News Portal

ताजा शिर्षकहरु

मुख्य समाचार राजनीति विशेष न्यूज समाचार

नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन

काठमाडौं, असोज १२ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । पार्टीले असोज ५, ६ र ७ गते आयोजना गरेको सम्मेलनले विभिन्न राजनीतिक तथा सांगठनिक प्रस्ताव पारित गर्दै नयाँ नेतृत्व चयन गरेको जनाएको छ । पार्टीले असोज ११ गते गरेको पत्रकार सम्मेलनमा जारी गरेको प्रेस वक्तव्यअनुसार सम्मेलनको उद्घाटन अध्यक्षमण्डलका ज्येष्ठ सदस्य गम्भीरको अध्यक्षतामा भएको थियो । सम्मेलनको प्रारम्भमा विभिन्न संघर्ष तथा आन्दोलनमा जीवन बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । साथै बेपत्ता योद्धाहरूको स्मरण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको वक्तव्यमा उल्लेख छ । सम्मेलनको बन्दसत्रमा केन्द्रीय समितिको तर्फबाट अध्यक्षमण्डलका अध्यक्ष दीपकले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव तथा अध्यक्षमण्डलका सदस्य प्रवीरले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गरिएको थियो । प्रस्तावमाथि १० वटा समूह गठन गरी छलफल तथा बहस गरिएको र प्राप्त सुझावका आधारमा आवश्यक संशोधनसहित दुवै प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको पार्टीले जनाएको छ । प्रेस वक्तव्यमा पार्टीभित्र देखिएका राजनीतिक तथा सांगठनिक विवादबारे पनि चर्चा गरिएको छ। तत्कालीन पार्टी महासचिवको जिम्मेवारीमा रहेका कमरेड कञ्चनले पार्टीको राजनीतिक कार्यदिशाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको र विभिन्न पार्टीहरूसँग पत्राचार गरेको आरोप वक्तव्यमा लगाइएको छ । पार्टीका अनुसार त्यसपछि उत्पन्न विवादलाई वैचारिक तथा संगठनात्मक प्रक्रियाबाट समाधान गरिएको दाबी गरिएको छ ।
सम्मेलनले वैज्ञानिक समाजवादको राजनीतिक कार्यदिशाप्रति प्रतिबद्धता व्यक्त गर्दै विगतका राजनीतिक प्रक्रियाको समीक्षा गरेको छ । पार्टीले लामो समयदेखि सुरु भएको ‘पुँजीवादी संक्रमण’ को प्रक्रियाले २०७२ सालको संविधान घोषणासम्म आइपुग्दा आधारभूत रूप पूरा भएको र त्यसपछि दलाल पुँजीवाद संस्थागत भएको निष्कर्ष निकालेको जनाएको छ । त्यस्तै, वर्तमान राजनीतिक तथा आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै पार्टीले महँगी, बेरोजगारी, वित्तीय शोषण तथा जनताको दैनिक जीवनसँग जोडिएका समस्याहरू समाधान हुन नसकेको दाबी गरेको छ । विद्यमान व्यवस्थाको विकल्पमा समाजवादी गणतन्त्र स्थापनाको आवश्यकता रहेको पार्टीको निष्कर्ष रहेको वक्तव्यमा उल्लेख छ । सम्मेलनले पार्टी विधान संशोधन गर्दै नेतृत्वमा निरन्तरता र शक्ति सन्तुलनका लागि विभिन्न व्यवस्था गरेको जनाएको छ । नेतृत्वको कार्यकाल दुई कार्यकालभन्दा बढी हुन नहुने, केन्द्रीय समितिमा युवालगायत उत्पीडित समुदायको सहभागिता सुनिश्चित गर्ने तथा नीति निर्देशक समितिमार्फत शक्ति सन्तुलन कायम गर्ने व्यवस्था विधानमा गरिएको पार्टीले जनाएको छ ।
सम्मेलनबाट ८५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरी दीपकलाई महासचिव चयन गरिएको छ । त्यस्तै, दीर्घ पाण्डेको अध्यक्षतामा केन्द्रीय सल्लाहकार समिति र गम्भीरको अध्यक्षतामा केन्द्रीय नीति निर्देशक समिति गठन गरिएको प्रेस वक्तव्यमा उल्लेख छ । पार्टीले जनताको अधिकार तथा श्रमजीवी वर्गको मुक्तिका लागि ग्यास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्ने राज्य प्रणाली आवश्यक रहेको बताएको छ । यसका लागि ‘जनसंविधानका लागि जनपरिचालन’ कार्यक्रम अघि सारिएको पनि वक्तव्यमा उल्लेख छ । प्राकृतिक विपद्का कारण जोखिममा रहेका बस्ती तथा जिल्लालाई प्राथमिकताका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने मागसमेत पार्टीले गरेको छ । साथै, जलवायु परिवर्तन तथा कार्बन उत्सर्जनसँग सम्बन्धित क्षतिपूर्तिको विषयमा नेपालले पाउनुपर्ने रकम उपलब्ध गराउन सम्बन्धित देशहरूसँग माग गरिएको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया