
१लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
२नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
३कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
४नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
५नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
६नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
७दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
८जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
९अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
१०नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
११नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२विदेशी हस्तक्षेप बढ्यो, देश पराधीन बन्दैछ : नेकपा (बहुमत) सिराहा
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
आत्मालोचना
सच्चा कम्युनिस्टले सबैभन्दा पहिला आफ्नो कमजोरीलाई स्वीकार गर्नु पर्दछ र त्यो गल्ती वा कमजोरीलाई पुनः दोहोर्याउनु हुँदैन । त्यसैले म पनि यहाँ पहिला आफ्ना कमजोरीहरूलाई स्वीकार गरेर मात्र आफ्नो आठबर्से यात्रा वर्णन गर्नेछु । त्यो आत्मालोचना भनेको के हो भने विप्लवसँग रहँदा उनीमा रहेका वैचारिक/राजनीतिक कमीकमजोरीलाई सच्याउन सकिन्छ कि भन्ने भ्रम पालियो । सुरुमा मूल रूपमा विप्लवमा रहेको दार्शनिक, आर्थिक र समाजवादी विभ्रमबाट मुक्त गर्ने कोसिस गरियो । तर ३ वर्ष पुग्दै गर्दा पनि सकिएन । त्यसैले मैले आफैँले केन्द्रीय कार्यालय सचिव छाडेको थिएँ । जब कि विप्लवले नछोड्न निकै जोड गरेका थिए । विप्लवको नेतृत्वमा गठन भएको पार्टीको यात्रा जात्रामा परिणत हुन थाल्यो । हामी जात्रा हेर्न जाने यात्रु हुन पुग्यौँ । यो मेरो राजनीतिक जीवनको जात्रामय यात्रा भयो । तर अब विगतप्रति पछुतो गरेर बस्ने बेला छैन । विगतबाट पाठ सिकेर नयाँको खोजी गर्दै अघि बढ्नु पर्दछ । यसका लागि विगतको वस्तुवादी समीक्षा गर्न जरुरी छ ।
यात्रा
२०७१ साल मङ्सिर ८ गते विप्लव, प्रकाण्ड र कञ्चन बुद्धनगर गएर किरणहरूलाई ३ बुँदे दिएर नयाँ पार्टीको पुनर्गठन गरिएको थियो । उक्त ३ बुँदेमा ‘नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउने र पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता कसरी बनाउने भन्ने विषयमा गम्भीर अन्तरहरू देखापरे’ लेखिएको छ । २०६९ असार ५ गते प्रचण्ड—बाबुरामसँग अलग भएर नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी —माओवादी बनाएदेखि नै विप्लव र प्रकाण्डले यी बुढाहरूले पार्टी चलाउन सक्दैनन्, त्यसैले नयाँ तरिकाले सोच्नुपर्छ भन्थे । मूल रूपमा २०७० सालको संविधानसभाको चुनावपछिको मङ्सिरको केन्द्रीय समितिको बैठकमा चुनाव बहिष्कारलाई लिएर भएको समीक्षामा स्पष्ट दुईवटा दृष्टिकोण देखापरेका थिए ः बादलहरूको समूहले किरणजीलाई एक किसिमको घेराबन्दी गरेका थिए जसका कारण किरणजीसँग खुलेर बहस र छलफल हुन पाएन । मुख्य नेतृत्वसँग खुलेर बहस र छलफल गर्न नपाएका कारण अन्तरपार्टी सङ्घर्ष बढ्दै गयो । त्यसको समयमा नै समाधान गर्ने काम नभएका कारण साङ्गठनिक दूरी बढ्दै गयो । यसैको परिणाम २ नम्बर बुँदामा ‘राजनीतिक परिस्थिति निकै जटिल बिन्दुमा पुगेको छ । साम्राज्यवादी, विस्तारवादी दलाल पुँजीवादीहरू देशमा प्रतिक्रान्ति गर्दै पुरानै प्रतिक्रियावादी राज्यसत्ता लाद्ने ठाउँमा पुगेका छन् । माओवादीलाई सम्पूर्ण रूपले बदनाम गर्दै सखाप पार्ने अभियानमा छन् । माओवादी आन्दोलन विकेन्द्रित बन्दै कमजोर अवस्थामा पुग्दैछ । यो अवस्थामा माओवादी आन्दोलन र पार्टीलाई एक गुणात्मक पहलसहित केन्द्रीकृत र ध्रुवीकृत गर्न जरुरी छ । यसका लागि कमरेड किरणलाई यथाशीघ्र वस्तुवादी कदम चाल्न आग्रह गर्दा ग्रहण गर्ने र मनन गर्ने अवस्था रहेन ।’ माथिका यी दुई बुँदामा उल्लेख गरिएका कुराले किरणजीले सक्नुहुन्न भन्ने आरोपका तथ्यहरू तयार पारिएको थियो । सरसर्ती हेर्दा यी बुँदाहरू सही देखिएका थिए । किरणजीहरूको ढिलासुस्ती, सङ्गठनमा बादलजीहरूको षड्यन्त्रमूलक रबैयाको फाइदा लिँदै विप्लवको वाक्छल र वाक्चाटुुताले वैचारिकभन्दा पनि भावनात्मक पक्षले पार्टी फुटाउन उत्प्रेररकको काम गर्यो ।
वैचारिक कमजोरी
विप्लवले २०७१ साल जेठमा तत्कालीन नेकपा-माओवादीको केन्द्रीय समितिको बैठकमा फरक मत पेस गर्दा एकीकृत क्रान्तिको अवधारणा ल्याएका थिए । पुसमा तुलसीपुरमा भएको राष्ट्रिय सम्मेलनमा छलफलका क्रममा ‘एकीकृत जनक्रान्ति’ भनिएको थियो । त्यसका ६ वटा आधार मूर्तीकृत गरिएको थियो । पछि मात्र विज्ञान–प्रविधि थपेर ७ वटा बनाइएको थियो । एकीकृत जनक्रान्तिलाई वैज्ञानिक समाजवादसम्म पुग्ने कार्यदिशा भनियो तर कार्यदिशाका अवयवहरू किटान गरिएन । कार्यनीति र कार्यनीतिक शृङ्खला वा कार्यनीतिक कार्यक्रमका बारेमा निकै नै छलफल भए पनि समावेश गरिएन । विप्लव—प्रकाण्डले एकीकृत जनक्रान्ति नै सबै हो भन्ने सारसङ्ग्रहवादी मुढे तर्क राख्दै आए । यसरी कार्यदिशाको सार सही रहँदारहँदै पनि त्यसलाई समृद्ध गर्न ल्याइएको रोकावटका कारण कामधेनु गाईमा परिणत गरियो ।
२०७१ सालको चैतमा धरानमा भएको विस्तारित भेलामा पार्टी÷सङ्गठनमा देखिने अन्तरसङ्घर्षलाई निषेध गर्ने उद्देश्यका साथ वस्तुको अधिभूतवादी व्याख्या गरियो— भौतिक वस्तुमा लागू हुने पदार्थको एकको दुईमा विभाजनको नियम सजीव वस्तु वा पार्टी/सङ्गठनमा लागू नहुने । यो द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आएको औपचारिक विचलन थियो । अझ आठौँ महाधिवेशनमा निकालिएको ‘विपरीतको एकत्व अनिवार्य हो तर दुई लाइनको सङ्घर्ष होइन अर्थात् दुई लाइन सङ्घर्ष र विपरीतहरूको एकत्व एउटै नभएर फरकफरक हुन्’ भन्ने निष्कर्ष निकालेर भौतिकवादको खिल्ली उडाइयो । महाधिवेशनको यो निष्कर्षले पार्टीभित्र निषेधात्मक अधिभूतवादको अभ्यास भयो । यसले अन्तरसङ्घर्षको पहिचान र अभ्यासलाई रोकिदियो जसको परिणाम १२ औँ केन्द्रीय समितिको बैठक हो । एकैचोटि केन्द्रीय समितिको ठूलो सङ्ख्याले महासचिवको प्रतिवेदनलाई अस्वीकार गर्यो । एकाएकजस्तो नयाँ पार्टी पुनर्गठन गर्ने अवस्था सिर्जना भयो ।
ठीक यसैगरी महाधिवेशनको दर्शनको विषयको पहिलो बुँदामा ‘…….तसर्थ हामीले बदल्नेसँगै रक्षा र विकास गर्ने दर्शन निर्माण गर्नुपर्छ ।’ यस सन्दर्भमा माक्र्सले भनेका ‘दार्शनिकहरूले दुनियाँको व्याख्या मात्र गरेका छन्, मुख्य कुरा बदल्नु हो’ भन्ने कुरालाई बिनातथ्य बेठीक भनिएको छ र आफूहरूलाई माक्र्सभन्दा ठूला दार्शनिक भनाउन खोजिएको छ । अझ रमाइलो कुरा त हकिङले भन्दै–नभनेको र गर्दै–नगरेको ‘एकीकृत सिद्धान्त’ पत्ता लगाएको भनेर अद्र्धविद्या भयङ्करम् भन्ने नेपाली उखानलाई चरितार्थ गरिएको छ ।
अब कुरा उठ्न सक्छ दृष्टिकोणमा आएको यति ठूलो विचलनको किन प्रतिवाद गरिएन ? यसका बारेमा मैले रातो खबरमै ‘द्वन्द्वात्मक भौतिकवादविरुद्ध द्वन्द्वात्मक भौतिकवादीहरू’, ‘दर्शनमा लेनिनको योगदान, भौतिकवादमा स्टेफेन हकिङको योगदान’ लेखेर पार्टीको दर्शनसम्बन्धी गलत आधिकारिक दृष्टिकोणका बारेमा नियमित लेख्दा पनि महासचिवले कहिल्यै प्रश्न उठाएनन् । प्रतिवाद गरेनन् । यति मात्र होइन, २०७४ सालको सिन्धुलीको बैठकमा पार्टीलाई गोलचक्करवादमा फसाइयो भन्दा विप्लवले कुनै प्रतिक्रिया जनाएनन् । त्यसैगरी २०७५ साउनको केन्द्रीय समितिको बैठकमा स्थायी समितिको काम छैन । मलाई यो पार्टीमा बस्न मन छैन । तर अहिले योभन्दा क्रान्तिकारी पार्टी छैन भनेँ । २०७६ सालको आठौँ पूर्ण बैठकमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा पार्टीका नेताहरूले केही गर्न नसकेको भन्दा प्रकाण्ड गुणराजले निराशाजनक कुरा गरेको भनेर पन्छिएका थिए । तर विप्लवले कुनै प्रतिक्रिया दिएनन् ।
त्यसैगरी शिवगढीमा भएको दसौँ पूर्ण बैठकमा त केन्द्रीय समितिमा मलगायत इनेगिनेका केन्द्रीय सदस्यहरूले स्पष्ट रूपमा नै फरक मत राखेका थियौँ । त्यसमा अनिल शर्मा ‘विरही’ पनि थिए । सायद त्यससँगै विप्लव झस्किएका थिए । बन्दीपुरको ११ औँ केन्द्रीय समितिको बैठकमा मैले पिटर हिक्सको सिङ्गुलारिटीको उत्पत्ति, लेनिनले प्रकाशको प्रकृतिका बारेमा गरेको व्याख्या सच्याउनुपर्ने कुरा र दर्शनमा गर्नुपर्ने कामका बारेमा स्पष्ट कुरा राखेको थिएँ । त्यसको प्रत्युत्तरमा विप्लवले गुणराजले सहयोग गर्नुपर्छ भनेर टारेका थिए । उक्त बैठकमा अनिल शर्माले जनमतसङ्ग्रह जस्तो फन्टुस् कुरामा बहस गर्नुको कुनै तुक छैन भनेका थिए । अहिले उनी संसदीय व्यवस्थाका सबै तहका चुनावमा भाग लिनुपर्छ भन्दैछन् । कमरेड रूपेशले यो कार्यनीति मलाई स्वीकार्य छैन भन्नुभएको थियो । यसरी विप्लव—प्रकाण्डले दर्शनमा माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको आविष्कारलाई लत्याएका छन्, नयाँ विकास गर्ने नाममा ।
आठौँ महाधिवेशनको दस्ताबेजमा भएका पार्टीको नामबाट माओवादी हटाउने, उत्तरसाम्राज्यवाद, नयाँ जनवादी क्रान्तिका बारेमा बहस भएको थियो ।
अर्थतन्त्र
साङ्घाई टेक्स्ट बुकको पेज २२२ मा ‘समाजवादी उत्पादन सम्बन्धको उदयका लागि सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्व पूर्वसर्त हुन्’ लेखिएको छ । यो माओवादी अर्थशास्त्रको सपाट अवधारणा हो । माक्र्सवादले अर्थतन्त्र भनेको आधार हो, विचार, राजनीति त्यसका उपरिसंरचना हुन् भनेको छ । यो अवधारणालाई गहिरो गरी आत्मसात नगर्ने कुनै पार्टी कम्युनिस्ट हुन सक्दैन । पार्टी निर्माणदेखि क्रान्तिकाल, समाजवाद हुँदै साम्यवादको स्थापनासम्म यो भनाइ लागू हुन्छ । उत्पादन सम्बन्ध र उत्पादक शक्तिका बीचमा भएको अन्तरविरोध हल गर्न नै क्रान्ति चाहिने भएपछि उही पुरानै उत्पादन सम्बन्धमा गरिने आर्थिक उत्पादन गरेर समाजवाद ल्याउनु भनेको समाजवादलाई विकृतीकरण गर्नु हो ।
विप्लवले तुलसीपुरको राष्ट्रिय सम्मेलनमा बोलेका थिए, ‘हामीले घर बनाउनुपर्छ, उत्पादन गर्नुपर्छ । युवाहरूले अलिकति बढी पैसा खर्च गरे पनि केही हुँदैन । मनोरञ्जनका लागि रेस्टुरेन्ट जानुपर्छ ।’ यो उनको अर्थनीति बोलेको थियो । जति कमाए पनि हुन्छ, पैसा उठाउन सक्नेले जति उठाए पनि हुन्छ । केन्द्रलाई दिने, आफूले पनि लुँड्याउने हिसाबकिताब नबुझाउने, दलाल संसदीय व्यवस्थाभित्र नै समाजवादी उत्पादन गर्ने नाममा पूर्णकालीन कार्यकर्तालाई बिनाज्याला काम लगाएर नाफा कुम्ल्याउने यी ८ वर्षमा भएको राजनीतिक अर्थतन्त्र हो ।
विप्लवको नेतृत्वमा पार्टी बनेसँगै आर्थिक विभाग बनाइयो तर त्यसका प्रमुख, सदस्यहरूलाई कहिल्यै परिवर्तन गरिएन । त्यस्ता मान्छेलाई कारबाही गरेर हटाइन्थ्यो जसले आर्थिक विभागमा भएका अपारदर्शिताको विरोध गर्दथे । आर्थिक विभागद्वारा केन्द्रीय समितिमा आयव्यय सुनाइन्थ्यो । तर एकमुष्ठ आय यति, व्यय यति भनिन्थ्यो । कहिल्यै लिखित बुझाइएन । सबैभन्दा अपारदर्शिता के रहेको छ भने आय कहाँ, कुन स्रोतबाट भयो र कुनकुन शीर्षकमा कति खर्च भयो भन्ने विवरण कहिल्यै बुझाइएन । महासचिवबाहेक कसैलाई पनि यस्ता स्रोतहरूका बारेमा नभन्ने निर्देशन गरिएको रहेछ ।
पार्टीका नाममा आर्थिक स्रोत बढाउनका लागि कारबाहीहरू गरिन्थ्यो । नीतिगत रूपमा स्पष्ट पारेर आर्थिक सङ्कलन गर्नुभन्दा पनि डर र धम्कीको सहारा लिइन्थ्यो । त्यसैले अर्थप्रणालीमा जुझारु अर्थवाद लागू गरियो ।
सबैभन्दा दुःखद् त सर्वहारा मजदुरको पार्टी भन्ने तर आर्थिक सङ्कलनका लागि यी वर्गका मागलाई लात हान्ने गरिएको छ । यसको ज्वलन्त उदाहरण २०७३ सालमा साङ्ग्रिला होटेलमा मजदुरहरूले गरेको आन्दोलन, २०७६—२०७८ सालमा अन्नपूर्ण होटेलमा भएका आन्दोलन र ती आन्दोलनलाई गरिएको तुहाउने काम हो । २०७३ सालमा साङ्ग्रिला होटेलमा अर्थविभागका प्रमुख प्रकाण्डको अनावश्यक हस्तक्षेपको विरोधमा मजदुरका तत्कालीन अध्यक्ष अमर झाँक्रीले केन्द्रीय समितिमा नै आक्रोश व्यक्त गरेका थिए । आखिरमा त्यहाँका मजदुरहरूले खाली हात जागिर छाड्नुपरेको थियो । ठीक त्यही घटना अन्नपूर्ण होटेलमा पनि भएको छ । त्यहाँका ४ सयभन्दा बढी मजदुरहरूले ६३ करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता पाउनका लागि २०७६ सालदेखि लगातार आन्दोलन गर्दै आएका थिए । सरकार र प्रतिपक्षमा रहेका ठूला पार्टीहरूले अन्नपूर्णका मजदुरका बारेमा केही नगरिदिएपछि काङ्ग्रेस, एमाले र माओवादी केन्द्रनिकट अन्नपूर्ण होटेलका मजदुरहरूले पार्टी महासचिव विप्लवका नाममा न्याय दिलाइपाऊँ भनी २०७८ साल वैशाखमा दिएको निवेदन अहिलेसम्म कार्यान्वयन भएको छैन । एक वर्षभन्दा बढी समय हुँदा पनि कुनै चासो देखाइएन । होटेलका मालिकले तिमीहरूले जुन पार्टीलाई मुद्दा दिएका थियौ, उक्त पार्टीलाई हामीले ठीक पारिसक्यौँ, तिमीहरू जागिर छाडेर जाऊ भनी धम्की दिएपछि सबै मजदुर अहिले निष्कासनमा परेका छन् ।
यस्ता घटना अनगिन्ती रहेका छन् । बाहिर मात्र होइन, भित्र पनि यस्ता अन्यायपूर्ण काम भएका छन् । विप्लवको निर्देशनमा मलाई एउटा काम गर्न जिम्मा दिइयो । उक्त काम गरेबापत मैले र अर्को साथीले ऋण खोजेर काम गर्यौँ । त्यो पैसा अहिलेसम्म मैले पाएको छैन । उक्त कुरा मैले तत्कालीन प्रवक्ता, धर्मेन्द्र र सुदर्शनलाई पनि जानकारी गराएँ । प्रवक्ताले हामी मिलाउँछौँ भन्ने तर नमिलाउने गरे । अहिले उक्त ऋण तिर्न मैले पुख्र्यौली सम्पत्ति बेचेको छु । त्यतिले नपुगेर १० लाख ऋण पनि लिएको छु ।
यो ८ वर्षका बीचमा पार्टीका नाममा भौतिक पूर्वाधार, चलअचल सम्पत्ति करोडौँमा जम्मा भएको छ । कपिलवस्तुमा पाँचतले घर बनिराखेको छ । खासमा केन्द्रीय समितिमा समाज घर बनाउने निर्णय गरिएको थियो । कार्यालय सचिव असलले केन्द्रीय समितिको बैठकमा पेस गरेबमोजिम ७७ लाखको खर्चमा महासचिवको निवास बनेको छ । त्यसैगरी ललितपुरको हरिसिद्धिमा पनि बनिराखेको छ । प्रवक्ता र सन्तोष बुढाको घर बनाउने कुरा आएको छ ।
नीतिगत रूपमा उठाउन खोजिएको कुरा के हो भने विगत ८ वर्षमा जे–जति आर्थिक गतिविधि भएका छन् ती माक्र्सवादी त छैनन् नै सामान्य पुँजीवादी पनि छैनन् । यसले समाजवाद निर्माण गर्न गरिने आन्दोलनको ढोका बन्द गरिदिन्छ । पार्टीभित्र जब्बर वर्ग निर्माण भएको छ : सक्ने र नसक्ने । सक्नेले जति उठाए पनि भयो, खर्च गरे पनि भयो । यसबाट नेताको साखुल्ले नबनेका, पहुँचमा नभएका केन्द्रीय सदस्यहरूले आफ्नो सम्पत्ति बेचेर गुजारा चलाउनुपर्ने भएको छ । ठीक त्यसैगरी विद्यार्थी र केही जवसका नेताहरू महँगो बाइकमा चढ्ने, छोराछोरीहरू महँगा बोर्डिङमा पढाउने, सुविधा सम्पन्न घरमा बस्ने गर्दछन् । महिलालगायत अधिकांश नेताहरूले अभावमा बस्नुपर्ने, अरूको मुख ताक्नुपर्ने अवस्था छ जब कि कम्युनिस्ट पार्टीमा केन्द्र बढी सर्वहाराकृत हुनुपर्छ । आदर्श, नमुनाकृत हुनु पर्दछ ।
समाजवादका समस्या
क्रान्ति सम्पन्न नभइराखेको अवस्थामा समाजवादको अभ्यास सङ्गठन र त्यसले गर्ने सङ्घर्षमा प्रतिबिम्बित हुन्छ । विचारअनुसारको राजनीति, राजनीतिले माग गर्ने सङ्गठन र त्यसले गर्ने सङ्घर्षले मात्र समाजवाद स्थापना गर्न सक्छ । अहिलेसम्म लेनिन र माओले मात्र त्यसअनुसारको सङ्गठन निर्माण गरेका थिए । त्यसैले त्यहाँ समाजवाद स्थापना हुन सकेको थियो । तर विगत ८ वर्षमा लेनिनको साङ्गठनिक सिद्धान्तलाई पूर्ण रूपले निषेध गरियो । आत्मसङ्घर्ष, अन्तरसङ्घर्ष र वर्गसङ्घर्षलाई कतै स्विकारिएन । त्यसैले सङ्गठनमा अराजकता र निरङ्कुशता देखापर्यो । कार्यदिशामा मात्र होइन, सामान्य कार्यक्रम, नेताको कार्यशैलीमा विमति राख्नेबित्तिकै पार्टी छाड भन्ने धम्की खुद तत्कालीन महासचिव विप्लवले दिने गरेका छन् । यसैकारण तेजप्रसाद अधिकारीबाट सुरु भएको पार्टी बहिर्गमन श्याम बोहरासम्म गरेर पार्टी छाड्ने १३ जना र शुद्धीकरणका नाममा कारबाही गरिएका १८ गरी ३१ जना साङ्गठनिक नीति र सिद्धान्तविपरीत केन्द्रीय समितिबाट हटेका–हटाइएका छन् । यसको मुख्य