काठमाडौं । इरानले गरेको प्रतिआक्रमणमा इजरायलमा एक जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । सीएनएनसँग कुरा गर्दै इजरायलका अमेरिकास्थित राजदूतले एक महिलाको मृत्यु भएको र करिब ४० जना घाइते भएको जानकारी दिएका हुन् ।
न्युयोर्क टाइम्सले पनि इजरायली प्रहरी प्रवक्तालाई उद्धृत गर्दै यो खबर पुष्टि गरेको छ । ती प्रवक्ताका अनुसार शुक्रबार राति इरानी क्षेप्यास्त्र आक्रमणले तेलअभिभ नजिकैको उपनगरीय क्षेत्रमा हमला गर्दा ती महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
शनिबार बिहान सबेरै फेरि इरानले इजरायलमाथि थप आक्रमण गरेको छ । इरानबाट पुनः क्षेप्यास्त्रहरूको बर्षा भएपछि लाखौँ इजरायलीहरू बंकर र सुरक्षित स्थलतर्फ भागेका थिए । आकाशमा अनेक क्षेप्यास्त्र अवरोध गरिएको आवाज सुन्न सकिन्थ्यो र केही ठुला विस्फोटका आवाजहरूले आक्रमण भएको सङ्केत दिइरहेका थिए ।
यसैबीच सामाजिक सञ्जालहरूमा मध्य इजरायलको एक आवासीय क्षेत्रमा भएको क्षेप्यास्त्र प्रहारपछि आएको विध्वंसको तस्बिरहरू देखिन थालेका छन् । सडकमा भग्नावशेष छरिएका छन्, गाडीहरू च्यापिएका छन् भने नजिकैको एक घर आंशिक रूपमा भत्किएको देखिन्छ । प्रारम्भिक रिपोर्टले केही घाइते भएको जनाएका छन् ।
यो जानकारी इरानी सेनाका लागि उपयोगी नहोस् भनेर इजरायली अधिकारीहरूले क्षेप्यास्त्र प्रहारको ठ्याक्कै स्थान सार्वजनिक गर्न अनुमति दिएका छैनन् । इजरायली आपत्कालीन सेवाका अनुसार इरानको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा थप १० जना घाइते भएका छन् । घाइतेहरूलाई सामान्यदेखि मध्यम प्रकृतिका चोटपटक लागेको बीबीसीले जनाइएको छ ।
प्रतिक्रिया