News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति विशेष न्यूज समाचार

बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने

भक्तपुर । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठक संगठनका अध्यक्ष क. विरेन्द्र शाहको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’को प्रमुख आतिथ्यतामा भक्तपुरमा सानदार रूपमा सम्पन्न भएको छ । मिति २०८२ मंसिर २८ देखि पुष १ गते सम्म चलेको उक्त बैठकले मुलुकको समग्र राजनीतिक, शैक्षिक र आर्थिक अवस्थामाथि गम्भीर समीक्षा गरेको छ । बैठकले दलाल पुँजीवादी व्यवस्थाबाट उत्पन्न शैक्षिक संकट, बेरोजगारी, भ्रष्टाचार, सामाजिक अन्याय र राष्ट्रिय स्वाधीनतामाथि देखिएको गम्भीर चुनौतीको समीक्षा गर्दै त्यसको विरुद्ध क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई निर्णायक संघर्षको चरणमा लैजाने ऐतिहासिक संकल्प व्यक्त गरेको छ । लामो समयदेखि अवसरवाद, वैचारिक विचलन र निष्क्रियताका कारण कमजोर बनाइएको विद्यार्थी आन्दोलनलाई पुनः क्रान्तिकारी धारमा फर्काउन ‘विद्यार्थी जागरण अभियान’ सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, विद्यार्थी आन्दोलनको वर्तमान अवस्था, संगठनको वैचारिक–राजनीतिक कार्यदिशा, सांगठनिक पुनर्निर्माण तथा आगामी संघर्षका कार्यक्रमहरूबारे गहन छलफल भएको थियो । शिक्षाको व्यापारीकरण, बेरोजगारी, सामाजिक विभेद र दलाल पुँजीवादी शोषणको विरुद्ध सशक्त तथा संगठित संघर्ष अघि बढाउने निष्कर्ष बैठकले निकालेको छ ।
त्यसैगरी, उत्पीडित वर्ग, समुदाय तथा विद्यार्थी–युवालाई व्यापक रूपमा संगठित गर्दै परिवर्तनकारी आन्दोलनको अग्रपंक्तिमा उभ्याउने, वैज्ञानिक समाजवादको मार्गदर्शनमा क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई पुनःनिर्माण गर्ने र संगठनलाई वैचारिक, सांगठनिक तथा संघर्षात्मक रूपमा थप सुदृढ बनाउने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ । अखिल (क्रान्तिकारी) को यो बैठकलाई नेपालको विद्यार्थी आन्दोलन मात्र होइन, समग्र कम्युनिष्ट आन्दोलनलाई नयाँ क्रान्तिकारी दिशा दिने ऐतिहासिक मोडका रूपमा मूल्यांकन गरिएको छ । बैठकको सञ्चालन संगठनका महासचिव क. उषाकिरण आजादले गर्नुभएको थियो । बैठकमा नेकपा (बहुमत) का नेताहरु क. गुणराज लोहनी, क. दिपक चलाउने, क. देवकला, क. विश्वास, क. आजाद, क. अविरल, क. मिलन राई, क. प्रतिमा बजगाई, क. विवेकलगायत नेताहरू अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया