News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सम्पादकीय

दृष्टिकोणविहीन राजनीति बन्द गरौँ

सम्पादकीय
नेपाली राजनीति विगत केही दशकयता गम्भीर वैचारिक संकटबाट गुज्रिरहेको छ । समाजमा विद्यमान वर्गीय पक्षधरताको नेतृत्व गर्ने नाममा विभिन्न राजनीतिक धाराहरू सक्रिय देखिए पनि सारमा ती धाराहरूले स्पष्ट दृष्टिकोण र प्रतिबद्धता गुमाउँदै गएका छन् । आजको समकालीन नेपाली राजनीतिलाई मोटामोटी पाँच प्रवृत्तिमा वर्गीकृत गर्न सकिन्छ । पहिलो, प्रजातन्त्रको नाममा संसदीय प्रणालीको अभ्यास गर्दै दक्षिणपन्थी राजनीतिमा संलग्न कांग्रेस र मधेसवादी धाराहरू । दोस्रो, कम्युनिष्टको नाम लिएर संसदीय अभ्यासमै सीमित हुँदै दक्षिणपन्थी बाटो समातेका एमाले र अन्य कम्युनिष्ट धाराहरू । तेस्रो, प्रजातन्त्रको आवरणमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै संसदीय अभ्यासमै लागेका राप्रपा लगायतका प्रतिगामी शक्तिहरू । चौथो, ‘व्यवस्था होइन अवस्था बदल्नुपर्छ’ भन्ने नारासहित पपुलिस्ट तर गैर–वैचारिक राजनीति गर्ने रास्वपा जस्ता दलहरू । र पाँचौँ, संसदीय व्यवस्थाबाट होइन, क्रान्तिमार्फत समाजवाद वा जनवाद स्थापना गर्नुपर्ने मान्यता राख्ने नेकपा(बहुमत) र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल लगायत केही कम्युनिष्ट घटकहरू । यी पाँचै धाराबीच नेपालको समग्र राजनीति अघि बढिरहेको छ । रूपमा हेर्दा यी धाराहरू फरक देखिए पनि सारमा भने कम्युनिष्ट र गैर–कम्युनिष्ट दुई धारामै सीमित छन् । आज विश्व राजनीतिमा यी दुई धाराबीच तीव्र संघर्ष चलिरहेको छ । नेपालमा पनि यो संघर्ष राजनीतिक र वैचारिक रूपमा देखिन्छ । तर समस्या त्यहाँ छ, जहाँ रूप र सारबीचको अन्तर हराउँदै गएको छ । बाहिरी रूपमा फरक देखिने दलहरूको व्यवहार र अभ्यास एउटै जस्तो हुँदा जनता मात्र होइन, स्वयं पार्टीपंक्ति नै अन्योलमा परिरहेका छन् । सही राजनीतिक मार्ग पहिचान गर्न जनतालाई कठिन हुँदै गएको छ ।
यो प्रवृत्ति विशेषतः संसदीय तथा स्थानीय चुनावका बेला झन् प्रष्ट देखिन्छ । वर्षौँसम्म कुनै विचार, दर्शन र राजनीतिक लक्ष्यबाट निर्देशित भएर आन्दोलनमा लागेको कार्यकर्ता चुनावको समयमा भने आफ्नै विश्वासको विपरीत मतदान गर्न वा उभिन बाध्य हुन्छ । यस्तो दृष्टिकोणहीन राजनीतिले न पार्टीलाई सुदृढ बनाउँछ, न त जनतालाई सही नेतृत्व दिन सक्छ । यसले राजनीतिमा विकृति, विसंगति र नैतिक पतन मात्र निम्त्याउँछ । आज पुँजीवाद नै नेपालको बहुआयामिक संकटको मूल कारण हो र यसको विकल्प समाजवाद वा कम्युनिष्ट व्यवस्था हो भन्ने दाबी गर्ने शक्तिहरू नै अन्ततः पुँजीवादी संसदीय धारमै समाहित भएको देख्दा जनता झनै अन्योलमा परेका छन् । संसदीय व्यवस्था असफल भयो, यसले नेपाली समाजका अन्तरविरोध समाधान गर्न सक्दैन भन्ने दलहरू नै फेरि विभिन्न नाम र बहानामा संसदीय चुनावमा दल दर्ता गरेर सहभागी हुँदा राजनीतिक इमानदारितामाथि गम्भीर प्रश्न उठ्नु स्वाभाविक हुन्छ ।
जसरी हुन्छ सत्तामा पुग्ने र त्यसको दोहन गर्ने संस्कार नै आज राजनीतिक दलहरूको संस्कृति बन्दै गएको छ । साम, दाम, दण्ड र भेदको राजनीति खुलेआम प्रयोग भइरहेको छ । पद, प्रतिष्ठा र सत्ताका लागि जुनसुकै हदसम्म गिर्ने प्रवृत्तिले राजनीतिको मूल मुहान नै धमिल्याइरहेको छ । यसको परिणाम समाजमा चरम विकृति, असांस्कृतिक व्यवहार र दिशाहीनता रूपमा प्रकट भइरहेको छ । यसैले आज नेपालको राजनीतिमा सबैभन्दा खाँचो स्पष्ट दृष्टिकोण, विचार र दर्शनअनुसार चल्ने राजनीतिक शक्तिको हो । जनताले तुरुन्तै नबुझे पनि, चेतनाको स्तर परिपक्व नहुँदासम्म पराजय व्यहोर्नु परे पनि आफ्नो वैचारिक धरातल नछोड्ने राजनीतिक संस्कार आवश्यक छ । आफ्नै दृष्टिकोणलाई तिलाञ्जली दिएर गरिने राजनीति अब बन्द हुनैपर्छ । समयमै यसतर्फ सबै राजनीतिक दल, नेता र कार्यकर्ताहरूको गम्भीर ध्यान जानु आजको अनिवार्य आवश्यकता हो ।

प्रतिक्रिया

ट्रेन्डिङ