News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कभर स्टोरी राजनीति समाचार

सी.पी. गजुरेल ‘गौरव’ : जेल जीवनदेखि पार्टी नेतृत्वसम्मको संघर्षपूर्ण यात्रा

काठमाडौं, – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (क्रा.क.पा.ने.) को केन्द्रीय समितिको तेस्रो बैठकले वरिष्ठ नेता सी.पी. गजुरेललाई पार्टी महासचिवमा चयन गरेको छ । स्वास्थ्य कारणले निवर्तमान महासचिव मोहन वैद्य किरणले पदबाट राजीनामा दिनु भएपछि गजुरेललाई महासचिव पदमा चयन गरिएको हो । गत माघ महिनादेखि उहाँ कार्यवाहक महासचिवको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । सी.पी. गजुरेल, जसको पुरा हो नाम चन्द्रप्रसाद गजुरेल । उहाँ नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय नेता हुनुहुन्छ । उहाँले आफ्नो पार्टी जीवन विभिन्न उपनामबाट सञ्चालन गर्नु भएको छ । गौरव, विजय, सञ्जीव, रणधिर जस्ता नामहरूले उहाँको क्रान्तिकारी परिचयलाई अझ प्रभावशाली बनाएको थियो । २००४ साल चैत्र १९ गते सिन्धुली जिल्लाको सिन्धुलीमाडीमा जन्मिनु भएका गजुरेलले प्रारम्भिक अध्ययन कमला हाइस्कूल, सिन्धुलीमाडी मा गर्नु भयो र त्यहीँबाट एस.एल.सी. पूरा गर्नुभयो । त्यसपछि त्रिचन्द्र कलेजबाट आई.एस्सी र विएस्सी अध्ययन गर्नु भयो । शिक्षक जीवनमा पनि उहाँले ठूलो योगदान दिनु भयो । करिब ७ वर्ष शिक्षकको रूपमा कार्य गर्नु भएको गजुरेलले आफ्नै अध्ययन गरेको कमला हाइस्कूलमा साढे ४ वर्ष, रामेछापको गौरीशङ्कर हाइस्कूलमा २ वर्ष र थोरै समय धनुषा र दोलखामा पनि पढाउनुभयो । शिक्षक जीवनले उहाँको नेतृत्व र समाजप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको थियो । त्रिचन्द्र कलेजमा अध्ययन गर्ने क्रममा साथीहरूको संगत र राजनीतिक बहसबाट गजुरेल मार्क्सवादी विचारप्रति प्रभावित हुनुभयो । सिन्धुलीका कम्युनिस्ट नेता जब काठमाडौँ आउँदा युवाहरूसँग भेटघाट गर्नुहुन्थ्यो, त्यतिबेला गजुरेल पनि ती भेटघाटमा सक्रिय रहनु भएको थियो । यही प्रभावले उहाँलाई २०२३ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता ग्रहण गर्न प्रेरित गर्यो । उहाँ सिन्धुली जिल्लामा सक्रिय हुँदै ऋषि देवकोटा ‘आजाद’ लगायतका नेताहरुको साथमा काम गर्नुु भएको थियो ।
गजुरेलले आफ्नो राजनीतिक जीवनमा करिब साढे ६ वर्ष जेल जीवन पनि बिताउनु भएको छ । २०३५–३७ सालसम्म राष्ट्र विप्लवको मुद्दामा उहाँलाई सिन्धुली, जलेश्वर, मलंगवा, वीरगंज, काठमाडौं सेन्ट्रल जेल, नखुल लगायतका जेलहरूमा राखिएको थियो । विशेषगरी सिन्धुलीमा पटक–पटक सार्वजनिक सुरक्षा ऐन अन्तर्गत जेल र हिरासतमा राख्ने गरिएको थियो । २०३६ सालको जनमत संग्रहको समयमा सबै राजबन्दीलाई आम माफी दिँदा उहाँ काठमाडौँको नखु जेलबाट रिहा हुनुभयो । जनयुद्धको बेला, २०६० सालमा भारतको चेन्नेइबाट लन्डन जान लाग्दा उहाँ एयरपोर्टमै गिरफ्तार हुनुभयो । त्यसपछि भारतको केन्द्र सरकार र पश्चिम बङ्गाल सरकारको पहलमा २०६३ सालमा जल्पाईगुडी जेलबाट मोहन वैद्य किरणसँगै रिहा हुनुभयो । २०३७ सालमा उहाँ पार्टीको केन्द्रीय सदस्य हुनुभएको थियो । २०४० सालको तेस्रो राष्ट्रिय सम्मेलन (गोरखपुर, भारत) बाट नेकपा (मशाल) को वैकल्पिक पीबीएम बन्नुभयो । २०४१ सालको पाँचौं महाधिवेशन (अयोध्या, भारत) बाट गजुरेल पीबीएम सदस्य हुनुभयो । २०४२ सालमा नेकपा मशाल विभाजनपछि उहाँ नेकपा मोटो मशालमा रहनुभयो र प्रवासमा रहेर पार्टीको विदेश विभागको प्रमुखको रूपमा काम गर्नुभयो । त्यसैगरी, उहाँले अविभाजित कालको अखिल भारत नेपाली एकता समाजको महासचिवको रूपमा पनि काम गर्नुभएको थियो । उस बेला उहाँले “विजय शर्मा” नामबाट महासचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो । २०४२ सालमा सो समाज विभाजन भएपछि दिल्ली र कलकत्ते पक्ष अलग भए, तर आज दुवै नेता एउटै पार्टीमा एकैसाथ कार्यरत छन् ।
संसदीय राजनीतिमा पनि गजुरेलको भूमिका उल्लेखनीय छ । २०६४ सालमा उहाँ सिन्धुली जिल्ला क्षेत्र नं. २ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभयो । २०६५–२०६९ सालसम्म नेकपा (माओवादी) र त्यसपछि क्रान्तिकारी माओवादीका विभिन्न पदमा कार्यरत रहनु भयो । उहाँले जनयुद्धको प्रारम्भिक कालदेखि विदेश विभाग मार्फत विश्वभर जनयुद्धको प्रचार–प्रसार गर्न महत्वपूर्ण योगदान दिनु भयो । २०८० साल वैशाख १८ गते नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) को एकताबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल गठन भयो । त्यसपछि गजुरेल वरिष्ठ नेताको रूपमा पार्टीमा सक्रिय रहनु भयो । २०८१ साल मङ्सिर १३–२३ सम्म कीर्तिपुर राष्ट्रिय एकता महाधिवेशन मार्फत उहाँ स्थायी सदस्य चुनिनु भयो । गजुरेलले राजनीतिक गतिविधि मात्र नभई वैचारिक र साहित्यिक क्षेत्रमा पनि योगदान दिनुभएको छ । उहाँले ऐतिहासिक भौतिकवाद, मार्क्स, लेनिन, माओका जीवनी, पेरु क्रान्ति, नेपाली क्रान्तिका राजनीतिक पहलुहरू, क्रान्ति र प्रतिक्रान्तिका श्रृङ्खला लगायत विषयमा लेख्नु भएको छ । साहित्यिक कृतिहरूमा ‘मधु’ (खण्डकाव्य), ‘प्रतिरोध’ (कथासङ्ग्रह), ‘झुल्के घाम’ (कथासङ्ग्रह), ‘देशभक्तिमा खडेरी’ (निबन्धसंग्रह) प्रकाशित छन् । विगतका भीषण अन्तर्संघर्ष र वर्गसंघर्षका अनुभवले गजुरेलको नेतृत्व क्षमता अझ उन्नत बनाएको छ ।

प्रतिक्रिया