नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का बारेमा कम्युनिस्ट र वामपन्थी वृत्तमा बहस शुरु भएको छ । मुलतः पछिल्लोक्रममा तत्कालिक अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र बासतोलाले गत वैशाख ९ गते उक्त पार्टीका कृष्ण धमला र गुणराज लोहनीलाई निलम्बन गर्ने, भदौ १२ गते फेरि गुणराज लोहनीलाई साधारण सदस्य पनि नरहने गरी निलमबन गर्ने भदौ १५ गते उदय चलाउनेलाई निलम्बन गर्ने जस्ता हर्कतले कम्युनिस्ट था वामपन्थी वृत्तलाई भ्रम र आशंका दुवै सिर्जना भएको थियो । भदौ १५ गते केन्द्रीय समितिको भर्चुअल पूर्ण बैठकले धर्मेन्द्र वास्तोलालाई साधारण सदस्यसमेत नरहने गरी कार्वाही गरेको विज्ञप्ती सार्वजनिक भएपछि बहुमत फुट्यो भन्ने समाचार आउन थाल्यो । वास्तवमा पार्टी फुटेको थिएन । केन्द्रीय समितिको अत्याधिक बहुमत सदस्यले धर्मेन्द्रलाई हटाएको थियो । फुटको हाउगुजीले सताएको नेपालको राजनीतिमा बिजुली चम्किएको मात्र हो अगुल्टोले हानेको होइन ।
राजनीतिमा चासो राख्ने सर्वसाधारणले नेकपा(बहुमत)लाई अन्याय र भ्रष्टाचार विरोधी पार्टीका रुपमा चिन्दै आएका छन् । बहुमत बनेपछि फेवातालको जग्गा मिचेर बनाइएको कर्ण शाक्यको पार्क भिलेज वाटर रिसोर्टमाथिको कार्वाही, दाङमा भएको मिटर व्याजी विरुद्धको संघर्ष, रौतहटमा इर्टा भट्टाका मजदूर ज्यूँदै जलइएको मुद्दामा सफाई दिने न्यायधिशमाथिको प्रतिनिधिमुलक कार्वाहीहरुले स्थापित बनाएको थियो । २०७२ सालपछिका सबै संसदीय चुनावलाई, खारेज, अवज्ञा वा खारेजको अभियानले संसदीय र संशोधनवादी कम्युनिस्ट र वामपन्थी पार्टीहरु भन्दा फरक पहिचान बहुमतले बनाएको थियो । यिनैकारणहरुले पनि अहिले बहुमतमा भएका घटनाहरुप्रति जनसाधारणको ध्यानाकर्षित गरेको थियो ।
अन्तर्संघर्ष के थियो ?
एकीकृत जनक्रान्तिको नारा दिएर संघर्ष उठान गरेको विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको १२औं केन्द्रीय समितिको बैठकमा उनले चुनावी कार्यदिशा अपनाएपछि त्यहाँबाट क्रान्तिकारीहरु स्थापना गरेको पार्टी हो—नेकपा(बहुमत) । अहिले मुलरुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बनेपछि उसले नारा जस्तै दियो—विचार केही होइन व्यवहार मुख्य हो । हामी बिना विचार देश बनाउँछौं । उसले पुरानो विचार र पुराना पार्टीले देश बनाउँदैनन् भन्ने भ्रमलाई एल्गारिदम स्लोगान बनाएको थियो । तर गएको संसदीय चुनावमा लगभग दुई तिहाई सिटमा जीत हासिल गरेर सुविधाजनक सरकार बनेको केही समयपछि नै उसको लोकप्रियता खसिकन थाल्यो । अहिले आएर रास्वपा र उसको सरकार भोटेकोशी बाढीसँगसँगै हैसियत सतहमा आएको छ ।
