News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

विपिन जोशीको अन्तिम दाहसंस्कार आज महाकाली नदीमा गरिदैं

कञ्चनपुर । दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको आज महाकाली नदीमा अन्तिम दाहसंस्कार गरिँदैछ । विपिनको पार्थिव शरीर सोमबार बेलुकी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा रहेको उनको घरमा पुर्‍याइएको थियो । शव इजरायलबाट काठमाडौं ल्याएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत घर लगिएको हो । धनगढी उपमहानगरपालिकाको महाप्रस्थान बाहकमार्फत शव घर पुर्‍याइएको जनाइएको छ । घर पुगेपछि गाउँ–टोल शोकमग्न बनेको छ । विपिनको परिवार, आफन्त, साथीभाइ र छिमेकीहरू उनको निधनप्रति स्तब्ध छन् ।
हमास समूहले असोज २६ गते विपिनको मृत्यु भएको जानकारी सार्वजनिक गरेको थियो । त्यसै साँझ गाजाबाट इजरायलले शव तेल अविभ ल्याएको थियो । त्यसपछि गरिएको डीएनए परीक्षण र पोस्टमार्टमबाट शव विपिनकै भएको पुष्टि भएको हो । परीक्षण तेल अविभस्थित नेशनल सेन्टर अफ फरेन्सिक मेडिसिनमा गरिएको थियो ।
नेपाली अधिकारीलाई इजरायली पक्षले विपिनको मृत्यु मंसिर महिनातिरै भएको जानकारी दिएको थियो । दुई वर्षअघि नै विपिनको परिवारको डीएनए संकलन गरिएको थियो, र सोही नमुनाका आधारमा शवको पहिचान पुष्टि गरिएको हो । विपिनका दाजु किशोर जोशीले यो घटना परिवारका लागि असह्य पीडा भएको बताएका छन् ।
‘दुई देशबीचको द्वन्द्वमा निर्दोष नेपाली नागरिकको मृत्यु कसरी भयो भन्ने अझै रहस्यमय छ,’ उनले भने, ‘हामीले भाईको रिहाईका लागि स्वदेश र विदेश दुबै ठाउँमा हारगुहार गर्‍यौं, तर अन्ततः लाश मात्र भेट्यौं ।’ २५ वर्षका विपिन जोशीको निधनले कञ्चनपुर शोकमा डुबेको छ । आज बिहान उनको अन्तिम दाहसंस्कार महाकाली नदीमा सम्पन्न गरिँदैछ ।

प्रतिक्रिया