News Portal

ताजा शिर्षकहरु

विचार

बमको दर्शन

भगवतीचरण वोहरा र भगत सिंह
अनुवाद/सम्पादनः सर्जन पाण्डे 
हालैका घटनाहरू, विशेष गरी २३ डिसेम्बर १९२९ मा भाइसरायको विशेष रेल विष्फोट गराउने प्रयासको निन्दा गर्दै कांग्रेसद्वारा पारित प्रस्ताव तथा ‘योङ्ग इन्डिया’मा गान्धीजीद्वारा लिखित लेखहरूबाट यो स्पष्ट हुन्छ कि भारतीय राष्ट्रिय कांग्रेसले गान्धीजीसँग साँठगाँठ गरी भारतीय क्रान्तिकारीहरूका विरुद्ध तीव्र आन्दोलन प्रारम्भ गरेको छ । जनसमुदायका बीच भाषण तथा पत्रपत्रिकाका माध्यमबाट क्रान्तिकारीहरूका विरुद्ध निरन्तर दुष्प्रचार भइरहेको छ । यो कि त नियतवश गरिएको छ वा अज्ञानताका कारण उनीहरूका बारेमा गलत भ्रम छरिएको छ र उनीहरूलाई गलत बुझिँदै आइएको छ । तर क्रान्तिकारीहरू आफ्ना सिद्धान्त र कार्यहरूको यस्तो आलोचनाबाट हतोत्साहित हुँदैनन् । बरु, उनीहरू यस्तो आलोचनाको स्वागत गर्दछन्; किनभने उनीहरू यसलाई एउटा स्वर्णिम अवसर ठान्दछन् । किनकी यसो गर्नाले उनीहरूलाई क्रान्तिकारीहरूका ती मूलभूत सिद्धान्त र उच्च आदर्शहरू बुझाउने अवसर मिल्दछ, जो उनीहरूको प्रेरणा र शक्तिका अनवरत स्रोत हुन् । यस लेखद्वारा आम जनतालाई क्रान्तिकारीहरू को हुन् भन्ने कुरा बुझ्ने अवसर मिल्नेछ र उनीहरूका विरुद्ध गरिएको भ्रमात्मक प्रचारबाट उत्पन्न हुने गलत बुझाइबाट जोगाउन सकिनेछ भन्ने आशा गरिएको छ ।
सर्वप्रथम, हामी हिंसा र अहिंसाको प्रश्नमाथि नै विचार गरौँ । हाम्रो विचारमा यी शब्दहरूको प्रयोग नै त्रुटिपूर्ण रूपमा गरिएको छ र यसो गर्नु दुवै पक्षप्रति अन्याय गर्नु हो; किनभने यी शब्दहरूबाट दुवै पक्षका सिद्धान्तहरूको स्पष्ट बोध हुन सक्दैन । हिंसाको अर्थ अन्यायका लागि गरिने बल प्रयोग हो, तर क्रान्तिकारीहरूको उद्देश्य यो कदापि होइन । अर्कोतर्फ, अहिंसाको जो सामान्य अर्थ बुझिन्छ, त्यो आत्मिक शक्तिको सिद्धान्त हो । यसको उपयोग व्यक्तिगत तथा राष्ट्रिय अधिकारहरू प्राप्त गर्नका लागि गरिन्छ । यसमा आफूलाई कष्ट दिएर अन्ततः आफ्ना विरोधीहरूको हृदय–परिवर्तन गराउन सकिनेछ भन्ने अपेक्षा राखिन्छ ।
एकजना क्रान्तिकारीले जब केही कुराहरूलाई आफ्नो अधिकार मान्दछ, तब उसले तिनको माग गर्दछ, आफ्नो त्यस मागको पक्षमा दलीलहरू प्रस्तुत गर्दछ, सम्पूर्ण आत्मिक शक्तिद्वारा तिनलाई प्राप्त गर्ने संकल्प गर्दछ, त्यसको प्राप्तिका लागि अत्यधिक कष्ट सहन्छ र यसका निम्ति ऊ ठूलोभन्दा ठूलो त्याग गर्न तत्पर रहन्छ र यसको समर्थनमा उसले आफ्नो सम्पूर्ण शारीरिक बलको समेत प्रयोग गर्दछ । उसका यी प्रयासहरूलाई तपाईँ जुनसुकै नामले पुकार्नुहोस्, तर यसलाई ‘हिंसा’ को नामले सम्बोधन गर्न सक्नुहुन्न; किनभने यसो गर्नु शब्दकोशमा दिइएको यस शब्दको अर्थप्रति अन्याय हुनेछ । सत्याग्रहको अर्थ सत्यका लागि आग्रह गर्नु हो । तर त्यसको स्वीकृतिका लागि केवल आत्मिक शक्तिको प्रयोगमा मात्र जोड किन? यसका साथसाथै शारीरिक बलको प्रयोग किन नगर्ने? हरेक क्रान्तिकारीले स्वतन्त्रता प्राप्तिका लागि आफ्नो शारीरिक र नैतिक दुवै शक्तिको प्रयोगमा विश्वास गर्दछ । तर नैतिक शक्तिको मात्र प्रयोग गर्नेहरू शारीरिक बल प्रयोगलाई निषेध गर्दछन् । त्यसैले, अब प्रश्न यो होइन कि तपाईँ हिंसा चाहनुहुन्छ वा अहिंसा, बरु प्रश्न त यो हो कि तपाईँ आफ्नो उद्देश्य प्राप्तिका लागि शारीरिक बलसहितको नैतिक बल प्रयोग गर्न चाहनुहुन्छ कि केवल आत्मिक शक्ति मात्र?