काठमाडौं । विश्व राजनीतिमा दैनिकजसो उथलपुथल ल्याउने घटनाहरु भइरहेको छन् । आज विश्वको ध्यानजति मध्यपूर्वको फिलिस्तिन-इजरेल युद्ध र रुस—युक्रेन युद्धमा केन्द्रित छ ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प बीचको भेटवार्तापछि राजनीतिमा अर्को तरंग ल्याइदएिको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग वार्ता गरेलगत्तै युरोपेली नेताहरूसँग पनि फोनमा कुरा गरेको समाचार आइरहेको छ । मिडिया रिपोर्टका अनुसार यस कुराकानीमा ट्रम्पले युरोपेली नेताहरूलाई अगस्ट २२ सम्ममा पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग त्रिपक्षीय शिखर सम्मेलन गर्न चाहेको बताएका छन् ।
पुटिनलाई भेटेपछि ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि कुरा गरेका थिए । यस कुराकानीमा दुई नेता सोमबार वाशिङ्गटनमा भेट्न सहमत भएका छन् । युक्रेनी राष्ट्रपतिले सोमबार वाशिङ्गटनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँगको आफ्नो भेटघाट सामाजिक सञ्जालमा साझा गरिएको पोस्टमा पुष्टि गरेका थिए ।
अमेरिकी अनलाइन मिडिया आउटलेट एक्सियोसका अनुसार ट्रम्पले सोमबार ह्वाइट हाउसमा हुने बैठकमा युरोपेली नेताहरूलाई पनि उपस्थित हुन आमन्त्रित गरेका छन् ।
सोमबार जेलेन्स्की र ट्रम्पबिचको बैठकपछि त्रिपक्षीय शिखर सम्मेलन हुने अपेक्षा गरिएको जर्मन चान्सलर फ्रेडरिक मेर्जले शनिबार भनेका छन् । त्रिपक्षीय बैठकमा सामेल हुने बारेमा रुसबाट अहिलेसम्म कुनै जानकारी वा बयान आएको छैन ।
पुटिनसँगको भेटपछि ट्रम्पले युरोपेली नेताहरूसँगको वार्तामा शान्ति सम्झौताको प्रस्ताव राखेको अनि यस अन्तर्गत युक्रेनले डोनबास क्षेत्र रूसलाई हस्तान्तरण गर्ने रुसी समाचार एजेन्सी तासले अमेरिकी मिडिया रिपोर्टहरूलाई उद्धृत गर्दै भनेको छ । यसको बदलामा युक्रेन र युरोप दुवैलाई सुरक्षा ग्यारेन्टी प्रदान गरिनेछ ।
अगस्ट १५ मा अमेरिकाको अलास्कामा डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबिच भेटवार्ता भएको थियो । दुई नेताहरूको भेटघाट लगभग तीन घण्टासम्म चल्यो । भेटपछि मिडिया अन्तरक्रियामा ट्रम्पले शिखर सम्मेलनलाई धेरै उपयोगी भएको बताए । ट्रम्पसितको वार्तामा पुटिनले राखेका ४ वटा शर्तले युक्रेन र युरोपेली देशका नेताहरुलाई झस्काएको छ ।
ती ४ शर्तहरुमा रुसले कब्जा गरेको युक्रेनी जमिन रुसले नै लिने, युक्रेन नेटोमा सहभागी नहुने, युक्रेनको सेना घटाउने र युक्रेनको सरकार बदल्ने रहेका छन् । यी शर्तहरुका बारेमा ट्रम्प र पुटिनले कुनै निर्णय लिएका छैनन् । यी शर्तसहितको वार्तापछि ट्रम्प पुटिनप्रति नरम भएका छन् भने युरोपेली नेताहरुलाई फोन वार्तामा ट्रम्पले केही गुमाएर भएपनि रुससित युद्धलाई शान्तिमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।
ट्रम्पसित भचुअल वार्तापछि युरोपेली नेताहरु लगातार ट्रम्पसित सम्पर्कमा छन् र रुससितको अर्को वार्तामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पनि सहभागी गराउनुपर्ने माग राखेका छन् । अब भने यदि त्यसो भयो भने त्यो वार्ता फलदायी होला वा युरोपेली नेताहरुले जेलेन्स्कीलाई प्रयोग गरेर भाँड्लान् ? यो प्रश्न जब्बर बनेर आएको छ ।
किनकी रुसमा शर्तहरु मानेमा विश्व राजनीतिमा रुस हावी हुनेछ । ठूलो युक्रेनी भूमि रुसको कब्जामा जानेछ र युक्रेन नेटोमा पनि आवद्ध हुन पाउने छैन । यदि यसो भएका युक्रेनसँगै सिंगो युरोप नै रुसबाट असुरक्षित हुने ठानेर युरोपेलीहरुले यसलाई अस्वीर गर्नेछन् ।
रुसी शर्तहरु नमान्दा रुस असुरक्षित रहने र रुसी शर्तहरु मान्दा युरोप असुरक्षित हुने दोहोरो चक्रब्यूहमा फस्ने अवस्था आएको छ । अब यो समस्यालाई हल गर्न के प्रस्ताव ल्याउलान् ? त्यो जान्न केही समय पर्खनै पर्छ ।
प्रतिक्रिया