News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

रमेश लेखकको आरोप : सरकारले सूचना नदिई पासपोर्ट रोक्का गर्‍यो

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरी राहदानी रोक्का गरेको विषयमा कुनै औपचारिक जानकारी नदिएको बताएका छन् । बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै लेखकले सरकारले कुनै पनि माध्यमबाट आफ्नो आवागमनमा प्रतिबन्ध लगाएको वा राहदानी रोक्का गरेको सूचना नदिएको बताए । “मलाई आजसम्म सरकार वा कुनै पनि निकायले लिखित वा मौखिक रूपमा स्थानहद गरेको वा राहदानी रोक्का गरेको जानकारी दिएको छैन,” लेखकले बैठकमा भने, “कुन संविधान, कुन ऐनको कुन प्रावधान अनुसार के प्रयोजनका लागि यो निर्णय भयो भन्ने विषयमा पनि मलाई थाहा छैन ।” लेखकका अनुसार करिब दुई महिना अघि आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोक्ने तथा राहदानी रोक्का गर्ने निर्णयबारे समाचार माध्यमबाट मात्र थाहा पाएका थिए । “निवर्तमान प्रधानमन्त्री र मलाई स्थानहद गरिएको रहेछ, पासपोर्ट पनि रोकिएको रहेछ भन्ने कुरा म समाचारबाट मात्रै सुनेको हुँ,” उनले स्पष्ट पारे । साथै उनले जेनजी आन्दोलनबारे दमनको जिम्मेवारी अस्वीकार गरेका छन् । बैठकमा जेनजी आन्दोलनका घटनाबारे जानकारी दिँदै पूर्वगृहमन्त्री लेखकले राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन अस्वीकार गरे । उनले आन्दोलनका दिनहरूमा सुरक्षासंयन्त्रलाई कुनै पनि अप्रिय घटना नहोस् भनेर पटक–पटक निर्देशन दिएको दाबी गरे । “प्रधानमन्त्री र मन्त्रीले आदेश दिने कुरा होइन, तर मैले २२ गते साँझै मिटिङमा क्याजुलिटी नहोस् भनेको थिएँ,” लेखकले भने, “भोलिपल्ट बिहान पनि गृहसचिव र दुवै प्रहरीका आईजीपीलाई कुनै पनि हालतमा क्याजुलिटी नहोस् भनेर सम्झाएको थिएँ ।”

प्रतिक्रिया