क्रान्तिकारीहरूको यो दृढ विश्वास छ कि देशले क्रान्तिबाट नै स्वतन्त्रता प्राप्त गर्नेछ । उनीहरू जुन क्रान्तिका लागि प्रयत्नशील छन् र जसको स्वरूप उनीहरूको मानसपटलमा स्पष्ट छ, त्यसको अर्थ विदेशी शासक र तिनका मतियारहरूसँग क्रान्तिकारीहरूको सशस्त्र संघर्ष मात्र होइन; बरु यस सशस्त्र संघर्षका साथसाथै देशका लागि नवीन सामाजिक व्यवस्थाको ढोका खोल्नु हो । क्रान्तिले पूँजीवाद, वर्गवाद र केही सीमित व्यक्तिहरूलाई मात्र विशेषाधिकार दिने प्रणालीको अन्त्य गर्नेछ । यसले राष्ट्रलाई आत्मनिर्भर बनाउनेछ, र यसबाट नवीन राष्ट्र तथा नयाँ समाजको उदय हुनेछ । क्रान्तिबाट प्राप्त हुने सबैभन्दा ठूलो उपलब्धि भनेको यसले मजदुर र किसानहरूको राज्य स्थापना गरी देशको राजनीतिक शक्ति कब्जा गरेर बसेका तमाम अवाञ्छित सामाजिक तत्वहरूको समूल नष्ट गरिदिनेछ ।

आजको युवा पुस्ता मानसिक दासता र धार्मिक रूढिवादी बन्धनमा जकडिएको छ र त्यसबाट मुक्ति पाउनका लागि युवा समाजमा जुन छटपटी छ, क्रान्तिकारीहरूले त्यसैमा प्रगतिशीलताको अंकुर देखिरहेका छन् । नवयुवकहरूले जसरी यो मनोविज्ञान आत्मसात् गर्दै जानेछन्, त्यसरी नै उनीहरूको अगाडि राष्ट्रको पराधीनताको चित्र स्पष्ट हुँदै जानेछ र देशलाई स्वतन्त्र बनाउने उनीहरूको इच्छा झन् तीव्र बन्नेछ । यो क्रम तबसम्म चलिरहनेछ, जबसम्म ती युवकहरू न्यायोचित आक्रोश र क्षोभले ओतप्रोत भई अन्याय गर्नेहरूको विनाश गर्न उद्यत हुने छैनन् । यस प्रकार देशमा सशस्त्र प्रतिरोधको जन्म हुन्छ । सशस्त्र प्रतिरोध आफैँमा सम्पूर्ण क्रान्ति होइन तर क्रान्ति पनि  सशस्त्र प्रतिरोधविना पूर्ण हुँदैन । यो त क्रान्तिको एक अपरिहार्य अङ्ग हो । इतिहासको कुनै पनि क्रान्तिको विश्लेषण गरेर यस सिद्धान्तको पुष्टि गर्न सकिन्छ । सशस्त्र प्रतिरोधले आततायी (अत्याचारी) को मनमा भय उत्पन्न गराउँछ र पीडित जनतामा प्रतिशोधको भावना जागृत गराई उनीहरूलाई शक्ति प्रदान गर्दछ । यसले ढुलमुले प्रवृत्तिका मानिसहरूमा साहस भर्दछ र उनीहरूमा आत्मविश्वास पैदा गर्दछ । यसबाट विश्वका सामु क्रान्तिको उद्देश्यको वास्तविक स्वरूप प्रकट हुन्छ; किनभने यो कुनै पनि राष्ट्रको स्वतन्त्रता प्राप्तिको उत्कट महत्वकांक्षाको अकाट्य प्रमाण हो; जसरी अन्य देशहरूमा हुँदै आएको छ, त्यसरी भारतमा पनि आतंकवादले अन्ततः क्रान्तिको रूप धारण गर्नेछ र क्रान्तिबाट नै देशले सामाजिक, राजनीतिक तथा आर्थिक स्वतन्त्रता प्राप्त गर्नेछ ।
यी नै हुन् क्रान्तिकारीका सिद्धान्तहरू, जसमा उनीहरू विश्वास गर्दछन् र जसलाई देशका लागि प्राप्त गर्न चाहन्छन् । यस सत्यको प्राप्तिका लागि उनीहरू गुप्त र खुला दुवै तरिकाबाट प्रयत्न गरिरहेका हुन्छन् । यस प्रकार, विगत एक शताब्दीदेखि संसारमा जनता र शासक वर्गबीच चलिरहेको संघर्षको अनुभव नै उनीहरूको लक्ष्यमा पुग्ने मार्गदर्शक बनेको छ । क्रान्तिकारीहरू जुन तरिकामाथि विश्वास गर्दछन् ती कहिल्यै असफल भएका छैनन् ।
