काठमाडौं । नेपालका ५ वटा मजदुर संगठनहरुले हालै नेपालको लिपुलेक पास अवैधरुपमा प्रयोग गरि भारत र चीनले सीमापार व्यापार सम्झौता गर्ने भनि गरिएको निर्णयको विरोध जनाएका छन् ।
क्रान्तिकारी ट्रड युनियन महासंघका संयोजक ईश्वर तिमल्सिना, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का संयोजक लोकराज भुसाल, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका संयोजक केदार गिरी, अखिल नेपाल ट्रेड युयिनयन महासंघका संयोजक विनोद थापा र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ (बहुमत)का संयोजक डिबी सर्वश्रेष्ठले एक संयुक्त विज्ञप्ति जारी गर्दै चीन र भारतको सो कदमको विरोध जनाएका हुन् ।
संयुक्त विज्ञप्तिमा हालै नेपाली भूमि लिपुलेक क्षेत्रमा चीन र भारत सरकारका बिच सो क्षेत्रलाई दुईदेशीय सीमा कायम गरि व्यापारिक नाका खोली सञ्चालनमा ल्याउने भनि गरिएको निर्णय नेपालको भूमिमाथि भारत र चीनको सम्प्रभुता कायम गर्न गरिएको बल मिच्याईंप्रति गम्भीर विरोध रहेको जनाइएको छ ।
भारत र चीनले गरेको यस रवैयाप्रति नेपाल सरकारले प्रतिवाद गर्नुपर्नेमा उदासिन रहेको भन्दै नेपाल सरकारका तर्फबाट नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षाप्रति ठोस कदम चाल्न माग गरिएको छ ।
विज्ञप्तिमा सुगौली सन्धि र नेपाल—भारत बिचमा कायम रहेको वैध सीमा सम्बन्धमा चीनको समेत न्यायोचित भूमिका रही नेपालको सार्वभौम अधिकारलाई सम्मान गर्ने नीति अख्तियारको अपेक्षा गरिएको छ ।
प्रतिक्रिया