यहाँ बेप्रसंग रास्वपाको कुरा किन आयो भन्ने हुन्छ ? यो विचासँग जोडिएको हो । धर्मेन्द्र बास्तोला पार्टीको प्रमुख भएर किन पार्टीलाई एकताबद्ध बनाउन सकेनन् । कार्यकर्ता जस्तो किसिमको संघर्षमा होमिए पनि किन पार्टीलाई व्यापक र सशक्त बनाउन सकेनन् । किन पार्टीबाट विभिन्न व्यक्ति, समूहहरु बाहिरि रहे ? यी प्रश्नको उत्तर खोज्न विचारबाट खोज्नु पर्दछ । जनसमुदायमा स्थापित बन्दै गएको, अन्य संसदीय पार्टीभन्दा फरक रहेको पार्टीलाई सही तरिकाले परिचालन गर्ने, संघर्षको उठान गर्न नसक्नुको मुख्यकारण धर्मेन्दको वैचारिक अस्पष्टता हो ।
पदार्थ र दर्शनको प्रश्न
धर्मेन्द्र बास्तोला जनयुद्ध कालमा लामो समयसम्म युरोप बसेका थिए । उनी अन्तर्राष्ट्रिय क्रान्तिकारी अन्दोलन(रिम)मा स्टाफका रुपमा काम गरेका थिए । जनयुद्ध चलिरहेका देशका माओवादी पार्टीहरु र क्रान्तिकारी कम्युनिस्ट पार्टी(आरसीपी) युएसएका बीचमा वैचारिक संघर्ष पहिलोदेखि नै थियो । यद्यपी आरसीपीले पेरु, भारत, नेपाल, फिलिपिन्समा चलेका हतियारबद्ध युद्धहरुलाई अन्तर्राष्ट्रियकरणमा विशेष भूमिका रहेको थियो । आरसीपीका अध्यक्ष बब अभाकियनले आफूलाई अनुभवी, वैचारिक रुपमा अब्बल र अविकसित देशमा भएका संघर्ष गरेका देशका नेताहरुलाई पिछडिएका भन्ने स्वेत सर्वोच्चता देखाउँदै आएका थिए । उनको विचारमा अविकसित राष्ट्रका नेताहरुमा वैचारिक पक्ष पनि पिछडिएको हुन्छ भन्ने थियो । बबले मार्क्स,लेनिन र माओले विगतमा कमजोरी गरेको, क्रान्तिको पहिलो लहर सकिएको, सत्य वर्गीय नहुने जस्ता बासी तर्क राखेर (BOB Avakian, Communism the begging of a new stage, a manifesto from the revolutionary communist party USA) न्य सिन्थेसिस सेप्टेम्बर २१, २००८ मा सार्वजनिक गरेका थिए । “मार्क्स—एंगेल्सले ‘निषेधको निषेध’ जस्तो ‘अपरिहार्य—वाद’मा आधारित चिन्तमा जोड दिए । मार्क्स हेगेलको आदर्शवादबाट प्रभावित थिए । स्टालिनमा अधिभूतवादी र जडवादी समस्या थियो र माओमा पनि यो समस्या केही मात्रा थियो ।” कुतर्क राखेर नयाँ दर्शनको खोज गरेको भ्रम सिर्जना गरेका छन् ।
बबको दयानीय पक्ष केहो भने अमेरिका जस्तो विकसित देमा बसेर पनि उनले माओको अगस्त १८, १९६४को ‘दर्शन सम्बन्धी प्रश्न’ पढेका रहेन छन् । त्यसमा माओले भन्नु भएको छ—“एङ्गेल्सले तीनवटा वर्गीकरणबारे कुरा गरेका थिए, तर मेरो विचारमा तीमध्ये दुईवटामा म विश्वास गर्दिनँ । विपरितहरूको एकता नै सबैभन्दा आधारभूत नियम हो । गुण र परिमाणको एकअर्कामा रूपान्तरण भनेको गुण र परिमाण नामका विपरितहरूको एकता हो, र निषेधको निषेध भन्ने कुरा हुँदै हुँदैन । गुण र परिमाणको एकअर्कामा रूपान्तरण, निषेधको निषेध, र विपरितहरूको एकताको नियमलाई एउटै तहमा राखेर हेर्नु भनेको ‘त्रिवाद’ हो, एकवाद होइन । सबैभन्दा आधारभूत कुरा विपरितहरूको एकता हो । गुण र परिमाणको एकअर्कामा रूपान्तरण भनेको गुण र परिमाणबीचका विरोधहरूको एकता हो । निषेधको निषेध भन्ने कुनै कुरा अस्तित्वमा छैन । स्वीकार, निषेध, स्वीकार, निषेध… वस्तुहरूको विकासको क्रममा, घटनाहरूको शृङ्खलामा प्रत्येक कडी एकैपटक स्वीकार पनि हो र निषेध पनि हो ।”
बबले पक्का पढे होलान् । पढेर पनि ‘निषेधको निषेध’ को नियमलाई माओले सच्याइसकेपछि त्यही कुरालाई आलोचनाको मुख्य विषय बनाएर दर्शनमा नयाँ खोज गरेका डंका पिटाउनुको कारण उनीमा रहेको आदर्शवादी कमजोरीको ढाकछोप हो । किन भने यहाँ धर्मेन्द्रले विपरितहरुको एकता अस्वीकार गरे जस्तै बबले पनि द्वन्द्ववादको नियम अनुसारको विपरितहरुको एकत्वलाई स्वीकार गर्दैनन् । उनले एकत्वमा विपरितमा भन्दछन् ।
माक्स प्लंकले डिसेम्बर २४, १९००मा क्वान्टम सिद्धान्त पत्ता लगाउका थिए । यसको सार हो “ऊर्जा आवृत्तिको समानुपाती हुन्छ । प्लांकले ऊर्जा निरन्तर रूपमा होइन, स–साना प्याकेट अर्थात् क्वान्टा (quanta) का रूपमा आदान–प्रदान हुन्छ भन्ने विचार हो ।” क्वान्टम सिद्धान्त, आइन्स्टाइन। नील बोर, श्रेडिङर हुँदै क्वान्टम इन्ट्यागलमेन्टसम्म पुग्दा विज्ञानका आविस्कारले द्वन्द्ववादको पुष्टि गर्दागर्दै बबहरुले अधिभूतवाद शरण लिन पुगेका छन् ।
क्वानटम मेकानिक्सको आधारभूत सिद्धात थ्योरी अफ अनसर्टेनिटी र पिटर हिग्सको हिग्स फिल्ड र हिक्स बोजेनलाई आदर्शवादी भनेर तर्क बबले पहिला नै गरिसकेका छन् । धर्मेन्द्रले हिग्स बोजोन(जसको लार्ज ह्याड्रोन कोलिडरमा परीक्षण गरी प्रमाणित भैसकेको छ ।)आर्शवादी भन्दै आएका छन् । यसले के देखाउँछ भने उनीहरुलाई विज्ञानको पछिल्ला आविस्कारहरको ज्ञान छैन वा उनीहरु अज्ञेयमा फसेका छन् ।
एकता—संघर्ष—रुपान्तरणको द्वन्द्ववादलाई सही तरिकाले नबुझ्दा विश्व कम्यनिस्ट आन्दोलनमा नकारात्मक असर परेको छ । बबले माओवादलाई सही तरिकाले अंगालिञ्जेल रिम ठीकठाक थियो । विश्वभरीका क्रान्तिकारी माओवादीहरु एकताबद्ध थिए । पेरु, नेपाल, भारत, फिलिपिन्सलगायतका देशमा भएका जनयुद्धको प्रचारपसार अ वर्ल्ड टु विन र दि रिभोल्युसनरी वर्करबाट भएको थियो । तर जब २००८ मा न्यु सिन्थेसिसमा “अबको कम्युनिस्ट क्रान्तिका लागि मार्क्स—लेनिन र माओ अर्थात पहिलो चरणतिर होइन,……… ‘न्यु सिन्थेसिस’ यस्ता दुवै प्रवृत्तिको विरुद्ध छ । यो वैज्ञानिक छ र यसले मात्र एक्काइसौं शताब्दीको चुनौतिहरको सामना गर्न सक्छ । यसको क्रान्तिकारी र अग्रगामी चिन्तन अस्वीकार गर्नेहरु कि त धार्मिक रुढिवादका समर्थक हुन् कि त संसदवादी प्रजातन्त्रवादी हुन् । न्यु सन्थेसिसले अघि सारेको दार्शनिक, वैचारिक र राजनैतिक आधार नै अब बन्ने रिमको आधार हुनुपर्दछ ।” लेखेर रिमलाई विघटनमा पुर्याएका छन् ।
१९८४ को मार्चमा मार्क्सवादी–लेनिनवादी पार्टी तथा संगठनहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित प्रतिनिधिहरू र पर्यवेक्षकहरूले अनुमोदन गरेको, जसबाट क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन (Revolutionary Internationalist Movement) गठन भएको थियो । जसमा केन्द्रीय पुनर्गठन समिति (Central Reorganisation Committee), कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी–लेनिनवादी), सिलोन कम्युनिस्ट पार्टी, कम्युनिस्ट कलेक्टिभ अफ एजीट/प्रोप (इटाली), कम्युनिस्ट पार्टी अफ कोलम्बिया (मार्क्सवादी–लेनिनवादी), माओ त्सेतुङ क्षेत्रीय समिति, कम्युनिस्ट पार्टी अफ पेरु, कम्युनिस्ट पार्टी अफ टर्की/मार्क्सवादी–लेनिनवादी, हाइटियन अन्तर्राष्ट्रिय क्रान्तिकारी समूह, नेपाल कम्युनिस्ट पार्टी(मशाल), न्युजिल्यान्ड रेड फ्ल्याग समूह, नटिङ्घम तथा स्टकपोर्ट कम्युनिस्ट समूहहरू (बेलायत), सर्वहारा कम्युनिस्ट संगठन, मार्क्सवादी–लेनिनवादी (इटाली), कोलम्बियाको क्रान्तिकारी कम्युनिस्ट पार्टी, भारतको क्रान्तिकारी कम्युनिस्ट पार्टी, संयुक्त राज्य अमेरिकाको क्रान्तिकारी कम्युनिस्ट पार्टी क्रान्तिकारी कम्युनिस्ट युनियन (डोमिनिकन गणतन्त्र) र इरानी कम्युनिस्टहरूको संघ (सर्बेदारान) रहेका थिए । उक्त सम्मेलनले “क्रान्तिकारी कम्युनिस्टहरूको कार्यभार सबै देशमा विश्व क्रान्तिको विकासलाई तीव्र पार्नु हो—साम्राज्यवाद र प्रतिक्रियावादलाई सर्वहारा वर्ग तथा क्रान्तिकारी जनसमुदायद्वारा पराजित गर्नु; विभिन्न देशका आवश्यक चरणहरू र गठबन्धनअनुसार सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नु; र शोषणमूलक समाजका सबै भौतिक तथा वैचारिक अवशेषहरूलाई अन्त्य गर्ने संघर्ष गर्दै अन्ततः विश्वभर वर्गविहीन समाज अर्थात् साम्यवाद स्थापना गर्नु हो ।” घोषणा गरेको थियो ।
यसरी रिमको विघटन हुनुमा बबले लिएको सत्य वर्गीय हुदैन भन्ने वर्ग समन्वय, दर्शनमा पदार्थलाई बुझ्ने आदर्शवादी सोच र संघर्ष—एकता—रुपान्तरणको अधिभूतवादी धारणा र उनका यी धारणालाई अन्य माओवादी संगठनले जस्ताको त्यस्तै स्वीकार गर्नु पर्ने हठ हो ।
यिनै आदर्शवादी दार्शनिक प्रभाव धर्मेन्द्रमा पनि जवर्जस्त देखिन्छ । वर्गसंघर्ष, पार्टी भित्रको अन्तसंघर्षमा प्रत्यक्ष सहभागि नहुनु र स्वेत सर्वोच्चताको स्कूलिङबाट प्रशिक्षित हुन पुगेका धर्मेन्द्र अनुभव, विचार, राजनीति, संगठन र संघर्षमा कमजोर छन् ।
बौद्धिक र इमान्दारिताका पर्याय बनाएका धर्मेन्द्र प्रचण्ड, किरण र विप्लवको पार्टीमा किनारामा पुगेका थिए । उनी त्यसबेला भीड भित्रका एक यात्री मात्र थिए, प्रचण्ड र किरणको पार्टीमा केवल क्षण भर मात्र दर्शिने गर्दथे । विप्लवको पार्टीमा उनी पाँच जना भित्र परेका थिए । विप्लवको पार्टीमा धर्मेन्द्रको अंग्रेजी प्रभुत्व‘इंगिलिस हेजेमोनी’को साहरामा विप्लवका नजरमा परेका थिए ।
