News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

पाँच महिनामा वैदेशिक व्यापार ८ खर्ब नाघ्यो, व्यापार घाटा ६ खर्ब ४९ अर्ब

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापार ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ नाघेको छ । भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्मको अवधिमा भएको वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०७ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको यही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । यद्यपि व्यापार वृद्धिसँगै व्यापार घाटा पनि बढ्दै गएको देखिएको छ । चालू आवको पाँच महिनामा नेपालले ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो । भन्सार विभागका तथ्यांकअनुसार पाँच महिनामा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.८३ प्रतिशतले बढी हो । गत वर्ष यस अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँको आयात भएको थियो ।
यसैगरी, निर्याततर्फ भने उल्लेख्य सुधार देखिएको छ । साउनदेखि मंसिरसम्म एक खर्ब १६ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष यस अवधिमा ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । आयाततर्फ फलाम, कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, एलपी ग्यास र स्मार्टफोन प्रमुख वस्तु रहेका छन् । आयात भएको भटमासको तेल प्रशोधन गरी ठूलो मात्रामा निर्यात गरिएको भन्सार विभागले जनाएको छ । निर्याततर्फ अलैँची, गलैँचा, सूर्यमुखीको तेल, पाम तेललगायत वस्तुहरू अग्रस्थानमा रहेका छन् ।

प्रतिक्रिया