News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्य समाचार राजनीति समाचार

ओलीजीले रविपछि जेल जाने पालो आरजु राणाको हो भन्नु भएको छ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले अन्य राजनीतिक दलका नेताहरुप्रति प्रतिशोध लिने क्रम नरोकिएको बताएका छन् ।

माओवादीको गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरे ।

ओलीले राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेबाट थालेको प्रतिशोधको ऋंखला कांग्रेस नेतृ एवं वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुगेको टुंगिने दाबी उनको थियो । सहकारी ठगीमा लामिछानेलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको पुनले आरोप लागाए ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्धा लगाएर सो पार्टी एमालेमा गाभ्ने ओलीको नियत सबैले बुझेको उनको भनाइ थियो । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन गराएर एउटा समूहलाई आफूतिर मिलाउने तयारीमा ओली रहेको दाबी पुनले गरे ।

‘ओलीजीले विरोधीलाई ठेगान लगाउने नाममा अरु दलका मुल नेतृत्वमाथि मुद्धामामिला लगाउने पार्टी विघटन गरिदिने वा आफूमा गाभ्ने नीति लिनुभएको छ । रवि लामिछानेलाई भित्र राखेर पार्टी फुटाइदिने । ‘एक्स्ट्रिम राजावादी दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई जेल हाल्दिने । राजेन्द्र लिङ्देनलाई अहिले आन्दोलन नगर भनेर रोक्न लगाउने । माधव नेपाललाई मुद्धा लगाएर एकीकृत समाजवादी आफूमा गाभ्ने । उपेन्द्र यादवजीको पार्टी फुटाएर एउटा समूह आफूमा मिलाउने’ पुनले भने,‘हेर्दै जानुस् काँग्रेस गठबन्धनबाट अलिकति चल्मलाउन थाल्यो भने उहाँले कुनै केही न केही नाममा आरजु राणालाई मुद्धा लगाउने तयारी गर्नुभएको छ । उहाँले अब आरजुका आमाछोराको पालो हो भनेर काँग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ ।’

भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले काँग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको दाबी पुनले गरे ।

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत फसाउन सकिन्छ कि भनेर ओलीले एक वर्षअघि नै प्रयास गरेको पुनले बताए ।

प्रतिक्रिया