धर्मेन्द्रको इंगिलिस हेजेमोनीको प्रभाव कस्तो छ भन्ने कुरा बुझ्न २०७१ सालको चैतमा विप्लवले नेतृत्व गरेको माओवादीको केन्द्रीय समिति र संगठनात्मक सम्मेलन धरानमा पेश गरिएको दस्तावेजबाट अन्दाज गर्न सकिन्छ । उक्त बैठकमा विप्लवले पार्टी विपरितहरुको एकत्व ुहँदैन । भौतिकवादी द्वन्द्ववादको मुल नियमलाई अस्वीकार गरेको थियो । त्यसलाई आठौं महाधिवेशनको दस्तावेजमा सवर्गीय र निर्वर्गीयको शब्दाडम्बरमा निषेध नै गर्न पुगियो ।
आठौं महाधिवेशनमा प्रस्तुत एवम् पारित राजनीतिक प्रतिवेदन २०७३ मा “परन्तु विपरीतको एकत्वको नियम प्रकृति र समाजमा लागू हुँदा एकै प्रकारले हुन्छ भनेर बुझ्नु गलत हुन्छ ।…………. उदाहरणका लागि पुँजीवादी समाजका लागि सामन्तवादी समाज विपरीतको एकत्वको सर्त होइन ।”
यसैलाई अझ विकृत गरेर धर्मेन्द्रले एकत्वमा विपरित पदावली ल्याएका छन् । धमेन्द्रको गति सम्बन्धी अवधारणा फ्रान्सेली दार्शनिक तथा गणितज्ञ रेने डेकार्टको प्रिन्सिपिया फिलोसोफियाको “गति र संरक्षणहरुः ईश्वरले ब्रह्माण्डमा निश्चित मात्रामा गति सिर्जना गरेको छ, जुन संधै संरक्षित रहन्छ ।” बाट निर्देशित छ । नेपालमा मार्क्सवादी दर्शनमा आएको यो विद्रुपीकरणका महानायक क्रान्तिकारी कम्युनिस्ट पार्टी बहुमतको मुख्य नेताको पगरी गुथेका धर्मेन्द्र बास्तोला बनेका थिए ।
यी दर्शनको कुरा किन गर्नु पर्यो ?
बब, धर्मेन्द्र, बाबुराम भट्टराई, चैतन्य मिश्रलगायतका नव मार्क्सवादीहरुले मार्क्सवादको जन्म यान्त्रिक युगमा भउको पुँजीवादमा आधारित छ र यो पुरानो भयो भन्दै आएका छन् । उनीहरुको तर्क यो पनि छ कि आधुनिक विज्ञानले पदार्थ र द्वन्द्ववादलाई विस्थापित गरिसकेको छ । यी कु(तर्क)हरुको खण्डन गर्न दर्शनको कुरा गर्नु पर्दछ । अर्को उनीहरुले गरेका तर्क र लिएका विचारले वैज्ञानिक समाजवादी आन्दोलनमा (कु)प्रभावलाई छिचोल्नु पर्ने छ । तर, यहाँ अहिले यी सबै कुराको प्रसंग उठाउन लागिएको छैन । यहाँ धर्मेन्द्रको वैचारिकी र त्यसले राजनीति, संगठन र संघर्षमा पारेका प्रभावहरुका बारेमा संक्षिप्तमा उल्लेख गरिन्छ ।
राजनीतिमा प्रभाव
राजनैतिक नाराका रुपमा उनले वैज्ञानिक समाजवादको कुरा उठाए । तर समाजवाद भित्र ‘जन्मसिद्ध जमिनको अधिकार, सम्पत्तिमा सार्वभौम अधिकार, यहाँसम्म एउटा मान्छेले एक हजार विगासम्म जमिन उपभोग गर्न पाउने’ बैंकबाट व्यक्तिले ऋण लिन पाउनेजस्ता ल्यु शाओ चिको तर्क धर्मेन्द्रले दस्तावेजमा संलग्न गरेका छन् । १४ जुन १९५०को राष्ट्रिय समितिको दोस्रोको बैठकमा भूमि सुधारको प्रश्नमाथि आफ्नो धारणा राख्दै ल्यु शाओ चीले “धनी किसानहरूको अर्थतन्त्रलाई संरक्षण गर्ने नीति दीर्घकालीन नीति हो ।” भनेका थिए । चीनका ख्रुश्चेव भनेर चिनिएका चीले “जब प्रत्येकसँग तीन–तीनवटा घोडा भएका किसान परिवारहरूले ग्रामीण परिवारहरूको कुल संख्याको ७० प्रतिशत हिस्सा ओगट्छन्, त्यसपछि भविष्यमा सामूहिक फार्महरू स्थापना गर्न सकिन्छ ।”