News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद समाचार

घरेलु मैदानमै महिला टी–२० विश्वकप ग्लोबल छनोट, नेपाल–थाइल्यान्ड बिच पहिलो खेल हुने

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आसन्न आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको यात्रा सुरु गर्ने भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले समूह चरणको पहिलो खेल थाइल्यान्डसँग खेल्नेछ । ग्लोबल छनोट प्रतियोगिता त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानीको माथिल्लो तथा तल्लो मैदानमा सन् २०२६ जनवरी १८ देखि फेब्रुअरी २ सम्म सञ्चालन हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ थाइल्यान्डसहित जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन्। समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन्। १० राष्ट्र सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।
ग्लोबल छनोटअघि नेपालले अभ्यास खेलसमेत खेल्नेछ। क्यानका अनुसार नेपालले जनवरी १४ मा आयरल्यान्डसँग तल्लो मूलपानीमा र जनवरी १६ मा त्रिवि मैदानमा अमेरिकासँग अभ्यास खेल खेल्ने तालिका छ । समूह चरणमा नेपालले जनवरी १८ मा थाइल्यान्ड, २२ मा नेदरल्यान्ड्स, २४ मा जिम्बावे र २६ जनवरीमा स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो पटक महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजना गर्न लागेको हो । क्यानले छनोटका लागि दोस्रो चरणमा २० सदस्यीय खेलाडी टोली चयन गरिसकेको छ । ग्लोबल छनोटबाट शीर्ष चार टोलीले आगामी वर्ष हुने आइसिसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया

ट्रेन्डिङ