News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

राप्रपामा शक्ति संघर्ष तीव्र, दुई महामन्त्रीको बैठक बहिष्कार

२९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद झन् चर्किएको छ । पार्टीका महामन्त्री डा. धवलशम्शेर राणा र अर्की महामन्त्री कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको कार्यसम्पादन समिति बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् । अध्यक्ष लिङ्देनले आजका लागि बैठक आह्वान गरेका थिए । तर राणा र शाहीले अध्यक्षलाई पत्र लेख्दै पार्टीभित्र सहकार्य कमजोर भएको र विधि–पद्धति उल्लंघन बढेको भन्दै बैठकमा उपस्थित नहुने जानकारी गराएका हुन् । दुवैले पठाएको पत्रमा पार्टीभित्रको सहकार्य र एकता कायम राख्न चार बुँदे प्रस्तावसमेत अघि सारिएको छ । तिनमा महाधिवेशनको मिति तोक्ने, विधानविपरीत भएका निष्कासन फिर्ता गर्ने, निष्पक्ष निर्वाचनका लागि सन्तुलित समिति गठन गर्ने र दुई पूर्वअध्यक्षसहित विवाद समाधान समिति बनाउने माग समावेश छन् । पत्रमा भनिएको छ, “अध्यक्षबाट एकतर्फी रूपमा केन्द्रीय सदस्य थप्ने, अधिकांश विभाग निस्क्रिय राख्ने, र नेताहरूलाई बिना कारण कारबाही गर्ने कार्यले पार्टीभित्रको आन्तरिक एकतालाई कमजोर पारेको छ ।”
त्यसैगरी पार्टी स्थापनाकालदेखि योगदान पुर्‍याएका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई फेसबुकमार्फत् सूचना दिई अपमानजनक ढङ्गले निष्कासन गरिएको उल्लेख गर्दै पत्रमा भनिएको छ, “अब त विधानविपरीत कारबाही र निष्कासनको लामो सूची बनेको छ ।” महामन्त्री धवलशम्शेर राणाले भने, “अध्यक्ष लिङ्देनले एकतर्फी निर्णय गर्दै पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाएका छन् । महाधिवेशनको वातावरणसमेत नबनाएकाले हामी बैठकमा सहभागी हुन सक्दैनौं ।” राप्रपाभित्र पछिल्ला केही महिनादेखि देखिँदै आएको मतभेद अब शीर्ष नेतृत्वबीचको स्पष्ट टकरावमा परिणत भएको देखिन्छ ।

प्रतिक्रिया