News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विचार

जनयुद्ध, जनमुक्ति सेना र आजको राजनीतिक निकास

तपेन्द्र तिमिल्सेना (संघर्ष)
नेपालमा वि.सं. २०४६ सालको परिवर्तनपछि आएको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रले आम जनताको आधारभूत आवश्यकता, जातीय मुक्ति, क्षेत्रीय विभेद र वर्गीय खाडललाई सम्बोधन गर्न सकेन । राज्य सत्ता केही सिमित सम्भ्रान्त वर्गको हातमा मात्रै केन्द्रित रह्यो । यही परिस्थितिमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २०५२ साल फागुन १ गते “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी सत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं“ भन्ने नाराका साथ सशस्त्र विद्रोहको घोषणा गरेको थियो । यसका मुख्य उद्देश्यहरू थिए । सामान्ति राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना । नयाँ संविधानसभा मार्फत जनताको संविधान निर्माणका लागि संविधान सभा मार्फत जनताको संविधान निर्माण, जमिन्दार र जमिनमाथि सामन्तहरुको भू–स्वामित्वको अन्त्य र जसको जोत उसैको पोत, जमिन जोत्नेको हुनु पर्छ भन्ने अवधारण सारियो । जातीय, क्षेत्रीय, र लैंगिक उत्पीडनको अन्त्य गर्ने जनयुद्धका मुख्य ऐजेण्डा थिए । जनयुद्धका उपलब्धी र सफलताको मेरुदण्ड भनेकै जनमुक्ति सेना (Peoples’ Liberation Army) थियो । जनयुद्ध र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को सिद्धान्त अनुसार “बन्दुकको नालबाट पुरानो सत्ताको अन्त्य र नया राज्य सत्ताको जन्म हुन्छ” भन्ने मान्यतालाई आत्मसात गर्दै गठन गरिएको जनमुक्ति सेना केवल एउटा सैन्य दस्ता मात्र थिएन, यो राजनीतिक चेतनाले भरिएको वास्तविक जनताको सेवक जनताको भरोषा र जनताको जिबनको एउटा वैचारिक शक्ति बन्दै गएको थियो । जनमुक्ति सेना नेपाली जनता पार्टी प्रतिको प्रतिबद्धतामा अडिक र क्रान्ति भित्र पैदा हुन सक्ने प्रतिक्रान्तिलाइ रोक्नुपर्छ भन्ने मान्यतामा अडिक रहेको एउटा वैचारिक शक्ति र जनयुद्ध, जनता र पार्टीको मुख्य मेरुदण्ड थियो । जनयुद्धले विभिन्न चरणहरु पार गर्दै आज सम्म आई पुगेको छ ।
रणनैतिक रक्षा, रणनैतिक सन्तुलन र रणनैतिक आक्रमणः जनयुद्धको सुरु सुरुको चरणमा स–साना छापामार आक्रमणबाट सुरु भएको जनमुक्ति सेनाले १० वर्षको छोटो अवधिमा नै ठूला–ठूला सैन्य ब्यारेकहरूमाथि आक्रमण गर्ने क्षमता विकास गर्‍यो । यसले सामन्ति राज्य सत्तालाई वार्ताको टेबुलमा आउन बाध्य बनाउने मुख्य दबाबको काम गर्‍यो । जनमुक्ति सेनाको शक्तिमा नेपाली जनताको तागत थियो र त सामान्तवादी राज्यसत्तालाई जनताको अगाडी घुडा टेकाई धोस्त पार्यो । आजको लोकतान्त्रीक गणतन्त्र सम्म ल्याई पुर्याएको छ । तर वास्तविक जनयुद्ध र जनमुक्ति सेनाको उद्देश्य लोकतन्त्र मात्र थिएन, जनताको जनवादी गणतन्त्र हुँदै वैज्ञानिक समाजमा पुग्नु थियो । र त्यो कार्यभार फेरी पनि नेपाली जनताले जनमुक्ति सेना गठन गरि वैज्ञानिक समाजवादमा पुग्नु पर्छ । वास्तविक जनयुद्ध र जनमुक्ति सेनाले न्याय पाउने छन । आधार इलाका निर्माणः नेपालको ८० प्रतिशत भु–भागमा’जनसरकार’ गठन गरेर जनताको सुरक्षा प्रदान गर्न जनमुक्ति सेनाको मुख्य भूमिका खेल्यो । जसका कारण गाउँ–गाउँमा सामन्ती जाली फटाहा र विभिन्न प्रथाको अन्त्य भयो र दलित, महिला तथा पिछडिएका समुदायले आत्मसम्मानका साथ बाच्न पाउने र आफ्नो अधिकारका लागि लड्नु पर्छ भन्ने चेतनाको विकास गर्यो । गाउँका सबै बस्तिहरुबाट सामन्ति राज्यसत्ताका विरुद्ध जनताले विद्रोह गर्ने वातावरण सृजना भयो । जनता जनमुक्ति सेनामा भर्तिहुने लहरनै चलेको थियो । सामाजिक रूपान्तरण जनमुक्ति सेनाका सिपाहीहरूले गाउँमा श्रमदान गर्ने, बाटोघाटो खन्ने विद्यालयहरु निर्माण गर्ने जनताको घर गोठहरु पाटी पौवा देखि लिएर विभिन्न विकासका कामहरु गर्ने श्रम नै वास्तिक जनताको जीवन हो भन्ने मान्यताको विकास गर्ने विभेदकारी सामाजिक कुप्रथाहरू जस्तैः छुवाछुत, दाइजो प्रथा विरुद्ध अभियान चलाउने कार्य गरेको थियो । त्यसको आधारमा नेपाली समाजमा जगडियर बसेका कुप्रथाहरुको अन्त्य भएको थियो । यसले युद्धलाई केवल ध्वंश मात्र नभई निर्माण गर्नुपर्छ र निर्माणले मात्र देशको मुहार फेरिन्छ भन्ने मनोविज्ञानसँग पनि जोडेको थियो । जनयुद्धका क्रममा हजारौं जनमुक्ति सेनाका जवानहरूले वलिदान गरेका छन । आज शहिदहरुले बगाएको रगतको जगमा आजको संघीय लोकतान्त्रिक गणतन्त्र उभिएको छ । तर वास्तविक जनताको राज्य सत्ता र जनताको जिवनमा परिवर्तन भने आएको छैन । एक पटक फेरी जनताको जिवनमा परिवर्तन ल्याउन र वैज्ञानिक समाजवादमा पुग्न फेरि जनता जनयुद्धको जसरीनै लाग्नु पर्ने अवस्था सृजना भएको छ । जनयुद्धका उपलब्धिहरूले के बदलियो त आज भनी कतिपयले जनयुद्धको औचित्यमाथि प्रश्न उठाउने गरे पनि यसले नेपाली समाजमा ल्याएका परिवर्तनहरू ऐतिहासिक छन । लोकतान्त्रीक गणतन्त्रको स्थापनाले २४० वर्ष लामो शाह वंशीय राजतन्त्रको अन्त्य जनयुद्धकै जगमा भएको हो । जनआन्दोलनबाट मात्र सम्भव थिएन । संघीयता र समावेशीता राज्यको मूल प्रवाहमा मधेसी, जनजाति, दलित र महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने समावेशी र समानुपातिक प्रणाली जनयुद्धकै प्रमुख एजेण्डा थियो । धर्मनिरपेक्षता नेपाललाई एउटा धर्म विशेषको राष्ट्रबाट सबैको साझा फूलबारीको रूपमा स्थापित गरियो । राजनीतिक चेतना उत्पीडित वर्गले आफ्नो अधिकारका लागि बोल्न र लड्न सक्छ भन्ने ठूलो आत्मविश्वास जनयुद्धले जगायो । आज मानिसहरु सडकमा आफ्ना मुद्दाहरु लिएर सहजै सडक संघर्ष गर्न पाएका छन । त्यसकारण जनताले पुर्ण अधिकार प्राप्त गर्न फेरी पनि जनता सडकमा आउनु पर्ने आजको आवश्यकता बनेको छ । वर्तमान राजनीतिक