यस अवधिमा कांग्रेस के गरिरहेको थियो? उसले आफ्नो ध्येय ‘स्वराज्य’ बाट बदलेर ‘पूर्ण स्वतन्त्रता’ घोषणा गर्‍यो । यस घोषणाबाट जुनसुकै व्यक्तिले पनि यही निष्कर्ष निकाल्नेछ कि कांग्रेसले ब्रिटिश शासनका विरुद्ध होइन, बरु क्रान्तिकारीहरूका विरुद्ध युद्धको घोषणा गरेको छ । यस सम्बन्धमा, २३ डिसेम्बर १९२९ मा भाइसरायको विशेष रेल विष्फोट गराउने प्रयासको निन्दाको प्रस्ताव नै कांग्रेसको पहिलो प्रहार थियो । सो प्रस्तावको मस्यौदा गान्धीजी स्वयंले तयार पारेका थिए र त्यसलाई पारित गराउन उनले आफ्नो सम्पूर्ण शक्ति लगाएका थिए । परिणामस्वरूप, सन् १९१३ को सदस्य संख्यामा यो केवल ३१ बढी (अंग्रजीमा ८१ मत उल्लेख छ, जे हाेस् गान्धीका सम्पूर्ण प्रयासका बाबजुत न्यून मतान्तर मात्रै हाे ।) मतले मात्र पारित हुन सक्यो । के यस झिनो बहुमतमा कुनै राजनीतिक इमानदारीता थियो? यस सन्दर्भमा हामी यहाँ सरलादेवी चौधरानीको मत उद्धृत गर्न चाहन्छौँ, जो जीवनभर कांग्रेसकी अनन्य भक्त रहिन् । यस विषयमा सोधिएको प्रश्नको उत्तरमा उनले भनिन्— “मैले महात्मा गान्धीका अनुयायीहरूसँग यस विषयमा जुन कुराकानी गरेँ, त्यसबाट यो थाहा भयो कि महात्माजीप्रतिको व्यक्तिगत निष्ठाका कारण उनीहरूले यस सम्बन्धमा आफ्ना स्वतन्त्र विचारहरू व्यक्त गर्न सकेनन् र सो प्रस्तावको विरुद्धमा मतदान गर्न असमर्थ रहे, जसको प्रणेता स्वयम् महात्माजी हुनुहुन्थ्यो ।” जहाँसम्म गान्धीजीको तर्कको प्रश्न छ, त्यसमा हामी पछि विचार गर्नेछौँ । उनले प्रस्तुत गरेका दलीलहरू कांग्रेसमा दिइएको भाषणकै थोरबहुत विस्तृत रूप मात्र हुन् ।
यस दुःखद प्रस्तावका सम्बन्धमा एउटा विचारणीय कुरा छ, जसलाई हामी उपेक्षा गर्न सक्दैनौँ । त्यो के हो भने, कांग्रेसले अहिंसाको सिद्धान्तलाई मान्दछ र विगत १० वर्षदेखि यसको समर्थनमा प्रचार गर्दै आएको छ । यति हुँदाहुँदै पनि प्रस्तावको समर्थनमा गरिएका भाषणहरूमा गालीगलौजको प्रयोग गरियो । उनीहरूले क्रान्तिकारीहरूलाई ‘कायर’ भने र उनीहरूका कार्यहरूलाई ‘घृणास्पद’ भनी टिप्पणी गरे । तीमध्येका एक वक्ताले त चेतावनी दिँदै यहाँसम्म भने कि यदि उनीहरू (सदस्यहरू) गान्धीजीको नेतृत्व चाहन्छन् भने यो प्रस्ताव सर्वसम्मतिले पारित गर्नुपर्छ । यति विघ्न प्रयास गर्दा पनि यो प्रस्ताव अत्यन्त न्यून मतले मात्र पारित हुन सक्यो । यसबाट यो निःसन्देह प्रमाणित हुन्छ कि देशका जनता पर्याप्त संख्यामा क्रान्तिकारीहरूको समर्थन गरिरहेका छन् । यस अर्थमा गान्धीजी हाम्रा लागि बधाईका पात्र छन् कि उनी आफैँले यस विषयमा बहस सिर्जना गरे र यसरी संसारलाई देखाइदिए कि अहिंसाको गढ मानिने कांग्रेसका सदस्यहरू सम्पूर्ण रूपमा नभए पनि एक हदसम्म कांग्रेसभन्दा बढी क्रान्तिकारीहरूको साथमा छन् ।
यस विषयमा गान्धीजीले प्राप्त गरेको विजय वास्तवमा पराजयतुल्य नै थियो र अहिले उनी ‘दि कल्ट अफ दि बम’ नामक लेखमार्फत क्रान्तिकारीहरूमाथि दोस्रो आक्रमण गर्न पुगेका छन् । यस सम्बन्धमा अगाडि केही भन्नुअघि हामी यस लेखमाथि गम्भीरतापूर्वक विचार गर्नेछौँ । यस लेखमा उनले तीनवटा कुराको उल्लेख गरेका छन्— उनको विश्वास, उनको विचार र उनको मत । हामी उनको ‘विश्वास’ को विश्लेषण गर्दैनौँ; किनभने विश्वासमा तर्कका लागि स्थान हुँदैन । गान्धीजी जसलाई हिंसा भन्दछन् र जसका विरुद्ध उनले तर्कसङ्गत विचारहरू व्यक्त गरेका छन्, हामी त्यसको सिलसिलेवार विश्लेषण गर्नेछौँ ।गान्धीजी सोच्दछन् कि अधिकांश भारतीय जनतालाई हिंसाको भावनाले छोएकोसम्म पनि छैन र अहिंसा नै उनीहरूको राजनीतिक अस्त्र बनेको छ भन्ने उनको धारणा सही हो । हालै उनले देशको जुन भ्रमण गरे, त्यसै अनुभवका आधारमा उनको यो धारणा बनेको हो । तर आफ्नो यस यात्राको अनुभवबाट उनी भ्रममा पर्नु हुँदैन । यो सत्य हो कि कांग्रेसका नेताहरू आफ्नो भ्रमण त्यहाँसम्म मात्र सीमित राख्दछन् जहाँसम्म एक्सप्रेस रेलले उनीहरूलाई आरामसँग पुर्‍याउन सक्छ; जबकि गान्धीजीले आफ्नो यात्राको दायरा मोटरकार जान सक्ने ठाउँसम्म विस्तार गरेका छन् । यस यात्राका क्रममा उनी केवल धनाढ्य व्यक्तिहरूको निवासमा मात्र बसे । यस यात्राको अधिकांश समय उनका भक्तहरूद्वारा आयोजित गोष्ठीहरूमा उनको प्रशंसा सुन्न र सभाहरूमा कहिलेकाहीँ अशिक्षित जनतालाई दर्शन दिनमा नै बित्यो । ती जनतालाई आफूले राम्ररी बुझेको उनको दाबी छ, तर यही कुरा उनी आम जनताको विचारधारा बुझ्दछन् भन्ने तर्कको विपरित छ ।

कुनै पनि व्यक्तिले जनसाधारणको विचारधारालाई मञ्चबाट केवल दर्शन र उपदेश दिएर बुझ्न सक्दैन । उसले त केवल यति मात्र दाबी गर्न सक्छ कि उसले विभिन्न विषयहरूमा आफ्ना विचारहरू जनताका सामु राख्यो । के गान्धीजीले यी वर्षहरूमा आम जनताको सामाजिक जीवनमा कहिल्यै प्रवेश गर्ने प्रयास गरे? के उनले कहिल्यै कुनै साँझ गाउँको कुनै चौतारीको आगो ताप्दै कुनै किसानको विचार बुझ्ने प्रयत्न गरे? के कुनै कारखानाको मजदुरसँग एक साँझ बिताएर उसको विचार बुझ्ने कोसिस गरे? तर हामीले यो गरेका छौँ; त्यसैले हामी दाबी गर्छौँ कि हामी आम जनतालाई बुझ्दछौँ । हामी गान्धीजीलाई विश्वास दिलाउन चाहन्छौँ कि एक सामान्य भारतीयले आफ्नो शत्रुलाई प्रेम गर्ने आध्यात्मिक भावना र अहिंसालाई धेरै कम बुझ्दछ । संसारको नियम नै यही हो— तिम्रो एक मित्र छ, तिमी उसलाई माया गर्छौ, कहिलेकाहीँ त यति धेरै कि तिमी उसको लागि आफ्नो ज्यान समेत दिन तयार हुन्छौ । तिम्रो शत्रु छ, तिमी उससँग कुनै पनि प्रकारको सम्बन्ध राख्दैनौ । क्रान्तिकारीहरूको यो सिद्धान्त नितान्त सत्य, सरल र स्पष्ट छ; र यो शाश्वत सत्य आदम र इभाको समयदेखि चल्दै आएको छ, जसलाई बुझ्न कहिल्यै कसैलाई कठिनाइ भएन । हामी यो कुरा आफ्नै अनुभवका आधारमा भनिरहेका छौँ । त्यो दिन धेरै टाढा छैन, जब जनताहरू क्रान्तिकारी विचारधारालाई मूर्त रूप दिन हजारौँको संख्यामा एकजुट हुनेछन् ।
गान्धीजी घोषणा गर्दछन् कि अहिंसाको सामर्थ्य र आत्म–उत्पीडनबाट उनी एक दिन विदेशी शासकहरूको हृदय परिवर्तन गरी उनीहरूलाई आफ्नो विचारधाराको अनुयायी बनाउनेछन् । अहिले उनले आफ्नो सामाजिक जीवनको यस चमत्कारिक ‘प्रेम संहिता’ को प्रचारका लागि आफूलाई समर्पित गरेका छन् । उनी दृढ विश्वासका साथ यसको प्रचार गरिरहेका छन्, जस्तो कि उनका केही अनुयायीहरूले पनि गरेका छन् । तर के उनी बताउन सक्छन् कि भारतमा कतिजना शत्रुहरूको हृदय परिवर्तन गरी उनीहरूलाई भारतको मित्र बनाउन उनी सफल भए? उनले कतिजना ओडायर, डायर, रिडिङ र इरविनहरूलाई भारतको मित्र बनाउन सके? यदि कसैलाई पनि सकेका छैनन् भने, इङ्गल्यान्डलाई अहिंसाद्वारा सम्झाई–बुझाई भारतलाई स्वतन्त्रता दिन तयार गराउन सकिन्छ भन्ने उनको विचारधारासँग भारत कसरी सहमत हुन सक्छ?
यदि भाइसरायको गाडीमुनि बमको विष्फोट सही ढङ्गले भएको भए दुईमध्ये एक कुरा अवश्य हुने थियो— या त भाइसराय गम्भीर घाइते हुने थिए वा उनको मृत्यु हुने थियो । यस्तो अवस्थामा भाइसराय र राजनीतिक दलका नेताहरूबीचको वार्ता हुन पाउने थिएन, यो अनुनय–विनयको प्रयास रोकिने थियो र त्यसबाट राष्ट्रको हित नै हुने थियो । कलकत्ता कांग्रेसको चुनौतीपछि पनि स्वशासनको भीख माग्नका लागि भाइसराय भवनको वरिपरि घुम्नेहरूको घृणास्पद प्रयास असफल हुने थियो । यदि बम सही ढङ्गले विष्फोट भएको भए भारतको एकजना शत्रुले उचित सजाय पाउने थियो । मेरठ र लाहोर षड्यन्त्र एवं भुसावल काण्डको मुद्दा चलाउनेहरू केवल भारतका शत्रुहरूलाई मात्र मित्र लाग्न सक्छन् । साइमन कमिसनको सामूहिक विरोधबाट देशमा जुन अभूतपूर्व एकता स्थापित भएको थियो, गान्धी र नेहरूको राजनीतिक अदूरदर्शिताका कारण नै इरविनले त्यसलाई छिन्नभिन्न पार्न सफल भए । आज कांग्रेसभित्र पनि आपसी फुट पैदा भएको छ । हाम्रो यस दुर्भाग्यका लागि भाइसराय वा उनका चाटुकारहरूबाहेक अरू को जिम्मेवार हुन सक्छ? यति हुँदाहुँदै पनि हाम्रो देशमा उनलाई भारतको मित्र ठान्ने मानिसहरू छन् ।
देशमा यस्ता मानिसहरू पनि होलान् जसको कांग्रेसप्रति कुनै श्रद्धा छैन र उनीहरू यसबाट कुनै आशा पनि गर्दैनन् । यदि गान्धीजीले क्रान्तिकारीहरूलाई त्यस श्रेणीमा राख्छन् भने उनीहरूमाथि अन्याय हुनेछ । उनी यो कुरा राम्ररी जान्दछन् कि कांग्रेसले जनचेतना जगाउने महत्वपूर्ण कार्य गरेको छ । यसले आम जनतामा स्वतन्त्रताको भावना जागृत गराएको छ । तर उनीहरूको यो दृढ विश्वास छ कि जबसम्म कांग्रेसमा सेन गुप्ता जस्ता ‘अद्भुत’ प्रतिभाशाली व्यक्तिहरू— जसले भाइसरायको ट्रेन विष्फोट गराउने कार्यमा गुप्तचर विभागको हात रहेको कुरा गर्छन्, र अन्सारी जस्ता मानिसहरू— जो राजनीति कम बुझ्छन् र उचित तर्कको उपेक्षा गर्दै ‘कुनै पनि राष्ट्रले बमद्वारा स्वतन्त्रता प्राप्त गरेको छैन’ भन्ने जस्ता निरर्थक दलील दिन्छन्— जबसम्म कांग्रेसका निर्णयहरूमा यस्ता विचारहरूको प्रधानता रहनेछ, तबसम्म देशले यसबाट निकै कम आशा राख्न सक्छ । क्रान्तिकारीहरू त त्यस दिनको प्रतीक्षामा छन् जब कांग्रेसी आन्दोलनबाट अहिंसाको यो सनक समाप्त हुनेछ र त्यो क्रान्तिकारीहरूसँग काँधमा काँध मिलाएर पूर्ण स्वतन्त्रताको सामूहिक लक्ष्यतर्फ अघि बढ्नेछ । यस वर्ष कांग्रेसले त्यस सिद्धान्तलाई स्वीकार गरेको छ, जसको प्रतिपादन क्रान्तिकारीहरूले विगत २५ वर्षदेखि गर्दै आएका थिए । हामी आशा गरौँ कि आगामी वर्ष यसले स्वतन्त्रता प्राप्तिका क्रान्तिकारी मार्गहरूको पनि समर्थन गर्नेछ ।
गान्धीजी दाबी गर्छन् कि जब–जब हिंसाको प्रयोग भएको छ, तब–तब सैनिक खर्च बढेको छ । यदि उनको संकेत क्रान्तिकारीहरूको विगत २५ वर्षका गतिविधिप्रति हो भने हामी उनको यस भनाइलाई तथ्य र तथ्यांकद्वारा प्रमाणित गर्न चुनौती दिन्छौँ । बरु हामी त यो भन्नेछौँ कि उनको अहिंसा र सत्याग्रहका प्रयोगहरूको परिणाम (जसलाई स्वतन्त्रता सङ्ग्रामसँग तुलना गर्न सकिँदैन) नोकरशाही अर्थव्यवस्थामाथि परेको छ । आन्दोलनहरू चाहे ती हिंसात्मक हुन् वा अहिंसात्मक, सफल हुन् वा असफल, तिनको प्रभाव भारतको अर्थव्यवस्थामा पर्ने नै छ । हामी बुझ्न सक्दैनौँ कि देशमा सरकारले गरेका विभिन्न कानूनी सुधारहरूमा गान्धीजी हामीलाई किन अल्झाउन खोज्दैछन्? उनीहरूले मोर्ले–मिन्टो सुधार, मोन्टेग्यू सुधार वा यस्तै अन्य सुधारहरूको कहिल्यै वास्ता गरेनन् र न त तिनका लागि कुनै आन्दोलन नै गरे । ब्रिटिश सरकारले यी टुक्राहरू त