News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश कभर स्टोरी समाचार

डडेल्धुराका वन समूह अध्यक्षमाथि अख्तियारमा २० लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मडैले समितिको रकम हिनामिना गर्ने उद्देश्यले २०७८ मंसिर १० गतेको माइन्युटको नक्कली प्रतिलिपि तयार गरी सचिव र कोषाध्यक्षको जानकारीबिना चेकमा किर्ते हस्ताक्षर गरेका थिए। सोही चेकमार्फत उनले २०७८ मंसिर १६ गतेदेखि २०७९ वैशाख २५ गतेसम्म विभिन्न मितिमा जम्मा रु. २० लाख १५ हजार रकम आफ्नै नाममा झिकेका थिए ।
समितिले रकम हिनामिना भएको थाहा पाएपछि मडैले रु. २ लाख मात्र फिर्ता गरे भने बाँकी रु. १८ लाख १५ हजार रकम दुरुपयोग गरेको प्रमाणित भएको आयोगले जनाएको छ । उनले उक्त रकम डडेल्धुरा शाखाबाट नभई अत्तरिया, धनगढी, चौमाला र महेन्द्रनगरका विभिन्न शाखाबाट निकालेको प्रमाण फेला परेको बताइएको छ । अनुसन्धानका क्रममा डिभिजन वन कार्यालय डडेल्धुराबाट प्राप्त स्थलगत प्रतिवेदन, फरेन्सिक परीक्षण र बैंकका अभिलेखहरूले मडैले किर्ते दस्तावेजमार्फत रकम निकालेको पुष्टि भएको आयोगको भनाइ छ । आयोगका अनुसार मडैको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा पर्ने भएकाले सोही ऐनअनुसार रु. १८ लाख १५ हजार बिगो कायम गरी कैद र जरिवानाको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो । आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सामुदायिक सम्पत्तिमा हानि पुर्‍याउने र सार्वजनिक पदको दुरुपयोग गर्ने कार्यविरुद्ध अख्तियारले निरन्तर कारबाही अघि बढाइरहेको छ ।

प्रतिक्रिया