News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले सञ्चालन गरिरहेको तीनमहिने ‘जनसंविधानका लागि जनसंघर्ष’ नारासहितको अभियानअन्तर्गत २ नम्बर प्रदेशको रौतहट जिल्लाको पार्टी बैठक चपुरमा सम्पन्न भएको छ । बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी जमदारले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा २ नम्बर ब्युरो इन्चार्ज शार्दुल र अतिथिका रूपमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज संकेत उपस्थित हुनुहुन्थ्यो । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि शार्दुलले शिक्षा र स्वास्थ्य क्षेत्रको बढ्दो निजीकरणका कारण आम जनताको पहुँचबाट यी सेवा टाढा हुँदै गएको बताउनुभयो । उहाँले राज्य शिक्षा र स्वास्थ्यप्रतिको दायित्वबाट पन्छिएको आरोप लगाउँदै बेरोजगारीका कारण जनशक्ति पलायन भइरहेको, उद्योग–कलकारखाना निजीकरण हुँदै गएको र नयाँ उद्योग खोल्ने सरकारको कुनै स्पष्ट योजना नरहेको उल्लेख गर्नुभयो । युवा जनशक्ति पलायनका कारण उपजाउ कृषि भूमि बाँझो बन्दै गएको र देश तथा जनता क्रमश : कंगाल बन्दै गएको उहाँको भनाइ थियो ।

भ्रष्टाचारले देश आक्रान्त बनेको भन्दै यसको मूल कारण दलाल संसदीय राजनीतिक प्रणाली रहेको शार्दुलले जिकिर गर्नुभयो। उहाँले वर्तमान प्रणाली कायम रहुन्जेल यस्ता समस्या यथावत् रहने चेतावनी दिनुभयो ।
उहाँले मुलुकमा विदेशी शक्तिका एजेन्टहरूद्वारा शासन सञ्चालन भइरहेको आरोप लगाउँदै सरकारले फागुन २१ गते गर्ने भनिएको निर्वाचनबाट जनताले भोगिरहेका समस्याको समाधान नहुने बताउनुभयो । उक्त निर्वाचन दलाल पूँजीवादी व्यवस्थालाई अझ सुदृढ गर्ने षड्यन्त्र भएको भन्दै यसले देशलाई बाह्य शक्तिले चलाउन सजिलो बनाउने दाबी गर्नुभयो । बैठकमा शार्दुलले वर्तमान व्यवस्थाको उन्मूलन गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्नु नै अहिलेको निकास भएको उल्लेख गर्दै त्यसका लागि जनआन्दोलनमा जुट्न आह्वान गर्नुभयो । बैठकले जनताको जनजीविकाको पक्षमा र भ्रष्टाचारको विरुद्ध सशक्त आन्दोलन सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया