News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय कला-साहित्य राजनीति विचार

२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र

(यो अप्रकाशित लेख पाका हनुमन्तु (गणेश विकी) को मृत्यु पछि भेटिएको हो । उनी २५ डिसेम्बर, २०२५ मा ओडिशाको कन्धमाल वन क्षेत्रमा प्रहरीद्वारा मारिएका माओवादी केन्द्रीय नेता हुन् । भनिन्छ, सन् २०२२ सेप्टेम्बरमा बाबुको मृत्युको खबर पाएपछि उनले यो लेख लेखेका थिए । पछि उनकी आमा पनि गरिबी, रोग र बुढ्यौलीका बीच बितिन् । छोरा जीवित रहँदा यो पत्र आमासम्म पुगेको थियो कि थिएन, थाहा छैन । एक प्रमुख दैनिक पत्रिकाले उनको मृत्युको समयमा पनि यो प्रकाशित गर्न अस्वीकार गरे पनि, पाठकसम्म पुग्नैपर्छ भन्ने सोचले……………….. — लाल समाचार)
प्रिय आमा,
यस्तो दुःखद घडी यसरी आउनेछ भन्ने मैले कहिल्यै सोचेको थिइनँ । पत्रिकामा देखेँ—२०२२ सेप्टेम्बर ३० तारिख, ९० वर्षको उमेरमा बाबा हामीलाई छाडेर जानु भएछ । म जब क्रान्तिको बाटोमा पाइला चाल्दै तिमीहरूलाई छोडेर गएको थिएँ, आज बाबाको मृत्युको खबरले झन्डै चार दशकअघिका सबै सम्झनाहरू फेरि मेरो मनमा जीवित बनाइदिएको छ । तिमी, बाबा, परिवारका सबै सदस्यहरू र गाउँलेहरूसँग बिताएका दिनहरू आँखाअगाडि आइरहेका छन् । क्रान्तिमा सामेल हुनु अघि तिमीहरू सबैले दिएको माया र स्नेहले नै मलाई यो बाटो हिँड्ने शक्ति दिएको हो। आज पछाडि फर्केर हेर्दा तिमीहरूप्रतिको मेरो सम्मान झन् गहिरो भएको महसुस गर्छु ।
विशेष गरी मेरा बाबा । उनले मेरो लागि, मेरा दाजुभाइ–दिदीबहिनीहरूको लागि, हाम्रो परिवारको लागि अथक परिश्रम गर्नुभयो । यस देशका साधारण जनताको जीवन यस्तै हुन्छ—जिम्मेवारी, माया र पसिनाले भरिएको ।
मेरो बाल्यकालका दिनहरू आज पनि अत्यन्त उज्याला छन् । हजुरबा पुल्लैय्या र हजुरआमा पेद्दाम्माको काखमा खेलेका दिनहरू, बाबासँग खेतमा काम गरेको—माटो खन्ने, जोत्ने, बीउ छर्ने, बाली भित्र्याउने । उनले जति नै दुःख गरे पनि, सबै हाम्रो लागि थियो। तिमीहरू दुवैले हामीलाई गरिबीका बीच हुर्काउन कति ऋण गर्नुपर्‍यो, कति दुःख सहनुपर्‍यो । यति परिश्रमपछि पनि कहिलेकाहीँ हाम्रो परिवार भोकै बस्नुपरेका दिनहरू आएका थिए । ती दिनहरू म कहिल्यै बिर्सन सक्दिनँ । यस देशमा हाम्रो जस्तै लाखौँ परिवार छन् । तिमीले आफैँ नखाई हामीलाई खुवाएको कुरा म जीवनभर सम्झिरहनेछु । जीवनका विभिन्न अनुभवहरूले मलाई सिकाएको छ—सबै बाबाआमाहरू यस्तै हुन्छन् । सन्तानप्रतिको तिमीहरूको आशा असीम थियो। सायद व्यक्तिगत जीवनप्रतिको त्यो आशा नै आज सम्पूर्ण मानवता र देशको इतिहासप्रतिको मेरो आशामा रूपान्तरण भएको हो। त्यसैले बाल्यकालमा तिमीहरूले सिकाएका कुरा म कहिल्यै बिर्सन सक्दिनँ ।
परिवारको जेठो छोरो भएर तिमीले दिएको अथाह माया, स्नेह र विश्वासले मलाई सधैँ क्रान्तिकारी बाटोतर्फ डोर्‍यायो । त्यतिबेला हाम्रो गाउँबाट नलगोंडा सहर पढ्न जान बसभाडासमेत मसँग थिएन । तिमीले दिएको पैसाले एक दिनको राशन किनेर दुई दिन चलाउँदै म हिँडेको थिएँ । तिमीहरू सबैले सोच्नु भएको थियो—म अझ पढेर परिवारको जिम्मा सम्हाल्नेछु । तर मैले रोजेँ—क्रान्तिको बाटो । पछि जब तिमीले बुझ्यौ कि मैले जिम्मेवारीबाट भागेको होइन, बरु सही बाटो रोजेको हुँ, त्यो बुझाइले मलाई अत्यन्त खुशी बनायो ।
विद्यालयमा पढ्दाखेरि हजुरबा पुल्लैय्याले मलाई १९४० को दशकमा नलगोंडा जिल्लामा भएको सशस्त्र किसान सङ्घर्षका कथाहरू सुनाउनुहुन्थ्यो । निजामको पुलिस, रजाकारहरूको अत्याचार, नेहरू–पटेलको नेतृत्वमा भारतीय सेनाले कम्युनिस्ट गुरिल्लामाथि गरेको दमन—सबै कुरा । गरिबका घर जलाइएको, लुटपाट, महिलामाथि गरिएको अत्याचारका पीडादायी कथाहरूले मेरो मनमा गहिरो छाप छोडेको थियो ।
ठूलो हुँदै जाँदा मैले थाहा पाएँ—हाम्रो गाउँमै पनि हजुरबाजस्तै धेरै वृद्धहरू थिए, जो तेलंगानाको सशस्त्र किसान आन्दोलनमा सहभागी भएका थिए । नक्सलबाडी र श्रीकाकुलमका योद्धाहरूले पनि त्यही क्रान्तिकारी उत्तराधिकार बोकेर हिँडिरहेका छन् । हजुरबाले आफ्ना अनुभवमार्फत मेरो मनमा अमिट छाप छोड्नुभयो ।
उहाँका कुराहरूले मलाई युवावस्थामा समाजको शोषण र विभेदबारे गहिरो सोच्न सिकायो । क्रान्तिकारी राजनीतितर्फ आकर्षित हुँदै म प्रगतिशील विद्यार्थी युनियनको सदस्य बनेँ र जिल्ला कमिटीमा काम गर्न थालेँ । सन् १९८१ मा कलेजको डिग्री अधुरै छोडेर म क्रान्तिकारी आन्दोलनमा सामेल भएँ । उद्देश्य एउटै थियो—हाम्रो जस्ता करोडौँ गरिब किसान, तिमीहरूजस्ता बाबाआमा, सम्पूर्ण जनतालाई शोषण र उत्पीडनबाट मुक्त गर्नु, महिलालाई पितृसत्ताको जाँतोबाट निकाल्नु । तिमी र बाबाले सिकाएको इमानदारी, परिश्रम र सङ्घर्षको मूल्य आज पनि मेरो बाटो देखाउने दियो हो । गर्वका साथ भन्न सक्छु—तिमीले दिएको नैतिक शिक्षाले आज मभित्र सामाजिक जिम्मेवारी, क्रान्तिकारी आदर्श र आचरणको रूप लिएको छ । स्वार्थरहित जीवन बाँच्ने दर्शनले मेरो क्रान्तिकारी यात्रालाई निरन्तर बलियो बनाइरहेको छ ।
