News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश

पोखरा, चैत २४ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीले पोखरामा बढ्दो भ्रष्टाचार, सार्वजनिक सम्पत्तिको दुरुपयोग र विभिन्न अनियमितताविरुद्ध कडा कदम चाल्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत २० बुँदे जनअधिकार पत्र पेश गरेको छ । पार्टीले मंगलबार जिल्ला प्रशासन कार्यालय पोखरामा बुझाएको ज्ञापनपत्रमा होटल, सार्वजनिक जग्गा, फेवाताल क्षेत्र, ढुंगा–बालुवा ठेक्का लगायत विभिन्न क्षेत्रमा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ । ज्ञापनपत्रमा विशेषगरी मणिपाल अस्पताल, होटल बाराही, फेवाताल वरपरका संरचना, फोहोर व्यवस्थापन, ढुंगा खानी ठेक्का, पोखरा विमानस्थल क्षेत्रमा गरिएको खर्च लगायत विषयमा अनियमितता भएको आरोप लगाइएको छ । यस्ता गतिविधिले सार्वजनिक सम्पत्ति निजीकरण भएको र जनहित विपरीत काम भएको पार्टीको दाबी छ ।
त्यस्तै, सार्वजनिक जग्गा अतिक्रमण, विद्यालयमा भएको भनिएको भ्रष्टाचार, रिसोर्ट निर्माणका नाममा डाँडा कटान, घाट दोहन, ढुंगा–बालुवा उत्खननमा भएको अनियमितता जस्ता विषयमा तत्काल छानबिन गरी कारबाही गर्न माग गरिएको छ । पार्टीले भूमिहीन, दलित तथा सुकुम्बासीलाई व्यवस्थित बसोबासको व्यवस्था गर्न, दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न तथा रात्रीकालीन अवैध गतिविधि रोक्न समेत प्रशासनसँग आग्रह गरेको छ । ज्ञापनपत्र बुझाउँदै पार्टीका कास्की जिल्ला सचिव एल.बि. सजनले जनताको सम्पत्ति र अधिकारमाथि भइरहेको दुरुपयोग रोक्न प्रशासनले तुरुन्तै कदम चाल्नुपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रणमा ढिलाइ भए थप आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया