News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्वार्ता

पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’

पछिल्लो समय नेपालको राजनीति विशिष्ट  परिस्थितिबाट गुज्रीरहेको छ । विशेष गरी गत भदौ २३ र २४ गते भएको युवाहरुको आन्दोलनले नेपालको सरकार त बदलेको छ तर सत्ताको आधारभूत चरित्र भने बदलेको छैन । पुरानो संविधानको आधारमा नै सरकार गठन देखि संचालनका प्रकृयाहरु अगाडि बढेका छन् । युवा आन्दोलनको मुल उद्देश्य पुरा नभएको मात्र होइन, नेपाल गम्भीर रुपमा भु–राजनीतिक संकट तर्फ धकेलिरहेको अनुभूति आम जनताले गर्न थालेका छन् । अन्तरिम सरकारले आगामी फागुन २१ गते चुनाब तोकेको छ र सोही अनुसार निर्वाचन आयोगले आफ्ना कामहरु अगाडि बढाएको छ । सबै राजनीतिक पार्टीहरु आ–आफ्नै रणनीतिमा व्यस्त देखिन्छन् । नेकपा(बहुमत) लगाएत सडकको मोर्चामा भएका पार्टीहरु पनि आ–आफ्नै उद्देश्य पुरा गर्नको लागि एकल वा संयुक्त रुपमा गतिबिधिहरु बढाइरहेका छन् । यसै सन्दर्भमा जनमेल डट कमका सम्पादक एचबी चन्दले नेकपा(बहुमत) का महासचिव धर्मेन्द्र वास्तोला ‘कञ्चन’ सँग महत्वपूर्ण अन्तर्वार्ता लगेका छन् । प्रश्तुत छ उक्त अन्तर्वार्ताको सम्पादित अंश :
जनमेल डट कममा यहाँलाई हार्दिक स्वागत छ ।
 धन्यवाद
भदौ २३ र २४ गते जेनजीको नाममा जुन बिद्रोह भयो त्यसलाई कसरी नियाली रहनु भएको छ ?
 गत २३ र २४ गते जुन बिद्रोह भयो त्यसले नेपालमा जनताको बिद्रोह सम्भव छ, र जनताले चाह्यो भने छिटो भन्दा छिटो सत्ता परिवर्तन गर्न सनिन्छ भन्ने कुरा साबित गरिदिएको छ ।
त्यसो भए २३ र २४ को आन्दोलनलाई क्रान्तिको रुपमा बुझन सकिन्छ ? अथवा सत्ता परिवर्तन मात्रै ?
 होईन । राजनीतिक दृष्टिले यो पश्चगमन हो । आन्दोलनका दृष्टिले यो नयाँ शिक्षा हो । यो आन्दोलनले नेकपा (बहुमत)ले अघि सारेको रणनीति, कार्यनीति र कार्यदिशाको वैज्ञानिक पुष्टि गरेको छ ।
कसरी पुष्टि भयो ? यो बारेमा थप ब्याख्या गरिदिनुहुन्छ की ?
 नेपालको संसदमा भएका बहसहरु तपाईलाई पनि थाहा छ । नेपाली समाजमा भएका बहस पनि थाहा छ । हाम्रो पार्टीले गरेका विश्लेषण र संघर्षहरु पनि तपाईलाई थाहा छ । एकथरीको विश्लेषण के थियो भने नेपाल अब श्रीलंका र बंगलादेश बन्दैछ । फेरी अर्को थरिले भन्दै आएका थिए, होईन, नेपाल श्रीलंका बंगलादेश बन्दैन । यो शासकीय सत्ताको कुर्सिमा बसेका अहंकारवादी लुटेराहरुको कुरा थियो । भ्रष्टाचारले कतै आँखा नलगाउनेहरुको कुरा थियो । यो बहस मानिसहरुले जे हुन्छ भनेका थिए त्यही भयो । नेपाल श्रीलंका र बंगलादेश जस्तै भयो । हामीले भनेका थियौं, विचारधारात्मक, राजनीतिक, संगठनात्मक, संघर्ष र सास्कृतिक दृष्टिले आन्दोलनलाई पुराना सोचहरुबाट पुनर्गठन गर्न सकिएन भने विस्फोट त हुन्छ साथै उपलब्धी पनि श्रीलंका र बंगलादेशको नै हुन्छ ।
श्रीलंका र बंगलादेशको जस्तो मात्रै उपलब्धी भन्नुभयो त्यसो भने के नेपाली जनताले बिदेशी हस्तक्षेप चाहेको थियो त ?
 किमार्थ होईन । नेपाली नवजवानहरुले विदेशी हस्तक्षेप चाहेको होईन । नेपाली नवजवान युवाहरुले नेपालमा भ्रष्टाचार, संस्थागत भ्रष्टाचार, कुशासन, नातावाद, राजनीति र अर्थ व्यवस्थामा चल्दै आएको दलाल पूँजीवादी संसदीय पार्टी र पार्टी भित्र गुट र गुट भित्र पनि व्यक्तिहरुको एकाधिकार, सत्ताधारी पार्टी र नोकरशाहबीच सत्ताका विभिन्न क्षेत्रमा सिन्डिकेट र कार्टेल, युवाहरुलाई दैनिक विदेश पलायन गराउने काम, वित्तीय शोषण, किसानका घरजमिन बैंकहरुबाट लिलाम, बैंकहरु बार्षिक अरबौको मुनाफामा हुने र जनताहरु बार्षिक आधा सम्पत्ति गुमाउँदै जाने अवस्था, किसान मजदुरका समस्या, शिक्षामा नीजिकरण व्यापारीकरण, स्वास्थ्यमा नीजिकरण व्यापारीकरण र लुट जस्ता सयौ विकृतिको अन्त्य चाहन्थे । तर, जे भयो श्रीलंका र बंगलादेश भयो । अथावा, नेपाली युवाहरुको भावनामा साम्राज्यवादी स्वार्थ घुस्यो, उनीहरुको योजना बन्यो र देशको आन्तरिक लुटको कारणले बाह्य सक्तिलाई फाईदा लिने ठाउँ दियो । नेपाली युवाहरुले यसबाट राम्रो शिक्षा लिईसकेका छन भन्ने लाग्छ ।
के जेनजीको पहिचानमा आएका युवाहरुको माग पुरा भयो त ?
 भएन । आन्दोलनकालागि सरकारसँग अनुमति लिएका युवाहरुको पहिलो आह्वान थियो, जसलाई उनीहरुले केवल दुईबुँदे माग भनेका थिए प्रथम “नेपालमा राजीतिक स्थिरता चाहिएको छ” र दोश्रो, “जननिर्वाचित कार्यकारी प्रमुख हुनु पर्छ” । समभवतः यो २२ गते तिरको कुरा हो । त्यसपछि माग थपियो, भ्रष्टाचारको अन्त्य गरिनु पर्छ र २०४७ यताका उच्च पदस्थहरुको सम्पत्ति छानविन गरी भ्रष्टाचार गरेको सम्पत्ति राष्ट्रियकरण गरिनु पर्छ । आन्दोलनमा त अनेक नाराहरु उठे । तर, ती कुनै पनि माग पुरा भएनन् र जसरी परिस्थिति अगाडि गएको छ त्यसले पुरा गर्न पनि सम्भव छैन । माग पुरा गर्न फेरी २३ र २४का कम्जोरीबाट पाठ सिक्दै त्यस्तै प्रकारको आन्दोलनको आवश्यक पर्छ ।
आन्दोलनमा समस्या कहाँ रह्यो त ?
