News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय समाचार

तोसाखाना–२ मुद्दामा थप सजायपछि इमरान खानद्वारा देशव्यापी प्रदर्शनको आह्वान

इस्लामाबाद । तोसाखाना–२ मुद्दामा अदालतले थप जेल सजाय सुनाएपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देशव्यापी विरोध प्रदर्शनको आह्वान गरेका छन् । साथै, उनले उक्त फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने घोषणा पनि गरेका छन् । इमरान खानले खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई सडक आन्दोलनका लागि तयारी गर्न सन्देश पठाएको बताएका छन् । ‘सम्पूर्ण राष्ट्रले आफ्नो अधिकारका लागि उठ्नुपर्छ,’ उनको भनाइ छ । अदालतको निर्णय आफूका लागि अचम्मको नभएको उल्लेख गर्दै खानले पछिल्ला तीन वर्षदेखि आफूविरुद्ध आधारहीन फैसला र सजायहरू दिइँदै आएको दाबी गरेका छन् । ‘तोसाखाना–२ को निर्णय पनि प्रमाणविना र कानुनी प्रक्रिया पूरा नगरी हतारमा गरिएको हो,’ उनले भने । साथै, अदालतले आफ्ना कानुनी टोलीको कुरा नसुनेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । गत साता पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई राज्य उपहारसम्बन्धी ठगी मुद्दामा थप जेल सजाय सुनाइएको थियो ।
सन् २०२१ मा साउदी अरेबियाको राज्य भ्रमणका क्रममा युवराज मोहम्मद बिन सलमानले बुसरा बिबीलाई दिएको विलासी गहना पाकिस्तानको तोसाखाना नियमविपरीत प्रयोग गरिएको आरोपमा उनीहरूलाई दोषी ठहर गरिएको हो । इमरान खान र बुसरा बिबी यसअघि नै विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका थिए । पछिल्लो फैसलाअनुसार विश्वासको आपराधिक उल्लंघन गरेको अभियोगमा उनीहरूलाई थप १७ वर्ष कैद सजाय सुनाइएको छ, जुन अघिल्लो सजायसँगै लागू हुने बताइएको छ । खानले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै आएका छन् । क्रिकेट स्टारबाट राजनीतिज्ञ बनेका इमरान खान अगस्ट २०२३ देखि हिरासतमा छन् । जनवरीमा उनलाई अर्को भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको थियो । हाल उनीमाथि राज्यका गोप्य सूचना चुहावटदेखि राज्य उपहार बिक्रीसम्मका १०० भन्दा बढी मुद्दा दर्ता छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