“सातौँ दिदीलाई पत्र” मे १९५० “व्यक्तिगत खेतीपातीको विरोध गर्ने सबैजना सामूहिकतावादी हुन् भनेर नसोच्नुहोस् ।” “भूमिसुधारपछि किसानहरूमा स्वस्फूर्त रूपमा रहेको पुँजीवादतर्फको झुकाव र वर्गीय ध्रुवीकरणले ग्रामीण क्षेत्रका आर्थिक विकासहरूमा अभिव्यक्ति पाउन थाले। पार्टीका केही कमरेडहरूले यस्तो स्वस्फूर्त प्रवृत्ति र वर्गीय ध्रुवीकरणप्रति चिन्ता व्यक्त गरिसकेका छन् र त्यसलाई रोक्ने वा नियन्त्रण गर्ने प्रयास गरेका छन् । उनीहरूले पारस्परिक सहयोगका टोलीहरू तथा आपूर्ति र बजारसम्बन्धी सहकारी संस्थाहरूको माध्यमबाट यस्तो प्रवृत्तिलाई रोक्न वा नियन्त्रण गर्न सकिन्छ भन्ने भ्रम पालेका छन् । केही व्यक्तिहरूले त निजी स्वामित्वको आधारलाई क्रमशः हल्लाउँदै, त्यसलाई कमजोर पार्दै अन्ततः समाप्त गर्ने र किसानहरूको स्वस्फूर्त प्रवृत्तिलाई ‘पार गर्न’ नयाँ उपायका रूपमा कृषि पारस्परिक सहयोग संगठनहरूलाई कृषि उत्पादक सहकारी संस्थाको स्तरमा उकास्न क्रमशः कदम चाल्नुपर्छ भन्ने विचारसमेत व्यक्त गरेका छन् । यो कृषि समाजवादसम्बन्धी एउटा गलत, खतरनाक र काल्पनिक (युटोपियन) धारणा हो ।”“शान्सी प्रान्तीय पार्टी समितिद्वारा प्रस्तुत प्रतिवेदनमाथि टिप्पणीः ‘पुराना मुक्त क्षेत्रहरूमा पारस्परिक सहयोग संगठनहरूलाई अझ उच्च स्तरमा उन्नत गरौँ’” ३ जुलाई १९५१ अबधारणा सहित कार्यक्रममा समावेश गरेर पुँजीवादको पुनर्स्थापनामा गरेका थिए ।
उनले पुँजीवादलाई पुनर्स्थापना गर्न ‘ऋण लिने, व्यापारमा लाग्ने, श्रम खरिद गर्ने र जमिनको किनबेच गर्ने’ अधिकार दिएका थिए । वास्तवमा चीनमा माओको नेतृत्वमा भएको सर्वहारा सांस्कृतिक क्रान्तिको मुख्य उद्देश्य यही थियो । त्यसैले माओले विद्रोह गर्नु अधिकार हो र बमबार्ड एट बुर्जुवाज हेडक्वार्टरको नारा दिएका थिए । तर धर्मेन्द्रले नेपालमा समाजवादी क्रान्ति हुनुभन्दा पूर्व नै वैज्ञानिक समाजवादको आवरणमा पुँजीवादी कार्यक्रम ल्याएका छन् ।
बडो डर लाग्दो कुरा त २०७९ सालमा विप्लवहरु चुनावमा गए भनेर पार्टी अलग गर्ने नेतृत्व गरेका धर्मेन्द्रले २०८२ साल चैतमा कोहलपुर बैठकमा आफ्नो दस्तावेजमा “अद्र्धभूमिगत र अद्र्धवैधानिककमा”को आवरणमा निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रस्ताव नै ल्याएका थिए । उनको उक्त दस्तावेजलाई सचिवालयको पूर्ण बैठकले खारेज गरिदिएको थियो ।
शासकीय स्वरुपको नाममा उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, विज्ञहरुको मन्त्री मण्डल र निर्वाचित न्यायधिशजस्ता विकृत पुँजीवादको अमेरिकन मोडेलको वकालत गर्दै आएका छन् । अधिनायकत्वमा उनको पुरै समन्वयवादी संयुक्त अधिनायकत्व भनेका छन् । त्यसैगरी अन्तर्राष्ट्रिय अन्तर्विरोधलाई उनले “साम्राज्यवाद र विश्का उत्पीडित जनताको बिचको अन्तरबिरोधलाई तिब्र बनायो ।”(नवौं महाधिवेशनको दस्तावेज) भनेका छन् । उनले नयाँ गर्ने नाममा साम्राज्यवाद र उत्पीडित राष्ट्र एवं जनता बीचको अर्न्तविरोधको वर्तमान विश्वको अन्तर्विरोध नकारेका छन् । तर पछिल्लो अमेरिका—इजरेल र इरान बीचको युद्धले साम्राज्यवाद र उत्पीडित राष्ट्र एवं जनता बीचको अर्न्तविरोधलाइृ पुनर्पुष्टि गरेको छ । अमेरिका—इजरेलले इरान विरुद्ध आक्रमण गर्नुभन्दा अगाडि त्यहाँको शासनसत्ता विरुद्ध जनताले आदोलन गरेका थिए । तर डोनाल्ड ट्रमले जुन २८, २०२६मा इरानको पूर्वाधार ध्वस्त पार्ने धम्की दिएपछि इरानका विभिन्न सहरहरूमा, विशेषगरी ’पोल सेफिद ब्रिज’ (Pol Sefid Bridge) जस्ता स्थानहरूमा इरानी नागरिकहरूले आफ्नो राष्ट्रिय स्वाधीनता र ऐक्यबद्धता प्रदर्शन गर्न देशको ठुलो झण्डा बोकेर सडकमा प्रदर्शन गरेका थिए । अहिले युद्ध चलिरहेका सबै देशमा यस्ता घटना घटिरहेका छन् ।
आन्तरिक राष्ट्रियता(आदिवासी जनजाति)का बारेमा धमेन्द्र महेन्द्रवादी राष्ट्रवादका पक्षधर हुन् । उनले जहिले पनि ४ वर्ण ३६ जातको वकालत गर्दछन् । जात व्यवस्थाका पनि उनी पक्षपाती हुन् । गोत्रलाई आधार मान्यो भने दलित मुक्ति हुन्छ भन्दछन् ।
यसरी हेर्दा उनी सही मार्क्सवादी नभएर नवमार्क्सवादी हुन् । वैज्ञानिक समाजवादी नभएर विकृत पुँजीवादी हुन् ।
संगठनमा परेको प्रभाव
र्दशनमा जब उनले पार्टी/संगठन विपरितहरुको एकत्व हो भन्ने सत्यलाई बंग्याएर गलत तथ्यलाई अंगाले, साथै संघर्ष—एकता—रुपान्तरणलाई लागू गर्न थाले त्यसले बहुमत स्थापना पहिलो दिनदेखि नै संघर्ष हुँदै आयो । पार्टीमा कहिल्यै पनि एकता हुन सकेन । ‘अध्यक्षले कहिलै गलत गर्दैन’(उनको राष्ट्रिय सम्मेनको दस्तावेजमा छ ।) भन्ने धारणा उजागर गरे, त्यसका संकेतहरु उनी प्रमुख भएदेखि नै व्यवहारमा लागू गरेका थिए । महाधिवेशनले पारित गरेको नीतिलाई आत्मासाथ नगर्ने, केन्द्रीय समिति, सचिवालय, स्थायी समितिका निर्णय विरुद्ध आफ्नै लहडमा परिपत्र, विज्ञप्ति जारी गर्ने गर्दथे । आफूलाइृ मन नपरेका नेताहरुलाई निश्काषन गर्ने, हटाइ दिने, राजिनामा दिन अनावश्यक दवाव दिने, विभिन्न मुद्दा र वाहना उठाउने गर्दै आएका हुन् ।
उनीमाथि लागेको आरोप र पुष्टि भएको कुरा हो उनको भेटघाट र आर्थिकमा अपारदर्शिता । बृटिश कलेज विरुद्ध विद्यार्थीले आन्दोलन गर्दा मालिकलाई भेट्ने, नेपाल बन्दका दिन कुनै कमिटि वा नेतालाई जानकारी नदिई खुफियालाई भेट्ने, त्यसको लगतै गिरफ्तार हुने जस्ता घटनालाई धर्मेन्द्रले स्वीकार गरेका छन् । जुन कुरा उनले कोहलपुरको केन्द्रीय समितिको बैठकले छानविन गर्न बनाएको समितिको बैठकमा पनि बयान दिएका छन् ।
संघर्षका बारेमा
नेकप(बहुमत) बनेपछि ठूला प्रभावकारी आन्दोलन भएका छन् । वित्तीय शोषण, मिटर व्याज विरुद्ध पहिलो आन्दोलन बहुमतले नै गरेको हो । तर त्यसलाइृ निरन्तरता दिने काम भएन र अन्य शक्तिहरुले त्यसलाइृ अगाडि बढाएका छन् । तर सफल भएका छैनन् । २०७९ को चुनाव अवज्ञा, २०८२ को खारेज, भूमिका सवाल, बेचिएका बन्द भएका उद्योगहरु पुनः सञ्चालनलाई लिएर गरिएका आन्दोलनहरु न निरन्तरतामा अगाडि बढे, न कुनै परिणाम आए । यसको मुख्यकारण संघर्षमा उनी असाध्यै आत्मासुरक्षावादी र आत्मासमर्पणवादी छन् । यसको बलियो प्रमाण भनेको पार्टी वा जनवर्गीय संगठनले गरेका आन्दोलन आफ्नो पार्टीले नगरेको पाटर्प्को यस्तो नीति नरहेको भनी सञ्चार माध्यममा अन्तर्वार्ता दिनु हो ।
निष्कर्ष
नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनमा नि मुख्य नेतृत्वले मार्क्सवादलाई जस्ताको त्यस्तै नबुझ्ने, अवसरवादी तरिकाले बुझने, पछिल्लो विश्वको सही तरिकाले विश्लेषण र संश्लेषण गर्न नसक्ने अनि अन्ततः आखिर रहेछ श्रीकृष्ण एक भन्दै पछिल्लो साम्राज्यवादका सामू लम्पसार पर्ने पवृत्ति बारमबार दोहोरिरहेको छ ।
यही क्रमको पछिल्लो संस्करण धर्मेन्द्र बास्तोला हुन् । यसरी विचार, राजनीति, संगठन र संघर्षको सवालमा धर्मेन्द्रसँग लामो संघर्ष भएपछि उनी प्रत्येक बैठकमा अल्पमतमा गर्दै गए । स्पष्ट रुपमा कोहलपुर र पोखराको केन्द्रीय समिति र वैशाख ८ गतेको घटनापछि भएका सबै सचिवालयका एक दर्जन आसपासका भौतिक र भर्चुअल बैठकमा उनी अल्पमत मात्र होइन एक्लै हुन पुगेका छन् । उनले गरेका पार्टी विरुद्धका हर्कतहरुलाई नेताले गर्न पाउने प्राधिकारपूर्ण अधिकार भन्दै आफ्ना नजिकका केही मान्छेलाई प्रयोग गरी सञ्चारमाध्यममा दिएको प्रमाण पनि भेटिएको छ ।
यसरी दर्शनमा कहिले आदर्शवादी द्वन्द्ववादी त कहिले अधिभूतवादी भौतिवादी हुन् । राजनीतिमा त उनी नवमार्क्सवादलाइृ अंगाल्ने नाङ्गो पुँजीवादी हुन् । संगठनमा जनवादी केन्द्रीयताको विरुद्ध प्राधिकारवादी अराजकतावादी हुन् । संघर्षमा आत्मासुरक्षावादी र आत्मासमर्ण्वादी रहेका छन् । यसरी उनी दर्शन/विचार, राजनीति, संगठन र संघर्षमा वर्गीय पक्षधरताबाट च्युत हुनुका साथै पार्टी/संगठनमा अत्यधिक अल्पमतमा परेपछि उनलाई केन्द्रीय समितिको बैठकले अध्यक्ष मण्डलको अध्यक्षसहित सम्पूर्ण जिम्मवारीबाट हटाएपछि अलगिएका धर्मेन्द्रको हैसियत के रह्यो र, अहिले नेकपा(बहुमत) फुट्यो भनेर कोकोहोलो गर्नु । वास्तवमा भन्ने हो भने यस्तो अत्याधिक बहुमतले नेपालमा मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनमा मुख्य नेतृत्वलाई हटाएको इहिास छैन । त्यसैले नेकपा(बहुमत) फुटेको होइन धर्मेन्द्रलाई विदाई गरिएको हो । भ्रममा नपरौं । नेकपा(बहुमत)को असोज ५ गतेदेखि हुने राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सफल पारौं ।
प्रतिक्रिया