News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति विशेष न्यूज समाचार

डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई नेकपा(बहुमत) निकट युवा संगठनद्वारा कार्यकक्षमै कालोमोसो

डडेल्धुरा । डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि अस्पताल सञ्चालन र व्यवस्थापनसँग सम्बन्धित गम्भीर अनियमितता तथा भ्रष्टाचारका आरोप लगाउँदै कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले उनकै कार्यकक्षमा गई कालोमोसो दलेको छ । डडेल्धुरा जिल्ला अध्यक्ष सहविरले हस्ताक्षर गरेको सार्वजनिक विज्ञप्तिमा अध्यक्ष ओझाले अस्पतालमा प्रयोग भइरहेका स्वास्थ्य उपकरणहरू जानाजानी बिगारेर नयाँ उपकरण खरिद प्रक्रियामा अघि बढ्दै लाखौँ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाइएको छ । हाल प्रयोगमा रहेको ठूलो एक्स–रे मेसिन बिगारेर नयाँ खरिद प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ । विज्ञप्तिमा जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दक्ष र अनुभवी जनशक्ति प्रयोग गर्नुपर्नेमा आर्थिक चलखेलका आधारमा कर्मचारी भर्ना गरी अस्पताललाई राजनीतिक भर्ती केन्द्र बनाइएको आरोप पनि लगाइएको छ । साथै, अस्पताल परिसरलाई मदिरा सेवन गर्ने थलो बनाइएको, अध्यक्ष पदमा तेस्रो कार्यकाल पूरा गर्न लाग्दासमेत अस्पतालको आय–व्यय विवरण सार्वजनिक नगरेको तथा आफ्ना कमजोरी ढाकछोप गर्न सार्वजनिक सुनुवाइ नगरिएको उल्लेख छ ।
अस्पतालबाट माग हुने सेवा, मर्मत तथा निर्माणसम्बन्धी काममा आफ्ना आसेपासेलाई कोटेशन दिलाएर कमिसन खाने गरिएको, सेवा प्रवाह सुधार्नुको सट्टा अस्पताललाई कमाइ खाने भाँडो बनाइएको आरोप पनि विज्ञप्तिमा समेटिएको छ । त्यस्तै, अस्पतालमा स्थायी दरबन्दी खाली हुँदाहुँदै पनि स्थायी कर्मचारी नियुक्ति नगरी आर्थिक तथा राजनीतिक चलखेलका आधारमा करार तथा ज्यालादारी कर्मचारी भर्ना गरेर जनस्वास्थ्यसँग गम्भीर खेलबाड गरिएको संगठनको आरोप छ । सुदूरपश्चिमकै रेफर अस्पताल हुँदाहुँदै पनि स्वास्थ्य सेवामा चरम लापरबाही देखिएको भन्दै जनतालाई सास्ती दिइएको दाबी गरिएको छ । औषधि तथा उपकरण खरिद प्रक्रियामा गुणस्तरभन्दा कमिसनलाई प्राथमिकता दिइएको, महँगा उपकरण खरिद गरेर थन्क्याउने, सूचना लुकाउने, जवाफदेहिता कमजोर बनाउने र संस्थागत सुशासन बिगार्ने कार्यले अस्पतालको छवि खस्किएको संगठनको निष्कर्ष छ । कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराका अध्यक्ष सहवीरले यस्ता गतिविधिको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