कारण अरू केही नभएर विशुद्ध फरक मत राखेको र नेताको कार्यशैलीको विरोध गरेकाले हो । मलाई पनि विप्लवले २०७६ साल साउन १६ गतेका दिन प्रतिबन्ध लागेकै बेलामा पैसाको कुरालाई लिएर पार्टी छाड्न दबाब दिएका थिए । मैले यो पार्टी तपाईंको पेवा होइन, हाम्रो रगत पसिना, त्याग र बलिदानबाट बनेको हो भनी प्रतिवाद गरेको थिएँ । त्यसैको रिसमा उनले २०७६ सालको असोज १४—१८ सम्मको केन्द्रीय समितिको बैठकमा मलाई खुला मोर्चामा जाने निर्णय गराएका थिए जसलाई मैले सहर्ष स्वीकार गरेको थिएँ । मलाई थाहा थियो, प्रतिबन्ध लागेको बेलामा केन्द्रीय सदस्य खुला मोर्चामा भाषण गर्न जानु भनेको दुस्मनको निशानामा पर्नु हो । हुन पनि त्यस्तै भयो । कात्तिक ५, माघ ६ र फागुन ३ गते गरी सरकारले मलाई ३ पटक गिरफ्तार गरेर ३ ठाउँमा घुमायो । त्यस समयमा म निकै बिरामी थिएँ । म छुटेको ८ महिनासम्म पार्टीका कसैले पनि मसँग सम्पर्क गरेनन् । म गिरफ्तार हुँदा परिवार वा मसँग कुनै सम्पर्क राखिएन । त्यस्तै बन्धु चन्द, धीरेन्द्रा उपाध्यायहरूलाई महिनौँ सम्पर्कबाट बाहिर राखियो । अझ बन्धु र धीरेन्द्रालाई त महिलाको जिम्मेवारीबाट हटाएर सविता तामाङलाई संयोजक बनाइयो । तर आफूलाई मन पर्नेलाई शङ्कास्पद रूपमा मुक्त भएका भए पनि तुरुन्तै बोलाएर भव्य स्वागत गरिएका कैयौँ तथ्यहरू रहेका छन् ।
धरान बैठकबाट पार्टी सङ्गठनभित्र आलोचना, आत्मालोचनालाई नीतिगत रूपमा नै हटाइयो । २०७८ सालको वैशाखमा बैठकमा तत्कालीन महासचिवले वितरण गरेको निर्देशनपत्रमा आलोचना नगर्ने लेखिएको छ । सङ्गठनमा कुनै र्याङ्किङ, फाइलिङ पद्धतिलाई पूर्ण रूपले निषेध गरिएको छ । यसले गर्दा सङ्गठनमा पदोन्नतिको आधार पैसा र चाप्लुसीलाई बनाइयो । त्यसैले त्याग, बलिदान, समर्पण गरेका, योग्यता, क्षमता भएकाहरू पाखा लाग्दै गएका छन् ।
सङ्गठनमा सबैभन्दा खराबी आर्थिक अपचलनले प्रश्रय पाउनुका साथै यौन अराजकहरूको संरक्षण रहेको छ । दसौँ बैठकको प्रतिवेदनमा नै विप्लवले यौन अराजकताको किटान गरेका छन् । भेषराज र कृतिले यौन अराजकताका बारेमा ठाडै भनेका थिए । सन्तोष बुढाले आठौँ केन्द्रीय समितिमा बोलेको कुरा त्यत्तिकै ढिसमिस गरियो । कुमार पौडेलको हत्याको विषयलाई लिएर अनिल शर्मा र देवनारायण साहले मान्छेको नामै किटान गरेर बोलेका थिए । तर पार्टीले त्यसको कुनै छानबिन नै गरेन ।
सङ्गठन नै सही तरिकाले निर्माण नगरेपछि त्यसले गर्ने आन्दोलन कस्तो हुन्छ, सहजै अनुमान गर्न सकिन्छ । ८ वर्षका दौरानमा भएका सङ्घर्ष कि त पैसा उठाउन, कि भने जनप्रिय कहलाउन मात्र गरिएका छन् । यसले गर्दा आन्दोलन गोलचक्करवादमा फस्यो । त्यसैले घुमिफिरी रुम्जाटार भनेझैँ आफैँले विरोध गरेको संविधान, खारेज गर्ने भनिएको संसदीय व्यवस्थाको चुनावमा १३ जनाको सहादतपछि भाग लिन पुगेका छन् । पार्टीलाई जनप्रिय भन्दै गर्दा चुनावमा शर्मनाक हार भएको छ ।
निष्कर्ष
विशेष राष्ट्रिय भेला बोलाएर विप्लवलाई कारबाही गरी नयाँ पार्टी बनाउनु, वैज्ञानिक समाजवादी कार्यक्रम, समाजवादी क्रान्तिको कार्यदिशा, स्वाधीन संयुक्त सरकारको कार्यनीति र संसदीय व्यवस्थाको अन्त्य, राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि र स्वाधीनताको कार्यनीतिक कार्यक्रम तय गर्नुको पछाडि नेपालको समाजवादी क्रान्तिको सपाट बाटो तय गर्नु हो । यसका लागि विप्लव—प्रकाण्डसँगको घोषित–अघोषित वैचारिक, राजनीतिक, साङ्गठनिक सङ्घर्षले आधार बनाएको छ । त्यसैले हामीले पार्टीका लागि पार्टी बनाएका छैनौँ, नयाँ ढङ्गको पार्टी निर्माणको ढोका खोलिदिएका छौँ । केही साथीहरूलाई लाग्न सक्छ अहिले अलि छिटो भयो । १२ औँ पूर्ण बैठकमा विप्लवद्वारा प्रस्तुत चुनाव प्रयोग गर्ने नीतिका विरुद्ध बोल्ने साथीहरूले यस्तो तर्क गर्ने गरेका छन् । उनीहरूलाई थाहा छ– विभाजनको रेखा विप्लवले कोरेका हुन् । उनीहरूलाई यो पनि थाहा छ– विप्लवले क्रान्तिको नेतृत्व गर्दैनन् । त्यो पार्टीका अधिकांश केन्द्रीय सदस्यहरूले अपमान भोग्नुपरेको छ । गत केन्द्रीय समितिको बैठकमा जब विप्लवको प्रतिवेदन पारित हुन सकेन तब उनले यो केन्द्रीय समितिको हैसियत एसीएमबराबर पनि रहेनछ भनेर अपहेलना गरेका थिए । अर्को महत्वपूर्ण कुरा पार्टीभित्र आएको समस्या चुनावी मुद्दा मात्र होइन । वैचारिक, राजनीतिक, साङ्गठनिक र सङ्घर्षको सङ्गतिमा नै हो । यी कुरालाई स्वीकार्ने मान्छेका लागि नयाँ पार्टी पुनर्गठन गर्नु उपयुक्त समय यही थियो भन्ने लाग्छ ।
विभाजन आफैँमा राम्रो कुरा होइन । हामी माक्र्सवादी भएकाले विभाजनलाई पनि माक्र्सवादी दृष्टिकोणबाट हेर्न जरुरी छ । लेनिनले भन्नुभएको छ, ‘सिद्धान्तमा सम्झौता गर्नुभन्दा विभाजन गरेर आन्दोलनलाई सुदृढ गर्नु कैयौँ गुना बेस हुन्छ ।’ हामी अहिले विप्लव—प्रकाण्डसँग सिद्धान्तमा सम्झौता गर्न तयार भएनौँ । अहिले त्यो पार्टीको चुनावमा जुन हविगत भयो, त्यसको आंकलन केन्द्रीय समितिका सबैजसो सदस्यहरूले गरेका थिए । हामी पनि उनीहरूकै पछि लागेको भए नेपाली जनतामा वैचारिक, राजनीतिक रूपमा विकल्प रहने थिएन । अहिले छोटै समयमा भए पनि कार्यक्रम, कार्यदिशा, कार्यनीति र कार्यनीतिक कार्यक्रमलाई सङ्गतिपूर्ण बनाइएको छ ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया