News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाद्वारा शैल्यशिखर नगरपालिकामा ७ बुँदे मागसहित ज्ञापनपत्र

दार्चुला । कम्युनिस्ट युवा संगठन नेपाल दार्चुला जिल्ला समितिले शैल्यशिखर नगरपालिका नगर प्रमुखलाई ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । शोषण, दमन, अन्याय र उत्पीडनविरुद्ध संघर्षरत क्रान्तिकारी युवा संगठनका रूपमा परिचित संगठनले भ्रष्टाचार, कुशासन, मिटरब्याज आतंक, वित्तीय शोषण र सामाजिक विकृति–विसंगतिविरुद्ध निर्णायक संघर्ष गर्नु आफ्नो ऐतिहासिक जिम्मेवारी भएको जनाएको छ । ज्ञापनपत्रमार्फत संगठनले शैल्यशिखर नगरपालिका सीमित गुट, ठेकेदार र स्वार्थी शक्तिको प्रभावमा पर्दै गएको आरोप लगाएको छ । स्थानीय तह जनताको घरआँगनको सरकार हुनुपर्ने भए पनि जनमुखी सेवा प्रवाह कमजोर बन्दै गएको भन्दै संगठनले चिन्ता व्यक्त गरेको छ । युवाहरू बेरोजगारी, शिक्षा र सीपको अभावका कारण निराश बन्दै पलायन हुन बाध्य भएको उल्लेख गर्दै संगठनले युवाशक्तिको उपेक्षा भविष्यप्रति नै षड्यन्त्र भएको बताएको छ । संगठनले नगरपालिकासमक्ष वित्तीय शोषण र दलालीमा संलग्न व्यक्ति तथा समूहलाई कारबाही गर्न, युवाका लागि उत्पादनमूलक रोजगारी र सीपमूलक तालिम कार्यक्रम तत्काल लागू गर्न माग गरेको छ । साथै वडा नम्बर ९ स्थित वादी टोलमा शौचालय र खानेपानीको चरम अभाव रहेकाले तत्काल पहल गर्नुपर्ने माग गरिएको छ ।
यसैगरी, सार्वजनिक बजेट दुरुपयोगको अनुसन्धान गरी कारबाही गर्न, २०७९ यता नगरपालिकाबाट दिइएका कोटेसनहरूको पूर्ण विवरण र कार्यसम्पन्न तस्वीर सार्वजनिक गर्न तथा निर्वाचित जनप्रतिनिधिहरूको सम्पत्ति विवरण उपलब्ध गराउन माग गरिएको छ । गोकुलेश्वर अस्पतालमा आवश्यक संरचना, उपकरण र औषधिको व्यवस्था गर्न तथा गोकुलेश्वर बजारमा अव्यवस्थित पार्किङका कारण बढ्दो सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक व्यवस्थापन गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ । यदि मागहरू गम्भीरतापूर्वक सम्बोधन नगरिएमा उत्पीडित जनता र युवाशक्तिको साथमा चरणबद्ध र सशक्त संघर्षका कार्यक्रम अघि बढाइने चेतावनी संगठनले दिएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