग भेटघाट पश्चात् मनपरी ढंगले (पहिलो पटक सम्मेलन स्थगित गर्दा तयारी अभावको कारण भनेर केन्द्रीय समितिलाई आश्वस्त पारिएको थियो, त्यसमा केन्द्रीय समिति सहमत भएको पनि थियो । तर भित्रि उद्देश्य बुझ्न सकेको थिएन ।) तीन–तीन वटा सम्मेलन कसरी स्थगित हुन्छन्? के यो संयोग मात्रै हो? यस्ता रहस्यमय भेटघाट गर्नु, देशभित्र आफूलाई शेर बहादुर देउवा लगायत प्रतिक्रियावादीसँग निकट देख्नु, पार्टीको क्रान्तिकारी शक्तिलाई तुच्छ प्रकारका बुर्जुवा आरोपहरु लगाउनु, पार्टीको सम्मेलन पटक–पटक स्थगित गर्नु र पार्टीलाई अनिवार्य रुपमा फुट तर्फ लैजानु अवश्यपनि संयोग होइनन् । हामीलाई यसमा कुनै शंका छैन कि बास्तोलाको गद्दारीका परिणामहरु हुन् । मातृभक्षणको शब्दजाल बास्तोलाले आफ्नो अवसरवादी र संशोधनवादी चेहरा ढाक्न तयार गरेको पर्दा मात्रै हो । तर अब यो च्यातचुत भइसकेको छ ।
मातृभक्षणबारे बास्तोलाको रवैयाबारे परिचित भइसकेपछि हाम्रो ध्यान बास्तोलाले उल्लेख गरेको “नवऔपनिवेशिक विश्वमा…..आर्थिक लाभका लागि षड्यन्त्र” मा जान्छ; जसबाट बास्तोलाको अर्को भेद खुल्नेछ । यो कुरा सहि नै हो कि नवऔपनिवेशिक विश्वमा आर्थिक लाभका लागि अनेक षड्यन्त्रका श्रृंखलाहरू चलिराखेका छन् । साम्राज्यवादले एजेन्टहरू खरिद गर्छ । ती एजेन्टहरूले सारा चिज — पार्टी र देश समेत — लाई नजानिँदो ढंगले खोक्रो पारिदिन्छन् । आजका दिनमा यस्ता षड्यन्त्रहरूबाट क्रान्तिकारी पार्टीहरू समेत अछुत रहन सकेका छैनन् । तर त्यसको पनि एउटा के ज्ञारेन्टी छैन भने आर्थिक लाभका लागि त्यस्तो षड्यन्त्रमा केवल माथिल्लो स्तरमा पुगेको व्यक्ति मात्र सहभागी नहोस् । यदि त्यस्तो हुन्थ्यो भने यसलाई निःसन्देह एउटा सुखद् पक्ष मान्न सकिन्थ्यो । जब बास्तोलाले हामीलाई यो रहस्योद्घाटन गरिदिनुहुन्छ भने हामीलाई पनि यस कुराको जाँचबुझ गर्ने अधिकार छ कि आर्थिक लाभका लागि षड्यन्त्र गर्नेहरूप्रति उहाँको रवैया के छ? कतै बास्तोला आफैँ यसै षड्यन्त्रको हिस्सेदार त बन्नुभएको छैन? यो कुराको जाँचबुझ गर्ने हामीलाई पूरा अधिकार छ र हामीले त्यसो गर्नु आवश्यक पनि छ । यसका निम्ति हामीले कम्तीमा नेकपा (बहुमत) र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी (माओवादी) बीच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गठन पश्चातका घटनाक्रमहरुमा एक नजर लगाउनुपर्ने हुन्छ — जहाँ स्वयं बास्तोलाको रहस्यमय स्वीकारोक्ति पाउनेछौँ । पार्टी एकतापश्चात् बास्तोला पार्टी प्रवक्ता चुनिनु भएको थियो र पार्टी वरियतामा तेस्रो स्थानमा हुनुहुन्थ्यो । त्यसताका गोप्य ढंगले भारत गई त्यहाँको खुँखार खुफिया एजेन्सीसँग भटघाट गर्नुभो ! भेटघाट गरेर आइसकेको केही समयपछि मात्रै पार्टीले अन्यत्रै स्रोतबाट जानकारी पायो । भेटघाटबारे बैठकमा कुरा उठेपछि, पार्टी र आन्दोलनको आर्थिक व्यवस्थापनको लागि भेटघाट गरीएको कुरालाई उहाँ आफैँले स्वीकार गर्नुभयो र बास्तोला बैठकमा आत्मआलोचित हुनुभयो । त्यतिन्जेलसम्म बास्तोलाप्रति इमान्दारिताको छवि विद्यमान थियो र पार्टी एकता समेत भर्खर भएको कारण पार्टीले कडा कदम चालेन । पार्टीले आर्थिक लाभका लागी खुफिया एजेन्सीसँग भेट्नु गलत भएको निष्कर्ष त निकाल्यो तर कार्यकर्ताको मनोविज्ञान समेत ख्याल गर्दै शङ्कास्पद ढंगले भेटघाट गर्न नहुने, कुनैपनि भेटघाट गर्नुअघि पार्टीलाई अग्रिम जानकारी गराउनुपर्ने लगायतका नरम सुझाव दियो । तर त्यस भेटघाटको परिणाम २०८१ को साउनमा हामीले भोग्यौँ; पार्टी पुनः विभाजनको स्थिति बन्यो । हामी यहाँ यो कुरा भनिरहेका पनि छैनौँ कि कुनै अमूक खुफिया एजेन्सीले हाम्रो पार्टी फुटायो; यो भन्नु नितान्त गलत हुनेछ । यो कुरा नै सहि हो कि पार्टी आन्तरिक कारणले गर्दा नै विभाजनको स्थितिमा पुग्यो । स्वाभाविक रूपले आन्तरिक कारण नै प्रमुख हुन्छ तर त्यो भेटघाटको भूमिका पनि महत्वपूर्ण छ भन्ने कुरालाई कुनैपनि हालतमा उपेक्षा गर्न सकिँदैन । यहाँ हाम्रो मूल उद्देश्य पार्टी विभाजनमा कसको भूमिका के थियो भन्ने प्रमाणित गर्नु नभई बास्तोलाले भनेको “नवऔपनिवेशिक विश्वमा…..आर्थिक लाभका लागि षड्यन्त्र” मा को सहभागी भयो भन्ने कुरा प्रमाणित गर्नु हो । मलाई लाग्छ यो कुरा स्पस्ट भयो होला ।
पार्टी विभाजनको प्रश्नलाई यहीँ नछोडी हामी प्रसंगवश त्यस प्रश्नमा प्रवेश गर्छौँ । पार्टी विभाजनमा नयाँ शब्द प्रस्ताव गरियो, विभाजन नभन्ने यसलाई पार्टी एकता असफल भन्ने भनियो । सोही कारणले पार्टी एकता असफल भएको कुरामा नेकपा (बहुमत) पुनः ब्युताइयो । यो कुरा पनि ध्यान दिनयोग्य छ कि पार्टी विभाजन भएको छ, तर पार्टी एकता असफल भनियो किन? हामी यसबारे पनि घोत्लिनैपर्छ ।
बुझ्न सजिलोका निम्ति हामी दुइवटा परिस्थितिलाई हेरौँः पहिलो देशभित्र कम्युनिस्टहरू एकताबद्ध हुँदैनन् उनीहरू फुट्न मात्रै जान्दछन् भन्ने भाष्य र क्रान्तिकारी शक्ति एकताको आवश्यकता । दोस्रो, साम्राज्यवादी चाटुककारहरूले चलाएको नियोजित हल्ला । कम्युनिस्टहरू फुट्न मात्रै जान्दछन् भन्ने भाष्यको सकारात्मक अर्थमा कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ भन्ने पवित्र भावना पनि छ; सर्वहारा, श्रमिक, किसान र उत्पीडित वास्तविक जनताको चाहना यही हो । नेपालमा फुटको श्रृंखला बढी नै चलिराखेको छ र कम्युनिस्ट आन्दोलन निकै कमजोर बन्दै गएको छ । यसैकारण र जनता र कार्यकताको भावना पनि एकता रहेको हुनाले क्रान्तिकारी कम्युनिस्टहरूबीच एकताको आवश्यकता छ । यो पहिलो परिस्थिति भयो । अब दोस्रो परिस्थिति पनि हेरौँ । देशभित्रका प्रतिक्रियावादी दलाल पूँजीवादी र साम्राज्यवादीहरू कम्युनिस्टहरूको एकता चाहँदैनन् । उनीहरू एकता हुन नदिन र कम्युनिस्टहरूलाई जनताको नजरमा बदनाम गराउन यस्ता अनेकौँ भाष्य निर्माण गरिरहेका छन्; उनीहरू एकता भन्ने शब्द सुन्न पनि चाहँदैनन् । कम्युनिस्ट पार्टीहरूको एकतालाई आफ्नो लुटका निम्ति खतरा देख्छन् । यसैकारण उनीहरू सधै नै मार्क्सवाद असफल भएको भन्ने भाष्य निर्माण गरिरहन्छन् । हामीले देख्दै आएका छौँ कि पेरिस कम्युन पराजित हुँदा होस् वा प्रथम इन्टरनेसनल विघटन हुँदा वा सोभियत संघ विघटन हुँदा नै किन नहोस्, बुर्जुवाहरूले मार्क्सवाद असफल भएको देखाउन विभिन्न शब्दजालहरूको रचना गर्ने गरेका छन् । सोभियत संघको विघटनदेखि उनीहरूले झन् चर्का–चर्का स्वरमा कम्युनिस्ट पार्टी र शासन व्यवस्था असफल भएको हल्ला मच्चाइरहेका छन् । ’मार्क्सवाद महत्वहीन‘ भएको देखि ‘इतिहासको अन्त्य भएको’ भएकोसम्मका दुन्दुभी बजाइरहेका छन् । शब्दमा जे भनेपनि सारमा मार्क्सवाद र कम्युनिस्ट पार्टी असफल भएको घोषणा, यो कुनै नयाँ परिघटना होइन । बुर्जुवाहरुको साख्खै भाई संशोधनवादले पनि विभिन्न तरिकाले ‘मार्क्सवाद असफल भएको’, ‘मार्क्सवाद पुरानो भएको’ लगायत भाष्य निर्माण गर्दै आएको कुरा कसैबाट लुकेको छैन । बर्नस्टिनदेखि ख्रुश्चेव हुँदै पछिल्लो समय भारतमा भूपतिसम्म आइपुग्दा संशोधनवादले प्रत्येकपटक नयाँ–नयाँ स्वरुपमा मार्क्सवाद असफल भएको घोषणा गर्ने असफल प्रयास गर्दै आएको छ । नेपालमा बास्तोलाले पनि यही काम गरिरहनु भएको छ । अर्थात् कम्युनिस्ट पार्टी एकता असफल भएको घोषणा ! समग्रमा कम्युनिस्ट पार्टी असफल भएको घोषणा ! र अन्ततः मार्क्सवाद नै असफल भएको घोषणा ! विचारमा संशोधनवादलाई भित्र्याएर मार्क्सवाद असफल भएको घोषणा पनि गरिसकिएको छ । के यो बास्तोला स्वयंले भनेजस्तै षड्यन्त्रको दाउ त थिएन? अन्यथा हाम्रा महान् नेता महाशय बास्तोला र साम्राज्यवादीहरूको यो गुप्त एकता कसरी सम्भव भयो? अमूक खुफिया एजेन्सीसँग भेटघाटको पृष्ठभूमिमा भएको विभाजन असफलताको पर्याय किन बन्यो? यदि एकता नै असफल भएको हो भने लगभग १२ महिनासम्म नेकपा (बहुमत) लाई गायब पारियो किन? अनेक अनुत्तरित प्रश्नहरू खडा हुन्छन् । यी अनुत्तरित प्रश्नहरूको जवाफ स्वयं बास्तोला मात्रै दिन सक्नुहुन्छ । तर उस्तै संयोगमा कम्तीमा दुई पटक पार्टी विभाजन भएको छ, एकपटक असफलताको कारण र अर्कोपटक मातृभक्षणको कारण ।
हामीलाई रहस्यवादी भएको आरोप लगाउने बास्तोलाले जवाफ दिऊन् कि रहस्यवादी को हो?
हामीले देखेका छौँ कि मार्क्सवादमाथि हमला गर्नेहरूले यस्तो असफलताको पटकपटक घोषणा गर्दै आएका छन् । तर दुःखद् कुरा के छ भने उनीहरू नै असफल भएका छन् । प्रथम इन्टरनेसनल विघटित भयो तर असफल भएन, बरु पुरानो स्वरुपलाई विघटन र उच्च स्तरको नयाँ संगठनात्मक स्वरुपको विकासका रुपमा लिइयो । पेरिस कम्युन असफल भएन र हुँदैन पनि । सोभियत संघ पनि असफल भएन र हुँदैन पनि । चीनमा सञ्चालित सांस्कृतिक क्रान्ति पनि असफल भएन र हुँदैन पनि । आफ्नो विघटनका बाबजुत पनि ती सबै नयाँ उच्च स्तरको स्वरुपमा विकसित भए र भइरहने छन् । आफैँले निर्माण गरेको प्रथम इन्टरनेसनल विघटन हुँदा मार्क्सको धारणा के थियो भन्ने कुरा के हाम्रा महान् मार्क्सवादीलाई थाहा थिएन होला र? थाहा थियो भने पार्टी विभाजनलाई बुर्जुवाहरुको बोलीमा लोली मिलाउँदै एकता ‘असफलता’को पाइजामा किन लगाइयो? एकता असफल भन्नुको मतलब के हो? पार्टी एकता भएर एक वर्ष दुई महिना भन्दा बढी समयसम्म कायम रह्यो । पार्टी नेतृत्व नपाएर छटपटिएका बास्तोला मात्रै यो अवधिलाई भुसुक्कै बिर्सन सक्नुहुन्छ । एकतापछि विभाजन हुनु अनौठो होइन तर एकता नै नभएजस्तो गरी असफलताको बिल्ला भिराउनु, स्वाभाविक छ कि साम्राज्यवादकै सेवा हो ।
अन्तिममा, माओको यो भनाई उल्लेख गरेर लेख टुङ्ग्याउनु उपयुक्त हुन्छ ।
“What are you going to do if revisionism appears in the Central Committee? This is highly likely. This is the greatest danger.” अर्थात्, “केन्द्रीय समितिमा संशोधनवाद देखा पर्यो भने तपाईंहरू के गर्नुहुन्छ? यस्तो हुने सम्भावना धेरै नै छ । यो नै सबैभन्दा ठूलो खतरा हो ।”
प्रतिक्रिया