News Portal

ताजा शिर्षकहरु

विचार

दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)

गुणराज लोहनी
“मान्छे मान्छे एउटै हो नि फरक किन भो !
श्रम चल्छ सिप चल्छ पानी नचल्ने भो !! ”
: पुनित मगर
गत चैत १९ गतेको दिन संसदको सबैभन्दा ठूलो पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद चलिरहँदा संसद भवनको रोष्टरममा उभिएर हात जोडेर भनेका थिए “यो सरकार शताब्दियौँदेखि विभेदको, अन्यायको, अत्याचारको, सार्वजनिक र सामुहिक माफी माग्दैछ त्यो पनि यो सदनबाट” । उनको यो बोलाइले शदियौंदेखि उत्पीडनमा परेका दलित समुदायमा केही हदसम्म भए पनि राहतको महसूस गएको हुनु पर्दछ । यसका बारेमा प्रतिक्रिया पनि आएका छन् । लेख लेखिएका छन् ।
यो कुरा सही हो कि, नेपालको इतिहासमा पहिलो पटक सरकार चलाएको पार्टीको सभापतिले संसदको रोस्टममा उभिएर दलितमाथि शदियौंदेखि हुँदै आएको उत्पीडन वा अपराधलाई लिएर माफी मागे । तर बिडम्वना, रविले रोस्टमबाट माफी मागेको १८औं दिनमा सिन्धुलीको जिल्ला प्रहरी कार्यालयमा प्रहरीको पिटाईबाट श्रीकृष्ण विश्वकर्माको हत्या भयो । श्रीकृष्ण विश्वकर्माले प्रेम गरेको गैरदलित महिलाले बलत्कार गरेको आरोपमा पुलिसले गिरफ्‌तार गरेको थियो । अहिलेसमम सरकारले उक्त घटनाको सत्यतथ्य कुरा ल्याएको छैन । यसैगरी रोल्पामा दलित बालकमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ११ गते पश्चिमी रोल्पाको गंगादेव गाउँपालिका–५ पाखापानी फुलबासका ११ वर्षीय बालक खगेन्द्र विकमाथि कुटपिट भएको थियो । रोल्पा जहाँबाट सामन्तवादी सत्ताका विरुद्ध हतियारबद्ध विद्रोह गरेको थियो । जनयुद्धका दश वर्षमा त्यहाँ छुवाछुत थिएन । अन्तर्जातीय विवाहले मान्यता पाएको थियो । त्यही विद्रोही स्थलमा अहिले दलित कुटिन्छन् । अन्तर्जातीय विवाह तोडिएका छन् । छुवाछुत प्रथा ब्यँुतिएको छ । यो भन्दा दर्दनाक घटना रुकुमको चौरजाहरी नवराज विश्वकर्मा र उनका ५ जना साथीलाई लखेटी लखेटी भेरी नदिमा मारिएको थियो । यस्ता तल्लो जात भएको आधारमा हत्या र हिंसा भएका घटनाको फेहरिस्त नै हुन्छ ।
बालेन्द्र सरकारले सुकुमबासी बस्तीमा अहिले डोजर चलाएर गरिबका झुप्राहरु भत्काएर उनीहरुको विचल्ली बनाएको छ । अहिलेसम्मको तथ्यांक अनुसार ९२ हजार ५०२ परिवार दलित भूमिहिन सुकुम्बासी रहेका छन् । यी ३ वटा परिघटनाले नेपालका दलितमाथि राज्यकै योजना र आडभरोसामा आर्थिक, सामाजिक धर्म अन्तर्गतको सांस्कृतिक शोषण, दमन र उत्पीडन गरेको पुष्टि गर्दछ ।
यसबाट के कुरा सिद्ध हुन्छ भने सरकार वा सरकारको नेतृत्व गरेको पार्टीका सभापतिले संसदको रोस्टमबाट माफी माग्दैमा दलितमाथिको उत्पीडन सकिदो रहेनछ । कुनै कानून बनाएर दलित मुक्ति सम्भव रहेनछ । यसकालागि के गर्नु पर्दछ त ? यसकालागि दलित(जसमा छुवाछुत पनि पर्दछ ।) ऐतिहासिकताको सहि तरिकाले अध्ययन गर्नु पर्दछ । त्यसमा पनि जात व्यवस्था र वर्ण व्यवस्थाका बारेमा जानकार हुनु पर्दछ ।
पूर्व १५०० वर्ष अघिदेखि जात व्यवस्थामा परिणत गरी श्रमको आधारमा गरिएको आर्थिक, सांस्कृतिक, सामाजिक उत्पीडन र अपराध हुँदै आएको छ, त्यो केवल सार्वजनिक र सामुहिक माफी माग्दैमा सकिने कुरा हो र ? अथवा संसद र सरकारमा केही मान्छेहरु जाँदैमा नेपाली समाजबाट दलितमाथि माथिको उत्पीडनको अन्त्य हुन्छ र ? हिन्दू समाजमा रहेको वर्ण व्यवस्था र जात व्यवस्थाका बारेमा स्पष्ट जानकारी नराखिकन जात व्यवस्थाको अन्त्यको कुरा गर्न सकिदैन ।
वर्ण व्यवस्था र जात व्यवस्था
जात व्यवस्थाको कुरा गर्दा वर्ण व्यवस्थाका बारेमा कु्‌रा गर्नु पर्दछ । वर्ण व्यवस्थाका बारेमा उल्लेख गर्दा वैद्धिक आर्यको प्रसंग आइपुग्दछ । आर्य शब्दको अर्थ श्रेष्ठ, सभ्य वा आदरणीय भन्ने गरिन्छ । त मानव इतिहाससँग जोड्ने हो भने यिनीहरुको हरो पूर्वज सम्बन्ध पान्टिक—क्यापियन स्टेप क्षेत्रसँग जोडिएको छ । तिनीहरु मध्येको केही आर्यहरु दक्षिण र मध्य एसियातर्फ सरेको पाइन्छ । राजनैतिक अर्थशास्त्रका दृष्टिकोणबाट हेर्दा उत्पादन सम्बन्धले कुन व्यवस्था कस्तो छ भन्ने स्पष्ट पार्दछ । तिनै आर्यहरु गंगाको मैदानमा प्रवेश र उनीहरुले कार्यकालमा भएको उत्पादन सम्बन्धलाई बुझ्‌न जरुरी छ । जवहरलाल नेहरुले आफ्नो प्रसिद्ध पुस्तक भारत एक खोजमा आर्यहरु इण्डो आर्य, इण्डो इरानी भाषी समूहहरु क्यास्पियन सागरको पूर्व–उत्तर, आजको कजाकिस्तान दक्षिण रुस–मध्य एसियासँग जोडिएको क्षेत्रमा उत्पन्न भएका थिए । यिनीहरु अफगानिस्तान हुँदै भारतीय उपभमहाद्वीपमा ईस्वी पूर्व २००० मा पुगेका थिए । यिनीहरु पशुपालक थिए । तर गंगा–यमुनाको उर्वर मैदानमा पुगेपछि खेती गर्न थालेका थिए ।
घुमन्ते हुँदै उनीहरु पशुसहित विभिन्न कविलाईहरुसँग लड्दै भारतीय महाद्वीप पुगेका थिए । यस समयमा उनीहरुसँग काठ र ढु्र्‌गाको हतियार हुन्थ्यो । पछि धातु भेटियो । उनीहरुले तामाका हतियार प्रयोग गर्न थाले । तर पछि फलामको प्रयोग हुन थाल्यो । विस्तारै काँसको हतियारको स्थान फलामे हतियारले लिन थालेको थियो । आर्यहरु पनि पशुपालनबाट कृषिमा प्रवेश गर्न थालेका थिए ।
कृषि कार्यमा रहेका बाहिरबाट आएका र स्थानीय कविलाईका बीचमा झडप हुन थालेको थियो । युद्धकाकारण कविलाईमा रहेकाहरुको भूमिका फरकफरक हुँदै गयो । अलि टाठो बाठो समूहले युद्ध कसरी जित्ने, युद्धमा कसलाई लडाउने, निमयहरु कस्ता बनाएर वर्चश्व कायम गर्ने भनी सोच्न थाले । यिनीहरु पछि गएर ब्राह्मण बने । ठीक यसैगरी युद्ध मैदानमा हतिायरसहित लड्ने, हारेका कविलाईहरुबाट उनीहरुसँग भएका सम्पत्ति खोस्ने, हारेका लडाकु र कविलाई सदस्यलाई बन्दि बनाउने काम गर्ने उनीहरु क्षेत्री बन्न पुगे । युद्ध वा अन्य समयमा ब्राह्मण र क्षेत्रीको सेवा गर्ने उनहिरुलाई चाहिने खाद्यान्न, लत्ता कपडा, बासस्थानको व्यवस्था गर्ने काम वैश्यहरुले गरे । यसरी उस्तै कविलाई समाज ब्राह्मण, क्षेत्री र वैश्यमा विभाजित भए ब्राह्मण र क्षेत्रीले शासन चलाउन थाले, वैश्यले कृषि कर्म गर्न थाले । क्षेत्री–ब्राह्मणको गठजोडको शासनले वैश्यलाई शोषित किसानको रुपमा अस्तित्वमा ल्याएको थियो । यसै क्रममा कृषि प्रधान उत्पादन प्रणाली अवतरित हुन पुग्यो । खेतमा काम गर्नका लागि निःशुल्क श्रमिकको आवश्यकता पर्‍यो । कविलाईसँगको युद्धमा हारेका दास र निम्न वर्णका सोझासाझा कविलाई सदस्य शूद्र वर्ण अस्तित्वमा आएका थिए । क्षेत्री–ब्राह्मणको गठजोडको शासनले शूद्रहरुलाई बलपूर्वक कृषि काममा लगाउन थाले । यो क्षेत्रमा राजा, प्रजा बीचमा रहेका सानासाना जमिन्दारले भूदान र कर उठाउने अधिकार प्राप्त गरेका थिए । यहीक्रममा वर्ण व्यवस्था अस्तित्वमा आएको थियो ।
कृषि उत्पादन प्रणालीको विकाससँगै राजपरिवार भनिने कुलिन, ब्राह्मण भनिने पुरोहित र ‘विश’ भनिने सर्वसाधारण गण सदस्यमा समाज विभाजित भएको थियो । विभिन्न कविलाईसँग युद्धमा विजयी हुँदै जाँदा त्यहाँका प्रमुखहरुको प्रतिष्ठा बढ्ने, संगठित गर्ने अरुलाई लुट्न कर्मकाण्ड गर्ने काम आर्यहरुले गरेका थिए । यस्ता कर्मकाण्डमा सर्वसाधारणले राजपरिवारलाई पशुधन, दासहरु दान गर्दथे । ब्राह्मण र राजपरिवार यस्ता यज्ञहरुमा सर्वसाधारणबाट प्राप्त गर्ने उपहार–दान–वलीमा निर्भर भएर जीवनयापन गर्दथे । उत्पादनको यस्तो सम्बन्धहरुमा आधारित गणहरु विखण्डित हुँदै जाँदा साधारण जनता र अधिनमा परेका कविलाईहरुले दिएको उपहार तथा पुस्कारमा बाँच्ने एउटा ठूलो सामाजिक वर्गको उत्पत्ति भएको थियो, जसबाट ब्राह्मण, क्षेत्री वर्णको उदय भएको थियो ।
पशुपालक आर्य कविलाईहरुले स्थानीय कविलाईबाट खेती गर्न सिकेका थिए । ती स्थानीय कविलाईका मुख्य मान्छे र पुरोहित समूहहरुमा क्रमशः क्षेत्री, ब्राह्मणमा समावेश गरिएसँगै गैर–आर्यहरुलाई पनि समेटियो । पराजित भएका धेरै आर्य र गैरआर्य कविलाई क्रमशः शूद्र वर्णमा परिणत भए । यसरी मुख्यरुपमा वैश्यहरु खेती गर्ने किसान र पशु चराउने र कठिन कृषि गर्ने सानो वर्णका शूद्र बनाइए । कविलाईमा रहेका असाध्यै मिहेनत गर्ने केही सिल्पकारले फलामे हलोको आविस्कार गरेर फलामे हलोले बलियो, बँजर भूमि फुटाएर उर्वरायुक्त बनाइ दिएको थियो । यसले गर्दा कम श्रममा बढि फल्न थाल्यो । यही समयमा ब्राह्मण क्षेत्री र वैश्यहरु अस्तित्वमा आएका थिए । ब्राह्मण र क्षेत्रीले शासन चलाउँदथे भने वैश्यहरु शोषित किसानको रुपमा रहेका थिए । यसैक्रममा कृषि प्रधान उत्पादन प्रणाली अवतरित हुनुका साथै युद्धमा हारेर बन्दि बनाइएका दास र निम्न वर्णका रुपमा शुद्र वर्ण अस्तित्वमा ल्याइएको थियो ।
इस्वी पूर्व ५०० वर्ष अघि राज्यसत्ताको स्थापना भयो । यो राज्य ब्रह्मण—क्षेत्रीको गठजोडमा चलेको थियो । यसै समयमा जमिन जोत्न हलोको प्रयोग व्यापक भयो । फलामे हलो बनाउन र खेतीपाती गर्न शुद्रलाई बलपूर्वक लगाइन्थ्यो । दक्षिण एसिया मुलरुपमा अहिलेको भारतमा राजा र प्रजाका बीचमा साना–साना जमिन्दार जसले भूदान, भूमि कर उठाउने अधिका् पाएका थिए–त्यही समयमा जात व्यवस्थामा अस्तित्वमा आएको थियो । जात व्यवस्थालाई स्वीकार नगरेको बौद्ध र जैन धर्म कमजोर हुँदै गए ।
कृषि युगमा प्रवेश गर्दैगर्दा फलामे हलोको प्रयोगले कृषि उत्पादन प्रचुर हुन पुगेको थियो । यस अवस्थामा गैर कृषि कविलाईहरुलाई बसमा पारियो । जंगलमा आश्रित उनीहरुलाई त्यहाँबाट हटाएर कविलाई प्रमुखहरुले आफ्‌नो इच्छामा ती भूमिमा बसोबास गराएकाले उनीहरुको महत्व झनै बढेर गयो । विस्तारै तिनै शासकहरु कुलिनतन्त्रमा प्रादूर्भाव भएका थिए । यस क्रममा कैयौं कविलाई प्रमुखहरुले आफूलाई नै गण, कविलाई, उनको अधिनस्थ भूभागहरुमा आफ्‌नै शासन संगठित गरेका थिए । ब्राह्मणीय पुरोहित वर्गले पहिला वर्ण व्यवस्थालाई विकसित गरेका थिए । धार्मिक अनुष्ठान जटिल र खर्चिलो र समय बेकार फाल्न बन्न पुगे । यी अनुष्ठानहरु पुनः बेफजुल खर्च विवरणका साधन थिए । यसरी जम्मा भएका बस्तुहरु शासनमा रहेका क्षेत्री, ब्राह्मण पुरोहितका बीचमा बाँडिन्थ्यो । पहिला स्वेच्छाले दिने गरिएका उपहार र पुरस्कारलाई जवर्जस्त दिनु पर्ने बनाइयो । यही क्रममा आर्य धर्म र वर्ण व्यवस्थाले राजा र पुरोहितको धेरै शक्ति हुनु र जितिएका कविलाईलाई तल्लो वर्णमा राख्नु ठीक हो भन्ने मान्यता दिइयो ।
आर्य धर्म र वर्ण विचारधाराले विभिन्न कविलाईहरुबाट बनेका वर्गहरुको प्रतिनिधित्व गर्दथे । आर्यहरुले हिंसासँगसँगै समायोजन तथा सामाजिक र संस्कृति स्वीकार गराउनुलाई हतियारको रुपमा प्रयोग गरेका थिए । उत्पादनको चरणमा वर्ण नै वर्ग हुने गर्दथे । आर्यहरुले अतिरिक्त उत्पादनलाई हडप्नकालागि त्यस अनुकुलको धार्मिक—दार्शनिकरुपलाई अंगालेका थिए । क्रमशः आर्य र अनार्य बीचको अन्तर खतम भएर आर्यकै रुपमा एक नयाँ कविलाई अर्थव्यवस्था निर्माण भयो । वैदिक कालमा ब्राह्मणहरुले जुन वली र पूजापाठको काम गर्दथे, त्यस समयको अर्थव्यवस्थालाई बर्बर समाजमा प्रवेश गराउने क्रमशः जंगलमा प्रवेश गरेर स्थानीय आदिबासी समुदायमा रहेका असंख्य रुढीहरुलाई उनीहरुले सम्मान दिएका थिए । उदाहरणका लागि कविलाई, राजपरिवारको वंशावलीलाई पुराणको रुपमा लिपिबद्ध गरेका थिए । यसरी उनीहरुले सर्प, बाँदरको पूजा गर्ने, नरवली र पशुवलीलाई स्वीकार गरेका थिए ।
गंगा नदीको मैदानी इलाकामा धानको खेती सहित कृषिको विकास हुनुका साथै श्रमको पनि विभाजनमा विस्तार भयो । यही समयमा बाणिज्यको विकास भयो । भूमि निजी सम्पत्तिका रुपमा परिणत भयो । नगरहरको विकास भयो । वैश्य व्यापारी र भूस्वामी जस्ता नयाँ वर्ग अस्तित्वमा आए । भूस्वामीले आफ्‌नो खेतमा काम गर्दैनथे । उनीहरुले दास वा शूद्रलाई खेतमा काम गराउँदथे । यसरी उच्च वर्ग पीडक र निम्न वर्ग पीडितका बीचमा मालिक र श्रमिकको बीचमा द्वन्द्व हुन थाल्यो । यिनै वर्गलाई दवाउन एउटा संगठिन शक्तिको आवश्यकता पर्‍यो र राज्यसत्ताको उत्पत्ति भयो ।
