तेहरान । इरानले इजरायलमाथि ठूलो संख्यामा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको जनाएको छ । यो हमला तेहरानका आणविक स्थलहरू र सैनिक नेताहरूमाथि इजरायली आक्रमणको प्रतिशोधमा गरिएको हो ।
शुक्रबार राति तेलअभिभ र जेरुसलेममा विस्फोटको आवाजहरू सुनिएको थियो र इजरायलभरि साइरन बजाइएको थियो । इरानले यस अपरेशनलाई ‘ट्रु प्रमिस ३’ नाम दिएको छ ।
इजरायलले शुक्रबार बिहानै इरानका वरिष्ठ वैज्ञानिकहरू, सैन्य कमाण्डरहरू र आणविक सुविधाहरूलाई लक्षित गरी हमला गरेको थियो । इरानी सर्वोच्च नेता अली खामेनीले इजरायलको आक्रमणले ‘युद्धको सुरुआत’ गरेको बताउँदै ‘हिट एण्ड रन’ रणनीति अपनाएर सजिलै उम्कन नदिने चेतावनी दिए ।
हालैका आक्रमणहरूमा इजरायलमा कम्तीमा ४० जना घाइते भएका छन् । उनीहरूलाई इजरायलका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ । तेलअभिभको इचिलोभ अस्पतालमा १८ जनाको उपचार भइरहेको छ । पेताह टिक्वाको बेलिन्सन अस्पतालमा ७ जनालाई भर्ना गरिएको छ, जसमा एक जना गम्भीर अवस्थामा छन् ।
रामत गानको शेबा अस्पतालमा १५ जना उपचारमा छन्, तीमध्ये एकको अवस्था गम्भीर छ । घाइतेहरूमा केहीलाई छर्राबाट चोट लागेको छ, केहीलाई धुवाँका कारण सास फेर्न गाह्रो भएको छ र केही मानसिक आघातमा परेका छन् ।
इजरायली सेनाका प्रवक्ता अविचाय अड्रायीले बताएअनुसार इरानले दुई चरणमा करिब १०० वटा मिसाइल प्रक्षेपण गरेको थियो । अधिकांश मिसाइलहरू अवरोध गरिएको वा लक्षित ठाउँसम्म नपुगेको उनले बताए ।
उनका अनुसार, ‘केही भवनहरूमा क्षति पुगेको छ, तीमध्ये धेरैजसो अवरोध गर्दा छुटेका छर्राले क्षति र्पुयाएका हुन् ।’ तस्बिरहरुमा केही भवनहरूमा गम्भीर क्षति पुगेको देखिएको बीबीसी र अलजजिराले समाचार लेखेका छन् ।
प्रतिक्रिया