काठमाडौं । नेकपा (बहुमत)ले अमेरिकाले इरानमाथि गरेको हवाई हमलाको कडा शब्दमा विरोध गर्दै सो हमलालाई अन्तारष्ट्रिय कानुनको उल्लंघन र मानवताविरुद्धको अपराध भनेको छ । सो पार्टीका महासचिव कञ्चनले आज प्रेस वक्तव्य जारी गर्दै मध्यपूर्वमा शन्ति स्थापना गर्नुको सट्टा त्यहाँ सत्ता परिवर्तन गर्ने र कठपुतली सरकार स्थापना गर्दै प्राकृतिक साधनहरुको दोहन गर्ने नीति अपनाउँदै आएअनुसार अमेरिकी साम्राज्यवादले इरानमाथि सैनिक आक्रमण गरेको बताएका छन् ।
विज्ञप्तिमा इजरायली साम्राज्यवादले गाजामा गरेको मानवता बिरुद्धको अपराधमा अमेरिकी खुनी हातहरु पनि उत्तिकै जिम्मेवार रहेको महासचिव कञ्चनको वक्तव्यमा भनिएको छ । विज्ञप्तिमा तत्काल युद्ध रोकेर शान्ति स्थापना गर्न अमेरिकी डोनल्ड ट्रम्प प्रशासनलाई दबाब दिनुपर्नेमा वक्तव्यमा जोड दिइएको छ ।
साम्राज्यवादी र पुँजीवादी सत्ताहरुको नष्ट गर्दै समाजवादी सत्ताहरुको स्थापनाबाट मात्र साम्राज्यवादको अन्त्य गर्न सकिने भन्दै वक्तव्यमा त्यो दिशातिर सोच्न साम्राज्यवाद विरोधी शक्तिहरुलाई आग्रह गरिएको छ ।
यस्तो कञ्नको प्रेस वक्तव्य :
अमेरिकी साम्राज्यवादको ट्रम्प प्रसाशनले इरानमाथि सैनिक हमला गरेको छ । अमेरिका बिरुद्ध कुनै पनि सैन्य कारबाही नगरेको इरानमाथि हमला गर्नु अमेरिकी साम्राज्यवादको कायरता मात्र होइन, अन्तर्राष्ट्रिय कानुन र मानवता बिरुद्धको अपराध पनि हो ।
अमेरिकाले इजरेली राज्यबाट संचालित आतंकवादको संरक्षण र प्रवर्धन गर्दै आएको छ । इजरायली सत्ताले ६० हजार प्यालेस्टाइनीहरुको हत्या, लाखौं नागरिकको बिस्थापन मात्र गरेको छैन प्यालेस्टाइनी जनताको घरबास र गाजा शहर समेत ध्वस्त बनाएको छ । इजारायली साम्राज्यवादका यी मानवता बिरुद्धको अपराधमा अमेरिकी खुनी हातहरु पनि उत्तिकै जिम्मेवार छन् । मध्यपूर्वमा शन्ति स्थापना गर्नुको बदला त्यहाँ ‘रेजिम चेन्ज’ गर्ने र कठपुतली सरकार स्थापना गर्दै प्राकृतिक साधनहरुको दोहन गर्ने नीति अपनाउँदै आएको छ । यो साम्राज्यवादी नीति हो ।
हाम्रो पार्टी अमेरिकी साम्राज्यवादबाट इरानमाथि भएको सैनिक आक्रमणको घोर निन्दा एवम् भत्र्सना गर्दछ । युद्ध नैतिकता र मानवता बिरुद्धको यो युद्ध रोकेर शान्ति स्थापना गर्न अमेरीकी साम्राज्यवाद बिरोधी एवम् शान्तिका पक्षहरु सबैमा जोडदार अपिल गर्दछ । हामी दृढतापूर्वक भन्न चाहन्छौं कि युद्धको समूल अन्त्य साम्राज्यवादको अन्त्य हो, पुँजीवादको अन्त्य हो, प्रत्येक राष्ट्रहरुमा समाजवादी सत्ताको स्थापनाहुँदै विश्व साम्यवादको स्थापना हो ।
क्रान्तिकारी अभिवादन सहित !
८ असार, २०८२
कञ्चन
महासचिव
प्रतिक्रिया