News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्य समाचार समाचार

लिचीबगैचा घुसकाण्डमा मुछिएपछि रेशमले रञ्जितामाथि उठाए प्रश्नैप्रश्न

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूमाथि लागेको आरोपबारे केन्द्रीय समितिमा जवाफ दिनुपर्ने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै चौधरीले पार्टी कार्यकर्ता र जनतामा पनि अन्योल सिर्जना गरेकाले त्यसबारेमा केन्द्रीय समिति बैठकमा जवाफ दिनुपर्ने बताएका हुन् ।

कास्कीको लिची बगैचाको जग्गा हत्याउन घुस डिल गरिएको प्रकरणमा मुछिएपछि नाउपा अध्यक्ष श्रेष्ठ बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्वाइस टेस्टका लागि हाजिर भएकी थिइन् ।

त्यसपछि आफ्नो सुझावमा केन्द्रीय समिति बैठक बोलाइएको चौधरीले बताएका छन् ।
‘मैले बोलाइएको बैठक होइन, वैधानिक होइन भनेर अध्यक्ष पन्छिन पाउनुहुन्न । साथीहरूले बैठक बोलाउनुभएछ के कारणले बैठक बोलाउनुभएछ भनेर उहाँले सोधिखोजी गर्नुपर्छ । उहाँ अध्यक्ष भएपछि हरेक सदस्य उहाँको परिवार हो । उहाँहरूसँग प्रतिशोधको भावना राख्नु गलत कुरा हो,’ उनले भने ।

अहिले उत्पन्न परिस्थिति पनि रञ्जिताकै कारण आएको उनले बताएका छन् ।
‘अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन । तपाईंका कारण सिर्जना भयो । तपाईंका कारण सिर्जना भए पनि हामीले तपाईंसँग सम्पर्क राख्ने प्रयास गरेकै छौं । तपाईं केन्द्रीय समितिको बैठकमा आउनुपर्छ । स्पष्ट रूपमा जबाफ दिनुपर्छ,’ रेशमले भिडिओ सन्देशमार्फत भनेका छन् ।

सत्य कुरा केन्द्रीय समितिमा राखेपछि पार्टीले पनि आधिकारी धारणा राख्ने परिस्थिति निर्माण हुने रेशमले बताएका छन् ।
‘एउटा मुखले मात्रै बोलेर हुँदैन । केन्द्रीय समितिमा आएर बोल्नुभयो भने भोलि लाख मुखले तपाईंको पक्ष वा विपक्षमा कुराकानी गर्ला । पार्टीलाई बन्धक वा निरंकुश बनाउन पाइँदैन । यसको निकास तपाईंले नै दिनुपर्छ । तपाईंले भन्नुपर्छ,’ उनले भनेका छन् ।

नागरिक उन्मुक्ति पार्टीको बारेमा प्रहार हुँदा सबैभन्दा ठूलो चोट आफूलाई लाग्ने पनि रेशमले बताएका छन् ।
पार्टी र संगठन निर्माणमा लागिपरे पनि त्यसको उपलब्धी नदेखिएको रेशमले बताएका छन् । ‘संगठन निर्माणमा खटेकै छु, थिएँ र खटिरहनेछु । तर उपलब्धी के ? आज विरूवा रोप्यो भोलि ठुटै पारिन्छ,’ उनले भने ।
उनले आफू साधारण सदस्यसमेत नरहेको विषयमा अवगत रहेको पनि बताए ।
‘मलाई संरक्षकमा ल्याएर थन्क्याइएको छ। होइन भनुँ भने म संरक्षक नै हुँ । हो भनौं भने भूमिकाविहीन जस्तै छु,’ उनले भने ।
उनले पार्टीका अरू नेताहरूलाई पनि समस्याहरू बैठकमा भन्न सुझाएका छन् ।
‘बोलाइएको बैठक सुनेर जाने बानी नगर्नुस् । यदी केन्द्रीय सदस्यजस्तो गरिमामय पदमा बस्नुभएको छ भने सामाजिक सञ्जालमा छताछुल्ल नलेख्नुस् नबोल्नुस् । यसले मेरो हाम्रो होइन तपाईंको ओझ घटाउँछ,’ रेशमले भिडिओ सन्देशमा भनेका छन् ।

प्रतिक्रिया