News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

३१ अर्ब ऋण सम्झौताः कोटेश्वर–जडीबुटी खण्डमा आधुनिक संरचना निर्माण हुने

काठमाडौं, १७ मंसिर । कोटेश्वर चोक सुधार गर्न आवश्यक पर्ने अन्डरपास र फ्लाइओभर निर्माणका लागि नेपाल सरकार र जापानबीच ऋण सम्झौता भएको छ । बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा दुवै देशका अधिकारीहरूले सम्झौतामा हस्ताक्षर गरे । जापानले जाइकामार्फत ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) ऋण उपलब्ध गराउनेछ । यस ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर वार्षिक ०.२ प्रतिशत हुनेछ । यस परियोजनाअन्तर्गत कोटेश्वरदेखि जडीबुटीसम्म अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ । यसले काठमाडौं, ललितपुर, भक्तपुर र बीपी राजमार्गतर्फ जाने सवारीहरूको आवतजावत सजिलो बनाउने र ट्राफिक जाम धेरै कम गर्ने अपेक्षा गरिएको छ । परियोजना सडक विभागमार्फत संचालन हुनेछ ।
ऋणसम्बन्धी कागजातमा अर्थसचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे । त्यस्तै, ऋण सम्झौतामा सहसचिव डा. धनीराम शर्मा र जाइकाका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे । कार्यक्रममा मन्त्री, राजदूत तथा जाइकाका प्रतिनिधिले नेपाल–जापान सहकार्य अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । जापानी राजदूतले यस परियोजनाले उपत्यकाको यातायात व्यवस्थामा ठूलो सुधार ल्याउने बताए । अर्थमन्त्री खनालले काठमाडौंका जामयुक्त ठाउँ सुधार गर्न यो परियोजना महत्त्वपूर्ण कदम हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

ट्रेन्डिङ