News Portal

ताजा शिर्षकहरु

विचार

फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य

धर्मेन्द्र बास्तोला
जेनजी बिद्रोह पछि बनेको बालेन सरकारका मन्त्रीहरु र उनका समर्थकहरुबाट “वामपन्थी भास्य चक्नाचुर गर्न” भन्ने वाक्यांस सामाजिक सञ्जालमा व्यापक प्रयोग हुँदै आएको छ । यो विषय केवल पुराना दलहरुले गरेको भ्रष्टाचार, कुशासन, कमिशनखोरी, नातावाद, संस्थागत बेथितिको बिरोध मात्र होईन, यो वर्गीय पक्षधरताको ध्वतक हो । यो वर्गीय लडाई हो, यो सर्वहारा, श्रमजीवी, प्रगतिशील वर्ग र एकाधिकार पुँजीपति वर्गकाबीच वर्गसंघर्ष हो । उनीहरुको यो प्रचारबाट स्पष्ट हुन्छ, बालेन सरकार, उनी आबद्ध रास्वपा एकाधिकार पुँजीपतिवर्गको बफादार नोकरको प्रतिनिधित्व गर्ने दलाल पुँजीपतिवर्गको पार्टी हो, निपो–बेबीको बिरोध गर्दै आएको एरिस्टो–बेबिजको जमात हो, र वामपन्थ राजनीतिले प्राथमिकतामा समेटने गरेका सर्वहारा, श्रमजीवी, उत्पीडित र प्रगतिशील जनताको वर्गीय दुश्मन हो ।
सहज रुपमा बुझ्‌नु पर्ने के हो भने “वामपन्थी भास्य” भन्नुको तात्पर्य कम्युनिष्टहरुले आधारभूतरुपमा प्रयोग गर्ने भास्य “समाजवादी सत्ता”, “सर्वहारावर्ग” “उत्पीडित जनसमुदाय”, “प्रगतिशील जनसमुदाय”, “जातीय भेदभाव”, “जातव्यवस्थाको अन्त्य”, “सिमन्तकृत समुदायको उत्थान” “जातीय, क्षेत्रिय, लिङ्गिय, धार्मिक एवम् साम्प्रदायिक उत्पीडनको अन्त्य” जस्ता जनमुखि आधारभूत जनताको पक्षधरता हो । यो जनतालाई राजनीतिक, आर्थिक, सामाजिक स्वतन्त्रता प्रदान नगरिकन देशले स्वतन्त्रता प्राप्त गर्न सक्दैन भन्ने हो । त्यसको साथै यो आधारभूत वर्गका विरुद्ध खडा हुने “दलाल पुँजीवाद”, “एकाधिकार पुँजीवाद”, “सामन्तवाद”, “रुढीवाद”, “शोषण उत्पीडन”, “भ्रष्टाचार”, “लुटखसोट”, “मुनाफाखोर” “लुटतन्त्र” “बुर्जुवा अधिनायकत्व” जस्ता राजनीति, दर्शन र दृष्टिकोणका पारिभाषिक ‘वामपन्थी भास्य’ हुन । यी सामाजिक खराबीको अन्त्य नगरीकन देशले स्वाधीनता, लोकतन्त्र र समृद्धि प्राप्त गर्न सक्दैन भन्ने हो । बालेन सरकारको नेतृत्व गरेको पार्टी, रास्वपा अहिले “वामपन्थी भास्य चकनाचुर गर्ने” अभियानमा लागेको छ । यसको तात्पर्य स्पष्ट छ कि सर्वहारा, श्रमजीवी, उत्पीडित र प्रगतिशील वर्गका जनसमुदायको उत्थान र परिवर्तन चक्नाचुर गर्न लागेको छ । उनीहरुका वर्गीय हकअधिकारकालागि संघर्ष गर्ने विषयलाई चक्नाचुर गर्न खोजिएको छ ।
पुँजीवादी उत्पादन सम्बन्ध रहेका हरेक समाजमा आधारभूत रुपमा दुई बर्ग हुन्छन, एउटा शोषक वर्ग र अर्को शोषित वर्ग । पुँजीवादी समाजमा कुनै पनि मानिस यी दुई वर्ग भन्दा बाहिर रहनै सक्दैन । अथवा, पुँजीवादी उत्पादन सम्बन्ध भित्रको एउटा व्यक्ति आफैमा प्रथम शोषित हुन्छ र दोस्रो शोषक हुन्छ । एकको दुईमा बिभाजन हुने नियममा पुँजीवादी समाज भित्र लागु हुने यो प्राकृतिक नियम हो । कुनै सानो वा ठुलो ब्यापारी, उद्यमी, किसान, मजदुर, कर्मचारी, गृहस्थी कुनै पनि मानिस आफैमा सामाजिक अन्तरनीहित चरित्रको कारण कि शोषक रहेको हुन्छ कि शोषित । यो प्रक्रिया स्वचालित रुपमा समाजमा पैदा भईरहेको हुन्छ । यो समाजको अन्तरबिरोध हो ।
