News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

सीमा सुरक्षा बलियो बनाउँदै सशस्त्र प्रहरी, उच्च अधिकारी सीमानाकामा खटिए

काठमाडौं । बदलिँदो सुरक्षा चुनौती र राजस्व छली नियन्त्रणका उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले देशका मुख्य सीमा नाकामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई खटाएको छ । सशस्त्र प्रहरी बलका अनुसार यी एसएसपीहरूले सीमाक्षेत्रमा हुने राजस्व चुहावट, चोरी–निकासी, पैठारी तथा अन्य गैरकानुनी गतिविधि रोकथाम गर्ने जिम्मेवारी पाएका छन् । साथै, उनीहरूले भन्सार, राजस्व अनुसन्धान, उद्योग वाणिज्य संघ, स्थानीय निकाय र सर्वसाधारणसँग समन्वय गरी सीमा अपराध नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछन् । सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार, खटाइएका एसएसपीहरूले सम्बन्धित बाहिनी मुख्यालयसँग समन्वयमा रही दैनिक तथा साप्ताहिक प्रतिवेदन सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा बुझाउनेछन् । प्रभावकारी कार्यसम्पादन देखिएमा यो प्रणालीलाई निरन्तरता दिइने जनाइएको छ ।
खटाइएका मध्ये प्रदेश कोशी प्रदेश काँकडभिट्टा (झापा) र रानी (मोरङ) मा दिगविजय सुवेदी , मधेस प्रदेश नं.८ गण धनुषा र वीरगञ्ज (पर्सा) मा माधवप्रसाद पौडेल , लुम्बिनी प्रदेश डण्डा (रूपन्देही), कृष्णनगर (कपिलवस्तु) र जमुनाह (बाँके) मा रविनराज कर्णजीत, र सुदूरपश्चिम प्रदेश त्रिनगर (कैलाली) र गड्डाचौकी (कञ्चनपुर)मा गङ्गाराम श्रेष्ठ रहेका छन् । सशस्त्र प्रहरी बलका अनुसार यी वरिष्ठ उपरीक्षकहरू सीमाक्षेत्रमा स्थायी रूपमा रहेर अवैध गतिविधि, लागुऔषध र हातहतियार ओसारपसार, फरार अभियुक्त नियन्त्रण, तथा सीमासम्बन्धी सूचनाको अभिलेखीकरण गर्ने जिम्मेवारीमा रहनेछन् । यस पहलबाट भन्सार नाकाबाट वैध माध्यम प्रयोग गरी सामान आयातको प्रचलन बढ्ने र राजस्व चुहावटमा रोक लाग्ने विश्वास सशस्त्र प्रहरी बलले व्यक्त गरेको छ ।

प्रतिक्रिया