काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीकै कतिपय नेताहरूले संसद् अवरोध खुलाउन गरेको सहमतिलाई नबुझी प्रतिक्रिया दिएको बताएका छन् ।
बिहीबार पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
विद्यालय ऐन, निजामती, नागरिकता लगायतका विधेयकहरू पास गर्नुपर्ने बाध्यताका कारण सदन खुलाउन पहल गरेको प्रचण्डको भनाइ छ । ‘तर हाम्रा धेरै साथीले बुझेनन् मलाई दुःख छ’, प्रचण्डले भने, ‘सरकारको नेतृत्व सदन नचलोस् भन्ने चाहेको हामीले बुझ्यौँ । अहिले पनि त्यहीँ छ । यो नचल्दिए हुन्थ्यो भन्ने छ । सदन भङ्ग भइदिएदेखि अध्यादेशबाट सबै गर्ने । चाहे बजेट होस् चाहे अन्य ऐनको कुरा होस् ।’
उनले त्यही कुरा बुझेर आफूले कदम चालेको बताए । ‘अर्कोतिर सत्तामा भएकाहरूको बिचमा जे जति दुरी अन्तर के के छ के हो भनेर बुझ्नुपर्ने आवश्यकता पनि छ । त्यही परिस्थितिमा हामीले केही कदम चालेका छौँ ढिलो छिटो परिणाम निक्लेकै छ, निक्लन्छ’, प्रचण्डले एकथरी मानिसले जानिबुझी गलत प्रचार गरेर लिडरसिपलाई कसरी घेराबन्दी गर्ने भन्नेमा लागेको भन्दै त्यसबारे मजदुर वर्गले बुझिदिनुपर्ने बताए ।
प्रतिक्रिया