News Portal

ताजा शिर्षकहरु

अर्थ-बिजनेश मुख्य समाचार राजनीति समाचार

ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी

काठमाडौँ, भाद्र २७ । खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तथा बढ्दो महँगी नियन्त्रण गर्न माग गर्दै नेकपा (बहुमत) ले शनिबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । अध्यक्ष मण्डलका प्रदर्शनकारीहरूले बिजुल्लीबजारदेखि माईतिघरसम्म खाली थाल बजाउँदै तथा थालमा काँचो चामल राखेर सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले ग्यासको अभाव तत्काल अन्त्य गर्न र अत्यावश्यक वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । प्रदर्शनका क्रममा ‘दुई तिहाइको सरकार, चार तिहाइको सङ्कट’, ‘भोको पेटले के भन्छ, भरी ग्यास दे भन्छ’ र ‘महँगीको मार, ग्यासको हाहाकार, कहाँ छ सरकार ?’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनकारीहरूले दुई तिहाइ बहुमत प्राप्त सरकारले समेत खाना पकाउने ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति नियमित बनाउन नसकेको आरोप लगाएका छन् । उनीहरूले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई महँगो मूल्यमा खरिद गर्न बाध्य पारिएको दाबीसमेत गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज लाृहनीले केही ग्यास डिलरहरूले दिउँसो अभाव देखाएर रातको समयमा महँगो मूल्यमा ग्यास बिक्री गर्ने गरेको आरोप लगाए । उनले यस्तो कालोबजारीमा प्रशासनिक निकाय तथा सम्बन्धित जिम्मेवार व्यक्तिहरूको संरक्षण र कमिसनको खेल रहेको दाबी गरे ।
लोहनीले तत्काल ग्यास वितरण सहज बनाउन सरकारलाई चेतावनी दिँदै एक–दुई दिनभित्र समस्या समाधान नभए कालोबजारीमा संलग्न डिलरहरूको सूची सार्वजनिक गर्ने बताए । उनले त्यसपछि पनि सरकारले समस्या समाधानमा चासो नदिए जनताले आफैँ ग्यास डिलरमा पुगेर ग्यास कब्जा गरी निःशुल्क वितरण गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

प्रतिक्रिया