News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विचार

संगठनात्मक अनुशासन र क्रान्तिकारी रुपान्तरणको सवाल

“रुप (संगठन) को अविकसित तथा अस्थिर स्वरुपले गर्दा सार (नीति) तत्वको भावी विकासतर्फ गम्भीर पाइला चाल्न असम्भव हुन जान्छ । काममा लज्जास्पद गति शुन्यता आउँछ । कामको अपव्याख्या हुन्छ । काम र कुरामा अन्तर देखा पर्छ ।” – भ्लादिमिर इल्यिच लेनिन
बिषय प्रवेश
सामान्यतया संगठन भनेको निश्चित उद्देश्य प्राप्तिका लागि बनाइएको समुह हो । साथै यो एक प्रशासकीय स्वरुप पनि हो । यसले व्यक्तिद्धारा सम्पादन गरिने काम र शैलीलाई पनि अवगत गराउँदछ । कुनै पनि लक्ष्य प्राप्त गर्नको लागि एउटै व्यक्तिद्धारा सम्भव नहुने भएकोले नै संगठनको आवश्यकता परेको हो । हरेक संगठनले निर्दिष्ट गरेको लक्ष्य र उद्देश्य अनुरुप नै संगठनको स्वरुप निर्धारण गरिन्छ । त्यहीँ स्वरुपले नै कामको व्यवस्थापन, बाँडफाड, समन्वय, सहकार्य र संघर्ष गर्दछ । यसलाई थप प्रष्ट पार्दै एकजना अमेरिकी विद्धान हरबर्ट अलेक्जेन्डर साइमन (June 15, 1916-Feb 9, 2001) ले “संगठन भन्नाले समन्वयात्मक ढंगले सञ्चालन गरिएको योजनाबद्ध कार्यपद्धति हो, जस अन्तर्गत प्रत्येक व्यक्तिलाई तोकिएको भूमिका निर्वाह गर्न वा कार्य सञ्चालन गर्न निर्दिष्ट गरिएको हुन्छ” भनेका छन् । त्यसैले तोकिएको लक्ष्य प्राप्तिका लागि सम्बन्धित सबै व्यक्ति विशेषले एक आपसमा कामको बाँडफाँड गरी समन्वयात्मक ढंगले काम गर्ने पद्धति नै सारमा संगठन हो । हजारौँ वर्षदेखि उत्पादनका निम्ति संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगका क्रममा संगठनको भूमिका निर्णायक रहेको छ । त्यसले संगठनको शक्ति र सिर्जनाका कारण नै मानव जातिले आफ्नो विकासको ऐतिहासिक प्रक्रिया पुरा गरेको छ र भविष्यमा पनि यो क्रम निरन्तर रहनेछ । संगठनको ओज, गरिमा जति धेरै बलशाली हुन्छ, त्यति नै धेरै संगठन आफ्नो लक्ष्यप्रति सन्निकट हुन्छ र अन्ततः लक्ष्य प्राप्त गरेरै छाड्छ । हरेक संगठनको आफ्नो उद्देश्य र लक्ष्य हुन्छ । त्यहीँ उद्देश्य र लक्ष्यको आधारमा नै संगठनहरु निर्माण गरिएका हुन्छन् । आज विश्वमा विभिन्न स्वरुपमा संगठनहरु निर्माण भएको पाइन्छ । त्यसमा मूख्यतया राजनीतिक, धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक एवम् सैन्य संगठनहरु पर्दछन् । यो अलवा कहीँकतै आपराधिक संगठनहरु पनि क्रियाशील छन् । संगठनको जग भनेको राजनीतिक र आर्थिक उद्देश्य प्राप्त गर्नको लागि हुन्छ । राजनीतिक हिसाबले आज विश्वमा मुख्यतया दुई प्रकारका संगठनबीच तीब्र प्रतिस्पर्धा भइरहेको छ । यसमा कम्युनिस्ट विचारधाराको जगमा बनेको संगठन र पूँजीवादी विचारधाराको जगमा बनेको संगठन । यी दुइवटै संगठनका आ–आफ्नै उद्देश्य र लक्ष्यहरु छन् । यी नै आजको विश्वका आधुनिक राजनीतिक संगठनहरु हुन् । दुवैले एकअर्कालाई आफ्नो अधिनायकत्व लाद्ने प्रयत्न गरिरहेका छन् । पूँजीवादी संगठनको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चरित्र नै आजको दुनियाँको मानव जातिको निम्ति अभिसाप सिद्ध भइरहेको छ । आज विश्वमा जेजति संकटहरु सतहमा देखा परेकाछन्, ति सबै पूँजीवादी विचारधारा र यसले निर्माण गरेका संगठनद्धारा भइरहेको देखिन्छ । तर यसको विपरित कम्युनिस्ट संगठनहरुले पूँजीवादले जबर्जस्त थोपरेको शोषण, अन्याय, उत्पीडन र गैरन्यायिक युद्धका विरुद्ध शसक्त प्रतिवाद गरी मानव जातिको लागि उन्नत हुने कम्युनिस्ट व्यवस्थाको लागि अघि बढीरहेको देखिन्छ । सन् १८४८ को कम्युनिस्ट घोषणापत्र तयार भएपछि नै विश्वका कम्युनिस्ट पार्टी र यसका संगठनहरु बनेको इतिहास छ । कम्युनिस्ट घोषणापत्र तयार भएको १७७ वर्षसम्म आउँदा पनि कम्युनिस्ट पार्टीको उद्देश्य, त्यो उद्देश्य प्राप्त गर्न बनेको संगठन/संरचना, त्यो संगठनमा हुनुपर्ने आधारभूत अनुशासनबारे आज पनि उत्तिकै छलफल हुने गरेको छ । तसर्थ, यो लेखमा कम्युनिस्ट पार्टीभित्र देखापर्ने संगठनात्मक अनुशासन र यसको रुपान्तरणको पक्षसँग सम्बन्धित भएर छलफल गर्ने प्रयत्न गरिएको छ ।
क) कम्युनिस्ट पार्टीभित्र संगठनात्मक अनुशासन
कम्युनिस्ट पार्टीको संगठन निर्माण र विश्व परिस्थितिमा आएको फेरबदलसँगै संगठन परिचालनमा आएका नवीन उल्झनहरुलाई सुल्झाउन व्यवस्थित विधिको आवश्यकता भएपछि अक्टोबर क्रान्तिका नायक भीआई लेनिनले जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तलाई प्रतिपादन गर्नुभयो । त्यसलाई नै विश्वभरका कम्युनिस्ट पार्टीहरुले आफ्नो मूल सिद्धान्तको रुपमा अपनाउँदै आएका छन् । १९२१ मा दोस्रो अन्तराष्ट्रियबाट पारित उक्त सिद्धान्त प्रतिपादन भएको आज १०४ वर्ष पुरा भएको छ । यो बीचमा विश्वभरका कम्युनिस्ट पार्टीमा संगठन परिचालन सम्बन्धि भएको गलत अभ्यास र उक्त सिद्धान्तको विकासमा भएको अपुगताले स्वभाविक रुपमा आजको २१ औँ शताब्दीमा केही सिमा कमजोरी सतहमा महसुस भएको पक्कै छ तर आधारभूत रुपले नै यो पूर्णरुपमा असफल भयो भन्ने अवस्था भने छैन । कम्युनिस्ट विचारबाट लैस भएको संगठन होस् या पूँजीवादी विचारबाट प्रेरित संगठन दुबैको परिचालन वा सञ्चालनको विधि भने अवश्य छ नै । उक्त विधि पद्धतिबाट नै सञ्चालन हुन्छ वा संगठन परिचालनमा वा सञ्चालनमा आएका उल्झनहरुको निराकरण गर्न सकिन्छ । पार्टीको नवौँ महाधिवेशनबाट पारित विधान २०८१ को भाग ३ को धारा ९ मा भनिएको पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुनेछ । जस अनुसार व्यक्ति संगठनको मातहत, अल्पमत बहुमतको मातहत, तल्लो कमिटी माथिल्लो कमिटीको मातहत, सिंगो पार्टी केन्द्रीय समितिको मातहत वा अधिनस्थ हुनेछ भनिएको छ । यहीँ नै संसारका सबै कम्युनिस्ट पार्टीको संगठन परिचालन सम्बन्धि विधिको मुल पक्ष हो । संगठन र त्यसको परिचालन सम्बन्धि कुनै नवीन सिद्धान्तको प्रतिपादन नभएसम्म हरेक कम्युस्टि पार्टीका सदस्यहरुले सर्वहारा जनवादलाई कायम गर्दै छलफलमा स्वतन्त्रता (अनुशासनमा रही) र कामकार्वाहीमा एकरुपताको नीति कडाइपूर्वक लागु गर्नुपर्दछ । यदि लागु नगर्ने हो भने कम्युनिस्ट पार्टीको संगठनभित्र दक्षिणपन्थी अवसरवाद, वामपन्थी संकीर्णता र मध्यपन्थी अकर्मण्यताका संकेतहरु देखा पर्दछन् । र त्यसको जगमा पार्टीमा अनुशासनहीनता, गुटबन्दी, आर्थिक अराजकता, सांस्कृतिक हिसाबले चरम विकृति र विसंगति देखा पर्दछन् । जुन कुरा एकताबद्ध कम्युनिस्ट आन्दोलनको निम्ति कदापि राम्रो हुन सक्दैन । संगठनभित्र कहिलेकाही बुर्जुवा आदर्शवाद, पूँजीवादी छाडावाद, अराजकतावादी व्यक्तिवाद, समानान्तरवाद, अन्धजातिवाद, क्षेत्रियतावाद, शंकावाद, संकीर्णतावाद, दक्षिणपन्थी संशोधनवाद जस्ता गलत चिन्तनहरु हाबी हुने गर्छन् । यसको जग भनेको वर्ग विभाजनबाट उत्पन्न हुने उत्पादन सम्बन्ध र उत्पादन सम्बन्धबाट पैदा हुने सामाजिक सम्बन्ध नै हो । जबसम्म विद्यमान सामाजिक सम्बन्धबाट पैदा हुने बुर्जुवा विचारहरुको क्रान्तिकारीकरण हुँदैन तबसम्म पार्टी र संगठनभित्र कम्युनिस्ट विरोधी चिन्तनहरु हाबी भइरहन्छन् । हरेक क्रान्तिकारी कम्युनिस्ट पार्टीभित्र अन्तरसंघर्ष हुने कुरा विज्ञानसम्मत नै हुन्छ । जुन अन्तरसंघर्षले पार्टी र संगठनलाई जीवन्त गर्दै थप शसक्त र क्रान्तिकरण गर्न मद्दत गर्दछ । कहिलेकाही पार्टी र संगठनभित्र अन्तरविरोध देखा पर्ने गर्दछन् । स्वभाविक र अस्वभाविक जुनसुकै तहको अन्तरविरोधहरु भएपनि यसले पार्टीलाई हलचल गर्ने कुरा हुन्छ नै । यस्तो अवस्थामा तत् संगठनको नेतृत्व पक्तिको कुटनैतिक कार्यकुशलताले उक्त समस्याहरुको हल गर्न सकिन्छ । तर नियतजन्य अन्तरविरोधहरु भने हल गर्न सकिदैन । पार्टीभित्र अनुशासन मान्ने र उल्लंघन गर्ने, सक्रियरुपमा काम गर्ने र निष्कृय बस्ने, दुःखकष्ट उठाएर काम गर्ने र तलबी बन्ने, निराशा र अकर्मणताको प्रचार गर्ने र आशावादी एवम् आत्मविश्वासको भाव राख्ने, नेतृत्वमा भरोसा गर्ने नेतृत्वको विरोध गर्ने, संगठनलाई अराजकता र विसर्जनतिर धकेल्ने र अनुशासित र क्रान्तिकारी पार्टी निर्माणमा जोड दिनेहरुबीच अन्तरविरोधहरु देखापर्ने गर्दछन् । यी अन्तरविरोधहरुको राजनीतिक, वैचारिक र व्यवहारिक हल दिएर नै पार्टी संगठन बलशाली बन्छ । तसर्थ पार्टी र संगठनभित्र पैदा हुने अन्तरसंघर्ष होस् या अन्तरविरोध त्यसको उचित समाधान भनेको रुपान्तरणको प्रश्नसँग अविच्छिन्न रुपमा जोडिएको हुन्छ । मार्क्सवादी विश्व दृष्टिकोणको वैचारिकीमा हुने अब्बलताले नै कैयौँ अस्वभाविक अन्तरसंघर्ष र अन्तरविरोधहरुको हल गर्ने