हेटौँडा । नेकपा (बहुमत)ले आफ्नो पार्टीको मकवानपुर जिल्ला सचिव भक्त माझीलाई प्रहरीले बिना कारण गिरफ्तार गरेको भन्दै माझीलाई तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीको ३ नम्बर ब्यूरोका इन्चार्ज दीपकले एक प्रेस वक्तव्य जारी गर्दै सो माग गरेका छन् ।
विज्ञप्तिमा इन्चार्ज दीपकले आफ्नो पार्टी कुशासन र बेथितिका विरुद्ध संघर्ष गरिरहेकै समयमा बिना कारण सचिव माझीलाई गिरफ्तार गरिनु राजनैतिक पूर्वाग्रह भएको भन्दै यस्ताखाले गिरफ्तारी र दमनको डटेर सामना गरिने चेतावनी पनि दिएका छन् ।
इन्चार्ज दीपकले वक्तव्यमा बेथिति र भ्रष्टाचारमा लिप्त कतिपय तत्वहरुले सत्ता र शक्तिको आडमा निराधार एवम् कपोलकल्पित आरोप थोपरेर आफ्नो पार्टीका कार्यकर्तामाथि दमनका हथकण्डाहरु प्रयोग गर्ने मुर्खतापूर्ण कार्य गरिरहेको भन्दै त्यस्ता कार्यको डटेर सामना गर्ने प्रतिवद्धता पनि जाहेर गरेका छन् ।
इन्चार्ज दीपकले जारी गरेको वक्तव्य :
प्रेस वक्तव्य
हाम्रो पार्टीका मकवानपुर जिल्ला सचिव कमरेड भक्त माझिलाई उहाँकै घरबाट प्रहरीले गिरफ्तार गरेको छ । बिना कारण केवल राजनीतिक पूर्वाग्रहको आधारमा गरिएको यसखाले ब्यवहारको पार्टी निन्दा गर्दछ र उहाँको यथासिघ्र रिहाईको माग गर्दछ । हामी स्पष्ट गर्दछौं कि हाम्रो पार्टी वर्तमान दलाल पुँजीवादी सत्ताको कुशासन र बेथिति बिरुद्ध अनवरत संघर्षमा छ । यो अभियानमा पार्टी आम जनसमुदाय तथा अग्रगमन र सुशासनका पक्षधर विभिन्न व्यक्ति र तब्काहरुसँग सहयोगात्मक सम्बन्धकासाथ अगाडि बढिरहेको छ । तर, बेथिति र भ्रष्टाचारमा लिप्त कतिपय तत्वहरुले सत्ता र शक्तिको आडमा निराधार एवम् कपोलकल्पित आरोप थोपरेर हाम्रो पार्टीका कार्यकर्ताहरुमाथि दमनका विविध हथकण्डाहरु प्रयोग गर्ने मुर्खतापूर्ण कार्य गरिरहेका छन् । त्यसखाले क्रियाकलापको डटेर सामना गर्नु तथा जनअधिकार र न्यायको पक्षमा दृढतापूर्वक उभिनु प्रत्येक सच्चा कम्युनिष्ट कार्यकर्ताको उत्तरदायित्व हो भन्नेमा पार्टी पूर्ण संकल्पबद्ध छ ।
ईञ्चार्ज
दिपक
प्रतिक्रिया