केवल वैधानिक आन्दोलनकारीहरूका सामु फ्याँकेको थियो, ताकि उनीहरूलाई सही मार्गबाट विचलित गराउन सकियोस् । ब्रिटिश सरकारले उनीहरूलाई यो घुस दिएको थियो, जसले गर्दा उनीहरू क्रान्तिकारीहरूलाई समूल नष्ट गर्ने सरकारको नीतिमा सहयोगी बनून् । गान्धीजीले उल्लेख गरेझैँ, भारतका लागि ती खेलौनाजस्तै हुन्— जसको उद्देश्य होम रुल, स्वशासन, जिम्मेवार सरकार, पूर्ण जिम्मेवार सरकार, औपनिवेशिक स्वराज्य जस्ता गुलामीका अनेकौँ कानुनी नामहरूको माग गर्नेहरूलाई फकाउनु मात्र हो । क्रान्तिकारीहरूको लक्ष्य शासन–सुधारको होइन, उनीहरूले त स्वतन्त्रताको झण्डा उहिल्यै उच्च पारिसकेका छन् र उनीहरू त्यसै लक्ष्य प्राप्तिका लागि विनाकुनै हिचकिचाहट बलिदान दिइरहेका छन् । उनीहरूको दाबी छ कि उनीहरूको बलिदानले जनताको विचारधारामा प्रचण्ड परिवर्तन ल्याएको छ । उनीहरूको प्रयत्नले देशलाई स्वतन्त्रताको मार्गमा धेरै अगाडि बढाएको छ र यो कुरा उनीहरूसँग राजनीतिक मतभेद राख्नेहरूले पनि स्वीकार गर्दछन् ।
गान्धीजीको भनाइ छ कि हिंसाले प्रगतिको मार्ग अवरुद्ध भई स्वतन्त्रता प्राप्तिको दिन पछि धकेलिन्छ; तर हामी यस सम्बन्धमा यस्ता अनेकौँ उदाहरणहरू दिन सक्छौँ, जहाँ हिंसाको मार्ग अवलम्बन गर्ने देशहरूले सामाजिक प्रगति हासिल गर्दै राजनीतिक स्वतन्त्रता प्राप्त गरे । हामी रुस र टर्कीकै उदाहरण लिऔँ । दुवै देशले हिंसात्मक उपाय र सशस्त्र क्रान्तिद्वारा नै सत्ता प्राप्त गरे । त्यसपछि पनि सामाजिक सुधारका कारण त्यहाँका जनताले तीव्र गतिमा प्रगति गरे । केवल अफगानिस्तानको एउटा उदाहरणबाट समग्र राजनीतिक सूत्र प्रमाणित हुन सक्दैन; त्यो त केवल एउटा अपवाद मात्र हो ।
गान्धीजीको विचारमा ‘असहयोग आन्दोलनका बेला जुन जनचेतना जागृत भयो, त्यो अहिंसाको उपदेशकै परिणाम थियो’ । तर यो धारणा गलत छ र यसको श्रेय अहिंसालाई दिनु पनि ठूलो भूल हो; किनभने जहाँ कतै पनि व्यापक जनचेतना जागृत भयो, त्यो मोर्चाको प्रत्यक्ष कारबाहीबाट मात्र सम्भव भएको हो । उदाहरणका लागि, रुसमा शक्तिशाली जनआन्दोलनबाट नै त्यहाँका किसान र मजदुरहरूमा जागरण उत्पन्न गर्‍यो । उनीहरूलाई कसैले अहिंसाको उपदेश दिएको थिएन । बरु हामी त यहाँसम्म भन्छौँ कि अहिंसा र गान्धीजीको सम्झौतावादी नीतिले गर्दा नै ती शक्तिहरूमा विभाजन आयो, जुन सामूहिक मोर्चाको नाराबाट एकजुट भएका थिए । राजनीतिक अन्यायको मुकाबला अहिंसाको अस्त्रबाट गर्न सकिन्छ भन्ने जुन तर्क गरिन्छ, त्यसका बारेमा संक्षेपमा यति मात्र भन्न सकिन्छ कि यो एउटा यस्तो अनौठो विचार हो जसको अहिलेसम्म सफल परीक्षण हुन सकेको छैन ।
दक्षिण अफ्रिकामा भारतीयहरूले माग गरेको न्यायोचित अधिकार प्राप्त गर्न अहिंसाको अस्त्र असफल रह्यो । राष्ट्रिय कांग्रेसका स्वयंसेवकहरूको विशाल फौज यसका लागि प्रयत्नशील रहँदा र त्यसमा करिब सवा करोड रुपैयाँ खर्च हुँदा पनि यसले भारतलाई स्वराज्य दिलाउन सकेन । हालै बारदोली सत्याग्रहमा यसको असफलता प्रमाणित भइसकेको छ । यस अवसरमा सत्याग्रहका नेता गान्धी र पटेलले बारदोलीका किसानहरूलाई जुन न्यूनतम अधिकार दिलाउने आश्वासन दिएका थिए, त्यो पनि उनीहरूले दिलाउन सकेनन् । यसबाहेक अन्य कुनै देशव्यापी आन्दोलनको सफलताका बारेमा हामीलाई थाहा छैन । अहिलेसम्म यस अहिंसाले पाएको एकमात्र आशीर्वाद भनेको ‘असफलता’ हो । यस्तो स्थितिमा देशले पुनः यसको प्रयोग गर्न अस्वीकार गर्नु कुनै आश्चर्यको कुरा होइन । वास्तवमा गान्धीजीले जुन रूपमा सत्याग्रहको प्रचार गर्छन्, त्यो एक प्रकारको आन्दोलन हो, एक विरोध हो, जसको स्वाभाविक परिणाम सम्झौतामा टुङ्गिन्छ, जुन कुरा प्रत्यक्ष देखिएको छ । त्यसैले, स्वतन्त्रता र दासताबीच कुनै सम्झौता हुन सक्दैन भन्ने कुरा हामीले जति चाँडो बुझ्छौँ, त्यति नै उत्तम हुनेछ ।
गान्धीजी सोच्दछन् कि हामी नयाँ युगमा प्रवेश गर्दैछौँ । तर कांग्रेसको विधानमा शब्दहरूको हेरफेर मात्र गरेर, अर्थात् ‘स्वराज्य’ शब्दलाई ‘पूर्ण स्वतन्त्रता’ भन्दैमा नयाँ युग प्रारम्भ हुँदैन । त्यो दिन वास्तवमा एक महान् दिन हुनेछ, जब कांग्रेसले सर्वमान्य क्रान्तिकारी सिद्धान्तहरूका आधारमा देशव्यापी आन्दोलन सुरु गर्ने निर्णय गर्नेछ । त्यस्तो समय नआउन्जेल स्वतन्त्रताको झण्डा फहराउनु हास्यास्पद मात्र हुनेछ । यस विषयमा हामी सरलादेवी चौधरानीका ती विचारहरूसँग सहमत छौँ, जुन उनले एकजना पत्रकारसँगको अन्तर्वार्तामा व्यक्त गरेकी थिइन् । उनले भनिन्— “३१ डिसेम्बर १९२९ को मध्यरातको ठीक एक मिनेटपछि स्वतन्त्रताको झण्डा फहराउनु एक विचित्र घटना हो । त्यस समय जी. ओ. सी. ( General Officer Commanding), असिस्टेन्ट जी. ओ. सी. तथा अन्य मानिसहरू यो कुरा राम्ररी जान्दथे कि स्वतन्त्रताको झण्डा फहराउने निर्णय मध्यरातसम्म अन्यौलतामा झुण्डिएको थियो; किनभने यदि भाइसराय वा सेक्रेटरी अफ स्टेटका तर्फबाट भारतलाई औपनिवेशिक स्वराज्य प्रदान गरिएको सन्देश आएको भए राती ११ बजेर ५९ मिनेटमा पनि स्थिति परिवर्तन हुन सक्थ्यो ।” यसबाट स्पष्ट हुन्छ कि पूर्ण स्वतन्त्रता प्राप्ति नेताहरूको हार्दिक इच्छा थिएन, बल्कि यो एक बालहठजस्तै थियो । भारतीय राष्ट्रिय कांग्रेसका लागि उपयुक्त त यो हुन्थ्यो कि उसले पहिले स्वतन्त्रता प्राप्त गरोस् र मात्र त्यसको घोषणा गरोस् । यो सत्य हो कि अब औपनिवेशिक स्वराज्यको सट्टा कांग्रेसका वक्ताहरूले जनताका सामु ‘पूर्ण स्वतन्त्रता’ को ढोल पिट्नेछन् । उनीहरू अब जनतालाई भन्नेछन् कि जनता संघर्षका लागि तयार हुनुपर्छ, जसमा एक पक्षले मुक्का प्रहार गर्नेछ र अर्को पक्षले केवल त्यसलाई सहिरहनेछ— जबसम्म ऊ कुटिएर यति हताश हुँदैन कि पुनः उठ्न नै नसकोस् ! के त्यसलाई संघर्ष भन्न सकिन्छ र के यसबाट देशले स्वतन्त्रता पाउन सक्छ? कुनै पनि राष्ट्रका लागि सर्वोच्च लक्ष्य अगाडि सार्नु राम्रो हो, तर साथसाथै त्यस लक्ष्यसम्म पुग्नका लागि योग्य र पूर्वपरीक्षित साधनहरूको प्रयोग गर्नु पनि उत्तिकै आवश्यक छ, अन्यथा संसारको सामु हामी हास्यपात्र बन्ने भय रहिरहनेछ ।गान्धीजीले सम्पूर्ण विचारशील मानिसहरूलाई क्रान्तिकारीहरूसँगको सहयोग बन्द गर्न र उनीहरूका कार्यहरूको निन्दा गर्न आह्वान गरेका छन्, ताकि हाम्रा यी उपेक्षित देशभक्तहरूले आफ्ना हिंसात्मक कार्यहरूबाट भएको क्षतिलाई बुझ्न सकून् । मानिसहरूलाई उपेक्षित र पुराना तर्कका समर्थक भनिदिनु जति सजिलो छ, त्यसैगरी उनीहरूको निन्दा गरेर जनतालाई उनीहरूलाई सहयोग नगर्न भन्नु, जसले गर्दा उनीहरू एक्लिएर आफ्नो कार्यक्रम स्थगित गर्न बाध्य होऊन्— यो सब गर्न विशेष गरी त्यस व्यक्तिका लागि झन् सजिलो हुन्छ जो जनताका केही प्रभावशाली व्यक्तिहरूको विश्वासपात्र बनेको छ । गान्धीजीले जीवनभर जनजीवनको अनुभव गरे, तर यो ठूलो दुःखको कुरा हो कि उनी क्रान्तिकारीहरूको मनोविज्ञान न त बुझ्दछन्, न बुझ्न नै चाहन्छन् । त्यो सिद्धान्त अमूल्य छ, जुन प्रत्येक क्रान्तिकारीलाई प्रिय छ । जो व्यक्ति क्रान्तिकारी बन्दछ, जब उसले आफ्नो शिर हत्केलामा राखेर जुनसुकै क्षण पनि आत्मबलिदानका लागि तयार रहन्छ, त्यो केवल खेलका लागि होइन । उसले यो त्याग र बलिदान यसका लागि पनि गर्दैन कि जब जनता उसप्रति सहानुभूति देखाउने स्थितिमा होउन् र उसको जयजयकार गरून् । उसले यस मार्गको अवलम्बन यसकारण गर्छ कि उसको विवेकले उसलाई यसको प्रेरणा दिन्छ, उसको आत्मा उसलाई यसका लागि प्रेरित गर्छ ।

