News Portal

ताजा शिर्षकहरु

विचार

कार्यकर्ता नीतिबारे

Georgi Dimitrov : अनुवाद/सम्पादन: सर्जन पाण्डे
कमरेडहरू, यदि हामीसँग हाम्रा उत्कृष्ट प्रस्तावहरूलाई व्यवहारमा उतार्न सक्ने मानिसहरूको अभाव भयो भने ती प्रस्तावहरू कागजका टुक्रामा मात्र सीमित हुनेछन् । तर दुःखका साथ, मैले यो भन्नै पर्छ कि हाम्रासामु रहेका अति महत्वपूर्ण प्रश्नहरूमध्येको एक, अर्थात् कार्यकर्ताको समस्याले यस महाधिवेशनमा नगण्य स्थान पाएको छ ।
कम्युनिस्ट इन्टरनेसनलको कार्यकारी समितिको प्रतिवेदनमाथि सात दिनसम्म छलफल भयो, विभिन्न देशका धेरै वक्ताहरूले भाग लिनुभयो, तर कम्युनिस्ट पार्टीहरू र मजदुर आन्दोलनका लागि अत्यन्तै महत्वपूर्ण रहेको यस प्रश्नमा धेरै कम वक्ताहरूले, त्यो पनि प्रसङ्गवश मात्र, चर्चा गर्नुभयो । हाम्रा पार्टीहरूले आफ्नो व्यावहारिक कार्यमा ’मानिसहरू अर्थात् कार्यकर्ताहरूले नै सबैथोकको फैसला गर्छन्’ भन्ने कुरा अझै पूर्ण रूपमा महसुस गर्न सकेका छैनन् ।
हामी संघर्षका क्रममा हाम्रा कतिपय अत्यन्तै मूल्यवान् कार्यकर्ताहरूलाई निरन्तर गुमाइरहेका छौँ, त्यसैले कार्यकर्ताको समस्याप्रतिको उपेक्षापूर्ण दृष्टिकोण झनै अक्षम्य हुन्छ । किनकि हामी कुनै विद्वत् समाज होइनौँ, बरु निरन्तर गोलाबारीको अग्रपङ्क्तिमा रहेको जुझारु आन्दोलनकर्ता हौँ । हाम्रा सबैभन्दा ऊर्जावान्, साहसी र वर्ग–सचेत योद्धाहरू अग्रपङ्क्तिमा छन् । शत्रुले विशेष गरी फासिवादी देशहरूमा यिनै अग्रपङ्क्तिका योद्धाहरूको खोजी–खोजी हत्या गर्छ, उनीहरूलाई जेल र यातना शिविरहरूमा थुन्छ तथा अमानवीय यातना दिन्छ । यसले गर्दा पङ्क्तिहरूलाई निरन्तर नयाँ शक्तिले भर्ने, नयाँ कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने एवम् तालिम दिने र विद्यमान कार्यकर्ताहरूको जतनका साथ रक्षा गर्ने अत्यावश्यकता खडा हुन्छ ।
हाम्रो प्रभावअन्तर्गत संयुक्त मोर्चा आन्दोलनले व्यापक गति लिइरहेको छ र यसले हजारौँ नयाँ जुझारू मजदुरहरूलाई अघि ल्याइरहेको छ; यस कारणले पनि कार्यकर्ताको समस्या विशेष टड्कारो बनेको छ । यसबाहेक, पहिले कहिल्यै राजनीतिक आन्दोलनमा सहभागी नभएका केवल नयाँ क्रान्तिकारी तत्वहरू वा क्रान्तिकारी बन्दै गरेका मजदुरहरू मात्र हाम्रा पङ्क्तिमा प्रवेश गरिरहेका छैनन् । प्रायः सोसल डेमोक्रेटिक पार्टीहरूका भूतपूर्व सदस्यहरू पनि हामीकहाँ आउने गर्छन् । यी नयाँ कार्यकर्ताहरूलाई, विशेष गरी गैरकानुनी कम्युनिस्ट पार्टीहरूमा, विशेष ध्यान दिनु आवश्यक छ; किनकि सैद्धान्तिक तालिम कमजोर भएका यी कार्यकर्ताहरूले आफ्नो व्यावहारिक काममा गम्भीर राजनीतिक समस्याहरूको सामना गर्नुपर्छ, जसको समाधान उनीहरू स्वयंले गर्नुपर्ने हुन्छ ।
कार्यकर्तासम्बन्धी सही नीति के हुनुपर्छ भन्ने समस्या हाम्रा पार्टीहरूका साथै युवा कम्युनिस्ट लिग र अन्य सबै जनसङ्गठनहरू अर्थात् सम्पूर्ण क्रान्तिकारी मजदुर आन्दोलनका लागि नै अत्यन्त गम्भीर विषय हो ।
कार्यकर्तासम्बन्धी सही नीतिको अर्थ के हो?
पहिलो, आफ्ना मानिसहरूलाई चिन्नु । सामान्यतया हाम्रा पार्टीहरूमा कार्यकर्ताहरूको व्यवस्थित अध्ययन गर्ने परिपाटी छैन । भर्खरै मात्र फ्रान्स र पोल्यान्डका कम्युनिस्ट पार्टीहरूले र पूर्वमा चीनको कम्युनिस्ट पार्टीले यस दिशामा केही सफलता हासिल गरेका छन् । जर्मनीको कम्युनिस्ट पार्टीले पनि आफ्नो भूमिगत कालअघि आफ्ना कार्यकर्ताहरूको अध्ययन सुरु गरेको थियो । यी पार्टीहरूको अनुभवले के देखाएको छ भने आफ्ना मानिसहरूको अध्ययन गर्न थाल्ने बित्तिकै पहिले ओझेलमा परेका पार्टी कार्यकर्ताहरू पत्ता लागे । अर्कोतर्फ, वैचारिक र राजनीतिक रूपमा हानिकारक गैर–वर्ग (Alien) तत्वहरूबाट पार्टीलाई शुद्धीकरण गर्न थालियो । फ्रान्सका सेलोर (Celor) र बार्बे (Barbe) को उदाहरण दिनु पर्याप्त हुनेछ, जसलाई बोल्सेभिक सुक्ष्मदर्शक यन्त्र मुनि राखेर हेर्दा वर्ग–शत्रुका एजेन्ट ठहरिए र पार्टीबाट निष्कासित गरियो । हंगेरीमा कार्यकर्ताहरूको जाँचले भड्काउनेहरू र आफ्नो पहिचान होसियारीपूर्वक लुकाईइरहेका शत्रुका एजेन्टहरूेहरूका समूहहरू पत्ता लगाउन सजिलो बनायो ।
दोस्रो, कार्यकर्ताहरूको उचित पदोन्नति । पदोन्नति कुनै आकस्मिक कुरा हुनु हुँदैन, बरु पार्टीको नियमित कार्य हुनुपर्छ । पदोन्नति पाएका कम्युनिस्टको जनसमुदायसँग सम्पर्क छ कि छैन भन्ने कुरालाई वास्ता नगरी केवल संकुचित पार्टी दृष्टिकोणका आधारमा मात्र पदोन्नति गरिनु गलत हो । विभिन्न पार्टी कार्यकर्ताहरूको विशिष्ट जिम्मेवारीहरू पूरा गर्ने क्षमता र जनसमुदायमा उनीहरूको लोकप्रियताका आधारमा पदोन्नति हुनुपर्छ । हाम्रा पार्टीहरूमा उत्कृष्ट परिणाम दिएका पदोन्नतिका उदाहरणहरू छन् । उदाहरणका लागि, यस महाधिवेशनको अध्यक्षमण्डलमा बसिरहनुभएकी हाम्रासामु एक जना स्पेनिस महिला कम्युनिस्ट, कमरेड डोलोरेस हुनुहुन्छ । दुई वर्षअघिसम्म उहाँ पार्टीको एक साधारण कार्यकर्ता मात्र हुनुहुन्थ्यो । तर वर्ग–शत्रुसँगका सुरुवाती भिडन्तहरूमै उहाँ एक उत्कृष्ट प्रचारक र योद्धा प्रमाणित हुनुभयो । पछि पार्टीको नेतृत्वदायी निकायमा पदोन्नत हुनुभएकी उहाँले आफूलाई त्यस निकायको अत्यन्तै योग्य सदस्यका रूपमा साबित गर्नुभएको छ ।
म अन्य धेरै देशहरूका यस्तै धेरै उदाहरणहरू औँल्याउन सक्छु, तर अधिकांश अवस्थामा पदोन्नतिहरू असङ्गठित र भद्रगोल ढङ्गले गरिन्छन्, त्यसैले ती सधैँ सफल हुँदैनन् । कहिलेकाहीँ नैतिकतावादीहरू, ढाँट्ने–छल्ने शब्दजाल बुन्नेहरू र गफाडीहरू, जसले वास्तवमा कामलाई नोक्सान पुर्‍याउँछन्, उनीहरू नेतृत्वदायी पदहरूमा पुग्छन् ।
तेस्रो, मानिसहरूको क्षमताको सर्वोत्तम उपयोग गर्ने कला । हामीले प्रत्येक सक्रिय सदस्यका मूल्यवान् गुणहरू पहिचान गर्न र तिनको उपयोग गर्न सक्नुपर्छ । कोही पनि आदर्श वा पूर्ण मानिस हुँदैनन्; हामीले उनीहरूलाई जस्ता छन् त्यस्तै रूपमा स्वीकार गर्नुपर्छ र उनीहरूका कमजोरी तथा त्रुटिहरूलाई सच्याउनुपर्छ । हाम्रा पार्टीहरूमा असल र इमानदार कम्युनिस्टहरू, जसलाई उनीहरूले राम्रोसँग गर्न सक्ने काम दिएको भए धेरै उपयोगी हुन सक्थे, उनीहरूको गलत उपयोग गरिएका छर्लङ्ग उदाहरणहरू हामीलाई थाहा छ ।
चौथो, कार्यकर्ताहरूको उचित स्थानान्तरण । सबैभन्दा पहिले, हामीले आन्दोलनका मुख्य कडीहरू जनसमुदायसँग सम्पर्क भएका, तल्लो स्तरबाट उठेका, पहलकदमी लिन सक्ने, दृढ र सक्षम मानिसहरूको हातमा छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । बढी महत्वपूर्ण क्षेत्रहरूमा यस्ता कार्यकर्ताहरूको उपयुक्त संख्या हुनुपर्छ । पूँजीवादी देशहरूमा कार्यकर्ताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्नु सजिलो कुरा होइन । यस्तो कार्यमा कोषको अभाव, पारिवारिक परिस्थिति आदि जस्ता धेरै बाधा र कठिनाइहरूको सामना गर्नुपर्छ, जसलाई ध्यानमा राख्नुपर्छ र सही ढङ्गले समाधान गर्नुपर्छ । तर सामान्यतया हामी यी कुराहरूलाई पूर्ण रूपमा उपेक्षा गर्छौँ ।
पाँचौँ, कार्यकर्ताहरूलाई व्यवस्थित सहयोग । यो सहयोग विस्तृत निर्देशन, मैत्रीपूर्ण जाँचबुझ, कमजोरी र त्रुटिहरूको सुधार तथा कार्यकर्ताहरूको ठोस र दैनन्दिन मार्गदर्शनमा आधारित हुनुपर्छ ।
छैठौँ, कार्यकर्ताहरूको संरक्षण । परिस्थितिअनुसार आवश्यक पर्दा पार्टी कार्यकर्ताहरूलाई तुरुन्तै पछाडि हटाउन र तिनीहरूको सट्टा अरूलाई खटाउन हामीले सिक्नुपर्छ । हामीले विशेष गरी पार्टीहरू गैरकानुनी रहेका देशहरूमा, पार्टी नेतृत्वले कार्यकर्ताहरूको संरक्षण र सुरक्षाको सर्वोच्च जिम्मेवारी लेओस् भन्ने माग गर्नुपर्छ । कार्यकर्ताहरूको उचित संरक्षणका लागि पार्टीमा उच्च दक्षतायुक्त गोपनीयताको सङ्गठन हुनु आवश्यक छ । हाम्रा कतिपय पार्टीहरूमा धेरै कमरेडहरू सोच्छन् कि पार्टीहरूलाई तयारी सूत्र अनुसार औपचारिक रूपमा मात्र पुनर्गठित गरिएको भए तापनि उनीहरू गैरकानुनी अवस्थाका लागि तयार भइसकेका छन् । शत्रुको प्रत्यक्ष र कडा प्रहारपछि पार्टी भूमिगत भएपछि मात्र पुनर्गठनको वास्तविक काम सुरु गर्दा हामीले निकै ठूलो मूल्य चुकाउनुपरेको थियो । भूमिगत अवस्थामा रूपान्तरण हुने क्रममा जर्मनीको कम्युनिस्ट पार्टीले भोगेको गम्भीर क्षतिलाई सम्झनुहोस् । त्यसको अनुभवले आज अझै कानुनी हैसियतमा रहेका तर भोलि आफ्नो कानुनी हैसियत गुमाउन सक्ने हाम्रा पार्टीहरूका लागि गम्भीर चेतावनीको काम गर्नुपर्छ ।
कार्यकर्तासम्बन्धी सही नीतिले मात्र हाम्रा पार्टीहरूलाई उपलब्ध सबै शक्तिहरूलाई अधिकतम रूपमा विकसित र उपयोग गर्न तथा जनआन्दोलनको विशाल भण्डारबाट नयाँ र उत्कृष्ट सक्रिय कार्यकर्ताहरूको निरन्तर सुदृढीकरण प्राप्त गर्न सक्षम बनाउनेछ ।
कार्यकर्ता चयन गर्दा हाम्रा मुख्य मापदण्डहरू के हुनुपर्छ?
पहिलो, मजदुर वर्गको उद्देश्यप्रति पूर्ण समर्पण, वर्ग–शत्रुको अगाडि — लडाइँमा, जेलमा, अदालतमा परीक्षण भइसकेको — पार्टीप्रतिको निष्ठा भएको ।
दोस्रो, जनसमुदायसँग सम्भव भएसम्मको निकटतम सम्पर्क । सम्बन्धित कमरेडहरू जनसमुदायको हितमा पूर्ण रूपमा समर्पित हुनुपर्छ, जनसमुदायको जीवनको ढुकढुकी महसुस गर्न सक्ने हुनुपर्छ, उनीहरूको भावना र आवश्यकताहरू बुझ्न सक्ने हुनुपर्छ । हाम्रा पार्टी सङ्गठनका नेताहरूको प्रतिष्ठा, सबैभन्दा पहिले, जनसमुदायले उनीहरूलाई आफ्ना नेता मान्छन् र उनीहरूको नेतृत्व क्षमता तथा संघर्षमा उनीहरूको दृढता र आत्म–बलिदानबारे आफ्नै अनुभवबाट विश्वस्त छन् भन्ने तथ्यमा आधारित हुनुपर्छ ।