यी चालीस वर्षमा प्रहरी बलले धेरैपटक हाम्रो घरमा छापा मारेको छ र तिमीहरूलाई दुःख दिएको छ । विशेष गरी चण्डुर प्रहरी चौकीमा बाबालाई लगेर मेरो खोजीमा अपमान र यातना दिइयो । आत्मसमर्पण गराउन पत्रिकामार्फत दबाब दिन पनि बाबालाई पटक–पटक हैरान पारियो । तर बाबाले कहिल्यै टाउको झुकाउनु भएन । कुनै कुरामा स्पष्ट विश्वास छ भने, जति दुःख आए पनि त्यसका लागि उभिनुपर्छ—यो मूल्य उहाँले आफ्नो जीवनबाटै अभ्यास गर्नुभयो । मेरो कारण उहाँले भोग्नुपरेको यातना सहँदै पनि उहाँ अडिग रहनुभयो। मलाई थाहा पाउँदा अत्यन्त भावुक बनायो—उहाँ गर्वका साथ भन्नुहुन्थ्यो, श्रमिक, किसान, दलित र महिलामुक्तिका लागि उहाँको छोरो क्रान्तिकारी रूपमा काम गरिरहेको छ, यही उहाँका लागि गौरव हो। यस देशमा तिमीहरूजस्तै हजारौँ बाबाआमा छन् । देशभरि फैलिएको क्रान्तिकारी आन्दोलनको पछाडि यस्ता बाबाआमाको आकांक्षाको पनि ठूलो हिस्सा छ । म विश्वस्त छु—बाबाले अन्तिम सास छोड्दा पनि यही सोच मनमा राख्नुभएको थियो ।
आज धेरै क्रान्तिकारीहरू आफ्ना प्रिय बाबाआमा, दाजुभाइ–दिदीबहिनीहरूलाई सम्झन मात्र सक्छन्, भेट्न सक्दैनन् । यही शोषणकारी राज्यले यस्तो प्रतिबन्ध थोपरेको छ । क्रान्तिकारीहरूलाई मार्न यस राज्यले टाउकोको मूल्य तोक्न पनि हिच्किचाएको छैन, हाम्रा हतियारसम्मका लागि इनाम घोषणा गरेको छ । विभिन्न षड्यन्त्र र कुटिल चालमार्फत देशभरि ‘अल–आउट वार’ चलाइँदैछ । बिहार–झारखण्डदेखि दण्डकारण्य, ओडिशा र तेलंगानासम्म झन्डै सात लाख प्रहरी, कमाण्डो र अर्धसैनिक बल परिचालन गरी ‘अपरेसन समाधान’ नाममा व्यापक दमन अभियान चलाइएको छ । सन् २०२२ भित्रै क्रान्तिकारी आन्दोलनलाई समाप्त पार्ने लक्ष्य थियो ।
सहर क्षेत्रमा लोकतान्त्रिक, प्रगतिशील र क्रान्तिकारी सङ्गठनका नेता–कार्यकर्ता र बुद्धिजीवीहरूमाथि मोदी सरकारको दमन निरन्तर जारी छ । तेलंगाना सरकारसहित विभिन्न राज्य सरकारहरूले केन्द्रसँग हात मिलाएर ‘अर्बन नक्सल’ को नाममा मानिसहरूलाई पक्राउ गरिरहेका छन् । देशी–विदेशी कर्पोरेट लुटेरा नीतिविरुद्ध लडिरहेका आदिवासी जनतामाथि अर्धसैनिक बल र प्रहरी कमाण्डोहरूले युद्ध छेडेका छन् । ड्रोनमार्फत बम वर्षा भइरहेको छ । यस फासिवादी दमनका कारण आफ्नै मानिसको मृत्युमा पनि हामी तिमीहरूकहाँ आउन सक्दैनौँ ।
जब कुनै क्रान्तिकारी शहीद हुन्छन् वा उनका परिवारका सदस्य बित्छन्, तब आम जनता र जनसङ्गठनका सदस्यहरू भेला भएर अन्तिम श्रद्धाञ्जली दिने परम्परा लामो समयदेखि चल्दै आएको छ । बाबालाई पनि त्यसैगरी सम्मानपूर्वक अन्तिम विदाइ दिइएको सुनेर म अत्यन्त खुशी भएँ। ती सबैलाई मेरो क्रान्तिकारी अभिवादन ।
तिम्रो छोरो,
पी. हनुमन्तु
केन्द्रीय कमिटी सदस्य
१५ नोभेम्बर २०२२

प्रतिक्रिया

ट्रेन्डिङ