एक क्रान्तिकारी सबैभन्दा बढी तर्कमा विश्वास गर्दछ । ऊ केवल तर्क र तर्कमा मात्र विश्वास गर्छ । जुनसुकै प्रकारको गालीगलौज वा निन्दा, चाहे त्यो जतिसुकै उच्च स्तरबाट गरिएको किन नहोस्, उसलाई आफ्नो निश्चित उद्देश्य प्राप्तिबाट विमुख गराउन सक्दैन । यदि जनताको सहयोग मिलेन वा उसको कार्यको प्रशंसा गरिएन भने उसले आफ्नो उद्देश्य त्याग्नेछ भनी सोच्नु नितान्त मूर्खता हो । थुप्रै क्रान्तिकारीहरू, जसका कार्यहरूको वैधानिक आन्दोलनकारीहरूले घोर निन्दा गरे, तैपनि उनीहरू त्यसको प्रवाह नगरी फाँसीको फन्दामा झुण्डिए । यदि तपाईँ चाहनुहुन्छ कि क्रान्तिकारीहरूले आफ्ना गतिविधिहरू स्थगित गरून्, भने त्यसका लागि तर्कद्वारा उनीहरूका सामु आफ्नो मत प्रमाणित गर्नुपर्दछ । यो र केवल यो नै एकमात्र मार्ग हो, र बाँकी कुराहरूका बारेमा कसैलाई सन्देह हुनु हुँदैन । क्रान्तिकारी यस्तो डर र धम्कीबाट कदापि पछि हट्दैनन् ।
हामी प्रत्येक देशभक्तसँग विनम्र अनुरोध गर्दछौँ कि उनीहरू गम्भीरतापूर्वक हामीसँग यस युद्धमा सामेल होउन् । कुनै पनि व्यक्तिले अहिंसा र यस्तै अनौठा विधिहरूद्वारा मनोवैज्ञानिक प्रयोग गरेर राष्ट्रको स्वतन्त्रतासँग खेलवाड नगरोस् । स्वतन्त्रता राष्ट्रको प्राण हो । हाम्रो दासता हाम्रा लागि लज्जास्पद छ; थाहा छैन कहिले हामीमा यो बुद्धि र साहस आउनेछ कि हामी यसबाट मुक्ति पाएर स्वतन्त्र हुन सकौँ? हाम्रा प्राचीन सभ्यता र गौरवमय विरासतको के नै फाइदा भयो र यदि हामीमा विदेशी दासता, विदेशी झण्डा र बादशाहका सामु शिर नझुकाउने स्वाभिमान नै बाँकी रहेन भने !
के यो अपराध होइन कि ब्रिटेनले भारतमा अनैतिक शासन गर्‍यो? हामीलाई भिखारी बनायो, हाम्रो सम्पूर्ण रगत चुस्यो? एक जाति र मानवताका नाताले हाम्रो घोर अपमान तथा शोषण गरिएको छ । के जनता अझै पनि चाहन्छन् कि यस अपमानलाई बिर्सिएर हामी ब्रिटिश शासकहरूलाई क्षमा गरिदिऊँ? हामी बदला लिनेछौँ, जुन जनताद्वारा शासकहरूसँग लिइने न्यायोचित बदला हुनेछ । कायरहरूलाई पिठ्युँ फर्काएर सम्झौता र शान्तिको आशामा टाँसिरहन दिनुहोस् । हामी कसैसँग पनि दयाको भीख माग्दैनौँ र हामी पनि कसैलाई क्षमा गर्नेछैनौँ । हाम्रो युद्ध विजय वा मृत्युको निर्णय नभएसम्म निरन्तर चलिरहनेछ ।
क्रान्ति अमर रहोस् !
करतार सिंह
अध्यक्ष
हिन्दुस्तान सोसलिस्ट रिपब्लिक एसोसिएसन
१९३० जनवरी २६
(२३ डिसेम्बर १९२९ मा क्रान्तिकारीहरूले ब्रिटिश साम्राज्यवादका स्तम्भ मानिने भाइसरायको रेल विष्फोट गराउने प्रयास गरे, जुन असफल भयो । गान्धीजीले यस घटनामाथि एक कटुतापूर्ण लेख ‘बमको पूजा’ लेखे, जसमा उनले भाइसरायलाई देशको शुभचिन्तक र नवयुवकहरूलाई स्वतन्त्रताको मार्गमा ‘रोडा अड्काउने’हरू रूपमा चित्रण गरे । यसैको प्रत्युत्तरमा हिन्दुस्तान सोसलिस्ट रिपब्लिकन एसोसिएसनका तर्फबाट भगवतीचरण वोहराले ‘बमको दर्शन’ लेख लेखे, जसको मूल शीर्षक ‘हिन्दुस्तान प्रजातन्त्र समाजवादी सभाको घोषणापत्र’ राखिएको थियो । भगत सिंहले जेलभित्रै यसलाई अन्तिम रूप दिएका थिए । २६ जनवरी १९३० अर्थात् कांग्रसले ’पूर्ण स्वराज्य’ को नारासहित पहिलो पटक स्वतन्त्रता दिवस मनाएकै दिन देशभर व्यापक रूपमा वितरण गरिएको थियो ।)[यो लेख  हिन्दीबाट नेपालीमा भाषान्तरण गरिएको हो ।  हिन्दी स्रोतः  भगतसिंह और उनके साथियों के संपूर्ण उपलब्ध दस्तावेज़ (४४३-४५२)]

प्रतिक्रिया