काठमाडौं । कांग्रेस सांसद मोहमद्ध अफ्ताव आलमलाई उन्मुक्ति दिने न्यायाधीशहरुलाई कालोमोसो दलेर कारवाही गरेका नेकपा (बहुमत)का नेताहरुलाई सो पार्टीले अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरोले पत्रकारहरुका माझ ती नेताहरुलाई स्वागत तथा अभिनन्दन गरेको हो ।
पार्टी स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दिपक’ले गरिव तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिक्मत गरेका नेताहरुलाई बधाई तथा धन्यवाद दिए । चलाउनेले पछिल्लो समयमा राज्यका तीनवोटै अंगहरुमा भ्रष्टाचार चरमचुलीमा पुगेको बेला आफ्नो पार्टीले त्यसविरुद्ध नयाँ अभियान चलाएको पनि बताए ।
जनताले सहिप्रकारको जनउत्तरदायी न्यायप्रणाली र अदालत नभएपछि आफ्नो पार्टी त्यसविरुद्ध जाइलागेको बताउँदै उनले जहाँ जनतामाथि अन्याय र अत्याचार हुन्छ, त्यहाँ नेकपा(बहुमत) उपस्थित हुने बताए । उनले भ्रष्ट न्यायाधीशहरुलाई मोसो दल्न हिम्मत गर्ने आफ्ना नेताहरुलाई लालसलाम पनि गरे ।
पार्टीका २ नम्बर ब्यूरो इन्चार्ज बाबुराम गजमेरले कालोमोसो दलेर जनपक्षीय कार्य गर्ने साथीहरुलाई बधाई दिए । गजमेरले देश र जनतामाथि संसदवादी पार्टी र उनीहरुको भ्रष्टाचार तथा बेथिति र अत्याचारविरुद्ध आफ्नो पार्टी लड्ने प्रतिबद्धता जनाए । वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै देश र जनताले भोग्नु परेको अहिलेको समस्याबाट मुक्ति पाउने गजमेरको ठम्याई छ ।
न्यायाधीशलाई कलोमोसो दल्ने टोलीका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुवँरले २४ दिने प्रहरी हिरासत र ४ दिने कारागार बसाईले धेरै कुरा सिकाएको बताए । ‘हाम्रो बन्द पर्खालको बसाई उत्साहप्रद रह्यो, जनताको लागि कालोमोसो मात्रै हैन अपराधीहरुलाई त्यो भन्दा माथिको कारबाही गर्न तयार छौं ।’ उनले साहसपूर्वक भने ।
सो टोलीका अर्का सदस्य पदम मगरले देशमा अन्याय र अत्याचारले सीमा नाघेको बताउँदै त्यसविरुद्ध निडर भएर अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरे ।
गत जेठ २९ गते वीरगञ्ज उच्च अदालतको इजलासभित्रै अभिनाश कुवँर, पदम मगर र गर्भु महतोले न्यायाधीश द्वय खुसिराम थारु र अर्जुन महर्जनलाई कालोमोसो छ्यापेका थिए । आलमले उन्मिुक्ति पाए लगत्तै विभिन्न राजनीतिक दल तथा नेता कार्यकर्ता र आमजनताले न्यायाधीशहरु पैसामा बिकेर फैसला गरेको भन्दै त्यसको व्यापक विरोध जनाएका थिए ।
चितवन जिल्ला इन्चार्ज पूर्ण विकले संचालन गरेको कार्यक्रममा पार्टी स्थायी समिति सदस्य द्वय दिर्घ पाण्डे र निर्मलसहितका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया