News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विचार

जेनजी बिद्रोह : प्रतिगमनको खाल्डो कि यथास्थितिको गोलचक्कर ?

लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको पछिल्लो दशक जनघात र राष्ट्रघातको ऐजेरुले यति नराम्रोसँग जेलियो कि लोकतन्त्र दलतन्त्रमा फेरियो, दलतन्त्र गुटतन्त्रमा फेरियो र गुटतन्त्र परिवारतन्त्रमा फेरियो । संसदिय पार्टीका प्रमुखहरु दलपति हुदै दलाधिपतिमा फेरिए । कूलमा भन्ने हो भने लोकतन्त्र राजा बिनाको राजतन्त्रमै सिमित भयो । राजनीतिक आवरणमा प्रगतिशिल देखिए पनि आफ्‌नो सारतत्वमा लोकतान्त्रिक गणतन्त्र राजतन्त्रकै विकसित शोषणकारी प्रणाली नै हो भन्ने कुराको निर्मम आत्मवोध गर्न नेपाली जनतालाई करीव दुई दशक पर्खनुपर्‍यो । लोकतन्त्रको जनघाति र राष्ट्रघाति सारतत्व तब जनसमक्ष उदाङ्गो बन्दै गयो जब वेरोजगारी, महंगी, भ्रष्टाचार, कमिशन, विदेशि ऋणभार ‘लोकतन्त्रका आभुषण’ बन्न थाले; गाऊँ–टोल देखि वालुवाटार र सिंहदरवारसम्म सत्ता र शक्तिको आडमा सार्वजनिक सम्पत्ति दोहन र लुटपाटको संस्थागत गुण्डागर्दिले रजगज हुन थाल्यो; संसदमा प्रस्तावित र पारीत धेरैजसो विधेयक, ऐन–कानुनको संशोधन र सन्धी–सम्झौताहरु देश र जनताको हित प्रतिकूल बन्दै गए । शासनाधिकारको सर्वोच्च संस्था संसद र सांसदहरुको निरिहता एवम् लाचारी देश र जनतामाथि भारी पर्दै गयो । राजनीति भनेको सत्ता र शक्तिको आडमा भ्रष्टाचार र कमिसनको स्वामित्व हडप गर्ने एउटा त्यस्तो खेलमा बदलियो जसको व्यंग्यात्मक प्रस्तुति बन्न पुग्यो– पोलिटिक्स ईज डर्टि गेम !
प्रत्येक महिना, हप्ता र झण्डै दिनहुँ जसो हुने भ्रष्टाचार काण्डहरु र त्यसकै परिणाम हर क्षेत्रमा जनताले बेहोर्नु परिरहेको कहरले जनतामा सरकार बिरुद्ध मात्र नभएर समग्र राजनीति बिरुद्ध बिद्रोहको बारुद जम्मा हुदै गयो । समयक्रममा जनताको मन–मष्तिश्कमा बढिरहेको उक्त तिरष्कार एक विष्फोटक अभियान ‘नेपो किड्स’ हुदै ‘जेनजी बिद्रोह’मा संगठित भयो र ‘डेटोनेटिङ्’को काम गर्‍यो– सामाजिक सञ्जालमाथि सरकारी प्रतिबन्धको घोषणाले ! सत्ता–राजनीति बिरुद्ध बिद्रोहको त्यो आगो विभिन्न रुप र स्तरको प्रज्वलन श्रृंखला अन्तर्गत नै भदौ २३–२४ को जेनजी बिद्रोह मार्फत् एक चरमोत्कर्ष बन्न पुग्यो ।
जेनजी बिद्रोह त्यो भेल हो जसले ढाड र कुम जोडेका भ्रष्टाचार र कुशासनका दुई किनाराहरुलाई भत्काएर सतह मुनिको दलाल पुँजीवादी अनुत्पादक चट्टानलाई नेपाली जनता सामु सर्वाङ्ग उदाङ्गो बनाईदियो । सामान्यतः सबैखाले देशहरुमा तथा विशेषतः नवऔपनिवेशिक देशहरुमा भूमण्डलिकृत पुँजीवादले आम जनतामाथि चरम थोपरेको जनघात बिरुद्ध विभिन्न नाम र रुपमा अभिव्यक्त यो आँधि एक विश्वव्यापी जनबिद्रोहको लहर हो । नेपालमा यो एक त्यस्तो नियमित आकस्मिकता हो जहाँ एकादुई व्यक्ति या समूहले चाहदा वा नचाहदा पनि यहाँको अनुत्पादक दलाल पुँजीवादी चट्टानको नग्नता सतहमा उजागर हुनु अनिवार्य थियो, जेनजी बिद्रोह त्यसका लागि उत्प्रेरक बन्यो ।
वास्तबमा सामाजिक बिद्रोह २०६२/०६३ को दोस्रो जनआन्दोलनसँगै गर्भायुक्त भईसकेको थियो । त्यो बेलाको राजनीतिक परिर्वतनलाई महाभारतको कथा ‘अश्वत्थामा मारियो’ झैं गरियो जबकि, कथाअनुसार पूर्ण वाक्यांश थियो– ‘मानिस हो कि हात्ति, अश्वत्थामा मारियो ।’ आखिर दुनियाँलाई सुनाउन खोजिएकै कुरा त्यत्ति थियो– अश्वत्थामा मारियो ! तर, वास्तविकता ‘मानिस हो कि हात्ति हो’ भन्ने वाक्यांशमा अन्तर्निहित थियो । त्यसलाई योजनाबद्ध होहल्ला(शंखध्वनी) गरेर ओझेल पारियो । ठिक त्यहि शैलिमा संविधानसभाको प्रथम वैठकद्वारा राजतन्त्र अन्त्यको सुरम्य करतलमा दलाल पुँजीवादलाई भव्य संस्थागत गरीयो ।
हुन त दोस्रो जनआन्दोलनको ऐतिहासिकता असाधारण थियो, जसले करीव अढाई सय बर्षको राजतन्त्र अन्त्यको किर्तिमान आफुमा दर्ज गर्‍यो । जेनजी बिद्रोह पनि त्यस्तै एक अर्को अद्वितिय घटनामा दर्ज भएको छ जहाँ, २७ घण्टाको अन्तरालमै बिद्रोह सामू सत्ता धर्मरायो, सरकार झुक्यो र सत्तासिनहरुले हात उठाए । परिणामस्वरुप पुरानो सरकार ढल्यो र एक नयाँ सरकार बन्यो । पुराना मान्छे अपदस्त भएका भए र नयाँ मान्छे सत्तासिन भए । तर, इतिहासको बिडम्बना के दोहरियो भने जसरी दोस्रो जनआन्दोलन र विशेषतः त्यो बेलाको माओवादी जनयुद्धले जसरी आर्थिक–सामाजिक अग्रगमनका विषयहरु अलगै राखेर केवल राजतन्त्र फाल्नुमै आफुलाई सिमित गर्‍यो त्यसरी नै जेनजी बिद्रोहमा पनि सरकार परिवर्तनको परिणाम बाहेक शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, सामाजिक न्याय ईत्यादि विषय ओझेल पारिए । अति बिचारणिय कुरा के छ भने पुरानो सत्ताको सम्पूर्ण प्रणाली हिजोको झैं आज पनि जसकोतस यथावत् छ । पुरानो प्रणाली यथावत् रहिरहनुको अर्थ हो शोषणकारी प्रणाली(दलाल पुँजीवाद) कायमै रहनु । दलाल पुँजीवाद कामय रहुनुको अर्थ हो समयक्रममा नवदलाल या नवखलनायकहरुको जन्म अझै खतरनाक तरिकाले दोहरिने अवश्यम्भावितालाई स्विकार गर्नु ! किनकि, भ्रष्टाचार या कुशासन कुनै व्यक्ति विशेषको क्षमता वा कमजोरी मात्र नभएर त्यो मुलतः संरचनागत प्रवृत्ति अर्थात् उत्पादन पद्धतिद्वारा निरुपित सामाजिक संस्कृति हो । अतः भ्रष्टाचारको अन्त्य केवल व्यक्तिको अदलाबदलि मात्र नभएर जनमुखि र स्वाधिन संरचनाको निर्माण हो ।
आफ्‌ना कैयौं अपूर्णताका बाबजुद जेनजी बिद्रोहको सबैभन्दा प्रगतिशिल पक्ष भनेको दलाल पुँजीवादी उदण्डतालाई सडकमा पछार्नु, उसको जनघाति र राष्ट्रघाति चेहेरालाई जनसमक्ष नाङ्गेझार पार्नु हो । विश्वभर नवऔपनिवेशिक देशहरुको अर्थप्रणाली मुलतः दलाल पुँजीवादी रहेको छ, जसले देशमा उद्योग कारखाना खोल्नुको साटो बिदेशिको सामान आयात गर्ने बजार बनाएर देशलाई परनिर्भर बनाईरहेको छ, देशको श्रमशक्ति देशभित्रै खपत गर्नुको साटो वैदेशिक रोजगार कम्पनीहरु खोलेर योजनाबद्ध विदेश पलायन गरिरहेको छ, भ्रष्टाचार र कुशासन यसखाले देशहरुको प्रमुख समस्या हो, जसका लागि राजनीति र राजनीतिक नेताहरु सबैभन्दा बढि जिम्मेवार हुन्छन् । नेपालको सन्दर्भमा यो तथ्यलाई जेनजी बिद्रोहले सडकमा छताछुल्ल बनाईदिएको छ । पछिल्ला सार्वजनिक आँकडाहरुले बताए अनुसार नेपालका १० प्रतिशत धनिहरुको हातमा कूल सम्पत्तिको ३५ प्रतिशत थुप्रो लागेको छ, जबकि ४० प्रतिशत गरीवहरुको हातमा केवल १० प्रतिशत सम्पत्ति रहेको छ । विश्वव्यापी रुपमा हेर्दा यसको अनुपात १ र ९९ को रहेको छ । सिमित मानिसहरु अति धनि हुने, श्रमिक वर्गमाथि चरम शोषण हुने र मध्यम तथा निम्न मध्यम वर्गिय तब्का निरन्तर सम्पत्ति गुमाउने प्रक्रियामा छन् । एकातिर, सम्पत्तिको अति केन्द्रीकरण र अर्कोतिर, तिब्र सर्वहाराकरण वर्तमान विश्व अर्थप्रणालीका दुई बिपरित र अनिवार्य विशेषता बन्न पुगेका छन् । परिणामतः कलर रिभोल्युसन या जेनजी बिद्रोहहरु भूमण्डलिकृत वित्तिय एकाधिकार पुँजीवाद र श्रमजिवि वर्ग बीच लडाइँको मोर्चा बन्न गएका छन् । तर, बिडम्बना के छ भने यसखाले बिद्रोहहरुलाई क्रान्तिकारी शक्तिहरुले नेतृत्व गर्ने नभएर उल्टो प्रतिगामि र प्रतिक्रियावादी शक्तिहरुले नै उपयोग गरिरहेका छन् ।
नेपालको जेनजी बिद्रोह संगठनको आधारभूत ‘मोटिभ’ थियो– पोलिटिक्स ईज डर्टि गेम । नव युवा पुस्तामा राजनीति र राजनीतिक नेतृत्व बिरुद्ध गहिरो घृणा भाव पैदा गर्न यो मोटिभेसनले गतिलो उत्प्रेरकको काम गर्‍यो । यतिसम्म कि राजनीति भित्रको सच्चा स्वाभिमान र इमानदारिता समेत यसमै धुलिसात बन्यो । प्रत्येक पार्टी र पार्टीका हरेक राजनीतिकर्मि नैतिक रुपले कोहि पनि दोषमुक्त रहेनन् । यहि धरातलमा टेकेर जेनजी गैरराजनीतिक बिद्रोह आह्वान गरीयो । बिद्रोहका नाराहरु राजनीतिक हुुँदाहुँदै पनि यसलाई ‘कोभर्ट’ गरीयो । तथापि, जब बिद्रोह सडकमा उत्रियो तब नवयुवाहरुले यति छिटै बुझ्‌ने अवसर पाए कि यो आफैमा भिषण राजनीति थियो । राजनीतिको ईपिसेन्टरमा उभिएर उनिहरुले यो कुरा पनि बुझे कि राजनीति फोहरी खेल हो भन्ने भाष्य आफैमा अर्को खतरनाक रणनीति थियो । एउटा राजनीतिका बिरुद्ध अर्को एक सुनियोजित राजनीति थियो । परिणामतः उनिहरुबाट कति नाटकिय ढङ्गले बिद्रोहको स्वामित्व अपहरण गरीयो भन्ने उनिहरु स्वयम्‌को एक तितो भोगाई बन्यो ।
जेनजी बिद्रोहले अति निर्ममता र चर्को वलिदानको मुल्य भुक्तान गरेर ‘राजनीति भनेको नीतिहरुको पनि नीति हो’ भन्ने सच्चाईलाई सर्वाधिक स्थापित गरिदिएको छ । राजनीतिको वर्ग चरित्रका वारे गतिलो शिक्षा दिएको छ । सुगौली सन्धी र दिल्ली सम्झौताहरुले नेपाली राजनीतिको आत्मनिर्भरता र स्वाभिमानलाई कसरी निरन्तर कुठाराघात गर्दै आईरहेका छन् ? अनि पुँजीवादी प्रणाली भित्र प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, नागरिकतन्त्र इत्यादि आवरणमा कसरी श्रमिक जनताको चरम शोषण हुने गर्दछ भन्ने सत्यलाई थोरै भएपनि बुझ्‌ने, बुझाउने मौका दियो । नवयुवाहरुको लागि सबै भन्दा महत्वपूर्ण शिक्षा यो भयो कि स्पष्ट दृष्टिकोणबिना जनताको बिद्रोह र वलिदान कसरी षडयन्त्रपूर्ण खपत हुन्छ ? सारतः जेनजी बिद्रोहले सबैभन्दा धेरै आफु स्वयम्‌लाई चिन्ने अवसर प्राप्त गर्‍यो, जसले राजनीति र वर्ग भन्दा निकै टाढा रहेर सोच्ने गर्दथ्यो ।
झण्डैं प्रत्येक दशकको आसपासमा राजनीतिक बिद्रोह र आन्दोलनको स्थिति झेल्ने बिरलै मध्येको एउटा मुलुक नेपाल हो । जहाँ, प्रत्येक पटकका आन्दोलनहरुमा केवल राजनीतिक आवरणमा हुने डेन्टिङपेन्टिङ बाहेक आर्थिक सम्बन्ध एक पछि अर्को शोषणकारी बन्दै आएको मुलुक पनि नेपाल नै हो । आफ्‌नो जिवनमा थोरै भएपनि सुख र समृद्धिको सपना बोकेर ति आन्दोलनहरुमा समर्पित आम जनचाहनामाथि जहिल्यै पनि धोका हुने स्थिति र आन्दोलनकारी तब्काकै एउटा सानो हिस्सा सत्ताधिकारी संभ्रान्त वर्गमा रुपान्तरण हुने निरन्तरको प्रक्रियाबाट आजित नेपाली समाजको विष्फोट हो– जेनजी बिद्रोह । अधिकांश नेताहरु र केहि व्यवसायिक समुहका मानिसहरुको घर–सम्पत्तिमाथि आगजनि र तोडफोड मुलतः भ्रष्टाचार र कुशासन बिरुद्धको जनआक्रोश हो । कतिपय नेताहरुको घरबाट भेटिएका पैशाका बोराहरुले भ्रष्टाचार कुन हदसम्म चुलिएको रहेछ भन्ने तथ्यलाई अझ बलियो प्रमाणित गरिदिएको छ । बरु, यसक्रममा नछोईएका भ्रष्ट प्रशासकहरु, संवैधानिक निकायका प्रमुखहरु र निजि वित्तिय क्षेत्रलाई भने भाग्यशाली नै ठान्नु पर्ने हुन्छ । भ्रष्टाचार र कुशासन बिरुद्धको वलिदान र विरतापूर्ण प्रदर्शन जेनजी बिद्रोहको निकै उज्यालो पक्ष हो ।
तर, जेनजी बिद्रोहमा पानी बितरण गरेकै कारण या सामाजिक सञ्जालमा ऐक्यबद्धता जनाएकै आधारमा जब सम्पूर्ण बिद्रोहको स्वामित्व नेपथ्यबाट हडप्ने गजबको काईदा देखा पर्‍यो, सैनिक मुख्यालयसम्म पुग्दा ‘स्टेक होल्डर’हरुको सुचि थपिदै गयो, राष्ट्र प्रमुख र सेनाका परमाधिपतिको जिम्मेवारीमा रहेका राष्ट्रपतिलाई समेत उछिनेर सेना प्रमुखबाट जनताको नाममा सम्बोधन गरिनु जेनजी बिद्रोहको बिछट्टै अँध्यारो पाटो हो । सिंहदरवार, वालुवाटार र संसद भवनमाथिको योजनाबद्ध आगजनिले यहि अँध्यारो पाटोतिर संकेत गर्दछ । एकातिर, यहि व्यवस्थामा भित्रै रहेर सुशासनको माग गर्नु र अर्कोतिर, व्यवस्थापिका संसदको विघटन गर्नु, त्यसरी नै एकातिर, संविधानको घाँटी छिनाएर सरकार गठन गर्नु र अर्कोतिर, शरिरबाट अलग भईसकेको संविधानको टाउको जोडेर प्रतिनिधि सभाको ‘अर्लि इलेक्सन’ घोषणा गर्नु बिद्रोहका रहस्यमयि र गम्भिर बिरोधाभाषहरु हुन् । यसले बिद्रोहको नैतिकता, उद्देश्य र उपादेयतामाथि नै पेचिलो प्रश्न खडा गरेको छ ।
२००७ सालको आन्दोलनसँग जोडिएको दिल्ली सम्झौता वारे नेपाली काँग्रेस निरन्तर आलोच्य छ । भलै, विपि कोईरालाले निकै पछि मात्र ‘भारतमा बसेर क्रान्ति गर्दा क्रान्तिको आत्मनिर्भरता नरहेको’ आत्मसमिक्षा गरेका छन् । २०४६ सालको प्रथम जनआन्दोलन पनि आत्मनिर्भरताको प्रश्नबाट मुक्त हुन नसकेको इतिहास साक्षि नै छ । २०६२/०६३ को दोस्रो जनआन्दोलनको आधार विन्दु मानिने बाह्र बुँदे सम्झौता झन् दिल्ली सम्झौताको दोस्रो संस्करण भनेर आलोचित छ र परिणामले पनि के साबित गरेको छ भने त्यो घटना नै माओवादी आन्दोलन पराजयको विशेष मोड थियो । इतिहासका यि अमिट दृष्टान्तहरुलाई साक्षि राखेर हेर्दा एवम् आजसम्म विकसित घटना श्रृंखलाहरु र सार्वजनिक तथ्यहरुबाट के पुष्टि हुन्छ भने जेनजी बिद्रोह प्रतिगमनको ‘झ्याप्ले खोला’बाट फर्किएर यथास्थितिको ‘चक्रपथ’मा अवतरीत भएको छ ।
यो कुरा निश्चित हो कि यथास्थिति कुनै पनि हालतमा समाधान हुन सक्दैन । प्रतिगमन झन् भद्दा मजाक मात्र हो । भविश्य केवल अग्रगमन मात्रै हो । तर, एउटा सुनिश्चित कुरा के हो भने अग्रगमन र प्रतिगमनबीचको लडाइँमा यथास्थितिवादले कहिल्यै पनि अग्रगमन स्विकार गर्दैन । अन्तिम समयमा ऊ प्रतिगमनतिरै ढल्को लगाउने गर्दछ । अतः नेपाली जनताका प्रत्येक आन्दोलन र बिद्रोहहरु अपहरणमा पर्दै आईरहेको तितो वास्तविकतालाई आत्मसात गर्दै गम्भिर संक्रमणको यो घडिमा हर कुनै क्षेत्रमा आबद्ध सचेत, देशभक्त एवम् क्रान्तिकारीहरुले देशको स्वाधिनता र क्रान्तिको आत्मनिर्भरताका वारे ठण्डा दिमागले सोच्नु आजको जरुरी आवश्यकता बन्न गएको छ । अग्रगमनको आवश्यकता र जेनजी बिद्रोहको सच्चा मर्म अनुरुप आर्थिक–सामाजिक पूनर्संरचना गर्नु साझा ऐतिहासिक दायित्व बनेको छ ।
सच्चा लोकतन्त्र शासकिय स्वरुपको नौरङ्गि बहस या निर्वाचनको नौटंकिपूर्ण होहल्लामा मात्र सिमित हुन सक्दैन । लोकतन्त्रको सच्चाई जनअधिकारको सुनिश्चितता हो । नेपाली समाजको वर्तमान सन्दर्भमा जनअधिकारका आधारभूत विषयहरु हुन् : कृषि, उद्योग र आवासका लागि राज्यद्वारा निःशुल्क जमिनको व्यवस्था सुनिश्चित गर्नु; शिक्षा र स्वास्थ्यमा निजिकरणको पूर्ण अन्त्य घोषणा गर्नु; कृषिलाई आधुनिकिकरण र औद्योगिकरण गरेर प्रत्येक नागरिकलाई रोजगारीको सुनिश्चितता प्रदान गर्नु; निजि बैंक प्रणाली खारेजी गरेर वित्तिय शोषणको अन्त्य गर्नु; कृषिजन्य उत्पादन राज्यद्वारा खरिद–बिक्रिको व्यवस्था लागू गर्नु; राज्यका सबै तहमा उत्पिडित तब्काको समुचित सहभागिता सुनिश्चित गर्नु ईत्यादि । अर्को ज्वलन्त विषय भनेको भ्रष्टाचारको रहेको छ, जसका वारे यथासिघ्र अधिकार सम्पन्न सम्पत्ति छानविन आयोग गठन गरेर राज्यको विशिष्ट ओहोदामा बसेका मानिसहरुको सम्पत्ति छानविन गरिनु पर्दछ । उपर्युक्त सम्पूर्ण विषयहरुको सुनिश्चितता लागि निर्वाचन अगावै बलियो राष्ट्रिय सहमति कायम गर्नु अनिवार्य हुन्छ ।
अन्यथा, प्रतिनिधि सभाको चुनाव यथास्थिति बाहेक केहि पनि हुनेवाला छैन । त्यो केवल पिसाबको तातो मात्र हुन जान्छ ! अझ भन्ने हो भने जेनजी बिद्रोहको वलिदानमाथि खेलवाड हुन जान्छ ! शान्ति, समृद्धि र सुशासनको जनचाहनामाथि कुठाराघात हुन जान्छ ! प्रकारान्तरले अर्को बिद्रोहको निम्तो हुन जान्छ ! यसर्थ, देशको स्वाधिनता र जनताको अधिकारप्रति समर्पित सबैले बल गर्नै पर्दछ– जेनजी बिद्रोह प्रतिगमनको खाल्डो या यथास्थितिको गोलचक्कर नबनोस् !
२०८२ असोज २० ।

प्रतिक्रिया