News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

मन्त्री घिसिङको आश्वासनपछि बञ्चरेडाँडा ल्याण्डफिल साइट पुनः सञ्चालनमा

काठमाडौँ, कार्तिक १६ — करिब चार दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर फाल्ने काम आइतबारदेखि पुनः सुरु भएको छ । नुवाकोटस्थित बञ्चरेडाँडा ल्याण्डफिल साइट आइतबारदेखि सञ्चालनमा आएको हो । सहरी विकास मन्त्री कुलमान घिसिङसहितको उच्चस्तरीय टोलीले आइतबार बिहानै बञ्चरेडाँडामा पुगेर स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग वार्ता गरेको थियो । सो क्रममा मन्त्री घिसिङले स्थानीयका मागहरू १५ दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि फोहोर फाल्न अनुमति दिइएको हो । ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईँका अनुसार, मन्त्रीको आश्वासनपछि स्थानीयहरूले अस्थायी रूपमा साइट खोल्ने निर्णय गरेका हुन् । “मन्त्रीज्यूले १५ दिनभित्र माग पूरा गर्ने वाचा गर्नुभयो । त्यसैले अहिले फोहोर फाल्न दिएका हौँ, तर माग सम्बोधन नभएपछि पुनः रोक्छौँ,” वडाध्यक्ष बजगाईँले बताए । मन्त्री घिसिङसँगै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र वातावरण विभाग प्रमुख सरिता राई पनि टोलीमा सहभागी थिए ।
यसअघि २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयनमा उदासीनता देखाइएको भन्दै स्थानीयहरूले फोहोर फाल्न रोक्का गरेका थिए । शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि समस्या झन् चर्किएको थियो । हाल दैनिक करिब १५० भन्दा बढी फोहोर बोकेका गाडीहरू बञ्चरेडाँडातर्फ पठाइन्छन् । सो ल्याण्डफिल साइटबाट नुवाकोटको ककनी र बेलकोटगढी नगरपालिका तथा धादिङको धुनवेशी नगरपालिका क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित हुँदै आएका छन् । स्थानीयले दिएका चेतावनीअनुसार अब १५ दिनभित्र माग सम्बोधन नभएमा फोहोर व्यवस्थापन पुनः संकटमा पर्ने सम्भावना कायमै छ ।

प्रतिक्रिया