News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

एमालेसँगको विद्रोह सही थियो, इतिहासले प्रमाणित गर्‍यो : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग गरेको विद्रोहको औचित्य पुनः पुष्टि भएको दाबी गरेका छन् । बुधबार काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा देखिएको अधिनायकवादी प्रवृत्तिको विरोध स्वरूप गरिएको विद्रोह सही निर्णय सावित भएको बताएका हुन् । उनका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र एकल निर्णयले पार्टी विभाजन र सत्ताच्युतिको कारण बनेको हो । “सत्तामा बसेका अहंकारी प्रधानमन्त्री केपी ओलीलाई सत्ता च्युत गरियो । पार्टी सञ्चालनबारे हामी भुक्तभोगी थियौं,” अध्यक्ष नेपालले भने, “एमालेमा हाम्रो विद्रोहले औचित्य पुष्टि गरेको छ ।”
उनले एमाले विभाजनको औचित्य पुष्टि नभएको भन्नेहरूलाई ओलीसमक्ष आत्मसमर्पण गर्न खोजिरहेको आरोप लगाए । “विद्रोहको औचित्य पुष्टि भएन भन्नु भनेको ओलीसामु आत्मसमर्पण गर्नु हो,” उनले भने, “हामीले कुनै गल्ती गरेका छैनौं, त्यसमा पूर्ण आत्मविश्वास छ ।” अध्यक्ष नेपालले पार्टीको हरेक बैठक र निर्णयहरूले पनि विद्रोहको औचित्य पुष्टि गर्दै आएको दाबी गरे । उनका भनाइ अनुसार, एमालेको विभाजन कुनै व्यक्तिगत स्वार्थका कारण नभई विचार, नीति र संगठनात्मक चरित्रको रक्षा गर्नका लागि गरिएको हो । नेपालको यो अभिव्यक्ति हालै सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरूले विभाजनको औचित्यबारे प्रश्न उठाएको सन्दर्भमा आएको हो ।

प्रतिक्रिया