काठमाडौं । चीनले आर्थिक विकासमा फड्को मारेसँगै उसले आफ्ना छिमेकी देशहरुलाई पनि यो बाटोमा मिलेर काम गरौं र सहकार्य गरौं भन्दै आएको छ तर पश्चिमा पुँजीपतिहरुको चंगुलमा परेर चीनलाई कम्युनिष्ट देश र निरंकुश तथा एकदलीय शासन भन्दै र सहकार्य गर्न नाक खुम्च्याउँदै आएकाहरुका लागि चीनले नमजाको झड्का दिएको छ ।
विश्वको ठूलो अर्थतन्त्र, विश्वव्यवस्थाको विकल्पको नेतृत्व गर्दै गरेको, विज्ञान प्रविधिमा फड्को मारेको र सैन्यहिसावले पनि दोस्रो ठूलो सैन्यक्षमता भएको हुनाले आज चीनलाई देखेर नाक खुम्च्याउनेहरु दंग परेका छन् ।
चीन हिजोको माओको बेलाको जनवादी नीतिसहितको चीन आज होइन, यो पुँजीवादी भइसकेको छ तर आजको चीनमा हिजोको जनवादी गणतन्त्रको समयको चीनको अवशेष भने पक्कै रहेको छ । त्यसैले आजको चीन हिङ नै नभएपनि हिङ बाँधेको टालो भने पक्कै हो ।
त्यसैले पश्चिमा देशहरु चीनलाई दुश्मन ठान्दछन् र हेप्छन् अनि एक्ल्याउन निकै कोशिस गर्छन् । तर आजको चीन कसैसित हेपिने र च्यापिने अवस्थामा छैन । त्यसैले आजको सी जिनफिङ नेतृत्वको चीनले विश्व समुदायलाई नजिक ल्याउन र विश्वको नेतृत्व गर्न विभिन्न आर्थिक लगायतका कार्यक्रमहरु अघि सार्ने गरेको छ ।
यसैबीच चीनकै पहलमा गठन भएको शांघाई सहयोग संगठन (एससिओ)को सम्मेलन चीनमा चलिरहेको छ र त्यस मंचबाट चीनले केही नयाँ कार्यक्रमको घोषणा गर्नेछ । सो सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले शाङ्घाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रहरूलाई उज्ज्वल भविष्यका लागि ठोस कदम चाल्न आह्वान गरेका छन् ।
संगठनको आयोजनमा चीनको बन्दरगाह सहर थियानजिनमा हालसम्मकै ठूलो शिखर सम्मेलनलाई सम्बोधन गर्दै सीले यस्तो आव्हान गरेका ग्लोबल टाइम्सले लेखेको छ ।
उनले चुनौती र परिवर्तनले भरिएको विश्वमा सदस्य राष्ट्रहरूलाई ‘शाङ्घाई भावना’लाई अघि बढाउन पनि आग्रह गरे ।
साथै उनले संगठनको सम्भावनाहरूलाई अझ प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने आवश्यकतामा जोड दिए । जुन २००१ मा शाङ्घाईमा स्थापना गरिएको शाङ्घाई सहयोग संगठनमा पहिला ६ संस्थापक सदस्य थिए ।
अहिले यो संगठन एसिया, युरोप र अफ्रिकासम्म फैलिएको २६ राष्ट्रहरूको परिवारमा विस्तार भएको ग्लोबल टाइम्सको समाचारमा उल्लेख छ । संगठनमा १० सदस्य राष्ट्र, २ पर्यवेक्षक राष्ट्र र १४ संवाद साझेदारहरू छन् ।
संगठनको सहकार्य ५० भन्दा बढी क्षेत्रहरूमा फैलिएको र यसका सदस्य राष्ट्रहरूको संयुक्त आर्थिक उत्पादन लगभग ३० ट्रिलियन अमेरिकी डलर बराबर रहेको छ ।
प्रतिक्रिया