News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कभर स्टोरी विचार

जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?

गुणराज लोहनी
आज जेन—जी विद्रोह भएको ५१ दिन भए छ । उक्त विद्रोह जुन आयतनमा भएको थियो, त्यसको जुन घनत्व थियो, त्यसले नेपालको निरन्तर राजनैतिक परिघटनामा ठूलो क्रमभंगता ल्याउछ भन्ने आंकलन गरिएको थियो । तर आजसम्म पुग्दा जेन—जी विद्रोहको आधिकारिकता नै फरक शक्तिको हातमा पुगिराखेको छ । बृद्ध बनेका नेताको सट्टा युवा पुस्तामा राजनीति पुग्दछ भन्ने थियो । ७३ वर्षकी आमाको हातमा बागडोर पुग्यो । दक्ष र योग्य मन्त्री बनाउनुको सट्टा वैदेशिक शक्तिका पौष्य सन्तानहरु मन्त्री बन्न पुगे । भ्रष्टाचारको अन्त्य गर्नुको साँटो वैचारिक, राजनैतिक र आर्थिक भ्रष्टाचारी नै शासक बन्न पुगेका छन् । के यसैका लागि जेन—जी विद्रोह भएको थियो ?
जेन—जी, ‘विद्रोह !’     
२०८२ साल भदौ २३ गते जेन—जीले आयोजना गरेको युवाहरुको जुलुस माइतीघर मण्डलाबाट एभरेष्ट होटेल अगाडि पुगेको थियो । हजारौं युवाहरुले सडक पुरै ढाकिएको थियो । नारा गुञ्जिरहेका थिए । उक्त जुलुसले पुलिसको ब्यारिगेट तोडेर अगाडि बढ्यो । केही समयपछि त्यहाँ निकै दर्दनाक दृश्य देखा पर्‍यो । संसद भवनको ढोकाको सामुन्ने एक युवक गोली लागेर ढलेका थिए । उनका एकजना साथी चिच्याइ रहेका थिए । त्यसको ठीक पछाडि एक जना युवा गोली लागेर ब्यारिगेटमा झुण्डिएका थिए । उनको टाउकोबाट रगत बगिरहेको थियो । त्यसको केही दूरी पछाडि एकजना युवा गोली लागेर सडकमा पल्टिएका थिए । उनका एक जना साथी सडकमा घाइते साथीको पोखिएको  गिदी हातमा लिएर चिच्याइ रहेका थिए । यी ३ वटा दृश्यले के स्पष्ट पार्दछ भने जेन—जी ‘विद्रोह’को पहिलो दिनको शुरुमा नै तत्कालिक सरकारले नरसंहार चलाएको थियो । आवाज मात्र लिएर आएका युवायुवती मुख बन्द गराउन गोली चलायो । केही समयमा नै सडक युवाको रगतले लतपतियो । सामाजिक सञ्जाल पुस्तालाई सरकारको नरसंहारकारी रबैयाले डर पैदा गरेन बरु आक्रोश र घृणा चुल्याइ दियो ।
फलस्वरुप भदौ २४ गतेले २३ गतेको हत्याको बदलाको आवरण धारण गर्‍यो । २४ गतेले आक्रोशित र विध्वंशात्मक रुप लियो । २४ गते नेपालको इतिहासमा नभएको घटनाहरु घट्न थाले । गणतन्त्रको घोषणा स्थल संसद, गणतन्त्रको प्रतिक राष्ट्रपति भवन, नेपालको केन्द्रीय प्रशासनिक भवन सिंहदरबार, न्यायको मुख्यालय सर्वोच्च अदालत जलाइयो । जेल र बन्दिगृहबाट विभिन्न आरोपमा सजाय भोगेका मान्छेहरु छुटाइयो । अनि सर्वत्र प्रश्न उठ्न थाल्यो—के यी गतिविधि जेन—जीका माग अनुसारका थिए ?   
जसरी चैते हुरी निर्माण हुन्छ, ठीक त्यसैगरी ‘जेन—जी, विद्रोह !’ पनि भयो । विद्रोहको पहिलो नारा बन्यो सामाजिक सञ्जालमाथि लागेको प्रतिबन्ध हटाउने । किन भने केपी सरकारले भदौ १९ गते नेपालमा प्रयोगमा आएका फेसबुक लगाएत २६ वटा सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको थियो । ५ दिने चीन भ्रमण गरेर केपी शर्मा ओली भदौ १८ गते स्वदेश फर्किएका थिए । चीनबाट पर्किने बित्तक्कै पश्चिमा त्यसमा पनि अमेरिकी लगानीमा चलेका फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युव, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्ड इन, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो, सोललाई प्रतिबन्ध लगाएका थिए ।
अर्को नारा थियो, २०४७ सालपछि सरकार र उच्चपदमा आसिनहरुको सम्पत्ति छानविन गर्ने र भ्रष्टाचारीलाई कार्वाही गर्ने । २३ गतेको नरसंहारपछि प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा मागिएको थियो ।
विद्रोह मुद्दा
संविधान घोषणापछिका सरकार सञ्चालकहरु भ्रष्टाचारको आरोपी बन्दै आएका थिए । मुलरुपमा त्यसपछिको सरकारको नेतृत्व पालै पालो ओली, प्रचण्ड र शेरबहादुरको हातमा गयो । सरकारको अस्थिरता, अस्थिरताले चरम भ्रष्टाचार निम्त्यायो, केही नेताहरुमा तीब्र सभ्रान्तिकरण भयो । राज्यको सुखसुविधा र अर्थतन्त्रको नियन्त्रण मुट्ठीभरको हातमा पुग्यो । उनीहरुका सन्तानको सामाजिक सञ्जालमा ऐसआराम गरिएका श्रब्यदृश्य राखिन थाले र सामान्य जनताका सन्तान श्रम बेच्न विदेशिनु पर्ने भयो । सयौंको संख्यामा युवाहरुको लाश अन्तर्राष्ट्रिय विमानस्थलमा बाकसमा बन्द भएर आउन थाले । यी घटनाले राज्यप्रति समग्र जनताको आक्रोस, घृणा र युवाको पीडामय जीवन उद्घाटित भैराखेको थियो ।
वर्तमान राज्य प्रणाली सञ्चालकहरुबाट आम जनता त आजित नै थिए । सामाजिक सञ्जालको पर्याप्त पहुँच र प्रयोग अव्यस्त र वेरोजगार युवाहरुलाई शासकहरुको सन्ततिको सभ्रान्त जीवनशैलीले चिढ्याइ राखेको थियो । ती युवाले नै शासक/प्रशासकका सन्तानका विलाशितापूर्ण जीवनका श्रब्यदृश्यलाई ‘नेपो बेबी’ र ‘नेपो किडस्‌’ बनाएर सामाजिक सञ्जालबाट उजागर गरिराखिएको थियो ।
सामाजिक सञ्जालमा शेरबहादुर देउवाका छोरा जयबीर देउवा, बुहारी शिवाना श्रेष्ठ, प्रचण्डको छोरी गंगा दाहाल र नातिनी स्मिता दाहालको जीवनशैली र उनको तडकभडकपूर्ण विहे, त्यसैगरी पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाकी छोरी श्रृंखला खतिवडा र त्यसैगरी नेपाली काँग्रेसका नेता तथा गण्डकी प्रदेशका पूर्व कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री रहेका विन्दुकुमार थापाका छोरा सौगात थापाहरुको विलाशितापूर्ण जीवन शैलीलाई लिएर ‘नेपो बेबी’ पदावली प्रयोग भएको थियो । सामाजिक सञ्जादमा राखिएका यी सानासाना श्रब्यदृश्यहरु ट्रोल भएका थिए । अर्थात यिनले युवा पीढिलाई उक्साएको थियो, उनीहरुका बीचमा हल्ला मचाएका थियो ।
त्यसैले भदौ २३ गतेका दिन युवाहरुले माइतीघरदेखि बानेश्वरसम्मको जुलुसमा ‘युवा जति खाडीमा नेताकोे छोरा गाडीका’, ‘मेरो बाउ कामदार, तेरो बाउ भ्रष्टाचार’, ‘पसिना कर हाम्रो, मोज मस्ती तिम्रो’, ‘खाना खाऊ, देश नखाऊ’ ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’ जस्ता नेता र उनका सन्तान विरुद्ध आक्रोश पूर्ण नारा लागेका थिए । उनीहरुको जुलुस शिष्ट थियो तर आक्रोशपूर्ण थियो । उनका नाराले युवाको मन छोएको थियो, अवसरबाट बञ्चितहरुको दिमाग हल्लाएको थियो । पसिना र रगत एक बनाएर बाँचेकाहरुको पीडा पोखिएको थियो ।
नेपालका युवाले माथि लगाएका नाराको भाव अहिले एकाएक सिर्जित थिएन । जब गणतन्त्रका लागि संघर्ष भयो, गणतन्त्र घोषणा गरियो, संविधान बनाइयो, तर यहाँको पद्दतिमा कुनै परिवर्तन भएन । पुराना राजामहाराजाले शासन गर्न छाडे । उक्त स्थानमा दलीय राजाहरु शासन गर्न पुगे । दलालीकरणले तिब्रता पायो । केही व्यक्ति र परिवारद्वारा शासन हुन थाल्यो । राजनीतिका साथसाथै पुँजी र सम्पत्तिको केन्द्रीकरण त्यही समूहमा हुन पुग्यो । यसैले गर्दा नेता, शासक, प्रशासकका सन्तानले अवसर बढि पाए । त्यसले गर्दा उनीहरुको जीवन शैली विलाशीपूर्ण बन्यो । ती सन्तानले सुखसयल, मोजमस्तीलाई उकासिएको प्रतिष्ठाका रुपमा चित्रित गर्नका लागि विलाशीपूर्ण जीवनशैलीका श्रव्यदृश्यहरु सामाजिक सञ्जालमा राख्न प्रतिस्पर्धा गरिराखेका थिए । यसबाट सामाजिक सञ्जालमा उनीहरुलाई पिछा गर्नेको संख्या लाखौंमा पुगेको थियो । पिछा गर्नेको संख्या बढ्नुलाई नेपो किडस्‌लाई उच्चताभाष हुँदै गयो ।
परिवेश ‘परिपक्क’
जेन—जी अभियान्ता मिरज ढुङ्गानाले राजेन्द्र बानियालाई यक्ष प्रश्नमा अन्तर्वार्ता दिँदै भनेका छन् यो हेडलेस(टाउको विहीन) आन्दोलन हो । उनले भदौ २२ गतेका दिनमा नै जेन—जीको २ मुद्दे आन्दोलन(टु ऐजेण्डाज् मुभमेन्ट) भनेका थिए ।
तर जेन—जी अभियान्ता रक्षा बमले कान्तिपुरको फायर साइडमा रुपेश श्रेष्ठसँग कुरा गर्दै भनेकि थिइन् ‘हामीले २२ गते माइतीघर मण्डलामा घेरा हालेर बस्दा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध मात्र प्रदर्शन गर्ने’ भनेकी थिइन् ।
मिरज ढुङ्ना र रक्षा बमका अनुसार भदौ २३ गतेको प्रदर्शन शान्तिपूर्ण र केवल बानेश्वर पुगेर फेरि फर्किएर माइतीघरमा नै कार्यक्रम गरी समापन रहेछ । यसबाट पनि सरकारले वास्ता गरेन भने भोलिपल्ट पनि प्रदर्शन जारी राख्ने थियो ।
मिरज ढुङ्गानाका अनुसार जेन—जी विद्रोहको योजना उनले पनि नबनाएको, उनले सामाजिक सञ्जालमा केही दिन अघि मात्र देखेका र त्यसलाई टिकटकलगायतका अन्य सामाजिक सञ्जालमा प्रसार गरेका थिए । भदौ २१ गते मात्र सुदन गुरुङसँग मिराजको भेट भएको थियो । यस्तै अवस्थाका बारेमा रक्षा बमले पनि कुरा गरेकी छिन् । यसले के देखाउँछ भने जेन—जी विद्रोहको योजनाको मुख्य योजनाकार नेपथ्यमा नै छन् ।
गत भदौ १४ गतेदेखि १८ गतेसम्म तत्कालिन प्रधानमन्त्री केपी ओली चीनको टियांजिनमा भएको साङघाई सहयोग संगठनको सम्मेलनमा भाग लिन गएका थिए । उनले त्यहाँ जे गरे त्यसले अमेरिका र भारतलाई चिड्याउने काम गर्‍यो । चिनीयाँ राष्ट्रपति सी जिनपिङसँग कुटनैतिक प्रक्रिया नमिलाइ लिपुलेकको कुरा उठाएका थिए । त्यसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अवश्य बेखुस देखिएको हुनु पर्दछ । किन भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपीसँग साइटलाइन वार्ता पनि गरेनन् ।
केपी ओली माओ त्सेतुङको नेतृत्वमा भएको युद्धमा जनमुक्ती सेनाले जापानलाई चीनमा हराएको ८० वर्ष पुगेको अवसरमा आयोजित विजय उत्सवमा भाग लिएका थिए । यसबाट अमेरिका र भारत दुवै शक्तिशाली देशले गम्भीरताका साथ लिएका थिए । ठीक यसै समयमा चिनीयाँ सञ्चार माध्यममा नेपालले वैश्वी सुरक्षा पहलकदमी(जीएसआई)मा नेपालले सहमति जनायो भन्ने समाचारले तहल्का मचायो । उक्त कुराको खण्डन नेपालले गरेको भएता पनि विवादबाट मुक्त हुन सकेको थिएन ।
१८ गते केपी ओली चीनबाट नेपाल फर्किएका थिए । फर्किएको भोलिपल्ट नै उनको सरकारले दर्ता नगरिएका भन्दै भदौ २६ वटा पश्चिमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएका थियो । यो घटना रोनाल्ड इमेरिचले निर्देशन गरेको हलिवुड चलचित्र गोडजिलामामा देखाइएको जस्तो समुद्रको पिँधमा मस्तसँग सुतेको डाइनोसोरलाई आणविक बम विस्फोटको धक्काले जगाइ दिएको जस्तो हुन पुग्यो । सामाजिक सञ्जाल र प्रविधिमा अव्यस्त युवा पुस्ता गोडजिला बन्न पुगेका थिए ।
सामाजिक सञ्जाल, प्रविधिका माध्यमबाट श्रृंखलापूर्ण भ्रष्टाचारको पर्दाफास, केपीको चीन भ्रमणले ल्याएको भूराजनीतिक हलचल र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध त्यसमा पनि केपी ओलीको जंगे हठ र उनी र उनको पार्टीको माथिल्लो तहमा पलाएको उच्चाताभाष विद्रोहको कारक तत्व बन्न पुग्यो ।
विद्रोहको परिणाम
जेन—जी विद्रोहलाई हेर्ने स्वभावैले फरकफरक दृटिकोण हुन्छ नै । अहिले सार्वजनिक भएका दुई वटै दृष्टिकोण अतिमा रहेका छन् । एउटा दृष्टिकोणले यसलाई असाध्यै द्रुपीकरण वा गौरवीकरण गराएको छ । अर्को पक्षले यसलाई विद्रुपीकरण गराएको छ । द्रुप हो कि विद्रुप भन्ने बुझ्‌नलाई विद्रोह पछिका परिणामलाई नियाल्नु पर्दछ ।
भदौ २३ गते एक दिनमा काठमाडौंमा नै १९ जनाको गोली हानी हत्या, सयौं घाइते भएका थिए । बेलुका मन्त्री परिषदको बैठक बस्यो । त्यसले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटायो । गृहमन्त्री रमेश लेखकले बैठकमा सहभागि नै नभइ राजिनामा बुझाए । २४ गते विहानदेखि नै पुनः पदर्शनकारीको जमघट हुन थाल्यो । त्यो जमघट पहिलो दिनको हत्याकाण्डका विरुद्ध त थियो नै । साथै विरोध प्रदर्शनमा आएका मध्ये अधिकांशले आगजनी गर्न थाले । राज्यको व्यवस्थापिकाको केन्द्र संसद भवन, कार्यपालिका र केन्द्रीय प्रशासन केन्द्र सिंहदरबार, न्यायपािलकाको मुख्यालय सर्वोच्च अदालत र संवैधानिक राष्ट्राध्यक्ष राष्ट्रपति कार्यालय र निवासमा आगजनी भयो ।
आगजनीको लहर नै चल्यो । पटकपटक सरकार सञ्चालन गरेका पार्टीहरु काँग्रेस, एमाले, माओवादी केन्द्रका कार्यालयहरु जले । साथै शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल जस्ता गणतन्त्रको स्थापना पश्चात प्रधानमन्त्री भएकाहरुको निवास जले । केही मन्त्री पार्टीका नेता, केही मन्त्री नेताका आफन्तका घरहरु जलाइए । जेलबाट बन्दिहरु छुटाइए ।
प्रधानमन्त्री केपी ओलीले राजिनामा दिए । तर पनि स्थिति सामान्य नभएर भयावह हुँदै गयो । आगजनीले देशव्यापी रुप लियो ।
विद्रोहमाथि प्रश्न    
भदौ २४ गते बालेन्द्र साहले आफ्‌नो सामाजिक सञ्जाल एक्समा जेन—जीलाई सम्बोधन गरी लेखेका थिए—“हामीले स्पष्ट रुपमा भनेका थियौं । यो नितान्त जेन—जी को आन्दोलन हो । प्रिय जेन—जी, तपाइँहरुको हत्याराको राजिनामा आइसकेको छ । अब संयमित हुनुहोला………….साथै सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुहोला । तर याद रहोस्‌—वार्ता गर्नु अघि संसद विघटन भएको हुनु पर्छ ।”
संयोग कसरी मान्न सकिएला ! जेन—जी अभियान्ता भनेर चिनिएका १० जनालाई जंगी मुख्यालयबाट फोन गरेर बोलाइयो । राष्ट्रपति हुँदाहुँदै सेनाको पहलमा त्यसपछिको राज्य संचालन हुन थाल्यो ।
आन्दोलन जेन—जीको हुँदाहुँदै सुदन गुरुङ र ओमप्रकाश अर्यालको सक्रियता बढ्दै गयो । सेनाले दुर्गा प्रसाइँ र राष्ट्रिय स्वतन्त्र पार्टी पनि यो आन्दोलनको सरोकारवाला भएकाले वार्तामा बोलाउने जानकारी दिइए पछि रक्षा बमले उक्त कुराको विरोध गरेकी थिइन् ।
प्रधान सेनापतिसँगको पहिलो भेटमा नै जेन—जीले राज्यद्वारा हत्या गरिएकालाइृ शहीद घोषणा गर्नु पर्‍यो र घाइतेका उपचारको व्यवस्था गर्नु पर्‍यो भन्ने माग रखेका थिए । उक्त प्रस्तावमा प्रधान सेनापतिले शहीद कहिले घोषणा गर्ने ? मैले गरिदिउँ कि राष्ट्रपतिलाई गर्न लगाउँ कि तपाईँहरु आएपछि गर्नु हुन्छ भनेका थिए । यसले सेनाको मनसाय भल्किन्छ ।
जेन—जीका १० जनाका अनुसार प्रधानमन्त्रीका लागि सुशिला कार्कीको नाम अरु कसैले त्यहाँ प्रस्ताव गरेको र उक्त प्रस्तावमा हो मा हो मिलाइएको भन्ने छ । जुन कुरा पोडकास्टमार्फत बाहिर आएको छ ।
मन्त्रीहरुको प्रस्ताव पनि जेन—जीको प्रस्ताव नभएको उनीहरुको नभएको कुरा सार्वजनिक भएको छ ।
सुशिला कार्की प्रधामन्त्री बन्ने बित्तिक्कै छिमेकी वा मित्र राष्ट्रका प्रमुखहरुले शुभकामना दिनु सामान्य औपचारिकता भित्र नै पर्दछ । तर यसपालि अनौठो के भयो भने सुशिला कार्कीलाई भारत निर्वासित दलाई लामा र उनका सभामुख रेन्पो सोनाम तेन्फेललगायतकाले शुभकामना दिनु आश्चर्य मात्र हैन कि नेपालको परराष्ट्र नीति विपरित पनि हो ।
विद्रोह पछि बारबरा फाउण्डेशनसँग जोडिएका र फ्री तिब्बत अभियानमा सक्रियताका साथ लागेका सुदन गुरुङको हरकतले वर्तमान सरकार मात्र हैन कि सत्ता नै उनले चलाएको प्रतित हुन्छ ।
जेन—जी विद्रोहका जतिजति दिन बित्दै गएका छन् उतीउती नयाँ नयाँ तथ्यहरु बाहिरिन थालेका छन् । टिबेटियन ओजिनल ब्लड नामक संस्थाको घुसपैठका प्रमाणहरु बाहिरिएका छन् । जेन—जी विभिन्न समूहमा विभाजित बन्न पुगेका छन् । सबै जेन—जीको स्वामित्व सुदन गुरुङले लिएको जस्तो हुन थालेको छ । राजनीतिलाई घृणा गर्ने जेन—जीहरु पार्टी खोल्न लागेका छन् ।
 सबैभन्दा रहस्यमय कुरा त अहिलेसम्म आगजनी गर्ने र जेलबाट बन्दिहरु छुटाउने काम कसले कसको योजनामा भयो स्पष्ट छैन र अहिले निर्माण गरिएको सरकारले यसलाई एजेण्डा नै बनाएको छैन । प्रधानमन्त्रीबाट शासकीय शक्ति राष्ट्रपतिमा केन्द्रीत हुन थालेको छ । पार्श्वमा अमेरिका रहेको कुरा अब लुक्न सकेको छैन । नेपाल, मोरोक्को, मेडागास्कर, पेरु, टिमोर—लेस्ते, इण्डोनेसिया, केन्या, मंगोलिया, फिलिपिन्स, पाराग्वे, बंगलादेश र श्रीलंकाजस्ता देशमा विद्रोह गराएको आरोप लागिरहेको अमेरिकामा अहिले ‘नो किङ्ग’को नारा लगाएर हजारौं जनता डोनाल्ड ट्रमका विरुद्ध सडकमा आएका छन् । अमेरिकामा मात्र २ हजार ६ सयभन्दा बढि स्थानमा ७० लाखभन्दा बढि प्रदर्शनकारीको उपस्थिति भएको सञ्चार माध्यममा समाचार छ । यसले अर्काको घरमा ढुङ्गा हान्ने मान्छेले आफ्‌नो घरको बारेमा पनि सोच्नु पर्दछ भन्ने बुझ्‌नु पर्दछ ।
यी तथ्यहरुको सही खोजविन गरिकन वर्तमान राजनीतिलाई बुझ्‌न सकिदैन । जसरी नेपालको राजनीति एकपछि अर्को गुमराहमा पुर्‍याउने काम भैराखेको छ । यसको समाधान के हो भन्ने बहस गर्न जरुरी छ । संसदीय पार्टीहरु संसदीय व्यवस्था नै गएकाले चुनाव वा सर्वोच्चको फैसलाबाट संसद २०७२ को संविधान पुनर्स्थापना गर्न चाहान्छन् । उनीहरुका विचारमा संसद र संविधान बचाउनु पर्दछ । यत्रो ठूलो विद्रोह अन्तिम परिणति नेपालको राजनीति घुमीफिरी रुम्झाटार भने जस्तो संसदीय घेरामा नै कैद हुन पुगेको छ ।
खासमा नेपालको राजनैतिक समस्याको समाधान के हो त ? यसकालागि जसरी अमेरिकाले लामो समय लगाएर सोसल इञ्जिनियरिङ गर्‍यो, त्यही बमोजिम स्वस्फूर्त विद्रोहको पर्खाइमा बसिराख्यो र ऐन मौकामा इम्प्लान्टिड योजना लागू गर्‍यो, त्यस बारेमा गहिरो अध्ययन गर्न जरुरी छ । विभिन्न संघ/संस्थामा काम गरेर बसेका भनिएका र लोकप्रिय ठहरिएका पात्रहरुको राज्य सञ्चालनमा मुख्य भूमिका रहँदै आएको छ । उनीहरुको असली अनुहार नांगिदै गएका छन् । यसले गर्दा आम जनतामा झनै वितृष्णा र निराशा बढेको छ । त्रास असाध्यै बढेको छ । जनसुरक्षामा खतरा बढेको छ । यसरी विना विचार र राजनीतिले अन्धकारयुक्त सुरुङमा प्रवेश गरेको जस्तो भएको छ । त्यसैले वर्तमान अवस्थाको विकल्प के हो भन्ने कुरामा स्पष्ट आरधणा तय हुन जरुरी छ ।
खासमा यो संविधानको खारेजी र अन्तरिम संविधानको लेखन, उक्त संविधान अनुसार स्वाधीन संयुक्त सरकारको गठन र उक्त सरकारले वैज्ञानिक समाजवादी संविधान निर्माण गर्न आवश्यक पर्ने संघर्ष हो ।
जहाँसम्म जेन—जी विद्रोह हो यसले युवा पंक्तिमा विकृति र विसंगतिका विरुद्ध विद्रोह हुन सक्दछ भन्ने शिक्षा दिएको छ । यो आन्दोलनबाट जेन—जीले राजनीति आवश्यक रहेछ भन्ने महसूस गरेका छन् । उनीहरुमा सही राजनीति सम्प्रेशण गर्न जरुरी छ । उनीहरुमा भएको विद्रोहको शक्तिलाई सही उपयोग गर्न जरुरी छ ।
         
शिक्षा
नेपालमा जेन—जी विद्रोह चैते हुरी जस्तो भयो । नेपालको चैते हुरीको विशेषता फरक हुने गरेको छ । यसका चार वटा कारण हुन्छन् । तापक्रमीय भिन्नता, पश्चिमी वायु प्रणाली, स्थानीय संवाहन र भूआकृतिक प्रभाव हुन् । यसले गर्दा दिउँसो घामले जमिन धेरै तात्छ, तातो हावा माथि चढ्छ, चिसो हावा तल झर्छ ।, यो हावाको तल–माथि आवतजावत गर्दा अचानक हुरी चल्छ । पश्चिमी हावा पनि सक्रिय हुने भएकाले गर्जनसहित चट्याङ पर्छ, हुरी आउँछ, असिना, पानी पर्छ । यसबेलाको हरी वतास, चट्याङ र पानी विकासकारी कम बढि विनाशकारी हुन्छ ।
जेन—जीमा राजनैतिक परिपक्कता नभएका कारण यत्रो आन्दोलन हुँदा पनि यसले राजनैतिक समस्याको समाधान दिन सकेन । बरु जेन—जी तनुजा पाण्डेले भनेको जस्तो गिल्टी फील(दोषी) महसूस भएको देखिन्छ ।
नेपाली राजनीतिको दुभार्ग्य बनेको आन्दोलनको उठान देशभक्तिपूण र भित्र बाटै हुने र बैठान जहिले पनि बाह्य शक्तिद्वारा गराइने विरासत यस पटक पनि भयो । अबका दिनमा राजनीतिक कदम चाल्दा जेन—जी विद्रोहको सही र द्वन्द्वात्मक भौतिकवादी विश्लेषण र संश्लेषण गर्दै फुकी फुकी कदम चाल्नु पर्दछ ।

प्रतिक्रिया