सामान्य जीवनमा प्रयोग भईरहने अन्तरबिरोधको प्रभाव सामाजिक जीवनको भन्दा कम हुन्छ । अन्तरबिरोध समाजमा जति ब्यापक रुपमा लागु हुँदै जान्छ त्यतिनै यसले समाजमा जटिलता पैदा गर्छ । एउटा घरभित्र पैदा हुने वर्गीय बिभाजन जति सामान्य हुन्छ त्यो भन्दा जटिल एउटा समाजमा देखिने अन्तरबिरोध हुन्छन् र त्यो भन्दा अझ जटिल सिंगो देशभित्र देखिने अन्तरबिरोध हुन्छ । त्यस्तै यो अन्तरबिरोध अन्तराष्ट्रिय क्षेत्रमा प्रभाव पार्ने हुन्छ । त्यसकारण दुई देशबिचको अन्तरबिरोध, बहुदेश भित्रको अन्तरबिरोध र विश्वबिचको अन्तरबिरोध पैदा हुने गर्छ, जुन एक देश भित्र पैदा हुने अन्तरबिरोध भन्दा कैयौ गुणा प्रभावकारी हुने गर्छन् ।
“वामपन्थी भास्य चकनाचुर गर्ने” रास्वपाको अभियानले उसको वर्गीय धरातल र वर्गीय पक्षधरतालाई जोडदार तरिकाले प्रस्तुत गर्दछ । सरकारको अर्थमन्त्री र रास्वपाको बिचारकको हैसियतमा संसदमा उभिएर स्वणिम वाग्लेले भनेका थिए, यो सरकार (रास्वपाको सरकार) नवउदारवादी होईन, कम्युनिष्टको आवरणमा क्रोनिक क्यापिटलिस्ट होईन, यो उदारवादी अर्थव्यवस्था अपनाउने सरकार हो । उनले भनेका थिए, यो सरकारको प्रथमिकता नीजि क्षेत्रले उडान भर्ने बनाउने हो । यो सरकारको काम देशमा सुशासन स्थापित गर्ने हो ।
अव प्रश्न आउँछ, यी सबै कुराहरु निसन्देहः रास्वपा सरकारबाट प्रफेक्ट्ली लागु हुने छन् । यसमा कुनै शंका गर्नु आवश्यक छैन । देशमा सुशासनको आवश्यक छ । बिकासको आवश्यकता छ । नीजि क्षेत्रले उडान भर्नु पनि आवश्यकता छ । क्रोनिक क्यापिटलको अन्त्य हुन पनि आवश्यक छ । नवउदारवादी पुँजीवादी उत्पीडनको अन्त्य हुनु पनि आवश्यक छ । र यो सरकारलाई उदारवादी देखिनु आवश्यक छ । किनभने देशको एउटा वर्ग, जुन दलाल पुँजीपति भित्रको एकाधिकार पुँजीपति हो, जसको हातमा बैंकहरु छन्, जसको हातमा किसान, मजदुर, कर्मचारी लगायत समस्त श्रमिक जनताको विवषता बेचेर मुनाफाखोरी गर्ने निजी उद्योगहरु छन्, जसको हातमा मानिसको भावना र भविष्यमा व्यापार गर्ने नीजी स्कुल र कलेजहरुको ठुलो दुकानदारी छ, जसको हातमा बिदेश बजारको नेपाली बजारसँग सौदावाजी गर्ने आयात निर्यातका लाईसेन्सहरु छन्, जसको हातमा निपो बेबिको बिरोध गर्ने कला छ र जो क्रिप्टोबेबीको रुपमा हुर्किएको थियो, जो एरीस्टो बेबीको रुपमा हुर्किएको थियो र अहिले संसद र सरकारमा रहेको छ, त्यसकालागि यो जनविरोधी फासीवाद आवश्यक छ । पुँजीवादी उदारवाद भनेको फासीवाद हो । फासीवाद पनि पुराना शासकहरुको कमजोरीको खरानीमै उम्रने हो र हरेक कठोर कारबाहीमा व्यापक जनसमर्थन प्राप्त गर्नु हो । सामाजिक सञ्जालमा समर्थनको बाढी ल्याउने संयन्त्र खडागरिएको छ । अहिलेको रास्वपाको सरकार यही गर्न चाहन्छ । फेरी पनि प्रश्न आउँछ कुन वर्गकालागि ? के यो नेपालको उदियमान सर्वहारा, श्रमजीवी, प्रगतिशील वर्गकालागि हो वा पतनशील एकाधिकार पुँजीपति वर्गका दलाल हरुकालागि ? रास्वपाले जुन सुव्यवस्थाको कुरा गरेको छ, सुशासनको कुरा गरेको छ त्यो जनताको हकमा होईन, एकाधिकार पुँजीपति वर्गको हकमा लागु गर्दै छ । त्यसकारण यो सरकार जनताका विरुद्ध फासीवाद उन्मुख छ ।
बिगतका सत्ताधारी, कांग्रस, एमाले, माके लगायतका पार्टीहरु, जो बारम्बार सत्तामा बसे उनीहरुले यो ‘सुव्यवस्था’ किन लागु गर्न सकेनन ? त्यसको स्पष्ट चित्र छ, यी पार्टीहरुकालागि आफ्नो जीवनकालभर राजनीतिको दोबाटोमा उभिनु पर्‍यो । “मरेको व्यापारीले स्वर्र्गमा पनि दोबाटो भेटेपछि व्यापार खोल्छ” भनेझै राजनीतिको दोबाटोमा उभिएका संसदवादी पार्टीहरुले राजनीतिक अन्धकारमा भ्रष्टाचार, कुशासन, नैतिक पतन हुने ब्यापार संचलान गरे । राजनीतिको यो दोबाटा के थियो ? त्यो के थियो भने एकातिर आन्दोलन गर्दा जनताको मुद्धामा प्रतिबद्धता थियो, र सरकारमा गईसकेपछि एकाधिकार पुँजीपति वर्गको सेवा गर्ने प्रतिबद्धता थपियो । जनताको प्रतिबद्धता पुरा गर्ने कि एकाधिकार पुँजीपति वर्गको ? उनीहरुका अगाडि आएको यो दोबाटोमा आधा जनताको र आधा एकाधिकार पुँजीपतिको प्रतिबद्धता पुरा गर्नु पर्ने बाध्यताले अराजकता, बेथिति, कुशासन पैदा भयो । यो बेथिति, अराजकता र कुशासनले न त जनताको हितमा काम गर्‍यो न एकाधिकार पुँजीपति वर्गको । यसले केवल दलाल पुँजीपतिको रुपमा काम गर्‍यो । यो जनताको बिचमा बदनाम भयो र एकाधिकार पुँजीपति वर्गका मालिकहरुका बिचमा पनि बदनाम भयो । सरकार दुईटै वर्गको हुन सक्दैन्थ्यो । कि जनताको सरकार हुनु पर्थ्यो कि पुँजीपतिको । जसको परिणाम २०४६ साल देखि स्थापित दलीय सरकार र २०६५ पछि स्थापित गणतन्त्र पछि बनेको सरकार जनताबाट नांगिने अवस्था बन्यो । निपो बेबीको नारा दिएर एरिस्टो–बेबी, क्रिप्टो बेबीहरुको उत्पात भदौ २४ मा देखा पर्‍योे ।
रास्वपाको दुईतिहाई मतले बनेको बालेन सरकार यो दोबाटोबाट मुक्त छ । उसले सार्वजनिक रुपमा घोषणा गरेको छ यो जनताको पक्षमा छैन । यो एकाधिकारवादी पुँजीपति वर्गको पक्षमा छ । यो भाषा उसका नीति र कार्यक्रमहरुमा, उसको बजेट भाषण र योजनाहरुमा र जनताका बिरुद्ध उसका कारबाहीहरुमा अभिव्यक्त भएको छ । सुकुम्बासी जनताको व्यवस्थापन नगरी घरबार भत्काईदिने, आत्महत्याकालागि दुरुत्साहन गर्ने, बालबालीकाको चिच्याहट र बुढाबुढी बिरामीको चित्कार लत्याउँदै लत्ताकपडा भग्नावशेषको थुप्रो भित्र कुँढादानमा पुरिदिने, बजेट बिनियोजन गर्दा शिक्षा क्षेत्रमा ह्रास र नीजि पोषणमा बढात्तरी गर्ने, २ कारोड भन्दा कम लगानी भएका किसानले अनुदान नपाउने, राजस्वसंकलन गर्न १०० रुपैयाको आयातमा समेत भंसार कर थोपर्ने, शिक्षामा हुने व्यापारलाई बैधता दिने जुन कार्य सरकारबाट भएका छन् यसले जनताको बिरुद्ध अट्टाहासको आवाज ओकलेको छ । अनौठो कुरा त के छ भने, निहत्था रुपमा रहेका गरिब सुकुम्बासी जनताको छाप्रो भत्काउन प्रहरीको ठुलो बल प्रयोग गरियो, नेपाली सेनाको दुरुपयोग गरियो, नेपाली सेनाका बख्तरबन्द गाडिहरुको प्रदर्शन गरियो । उनीहरुले भन्ने गरेका छन्, जे रास्वपाले गर्दैछ त्यो बिगतका पार्टीहरुले गरेको भए रास्वपा पैदा हुन आवश्यक हुँदैन्थ्यो । यो बिल्कुल सही कुरा हो । यदि बिगतका पार्टीहरु राजनीतिको दोबाटोमा न उभिएर कि पुरै जनताको पक्षमा कि पुरै एकाधिकार पुँजीपतिको पक्षमा उभिएको हुनथ्यो भने सम्भवत रास्वपाको भूमिका आवश्यक पर्दैन्थ्यो ।
यसले के स्पष्ट गरेको छ भने यो सरकार नेपाली जनताको होईन, यो मुठ्ठीभर नेपाली दलाल पुँजीपति वर्गको हो । अझ यहाँ यो पनि स्पष्ट छ कि यो नेपाली दलाल पुँजीपतिको भन्दा विदेशी एकाधिकार पुँजीपति वर्गको हो । एकाधिकारवादी पँुजीपतिवर्ग प्रतिनीधि फासीवादले पनि राष्ट्रवादको नारामा जनतालाई झिलीमिली पार्ने गर्छ । आज नेपालका परराष्ट्रमन्त्रीको पद सम्हालेका “टीच फर नेपाल जर्नी”मा तालिम प्राप्त बिदेशमन्त्रीले भारत भ्रमण गर्दा नेपाली राष्ट्रवादको झण्डा उठाएका छन् । सर्वसाधारणको आँखामा तालीको गडगडाहट बर्षाउने उनको यो शाहस “वामपन्थी” र “डेमोक्रयाटस” मिलेर लिम्पीयाधुरा लिपुलेक समेटेको नक्सा प्रकाशित गर्नु जस्तै हो वा कुनै एमसीसी र एसपीपीको पृष्टपोषण गर्ने षड्यन्त्र ? नेपाललाई स्वाधीन राष्ट्रको रुपमा देशलाई एकताबद्ध गर्ने प्रक्रिया कि युक्रेन र सिरीया जस्तै अमेरिकी साम्राज्यवादको सैनिक परेड खेल्ने युद्ध मैदान ? यो भविष्यले नै स्पष्ट गर्ने छ । फेरी पनि स्पष्ट हुन आवश्यक छ, फासीवाद सँधै बन्दुकको नालमा टिकेको हुँदैन, सिंहदरवार, सर्बोच्च अदालत, राष्ट्रपति भवन जलाउने बम, बारुद र रसायनको बौछार मात्र गर्दैन, फासीवाद सर्वसाधारण मानिसका सपना र विभ्रमको समर्थनमा फस्टाउने गरेको हुन्छ । फासीवादले जनताकाविरुद्ध गर्ने दमनकारी कदको समर्थन गर्ने डफ्फा तयार गरेको हुन्छ । त्यसप्रकारको मायावी प्रचार गरेको हुन्छ । यो एक्काइसौ शताब्दीको आधुनिक फासीवादको चरित्र हो ।
तर सबै कुराबाट स्पष्ट भएको “फासीवादी” डफ्फाबाट बनेको सरकार “वामपन्थी भास्य चकनाचुर गर्न” लागिपरेको छ । बहुसंख्यक जनताको पक्षमा हुने दार्शनिक भास्य, राजनीतिक भास्य चकनाचुर गर्ने फासीवादीहरु जनताबाट छिट्टै चकनाचुर हुने छन् । जनताले केही समयमात्र धैर्य गर्न आवश्यक छ, र केही समयमा बिगतको इतिहासको समिक्षा गर्न आवश्यक छ, र केही समय जनताको एकताको मुठ्ठी उठाएर लामबद्ध हुन आवश्यक छ र एकछिन भविस्यको उज्यालो बिम्बतिर आँखा लगउनु आवश्यक छ र त्यहाँ देखिने छ कि उनको फासीवादी सत्ता पनि छिट्टैनै चकनाचुर हुने छ । दलाल पुँजीवादी उत्पादन सम्बन्ध रहेको नेपालको उत्पादन पद्धति पनि छिट्टै चकनाचुर हुने छ । दोबाटोमा उभिएको माफीया तन्त्रबाट चकनाचुर भएजस्तै फासीवादको एकबाटोमा लागेको रास्वपाको माफियातन्त्र पनि चक्नाचुर हुनेछ । त्यतिबेला सिंगो नेपाली जनताको सत्ता हुनेछ र यो सत्ता, रास्वपाको एकाधिकार पुँजीवादी अधिनायकत्व चक्नाचुर गर्दै सर्वहारा, श्रमजीवी र प्रगतिशील जनताको क्रान्तिकारी अधिनायकत्वमा अघि बढ्नेछ । त्यो सत्ता नै वैज्ञानिक समाजवादी सत्ता हुनेछ ।
जेठ २०८३

प्रतिक्रिया