समस्या जेनजीको आन्दोलनमा हुनु पर्ने स्वाधीनता पूर्वक संयोजनमा रह्यो । त्यहाँ न त जेनजीले सोचे अनुसारको नेतृत्व भयो न उनीहरुको आफ्नै राजनीतिक संगठन । जनताको आफ्नो राजनीतिक संगठन भएन भने जनताको तागत बनाउने कोही हुँदैन । उनीहरुको लाईनका दृष्टिले चारवटा माग थिए । ती मागहरु पुरा गर्न अहिलेको संविधान खारेज गरेर नयाँ संविधान बनाउनु पर्थ्यो । त्यसो भएन । युवाहरुले जुन इच्छा र अपेक्षा अनुसार आन्दोलन गरे त्यसलाई पुरा गर्न २५ वा २६ गते नै सेना प्रमुख र राष्ट्रपतिसँग सहमति गर्दा संविधान खारेज गरेर एक पानाको भएपनि नयाँ विधान बनाउनु पर्थ्यो र त्यसले नयाँ संविधान बनाउनका लागि कि त संविधान आयोग कि संविधान सभाको चुनाव गर्नु पर्थ्यो र उनिहरुले उठाएका माग सम्बोधन गर्ने संविधान बनाउनु पर्थ्यो । तर, अहिले जे भईरहेको छ त्यो पुरानो प्रचलित संविधान अनुसार नै भैरहेको छ । यो संविधानले स्थापना गरेको नोकरशाही दलाल पूँजीवादी व्यवस्थाको अन्तरनीहित चरित्र नै जनबिरोधी, प्रतिगामि र राष्ट्रघाती भएकोले अहिलकोे सत्ताबाट युवाहरुको माग सम्बोधन हुने अवस्था बन्दैन र हुँदैन पनि । यो कुरा ठम्याउन नसक्नु नै युवाहरुको मुख्य समस्या रह्यो ।
आन्दोलनकारी युवाहरुले त सामाजिक संजाल खुला गर्नु पर्ने माग पनि त सारेका थिए त ?
 सामाजिक संजाल एउटा कारण मात्र थियो । सम्भवतः त्यो प्रायोजित कारण थियो । अथवा योजनावद्ध तरिकाले सरकारलाई बन्द गर्न लगाईएको थियो । त्यसमा उनीहरु सफल भएका थिए ।
अहिलेको देशको अवस्थालाई तपाईहरुको पार्टीले कसरी विश्लेषण गरिरहेको छ ?
 हाम्रो पार्टीको स्थायी समिति बैठकले केही महत्वपूर्ण निस्कर्ष निकालेको छ । त्यसमा हामीले विश्लेषण गरेका छौ, अहिलेको बिद्रोह के हो ? अहिले नेपाल कहाँ छ र अबको नेपाली जनताको कार्यभार के हो ? यसरी हेर्दा हामीले देखेका छौ, नेपालमा भईरहेको बेथितिका बिरुद्ध युवाहरुले बिद्रोह गरेका थिए, बिद्रोह त्यो महान जनयुद्धको निरन्तरता थियो जसले गणतन्त्र ल्यायो, यो विद्रोहले भ्रष्टचारी संसदवादीलाई राजकीय सत्ताबाट च्युत गरायो । परिणाममा जसरी जनयुद्धलाई साम्राज्यवादीहरुले मिसलिडिङ गर्दै दलाल पूँजीवादमा बदले त्यसैगरी यो बिद्रोहलाई पनि पश्चगमन, पराधीनता र राष्ट्रिय संकटमा बदलेका छन् । यहाँ तीन प्रकारका शक्तिहरु छन् अग्रगामी, यथास्थितिवादी र पश्चगामी । अहिले पश्चगमन हाबी होला जस्तो भएको छ । किनकि भदौ २४ को अवस्थाबाट देश प्रतिगमनमा छ, नेपाली जनताको सार्वभौम सत्ताको अपहरण भएको छ, राष्ट्रिय स्वाधीनता माथि अक्रमण भएको छ । संसदवादीहरु विघटित संसदको पुनर्स्थापनाको माग गर्दै यथास्थितिमा लैजान खोजिरहेका छन् । तर नेपाली नतालाई अग्रगमन चाहिएको छ । त्यो अग्रगमन भनेको देशको क्रान्तिकारी परिवर्तन हो, वैज्ञानिक समाजवाद हो ।
नेपालमा परिवर्तन सम्भव छ ? अझ तपाईहरुले भनेजस्तो समाजवादी क्रान्ति सम्भव छ ?