उत्तम विधि हो । फलामे अनुशासनले मात्र क्रान्तिकारी पार्टीलाई क्रान्ति गर्न लायक पार्टीमा रुपान्तरण गर्न सक्छ । अनुशासनहीनता र अराजकताले कदापी पार्टी आन्दोलनलाई समृद्ध बनाउन सक्दैन । बरु उल्टै यसले प्रतिक्रियावादलाई नै प्रत्यक्ष परोक्ष रुपमा मद्धत गरिरहेको हुन्छ । कहिलेकाही व्यक्ति बिग्रेर जाँदा पार्टी संगठनलाई कम क्षति हुन्छ तर जब अनुशासन बिग्रिन्छ, तब त्यसले सिंगो पार्टी र संगठन समाप्त पारिदिन्छ । संगठनभित्र पैदा हुने गैरसर्वहारावादी, निम्नपूँजीवादी वा पूँजीवादी चिन्तन तथा आचरण नै आजको कम्युनिस्ट आन्दोलनको संगठनात्मक समस्या हो । जसको निराकरण विचार र व्यवहारमा हुने मालेमावादी विश्वदृष्टिकोणमा एकरुपता नै हो । प्रतिक्रियावादी दुश्मनसँग नझुक्ने, सर्वहारा मजदुर वर्गको लक्ष्यप्रति निरपेक्ष रुपमा निष्ठा नहुने, पार्टी र संगठनप्रति अगाध निष्ठा नहुने, अनुशासित र आत्मविश्वासी नहुने, संगठन र परिवर्तनप्रति आशावादी नहुने, स्वाधीन रुपले आफै क्रान्तिकारी बाटो पहिल्याउन नसक्ने, पार्टी संगठनको जीवनमा सँधै सक्रिय नहुने, बैठकका निर्णय र माथिल्लो कमिटीको निर्देशन कार्यान्वयन नगर्ने र नियमित लेबि नतिर्ने पार्टीका सदस्यहरुबाट क्रान्ति त परै जावस् सामान्य आन्दोलन गर्न पनि सम्भव हुँदैन । यस्तो अवस्थामा सकभर संख्याबाट गुण खोज्ने र संख्यालाई गुणमा रुपान्तरण गर्ने अधिकतम प्रयास गर्नु हरेक कम्युनिस्ट सदस्यको दायित्व हो । तर जतिगर्दा पनि गुणमा रुपान्तरण गर्न सकिएन भने तत् कमीटीले समयमै निर्णय प्रक्रियामा जानु अन्तिम विकल्प हुन्छ । संगठन परिचालन वा सञ्चालनको प्रक्रियामा वैचारिक रुपमा सार संग्रहवादी दृष्टिकोण वा व्यवहारिक रुपमा अति उदारताले कदापि कम्युनिस्ट पार्टीलाई क्रान्ति गर्न लायकको पार्टी बनाउन सक्दैन । र संगठनमा अवसरवाद र अराजकताको अन्त्य गर्न पनि सकिदैन । पार्टी र संगठनभित्र हुने विभिन्न प्रकृतिका संघर्षहरुलाई मध्यनजर गर्दै क. माओत्सेतुङले ‘तीन गर र तीन नगर’ भन्ने संगठनात्मक मान्यतालाई अगाडी सार्नुभयो । जसमा मार्क्सवाद लागु गर संशोधनवाद होइन, खुला र स्पष्ट होउ छलछाम र षड्यन्त्र नगर, एकजुट होऊ नफुट भन्ने तर रुपमा क्रान्तिकारी भएपनि सारमा पूँजीवादी विचारबाट निर्देशित कम्युनिस्ट पार्टीहरुमा माओत्सेतुङले भनेको ठिक विपरीत भइरहेको देखिन्छ । संगठनात्मक अनुशासनको विषयलाई लिएर माओले आफ्ना सबै काममा पार्टी आदेशलाई पालना गर, जनताबाट सित्तैमा एउटा सियो र धागोको टुक्रा पनि नलेऊ, जनताका दुश्मनबाट कब्जा गरेका प्रत्येक कुरा पार्टीमा बुझाऊ भनेर संश्लेषण गर्नुभयो । आजका कम्युनिस्ट पार्टी र संगठनहरुमा माओले भनेका नियमहरुको पालना भएको देखिदँैन । यसरी हेर्दा मालेमावादका अन्तरवस्तुलाई कम्युनस्टि पार्टी र संगठनहरुले आफ्नो जीवनमा लागु नगर्नु भनेको त्यो पार्टी, संगठन र व्यक्ति कुनैपनि मानेमा क्रान्तिकारी भन्न लायक छैन भन्ने अर्थ लाग्छ । त्यसैले पार्टी र संगठन कसरी आम कम्युनिस्ट पार्टी भन्दा भिन्न र क्रान्तिकारी बन्न नसक्ने हो भने वा बनाउनको निम्ति चिन्तन, मनन नगर्ने हो भने हाम्रो अवसान कसैले रोक्न सक्ने छैन ।
महत्वका हिसाबले सिद्धान्त र राजनीतिपछि संगठन नै प्रमुख भएर आउँछ । अर्थात् संगठन भनेको भौतिक तागत हो । यदि यो भौतिक तागतमा आम जनताको बिचमा पार्टीको नैतिक र राजनीतिक प्रतिष्ठा छैन भने पार्टीले वर्गको नेतृत्व गर्न सक्दैन र वर्ग संघर्ष पनि हुँदैन । त्यसैले सम्पूर्ण रुपमा क्रान्तिकारी संगठन नै क्रान्तिको लागि एकमात्र विकल्प हो । लेनिनले भनेको “Give me an organization of Revolutionaries, i will overturn Russia” भन्ने वाक्यांस जस्तै क्रान्ति गर्नलाई वास्तविक क्रान्तिकारीको महत्व कति छ भन्ने दर्शाउँदछ । क्रान्तिकारी कार्यदिशालाई लागु गर्न क्रान्तिकारी संगठनबिना सम्भव हुँदैन । नेपालको सन्दर्भमा रुपमा क्रान्तिकारी तर सारमा पूँजीवादी हुने प्रवृत्तिले कम्युनिस्ट आन्दोलन न त विकास हुन पुगेको न त विजयी हुने सम्भावना छ । त्यसैले विचार र व्यवहारमा एकरुपता भएको फलामे अनुशासन सहितको जुझारु संगठन नै अहिलेको मुख्य आवश्यकता हो । माओले भन्नुभए जस्तै अनुशासनले कार्यदिशा कार्यान्वयन सुनिश्चित गर्छ । यो बिना पार्टीले विजयी संघर्ष सञ्चालनका निम्ति जनता र सेनालाई नेतृत्व गर्न सक्ने छैन । यो भनाइले अनुशासन र कार्यदिशा बिचको सम्बन्धलाई गहिरो गरी स्पष्ट गर्दछ । यसले पार्टीको कार्यदिशालाई लागु गर्ने र यसका जुझारु कार्यभारलाई सम्पन्न गर्ने काममा क्रान्तिकारी अनुशासनको महत्वलाई दर्शाउछ । पार्टी र संगठनभित्र विभिन्न प्रकृतिका विचलनहरु देखा पर्ने गर्दछन् । गैरमार्क्सवादी विचलनलाई लामो समयसम्म जस्ताको तस्तै रहिरहन दिएमा त्यसले सांगठनिक रुपमा आफुलाई गुटको रुपमा उभ्याउने खतरा हुन्छ । जब पार्टी वा संगठनभित्र गुटको जन्म हुन्छ, अनि त्यसका सदस्यहरुले पार्टी अनुशासनको उलंघन गर्नलाई गौरव गर्न थाल्दछन् र तिनीहरुले बहुमतको निर्णय मान्न इन्कार गर्दछन् पार्टी भित्रबाट पार्टी विरोधी गतिविधि चलाउँछन् र अन्ततः पार्टीमा फुट ल्याउन खोज्छन् । चिनियाँ सन्दर्भमा क. माओले भनेजस्तै “जसले पार्टी अनुशासनका नियमहरु उलंघन गर्छ, त्यसले पार्टी एकतालाई भंग गर्दछ । साथै उनी भन्छन्, केही मानिसहरु पार्टी अनुशासन भन्ने कुरै नबुझि यसलाई उलंघन गर्छन् । तर च्याङ क्वो थाओजस्ता अरु मानिसहरु चाँहि जानीजानी अनुशासन उलङ्घन गर्छन र आनो घृणित उद्देश्यहरु पुरा गर्नका निमित्त पार्टी सदस्यहरुको अज्ञानताबाट फाइदा उठाउँछन् । पार्टी अनुशासनको विषयलाई लिएर लेनिन भन्नुहुन्छ, “जस्ले सर्वहारा वर्गको पार्टीको फलामे अनुशासनलाई थोरै भएपनि कमजोर पार्छ, त्यसले सर्वहारा वर्गका विरुद्ध वुर्जुवालाई सहयोग गरेको हुन्छ ।” यसबाट के स्पस्ट हुन्छ भने पूँजीवादबाट साम्यवादतर्फ संक्रमण हुँदा सर्वहारा वर्गको अधिनायकत्व सुदृढ गर्न र पूँजीवादको विकास वा त्यसको पुनर्स्थापना रोक्नका लागि पार्टीमा फलामे अनुशासनलाई बलियो बनाइराख्नु पर्दछ । पार्टीको अनुशासनलाई कमजोर पार्ने उद्देश्यको कुनै कामले वस्तुतः सर्वहारा वर्गका विरुद्ध लड्न, सर्वहारा वर्गको अधिनायकत्वलाई कमजोर एवम् ध्वस्त गर्न समेत पूँजीपति वर्गलाई फाईदा पुर्‍याउँछ । कम्युनिस्ट आन्दोलनका अग्रजहरुले पार्टी अनुशासनलाई लिएर जसरी व्याख्या, विश्लेषण गरी संश्लेषणहरु गर्नुभएको छ । त्यसको अन्तर्यमा एकतावद्ध र क्रान्ति गर्न लायकको पार्टी निर्माण गर्नुं नै हो । पार्टीभित्र अनुशासनलाई कायम गराउन नेतृत्वको भूमिका प्रमुख रहन्छ । यो सवाल पार्टी संगठनमा योजना, समन्वय, उत्प्रेरणा र निर्देशनसँग अन्तरसम्बन्धित छ । कुशल व्यवस्थापकद्धारा मात्र असल संगठनको निर्माण गर्न सकिन्छ । संगठन बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको व्यवस्थापन, परिचालन, अनुगमन र नियन्त्रण पनि भइराख्नुपर्दछ । कम्युनिस्ट पार्टीको संगठनभित्र अनुशासन कायम गराउने हो भने हरेक पार्टी सदस्यहरुको चेतनास्तरलाई माथि उठाउनु पर्दछ । सर्वहारा अनुशासन सचेत अनुशासन हो । यो बुर्जुवाहरुको प्रतिक्रियावादी अनुशासनभन्दा आधारभूत रुपले नै फरक हुन्छ । लेनिनले भनेजस्तै सर्वहारा अनुशासन पार्टीको सबै सदस्यहरुको चेतनामा आधारित हुन्छ । सर्वहारा वर्गको वर्गीय चेतना र त्यसको क्रान्तिप्रतिको समर्पण, दृढता, आत्मबलिदान र वीरताले मात्रै सर्वहारा अनुशासनलाई मापन गर्न सकिन्छ । जस्तोसुकै परिस्थितमा पनि सबैखाले शत्रुहरुका विरुद्ध दृढतापूर्वक संघर्ष गर्नु आफ्नो कार्यशैलीमा चनाखोपन कायम राख्नु, लड्न तयार हुनु र दुश्मनसँग झुक्न इन्कार गर्नु क्रान्तिकारी नैतिकता हो । यो नैतिकताले नै पार्टीको सर्वोपरी हितलाई सबैभन्दा माथि राख्दछ । र पार्टी र जनताको सेवामा आफ्नो जीवन अर्पण गर्दछ ।
ख) रुपान्तरणको सवाल
वस्तुहरुमा अन्तरविरोधको नियम अर्थात् विपरित तत्वहरुको एकताको नियम भौतिकवादी द्धन्द्धवादको आधारभूत नियम हो । लेनिनले भन्नुभएको थियो, “सही अर्थमा द्धन्द्धवाद भनेको पदार्थहरुको स्वत्वभित्र रहेको अन्तरविरोधको अध्ययन हो ।” लेनिन बारम्बार यस विषयलाई द्धन्द्धवादको सार वा गुदी भन्नुहुन्थ्यो (अन्तरविरोधबारे माओ अगस्त, १९३७) द्धन्द्धवादका अनुसार प्रकृति, समाज र मानव जीवन लगायत सबै भौतिक वस्तुमा दुई परस्पर विरोधी तत्व हुन्छन् । कुनैपनि वस्तुमा दुई विपरीत तत्व नभएसम्म त्यो वस्तु अस्तित्वमा रहन सक्दैन । विपरित तत्व हुनुको नाताले तिनीहरुबीच द्धन्द्ध चल्छ । द्धन्द्ध कहिले मन्द गतिले चल्छ त कहिले तीब्र गतिमा यहीँ पद्धतिलाई द्धन्द्धवादको विपरीतहरुको एकत्व र संघर्षको नियम भनिन्छ । समाज पनि त्यस्तै वस्तु हो । जहाँ विपरीत वर्गको अस्तित्व हुन्छ । त्यसैले त त्यहाँ संघर्ष भइरहन्छ । यो कुरा पार्टीको सन्दर्भमा पनि लागु हुन्छ । पार्टी पनि समाजको प्रतिविम्व हो । हरेक समाजमा भएको वर्ग त्यो वर्गले सिर्जना गरेको उत्पादन सम्बन्ध र उक्त उत्पादन सम्बन्धबाट पैदा भएका विचारहरुको संकेन्द्र हो पार्टी । त्यसैले पार्टीमा अनेकथरी विचारहरु पैदा हुने गर्छन् । उक्त विचारको आधारमा गतिविधिहरु हुने गर्छन् तर ती गतिविधिहरु मार्क्सवाद सम्मत छन् या छैनन्, विधिसम्मत छन् या छैनन्, अझभन्दा पार्टी र जनतालाई आशावादी बनाउने खालका छन् या छैनन भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । यदि उक्त गतिविधिले पार्टी र जनताको भावनालाई केन्द्रीकृत गर्न सक्दैन भने यहाँनिर रुपान्तरणको सवाल जब्बर भएर आउँछ । रुपान्तरण हुने भनेको मार्क्सवादी, लेनिनवादी र माओवादी हुने हो । त्यो त्यतिखेर मात्र सम्भव छ, जतिखेर हामी मालेमावादको उच्च आदर्शलाई गहिरोसँग बोध गरी जीवन व्यवहारमा लागु गर्ने उन्नत चेतनामा रुपान्तरित हुन्छौँ । आजको दुनियाँमा कम्युनिस्ट चेतनाको उच्चताबिना न त राजनीतिक रुपान्तरण र सामाजिक रुपान्तरण न त सांस्कृतिक रुपान्तरणको आन्दोलनको नेतृत्व गर्न सकिन्छ । सकिन्छ त केवल मार्क्सवादको मुकुन्डो राखेर पूँजीवादको निरन्तरताको नेतृत्व मात्र । तसर्थ पार्टीभित्र पैदा हुने गैरकम्युनिस्ट चिन्तन, व्यवहार र गतिविधिको समुल नष्ट गर्ने कुरा नै साँचो अर्थको कम्युनिस्ट पार्टी निर्माणको ढोका खोल्नु हो । आज विश्व कम्युनिस्ट आन्दोलनमा जे जति समस्याहरु पैदा भएका छन्, ती सबै गैरकम्युनिस्ट विचारधाराका कारण पैदा भएका छन् । नवमार्क्सवादी र उत्तरमार्क्सवादीका कारण मालेमावादको आधारभूत सिद्धान्तमा विद्रूपीकरण गर्ने कोसिस भइरहेको छ । यसबाट सच्चा कम्युनिस्टहरु सजग रहनुपर्छ । कहिलेकाही विभिन्न प्रकारका मतभेदहरु गलत तथा अवाञ्छित रुपबाट, व्यक्तिगत गालीगलौज वा निन्दा, कानेखुसी, व्यक्तिगत चरित्र हत्या, गुटबन्दी र बहुकेन्द्रीयता आदिको रुपमा अभिव्यक्त हुन्छ । जुन कुराले पार्टीलाई अन्तरध्वंस गर्दै विघटनको बाटोतिर लैजान्छ । चाहे सैद्धान्तिक संघर्ष होस् या असैद्धान्तिक संघर्ष । पार्टीले त्यसको प्रकृति हेरेर ठोस रुपमा पहिचान गरी विधिमा हल खोज्नु पर्दछ । यदि सैद्धान्तिक संघर्ष हो भने सिद्धान्तको आधारमा, कार्यदिशा, कार्यनीति र कार्यक्रमको आधारमा, स्वस्थ र हितकारी ढंगबाट अन्तरपार्टी संघर्ष सञ्चालन गर्नुपर्दछ । यसको विपरीत पार्टीले सैद्धान्तिक संघर्षको नाममा सानातिना सवाल र समस्यालाई लिएर असैद्धान्तिक संघर्ष चलाउने प्रवृत्तिलाई भने पूर्ण रुपमा हतोत्साहित गर्नुपर्दछ । किन कि त्यस्ताखाले असैद्धान्तिक संघर्षले पार्टी कमरेडहरुबीच बेमेल तथा द्धन्द्ध उत्पन्न गरी सांगठानिक फाटो समेत ल्याउँछ । जुन कुरा पार्टी आन्दोलन र क्रान्तिका लागि हितकर हुन सक्दैन । विचार र दृष्टिकोणलाई लिएर चल्ने अन्तरपार्टी संघर्ष एकदमै सही उद्देश्य र भावनाबाट निर्देशित हुनुपर्दछ । त्यस्तो उद्देश्य र भावना भनेको एकता, संघर्ष र रुपान्तरण हो । यसको वास्तविक अर्थ हुन्छ । एकताको भावनाबाट संघर्ष चलाउनु र संघर्षबाट गलत चिन्तन र प्रवृत्तिलाई हटाइ पार्टीलाई नयाँ उचाइमा उठाउनु हो । पार्टी संगठनमा रुपान्तरतण भनेको पार्टीभित्र भएका अवसरवादी प्रवृत्ति, गैरसर्वहारावादी चिन्तन र आचरणका साथै गैरकम्युनिस्ट विचार र व्यवहारको शुद्धिकरण पनि हो । सारमा भन्दा पार्टीभित्र हुने सैद्धान्तिक संघर्षको जगमा हुने क्रान्तिकारी रुपान्तरणले नै पार्टी र संगठनलाई रुपान्तरित पार्टी र रुपान्तरित संगठनमा प्रवेश गराउँदछ । त्यो रुपान्तरित पार्टी र संगठनले मात्रै क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्न सक्दछ ।
अन्तमा,
वर्गीय समाजलाई वर्गविहीन समाजमा रुपान्तरण गर्ने काम सहज भने पटक्कै छैन । यो आन्दोलनको नेतृत्व केवल उच्च चेतनाबाट प्रशिक्षित कम्युनिस्टहरुले मात्रै गर्न सक्छन् । क्रान्तिकारी पार्टी, संगठन, संगठनात्मक अनुशासन र अग्रगामी रुपान्तरण बिना जनताको आन्दोलनको नेतृत्व सम्भव हुँदैन । क्रान्तिकारी संगठन, त्यो संगठन सञ्चालन गर्ने संगठनात्मक विधि र त्यो विधिमा हुने हरेक संघर्षले नै लक्ष्यलाई निकट बनाउँछ । संघर्ष त्यतिबेला मात्र सफल हुन्छ, जतिबेला पार्टीमा अनुशासनको उच्च कार्यान्वयन हुन्छ र पार्टीप्रतिको बुझाइमा एकरुपता हुन्छ । पार्टीभित्र हुने संगठनात्मक विधिको जगमा हुने फलामे अनुशासनले नै पार्टीको कार्यदिशा कार्यान्वयन सुनिश्चित गर्नुको साथै पार्टीको एकता र सुदृढिकरणलाई समेत मजबुत बनाउँछ । जतिजति अन्‌ुशासनको भाव मजबुत हुन्छ, त्यति नै पार्टीले संघर्षमा विजय प्राप्त गर्दछ । सचेत भएर पार्टी अनुशासनलाई सम्मान गर्ने, पार्टी अनुशासनलाई सहि ढंगले लागु गर्ने सवाल नै क्रान्तिकारी रुपान्तरणसँग अविच्छिन्न रुपमा जोडिएको हुन्छ । क्रान्तिकारी रुपान्तरण बिना न त पार्टीले जनताको विश्वास आर्जन गर्नसक्छ, न त कार्यकर्ताको नै । विश्वासको खडेरीमा बनेका कुनैपनि उद्देश्य र लक्ष्यले गन्तव्य भेटाउन सक्दैन । यस्तो अवस्थामा हरेक पार्टी सदस्यले पार्टीको विधि, पद्धति र सांगठनिक अनुशासनलाई आत्मसात गरी स्वयंमा क्रान्तिकारी रुपान्तरण गर्नु नै अहिलेको आवश्यकता हो । यसो गर्दा मात्र हामीले सोचेको समाजवादी क्रान्तिको उद्देश्य पुरा हुन्छ ।

प्रतिक्रिया