तेस्रो, दिइएको परिस्थितिमा स्वतन्त्र रूपमा आफ्नो दिशा पहिल्याउन सक्ने र निर्णयहरू गर्दा जिम्मेवारी लिन नडराउने क्षमता । जो जिम्मेवारी लिन डराउँछ, त्यो नेता होइन । जो पहलकदमी प्रदर्शन गर्न असमर्थ छ, जसले भन्छः ’मलाई जे भनिन्छ म त्यही मात्र गर्नेछु,’ त्यो बोल्सेभिक होइन । उही मात्र वास्तविक बोल्सेभिक नेता हो जो पराजयका क्षणहरूमा आत्तिँदैन, सफलताका क्षणहरूमा मात्तिँदैन, र निर्णयहरू कार्यान्वयन गर्न अदम्य दृढता प्रदर्शन गर्छ । जब कार्यकर्ताहरूलाई संघर्षका ठोस समस्याहरू स्वतन्त्र रूपमा समाधान गर्नुपर्ने स्थितिमा राखिन्छ र उनीहरू आफ्ना निर्णयहरूका लागि आफू पूर्ण रूपमा जिम्मेवार छु भन्ने कुरामा सचेत हुन्छन्, तब उनीहरूको विकास र वृद्धि सर्वोत्तम रूपमा हुन्छ ।
चौथो, वर्ग–शत्रुविरुद्धको संघर्षमा अनुशासन र बोल्सेभिक परिपक्वता (कठोरता) का साथै बोल्सेभिक कार्यदिशाबाट हुने सबै प्रकारका विचलनहरूप्रतिको सम्झौताहीन विरोध ।
हामीले कार्यकर्ताको सही चयन निर्धारण गर्ने यी सर्तहरूमा अझ बढी जोड दिनुपर्छ, किनकि व्यवहारमा प्रायः यस्ता कमरेडहरूलाई प्राथमिकता दिइन्छ जो, उदाहरणका लागि, राम्रो लेख्न सक्छन् र राम्रा वक्ता हुन्, तर उनीहरू कर्मठ व्यक्ति होइनन् र संघर्षका लागि ती अन्य कमरेडहरू जत्तिकै उपयुक्त हुँदैनन्, जबकि अर्को कमरेड — जो सायद त्यति राम्रो लेख्न वा बोल्न सक्दैनन्, तर दृढ, पहलकदमी भएका, जनसमुदायसँग सम्पर्क भएका र युद्धमा जान तथा अरूलाई युद्धमा नेतृत्व गर्न सक्षम छन् — उपेक्षित हुन्छ । के सम्प्रदायवादीहरू, सिद्धान्तवादीहरू वा नैतिकतावादीहरूले निष्ठावान् जनकार्यकर्ताहरू र मजदुर वर्गका वास्तविक नेताहरूलाई विस्थापित गरेका धेरै घटनाहरू भएका छैनन् र?
हाम्रा नेतृत्वदायी कार्यकर्ताहरूमा आफूले के गर्नुपर्छ भन्ने ज्ञानका साथै बोल्सेभिक सहनशीलता, क्रान्तिकारी चरित्रको सामर्थ्य र त्यसलाई पूरा गर्ने क्षमताको संयोजन हुनुपर्छ ।
(Georgi Dimitrov बुल्गेरियन कम्युनिष्ट पार्टीका नेता थिए । उनले तेस्रो इन्टरनेश्नल अर्थात कोमिन्टर्नको सातौं कंग्रेशमा फासिवाद विरुद्ध संयुक्त मोर्चाको प्रसिद्ध रिपोर्ट प्रस्तुत गरको थिए । यो लेख उनले १९३५ अगष्ट २ मा कोमिन्टर्नको सातौं कंग्रेशमा व्यक्त गरेको भाषणमा आधारित छ । उक्त भाषणको निष्कर्ष अंग्रेजी संस्करणमा “फासिवाद विरुद्ध श्रमिक वर्गको एकता” शिर्षकमा प्रकाशित छ । यो अनुवाद त्यसैको अंश हो ।)

प्रतिक्रिया