News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

रक्तदान कार्यक्रम सहित अखिल (क्रान्तिकारी) को विद्यार्थी जागरण अभियान उद्घाटन

काठमाडौँ । अखिल (क्रान्तिकारी) को चौथो पूर्ण बैठकको निर्णयअनुसार पौष २० गतेदेखि सञ्चालनमा ल्याइएको विद्यार्थी जागरण अभियान आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । गोकर्णेश्वर नगरपालिका–स्थित चामुण्डा माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्दै अभियानको शुभारम्भ गरिएको हो । सामाजिक उत्तरदायित्व र विद्यार्थी सचेतनालाई केन्द्रमा राखी आयोजना गरिएको उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय नेतृत्व, विभिन्न तहका विद्यार्थी नेताहरू तथा सम्बद्ध संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष क. विरेन्द्र शाहले विद्यमान शैक्षिक समस्याको समाधान गर्दै हरेक युवा–विद्यार्थीले स्वदेशमै भविष्य र सम्भावना देख्न सक्ने अवस्था निर्माण गर्नु अभियानको प्रमुख उद्देश्य रहेको बताउनुभयो । उहाँले शिक्षा, रोजगार र समग्र भविष्यसँग सम्बन्धित मुद्दाहरूका विरुद्ध विद्यार्थीहरू एकताबद्ध, संगठित र संघर्षशील रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै अभियानमा सक्रिय सहभागिताका लागि सम्पूर्ण विद्यार्थी समुदायलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणराम आचार्यले अखिल (क्रान्तिकारी) द्वारा आयोजित रक्तदान कार्यक्रमको सराहना गर्दै सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले सामाजिक उत्तरदायित्व वहन गर्ने यस्ता रचनात्मक तथा सिर्जनशील गतिविधिहरू सबै संगठनहरूले निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष क. विरेन्द्र शाह, उपाध्यक्ष क. रुपा बुढा मगर, महासचिव क. उषा किरण आजाद, सचिवहरू क. गोबिन्द बिष्ट, क. डि.बी. शाही र क. हरि बिष्टलगायत विभिन्न तहका विद्यार्थी नेताहरूले रक्तदान कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । साथै नेकपा (बहुमत) तथा क्रान्तिकारी युवा संगठनका नेताहरूको समेत उपस्थिति रहेको थियो । अखिल (क्रान्तिकारी) ले रचनात्मक तथा सिर्जनशील गतिविधिमार्फत विद्यार्थीहरूलाई सचेत, संगठित र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने उद्देश्यसहित विद्यार्थी जागरण अभियानलाई देशभर तीव्र रूपमा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