संकट र चुनौतीहरू जनयुद्धले व्यवस्था त बदल्यो, तर जनताको अवस्था सोचे अनुरूप बदलिएन । आजको राजनीतिमा केही गम्भीर समस्याहरू देखिएका छन् । एजेण्डा र नेतृत्व बिचको दूरी जुन एजेण्डाका लागि रगत बगाइएको थियो, सत्तामा पुगेपछि नेतृत्वले ती वर्गलाई बिर्सिँदै गएको आरोप छ । कर्मचारीतन्त्र र राजनीतिमा मौलाएको भ्रष्टाचारले व्यवस्थाप्रति नै वितृष्णा पैदा गरिरहेको छ । शान्ति प्रक्रियाका बाँकी कार्य सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी काम अझै निष्कर्षमा पुग्न सकेको छैन, जसले गर्दा पीडितहरूले अझै न्याय पाएका छैनन् । प्रतिगमनको खतरा व्यवस्था बदलिए पनि पात्र र पवृति नबदलिँदा पुराना शक्तिहरूले फेरि शिर उठाउने मौका पाइरहेका छन् । जनयुद्ध दिवस मनाइरहँदा हामीले केवल विगतको गौरव मात्र होइन, भविष्यको स्पष्ट खाका पनि कोर्न जरुरी छ । वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि निम्न बुँदाहरू निकासका आधार हुन सक्छन् । समाजवादको नेपाली बाटो संविधानले नेपाललाई “समाजवाद उन्मुख” भनेको छ । अब केवल कागजमा मात्र होइन, व्यवहारमा शिक्षा, स्वास्थ्य र रोजगारीमा राज्यको पूर्ण दायित्व हुने गरी समाजवादी कार्यक्रमहरू लागू गर्नुपर्छ । जनतामा आएको नैराश्यता चिर्न राजनीतिक नेतृत्वले आफूलाई शुद्धीकरण गर्नुपर्छ । उच्च तहका भ्रष्टाचारका फाइलहरू खोलेर सुशासनको प्रत्याभूति दिनु नै आजको पहिलो आवश्यकता हो । जनयुद्धको लिगेसी बोकेका र परिवर्तन चाहने शक्तिहरू बिचको टुटफुटले प्रतिगमनलाई बल पुगेको छ । त्यसैले, विचार मिल्ने शक्तिहरू बिचको एकता र सहकार्य नै आजको राजनीतिक शक्ति सन्तुलन मिलाउने उपाय हो । राजनीतिक क्रान्ति सँगै अब आर्थिक क्रान्तिको पालो हो । जनमुक्ति सेनाको त्यो जुझारुपनलाई अब मुलुकको उत्पादन, कृषि र उद्योगमा लगाउनुपर्छ । युवा पलायन रोक्ने ठोस योजना ल्याउनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । द्वन्द्वकालीन मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड र पीडितको न्यायलाई केन्द्रमा राखेर तत्काल टुङ्ग्याउनुपर्छ । यसले मात्र समाजमा दिगो शान्ति र मेलमिलाप कायम गर्नेछ ।
निष्कर्ष
जनयुद्ध नेपाली इतिहासको त्यस्तो प्रस्थानबिन्दु हो, जसले नेपालीलाई “रैती“ बाट “नागरिक“ बनायो । जनमुक्ति सेनाले बगाएको रगत र पसिनाकै कारण आज हामीले स्वतन्त्रता र अधिकारको उपभोग गर्न पाएका छौं । यद्यपि, अधुरो सपनाहरू अझै धेरै छन् । आजको दिनमा केवल उत्सव मनाउनु भन्दा पनि जनयुद्धका घाउहरूमा मलम लगाउँदै, प्राप्त उपलब्धिहरूको रक्षा गर्ने र देखिएका कमजोरीहरूलाई सच्याउँदै स्वाधीन संयक्त सरकार गठन गरि वैज्ञानिक समाजवाद मार्फत “समृद्ध र न्यायपूर्ण नेपाल“ निर्माणको संकल्प गर्नु नै जनयुद्ध दिवसको वास्तविक सार्थकता र शुभ कामना हुनेछ ।

प्रतिक्रिया

ट्रेन्डिङ