 नेपाली समाजमा पनि एउटा अन्तरबिरोध छ । आन्दोलनकारी निशस्त्र छ, दमनकारी सशस्त्र छ । आन्दोलनकारी निशस्त्र भएपनि शक्तिशाली छ, सत्ताधारी सशस्त्र भएपनि कमजोर छ । देश संक्रमित अवस्थामा छ । संक्रमणको अवस्था स्थिर हुँदैन, यो कि प्रतिगमनमा कि अग्रगमनमा जाने हुन्छ । समाज कहिल्यै पनि यथास्थितिमा बस्न सक्दैन । यसरी हेर्दा अग्रगमन, निरन्तर अग्रगमन, निरन्तर प्रगतिको बाटोमा जान नेपालमा समाजवादी क्रान्ति बाहेक अर्को विकल्प छैन । त्यसकारण नेपालमा परिवर्तन सम्भव छ र समाजवादी क्रान्ति पनि सम्भव छ ।
अब नेकपा(बहुमत) लगायत सडकमा रहेका पार्टीहरुको आगामी कार्यभार के हुन्छ ? अव तपाईहरुले के माग राखेर जनतालाई अपिल गर्नुहुन्छ ?
 मृतशैयामा पुगेको संविधानको खारेजी र नयाँ संविधानको लेखन, पुरानो दलाल पूँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापना, वैज्ञानिक समाजवादी सत्ता अनुसार जनताको निरन्तर प्रगति, समृद्धि, स्वतन्त्रता र स्वाधीनता प्रत्याभूत गर्ने राजनीतिक, आर्थिक, सामाजिक नीतिहरुको कार्यान्वयन हाम्रो पार्टीको मागको सार हो । प्रगति र परिवर्तन चाहने अरु पार्टीहरुको पनि त्यही माग हुन्छ भन्ने स्पष्ट छ ।
अहिलेको सरकाले आगामी फाल्गुन २१ गतेलाई चुनाब तय गरेको छ । तपाईहरु सडकको कुरा गरिरहनु भएको छ तर संसदवादी पार्टीहरु त चुनावमा जाने कुरा गर्दै छन् त ।
 संसदवादी पार्टीहरुले बुझ्‌नु पर्छ कि प्राप्त उपलब्धीको रक्षा गर्ने हो भने यथास्थितिवादबाट सम्भव हुँन सक्दैन । अग्रगामी बाटोमा न जाने हो भने पश्चगमन अनिवार्य हुन्छ किनकि कुनै पनि समाज लामो समयसम्म यथास्थितिमा रहन सक्दैन र आन्दोलनको समयमा संक्रमणको गति अझ तिब्र हुन्छ । प्राप्त उपलब्धी के हुन ? तपाईलाई थाहा छ, कुनै समयमा उत्तरी चेकपोष्टमा भारतीय सेना तैनाथ थियो । नेपाली जनताको आन्दोलनले त्यसलाई हटायो । तपाईलाई थाहा छ, नेपालको मन्त्री परिषदको बैठकमा भारतीय प्रतिनीधिको उपस्थिति हुन्थ्यो । नेपाली जनताले गरेको निरन्तर आन्दोलनले त्यो चलन पनि अन्त्य गर्‍यो । तपाईलाई थाहा छ नेपालमा वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, एवम् सामुदायिक समस्याहरु थिए, जनताको आन्दोलन र जनयुद्धले त्यसलाई राजनीतिक रुपले सम्बोधन गरेको थियो । यी उपलब्धीहरुलाई अहिले पश्चगामी बाटो तिर गइरहेको सत्ताले खाइदिने खतरा छ । अहिले ती सबैलाई पछि फर्काउने हर्कत चलिरहेको छ । सरकार एनजीओ, आईएनजीओका प्रतिनीधिहरुको बनेको छ, सरकार प्रमुखका सल्लाहकारहरु अमेरिकी गुप्तचरका प्रतिनीधिहरु छन् भन्ने संचार माध्यमहरुमा आईरहेको छ, अमेरिकी सेना नेपालमा भित्र्याउने हर्कत चलिरहेको छ । भदौ २५ गते नै भारतीय सेना १० मिनेटमा नेपाल छिर्न अह्वानको माग गरेको थियो भन्ने पोष्टहरु सामाजिक संजालमा देखिएका थिए । यसबाट नेपालका संसदवादी पार्टीहरुले पाठ सिक्नै पर्छ र उनीहरु देशलाई पश्चगमनको बाटोमा लैजाने, साम्राज्यवादी शक्ति निम्त्याउने मतियार हुनु हुँदैन । उनीहरु पनि नेपाली जनतासँगै स्वाधीनताको रक्षाकालागि आउनु पर्छ । त्यसकारण जेनजीले उठाएका मागहरु–राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लुटेका सम्पत्ति राष्ट्रियकरण गर्ने मुद्याहरु पुरा गर्न, जनताले पटक पटक उठाउने गरेका मागहरु राष्ट्रिय उद्योगहरु स्थापना र व्यापक रोजगारी सृजना, स्वस्थ्य र शिक्षामा नीजिकरण र व्यापारीकरणको अन्त्य गर्न संसदवादी पार्टीहरु नयाँ संविधान निर्माणको बाटोमा आउनु पर्छ ।
संसद पुनर्स्थानाको कुरा पनि उठीरहेको छ । यो एजेण्डाले देशलाई ट्रयाकमा ल्याउन सम्भव हुँदैन ?
 यो अहिलेको प्रतिगमन भित्रको प्रतिगमन हो । नोकरशाही दलाल पूँजीवादको हित गर्ने संविधान करिब कोमामा छ भने फेरी किन व्युताउनु पर्‍यो ? सकिएको संसद किन पुनर्स्थापना गर्नु पर्‍यो । बरु संविधान खारेज गर्नु पर्‍यो नयाँ संविधान लेख्न संविधान आयोग या संविधान सभाको चुनाव गर्नु पर्‍यो । राष्ट्रपति खारेज गर्नु पर्‍यो नयाँ राष्ट्रपति बन्नु पर्‍यो । निश्चित रुपमा राष्ट्रपति नयाँ नीति अनुसार जनताको हुनु पर्‍यो, कुनै साम्राज्यवादको गोटी या एनजीओ, आईएनजीओको प्रतिनीधि होईन । प्रदेश सरकारहरु बर्खास्त गर्नु पर्‍यो । नयाँ आधारमा प्रदेशको पुनसंरचना गर्नु पर्‍यो । स्थानिय सरकारलाई अनुशासित र जनमुखि बनाउनु पर्‍यो । जनताको एकतालाई सुदृढ गर्ने आर्थिक, सामाजिक, साँस्कृतिक नीति लागु गर्नु पर्‍यो । अहिले गर्नु पर्ने काम भनेको राष्ट्रिय एकता निर्माण गर्न र देशको अग्रगामी राजनीतिक निकास दिन देशभत्तीपूर्ण आन्दोलनमा लागेका सबै राजनीतिक पार्टीहरु, संगठन, संस्थाहरु, व्यक्तिहरु तथा देशभत्त, जनवादी क्रान्तिकारीहरु, मजदुर, किसान, महिला, जाति जनजाति, क्षेत्रिय सन्तुलन, सेना प्रहरी सहितको स्वाधीन संयुक्त सरकार निर्माण गर्नु पर्छ । यो हो अहिले गर्नु पर्ने काम ।
यी सबै काम गर्न फेरी आन्दोलन चाहिने होला त, अहिलेको संरचनाले त गर्न सक्दैन ।
 सहि कुरा हो । अब फेरी आन्दोलन गर्नु पर्छ । देशमा आन्दोलनको भुंग्रो फेरी खोसलीँदै छ । तर सबै क्षेत्र र स्वार्थका आन्दोलनकारीहरुलाई पश्चगमन र यथास्थितिबाट होईन, अग्रगमन सहित राष्ट्र र जनताको हितमा सोच्न, राष्ट्रिय एकता निर्माण गर्न, स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन केन्द्रित गरौ भन्ने हाम्रो पार्टीको अपिल छ । हाम्रो पार्टी यी नै उद्देश्य प्राप्त गर्ने नीति र कार्यक्रम सहित लामो समय देखिनै आन्दोलनको निरन्तरतामा छ । हामी आन्दोलनमा अघि बढीरहेका छौ । नेपाली जनता एकदिन विजयी हुने कुरा पनि निश्चित छ ।
समयको लागि धन्यवाद
 जनमेल डटकमको सम्पूर्ण टिमप्रति विशेष आभार सहित धन्यवाद ।

प्रतिक्रिया