प्रारम्भिक राज्यका शासक वर्गले आफ्‌नो शासनलाई स्थायी बनाउन, धर्म सम्मत बनाउन यज्ञमा निर्भर हुन थालेका थिए । यिनै यज्ञहरुका माध्यमबाट वर्ण व्यवस्था स्थापना गरेर उनीहरुले आफ्‌नो सम्पत्तिलाई कायम राखे । यससँगै उपहारको स्थान करले लियो । राज्यको बलमा ब्राह्मण र क्षेत्रीले उत्पीडित वर्गसँग कर असुल्न थाले । यसक्रममा शक्तिाशाली व्यापरिक संघ भएको वैश्य, शिल्पकार, कालीगढ संघहरु जसले निम्न वर्गको प्रतिनिधित्व गर्दथे उनीहरुले त्यस समयसम्म हारेका थिएनन् जबसम्म उनीहरुले वर्ण व्यवस्थाको विचारधाराद्वारा निर्देशित व्यवस्थालाई स्वीकार गरेका थिएनन् । इण्डो—इरानीयलाई वैदिक आर्यका पूर्वज मानिन्छ । यिनीहरुले नै गंगा नदिको वशाल फाँटमा वर्ण व्यवस्था शुरु गरेको मानिन्छ ।
उक्त कुरा ऋग्वेद १०ः ९०ः १२ मा यसरी
“ब्राह्मणोऽस्य मुखमासीद् बाहू राजन्यः कृतः ।
ऊरू तदस्य यद्वैश्यः
पद्भ्यां शूद्रो अजायत ॥”
यसको अर्थ हुन्छ मुखबाट ब्राह्मण, बाहुबाट क्षत्रिय, जाँघबाट वैश्य र खुट्टाबाट शूद्र उत्पन्न भए । ठीक यसैगरी मनुस्मृतिमा शूद्रका लागि कानुन नै बनाइएको थियो । शूद्रले ब्राह्मणलाई अपमान गरेमा ‘एकजातिद्र्विजातींस्तु वाचा दारुणया क्षिपन् । जिह्वायाः प्राप्नुयाच्छेदं जघन्यप्रभवो हि सः ॥ — मनुस्मृति ८.२७० यसको भावार्थः यदि शूद्रले कठोर वचनद्वारा द्विज (ब्राह्मण आदि) लाई अपमान गर्छ भने उसको जिब्रो काटिनुपर्छ, किनकि ऊ “नीच जन्म” को मानिएको छ । शूद्रले ब्राह्मणलाई धर्म उपदेश दिएमा धर्मोपदेशं दर्पेण विप्राणामस्य कुर्वतः । तप्तमासेचयेत्तैलं वक्त्रे श्रोत्रे च पार्थिवः ॥ — मनुस्मृति ८.२७२ यसको भावार्थः यदि शूद्रले घमण्डपूर्वक ब्राह्मणलाई धर्मको उपदेश दिन्छ भने राजाले उसको मुख र कानमा तातो तेल हालिदिनुपर्छ । शूद्रले उच्च वर्णसँग बराबरी आसनमा बसेमा सहासनमभिप्रेप्सुरुत्कृष्टस्यापकृष्टजः । कट्यां कृताङ्को निर्वास्यः स्फिचं वाऽस्यावकर्तयेत् ॥ — मनुस्मृति ८.२८१ यसको भावार्थः यदि निम्न वर्णको व्यक्तिले उच्च वर्णसँग समान आसनमा बस्न खोजेमा उसको कम्मरमा दाग लगाएर देश निकाला गर्ने वा नितम्ब काट्ने दण्ड दिन सकिने उल्लेख छ । शूद्रले वेद सुने/पढे सम्बन्धी (धर्मशास्त्रीय परम्परामा चर्चित) यो विषयमा धेरै उद्धरणहरू प्रचलित छन् ।
प्रायः उद्धृत भाव यस्तो छः “यदि शूद्रले वेद सुन्छ भने उसको कानमा पग्लिएको सिसा वा तातो तेल हालियोस् ।” यो धारणा अन्य धर्मसूत्र र स्मृतिग्रन्थहरूसँग पनि जोडिएर आएको पाइन्छ ।
अछुतको जन्म
ऋग्वेदमा जे लखिएको भएता पनि मानव इतिहासका हिसावले आहार उत्पादनको शुरुआती अवस्थामा आर्यहरुको अगाडि नियन्त्रणमा रहेका गैर आर्यहरुसँगै काम गराएर शूद्र वर्ण प्राप्त भएको थियो । आर्यमा पनि साधारण जनता एवं शासक वर्गलाई अलग गर्न वैश्य, ब्राह्मण, क्षेत्रीमा विभाजन गरिएको थियो । तर स्वयंपोषक गाऊँहरुका लागि यी चार वर्ण प्रयाप्त थिएनन् । खेतीको विस्तारको क्रममा सामाजिक उत्पादन विकसित भएर नयाँ ग्रामीण समाज स्थापित हुँदाको अवस्थामा वर्ण व्यवस्थाको दखल विना नै कैयौं शूद्र जाति अस्तित्वमा आएकाथिए । वास्तविक कृषक र कालीगढ शूद्र भए । वैश्य व्यापारमा सीमित भए । शूद्रहरुको संख्या असीमित भयो । वर्ण जातमा रुपान्तरित हुन पुग्यो । चार वर्ण व्यवस्थामा किसानलाई शूद्रको स्थान हासिल भयो, जवकि मरेका पशुको छाला काडेर सफा गर्ने, पशुलाई मार्ने जस्ता अपवित्र मानिने काम परिवारको दासलाई गराइन्थ्यो । सामन्ती समाजमा चार वर्णका साथै पाँचौं वर्ण अछुत अथवा सबैभन्दा तल्लो(उत्पीडित) जात बनाइयो ।
वैश्यहरुको अधिकांश संख्या शूद्रका रुपमा तल झर्दै जानेक्रममा र दासहरुको संख्या बढ्दै जाने क्रममा अपवित्र मानिने कामहरुका लागि अछुत भनिने पाँचौं वर्ण सिर्जना भएको थियो । वर्ण व्यवस्थाको धरातल बलियो बनाउन र शूद्रहरुलाई दवाएर राख्नका लागि कर्म सिद्धान्तले भूमिका खेलेको थियो । वर्ण व्यवस्था भगवानद्वारा निर्देशित गरिएको हो, यसको पालन नगरेमा दुष्परिणाम अनिवार्य हुन्छ र कर्म अपरिहार्य भएकाले त्यसलाई भोग्नु पर्छ भन्ने विचारधारा सँग चौथो र पाँचौं वर्णलाई दवाएर राख्न सकियो ।
नेपालमा दलित
नेपालको वर्ण व्यवस्था र जात व्यवस्था बुझ्‌नका लागि काठमाडौ बाहिरको पनि इतिहास बुझ्‌न जरुरी छ । नेपालमा वर्ण व्यवस्था ३ वटा समयमा ३ वटा दिशावाट प्रवेश गरेको देखिन्छ । नेपालको तराई—मधेश विशेषतः कोशी नदिदेखि कपिल्बस्तुसम्म जहाँ मानव बस्ती थियो, त्योभन्दा पश्चिमी भागमा बस्ति थिएन । नारायणी नदिको पारी पट्टिको भूभागमा भएको मानव बस्तमा जात व्यवस्था भारतबाट फैलिदैँ आएको थियो । नारायणी पूर्व कोशीलाई साँध बनाएर रहेको बीचको जमिन मुख्यरुपमा जनकपुरमा तत्कालिक राजा जनकले ब्रह्म सभा बोलाएको पढ्न पाइन्छ । यसले २८ सय वर्ष अघि नै तराई—मधेश वर्ण व्यवस्था थियो भन्ने तथ्य पेश गर्दछ । लिखित रुपमा भन्नु पर्दा १०१४ को पञ्जिकृत गरिएको कागजमा जात व्यवस्था रहेको देखिन्छ । मिथिलामा राजा सहलेश भन्ने थिए । उनले त्यत्तिबेला जातपातका विरुद्ध ठूलो लडाईँ लडेको इतिहासमा पढ्न पाइन्छ । उक्त संघर्षलाई आधार बनाएर अहिले पनि नाटकका रुपमा मिथिलामा मञ्चन गरिन्छ । इतिहासमा १८ सय वर्ष अघि राजा सहलेशको कार्यकाल रहेको रहेको छ । यसरी हेर्दा भारतबाट बस्ती सर्दै आउँदा नेपालमा पनि जात व्यवस्था आएको थियो । नेपालको मधेशी समुदाय भित्र रहेको जात व्यवस्था भारतीय जात व्यवस्थासँग ठ्याक्कै मिल्छ । जस्तै नेपालमा पासवान छन्, भारतमा पनि छन् ।
वागमती उपत्यकामा २ हजार वर्ष अगाडि ३२ पुस्तासम्म शासन गर्ने किराँतको शासन थियो । उनीहरु मुन्डुम परम्परा मान्दथे । त्यो शासनकालमा जात व्यवस्था थिएन । ईस्वी सम्बत् १७१ देखि २००को बीचमा वागमती उपत्यकामा वैशालीबाट आएका हिन्दू लिच्छबीहरुले आक्रमण गरे र किराँतहरुलाई हालको काठमाडौंबाट लखेटेका थिए । किराँतहरु हारेपछि पनि जमिनसँग जोडिएका किसानहरु भागेनन् । तिनै नभागेका किराँतहरु अहिलेका ज्यापुहरु हुन् । भागेका किराँतहरुलाई लखेटेर तामा कोशी कटाइए पछि लिच्छवी कालको शुरुआत भयो । वैशालीबाट आएका हिन्दू लिच्छवीहरुले जात व्यवस्था लिएर आएका थिए ।
उनीहरुले ४ वर्ण १८ जातको व्यवस्था गरेका थिए । विच्छवी काल ईवी सम्बत ८८९ सम्म चलेको थियो । त्यसपछि मल्ल काल चल्यो । यो बेलासम्म बागमतीको जनसंख्या बृद्धि भैसकेको थियो । १३०५ पछि राजा जयस्थिति मल्लले भारतका ५ जना ब्राहमणहरु मई नाथ, श्रीनाथ भट्टलगायतलाई बोलाएर लिच्छवीहरुले गरेको चार वर्ण १८ जातको व्यवस्थालाई थपेर ४ वर्ण ६४ जातको व्यवस्था गरेका थिए । यो थाहा पाउनका लागि धनब्रज बज्राचार्यको लिच्छवीकालिन अभिलेखमा पढ्न पाइन्छ । मल्लमा बागमती क्षेत्रमा ६४ जात सहितको जात व्यवस्था थियो । त्यसैले बागमतीमा जात र वर्ण व्यवस्थाको शुरुआत लिच्छवी कालमा नै हो । जयस्थिति मल्लले होइन । उनले त जनसंख्या बढ्यो, पेशा थपियो र जात पनि थपि दिएका हुन् ।
त्यो बेलामा जहाँ शहर हुन्थ्यो त्यहाँ पोडे च्यामे हुन्थ्यो । शहर नभएको ठाउँमा शहर सफाइ गर्ने आवश्यकता नै हुदैन्थ्यो । जनकपुर जस्ता शहर सफा गर्न मधेशी डोम चाहियो । बागमती भित्रको जात व्यवस्था नेवार भित्रको हो । यहाँ शहर सफा गर्न पाडे चाहियो ।
४ वर्ण ३६ जात
अर्को ४ वर्ण ३६ जात कहाँबाट आयो त ? नेपालको कर्णालीदेखि डोटीसम्मको क्षेत्रमा डोटी सभ्यता थियो । डोटेली र जुम्ली सभ्यता त्यत्ति बेला निकै अगाडि थियो ।
पश्चिम नेपालमा दुई थरी मान्छे छन् । एउटा युरोपबाट मध्य एसियाको कोकेसस् उपत्यका हुँदै केही हजार वर्ष बिताएर मानसरोबर हुँदै गंगा मैदानसम्म फैलिएको खस जाति छ । यिनीहरुको मतवाली(जाँड रक्सी खाने), प्रकृति पूजक मस्ठो पूजा गर्ने(१२ भाई मस्ठ र ९ बहिनी, ४८ वटा प्रवर्ग) र अर्को जात व्यवस्था नभएका थिए । ईस्वी सम्बत्‌को २०० तिर नै यिनीहरु जुम्लादेखि डोटीसम्म आएर बसेको इतिहास छ । उनीहरु भित्र जात व्यवस्था थिएन । भारतका शंकराचार्यले पाँचौ शताब्दिमा पश्चिम नेपाल हुँदै मानसरोवरको यात्रा गरेका थिए । त्यस यात्राक्रममा उनले हिन्दू मतको प्रचार गरेका थिए ।
पश्चिम नेपालको विशेषतः भेरी नदि काटेर पश्चिमतिरका मान्छे मुगलानमा काम गर्न जाने चलन थियो । त्यो समयमा भारतमा मुगलहरुको राज्य भएकाले त्यसलाई मुगलान भनिन्थ्यो ।
तर दशौं शताब्दि पछि सबुक्तगीन गजनवी र सत्रौं शताब्दिमा नादीर शाह लगायतका थुपै्र मुसमानहरुले पटकपटक भारतमा आक्रमण गरे । दशौं शताब्दिदेखि चौधौं शताब्दिसम्म आक्रमणमा परेपछि हिन्दू राजा, ब्राहमणलगायतका हिन्दूहरु उपयुक्त जमिनको खोजीमा क्रमशः पहाडतिर सर्न थालेका थिए । उनीहरु कुमाउ, गडुवाल हुँदै अहिलेको महाकाली नदि तरेर नेपालको खस साम्राज्य भएको ठाउँतिर आइ पुगेका थिए । तिनीहरु वेद रचना गरेर आएका वैदिक आर्यहरु थिए । उनीहरुले खस आर्यसँग मिलेर जात व्यवस्था निर्माण गरेका थिए ।
अहिले खस आर्य जाति बन्न पुग्यो । यिनीहरुले निर्माण गरेको जात व्यवस्था तराई—मधेश र बागमतीकोसँग मिल्दैन्थ्यो । पश्चिमका आर्यहरुकोमा कामी हुन्छ । तराई—मधेशमा लोहार हुन्छ । त्यही पश्चिमको राज्य फैलिदैँ पूर्वको विजयपुसम्म पुग्यो । यसरी जुनजुन ठाउँमा हिन्दू धर्ममा आधारित राज्य व्यवस्था थियो, त्यहाँ जात व्यवस्था थियो ।
पृथ्वी नारायणशाहको राज्य विस्तारका क्रममा नोल्छे दरबारबाट राज्य संचालन हुन थालेपछि वर्ण व्यवस्था र जात व्यवस्थाका बारेमा पत्तै नपाएको लिम्बुले पनि मान्नु पर्ने बनाइएको थियो । यसअघि त नेपालमा वैदिक आर्य(हिन्दू), नेवार र मधेशका हिन्दूको बीचमा मात्र थियो । पृथ्वीनारायणको पालादेखि हिन्दू र गैह्र हिन्दू सबैले जात व्यवस्था मान्नु पर्ने भयो । यसअघि स्वतः बुझिने प्रथाको रुपमा मात्र थियो । तर जंगबहादुर राणाको पालामा त्यसलाई कानूनी रुप दिइयो । १९१० मा प्रकाशिसत पहिलो मुलुकी ऐनमा विस्तृत रुपमा जात व्यवस्थामा पालना गर्नु पर्ने नियमहरु लेखिएको छ ।
जंगबहादरको मुलुकी ऐनमा ३ थरी मान्छे कल्पना गरिएका छन् । एकथरी छन् तागाधारी(जनै लगाउने), मतवाली(मासिन्या—मास्न पाइने, बेच्न पाइने तामाङहरु र नमासिन्या—मास्न नपाइने जसले पृथ्वीनारायण शाहलाई सहयोग गरेका राई, लिम्बु, गुरुङ, मगर) र पानी नचल्नेहरु पनि दुई भागमा विभाजन गरियो । छोइ हाल्यो भने पनि सुनपानी, आगो वा होम गरी चोख्यउन नपर्ने र अर्को पानी पनि नचल्ने जसलाई छोइयो भने चोख्याउनु पर्ने आज दलित भनिन्छ । त्यो मुलुकी ऐनले जात व्यवस्थालाई कानूनी मान्यता दियो । कसलाई बिर्ता दिने कसलाई नदिने पानी अचल पारिएका र मासिन्या र नमासिन्या कसैले पनि विर्ता नपाउने कानूनी व्यवस्था नै गरियो ।
दलित माथिको उत्पीडनलाई कसरी बुझ्‌ने
माथिका तथ्यहरुलाई ग्रहण गर्ने कुरामा नै नेपालका राजनैतिक पार्टी, सरकारी र गैरसरकारी संघ/संस्थाको धारणा एकरुपतामा छैन । साथै वैज्ञानिक पनि छैन । खासमा दलित वर्ण व्यवस्थामा शूद्र बनाइएपछि नै बनाइएको थियो । त्यही शूद्रलाई हिन्दू धर्मले राज्यको कानूनमा छुत र अछुतमा विभाजन गर्‍यो । हिन्दू धर्मको दर्शनबाट निर्देशित राज्यले जात व्यवस्थामा परिणत गर्‍यो ।
शुरुमा फरक आर्य कविलाईहरु बीचमा युद्धमा हारेका, गैरआर्यहरुलाई काम गराउन कब्जा गरिएकालाई दास बनाइयो । उनीहरुलाई खेती, पशुपालन र सेवा गर्न कला र सिपयुक्त काम गराइलाई शूद्रको दर्जा दिइयो । यो तथ्यले के देखाउँछ भने शूद्र श्रमको आधारमा बनाइएको थियो । यसले गर्दा शुद्र कडा र सिपमुलक काम गर्न सक्नेलाई बनाइयो । त्यसैले दलित हुनुको मुख्य कारण श्रम हो । उनीहरुसँग भएको श्रममाथि शोषण गर्नका लागि फरक वर्णको सिर्जना गरियो ।
यही श्रम शोषण गर्न पाउन हिन्दू धर्मका ग्रन्थ मुख्यरुपमा ऋग्वेद र मनुस्मृतिमा ‘देव वाणी’ ऋचा र श्लोकका रुपमा लिपिबद्ध गराइयो । यसरी श्रम शोषणले धार्मिक र सांस्कृतिक रुप धारण गर्‍यो । यसबाट हालका दलितले श्रम शोषण, धार्मिक विभेद र सांस्कृतिक दलन भोग्नु परेको छ । यी शोषण, विभेद र दलनले गर्दा दलित सामाजिक बहिष्करणमा पर्दै आएका छन् । यही बहिष्करणलाई वर्तमान राज्यले मान्यता दिएको छ ।

प्रतिक्रिया