काठमाडौं । इरानले इजरेलले आफूविरुद्ध आक्रमण जारी रहेकै अवस्थामा अमेरिकासँग वार्ता नहुने अडान राखेको छ । युरोपेली र इरानी अधिकारीबीच शुक्रबार जेनेभामा भएको छलफलमा इरानी अधिकारीले यथास्थितिमै अमेरिकासँग आणविक हतियारबारे वार्ता नहुने बताएका हुन् ।
छलफलमा युरोपेली अधिकारीहरूले इरानलाई अमेरिकासँगको वार्ता पुनः सुरू गर्न सुझाव दिएका थिए । जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघ्चीले इजराइली आक्रमण जारी रहेसम्म वार्ता सुरू गर्न नसकिने जवाफ दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
यसअघि इरान र अमेरिकी प्रतिनिधि बीच परमाणु वार्ता चलिरहेकै समयमा इजरेलले आक्रमण गरेर इरानी अधिकारी र वार्ताकारको हत्या गरेका थियो । त्यसपछि इरानले प्रत्याक्रमण थालेको हो ।
जेनेभामा बेलायत, फ्रान्स, जर्मनी र युरोपेली संघका विदेशमन्त्रीहरूले इरानी विदेशमन्त्रीसँग वार्ता गरेका थिए ।
‘यदी इजराइल तत्काल आक्रमण रोक्छ भने हामी आणविक हतियार सम्बन्धमा वार्ता गर्न सक्छौं । आक्रमण र वार्ता सँगै अघि बढ्दैन,’ इरानी विदेशमन्त्री अराघ्चीले भने ।
उनले इरानको आणविक कार्यक्रम हिंसाका लागि नभइ शान्तिका लागि भएको पनि बताए । उनले त्यस्तो कार्यक्रममाथि आक्रमण गरेर इजराइलले अन्तर्राष्ट्रिय कानुन तोडेको दाबी गरे । उनले इजराइलले आक्रमण सुरू गरेपछि इरानले आत्मरक्षा गरेको पनि दाबी गरे ।
यता इजराइली डिफेन्स फोर्सका प्रमुख इयाल जमिरले भिडिओ सन्देशमार्फत् इरानलाई लामो युद्ध र कठिन दिनहरूका लागि तयार हुन चेतावनी दिएका छन् । तर इरानले भने इजरेली मात्र होइन अमेरिकी आक्रमणको समेत डटेर सामना गर्ने चेतावनी दिएको छ ।
‘म यो कुरालाई पूर्णरूपमा स्पष्ट पार्न चाहन्छु कि इरानको रक्षा क्षमता कुनै पनि हालतमा सम्झौताको विषय होइन,’ जवाफमा इरानी विदेशमन्त्री अराघ्चीले भने । जेनेभामा युरोपेली नेताहरूसँग भएको इरानको वार्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गरेका छन् । ट्रम्पलाई युरोपेलीहरु इरानसित मिलेभने आफू कमजोर भइने, विश्वजनमतबाट एक्लिइने र इरानमाथि गर्ने भनिएको आक्रमणको औचित्य सकिने डर छ ।
‘इरान युरोपसँग होइन, हामीसँग वार्ता गर्न चाहन्छ । युरोपले यो समस्या समाधान गर्न सक्दैन,’ ट्रम्पको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ । ट्रम्प एकातिर इरानसित वार्ताको नाटक गर्छन् र अर्कोतिर इजरेललाई इरानमाथि हमला गर्न लगाउँछन् ।
ट्रम्पले वार्ताबाट समस्या समाधानका लागि इरानलाई दुई साताको समय दिएका छन् । त्यसपछि अमेरिका आफै इरानविरूद्ध आक्रमण गर्ने संकेत ट्रम्पले गरेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इजराइलले पनि इरानविरूद्धको आक्रमणमा प्रत्यक्ष संलग्न हुन भनेर अमेरिकासँग आग्रह गरिरहेको छ । किनभने इरानका आणविक कार्यक्रमहरू नष्ट बनाउने हतियार केवल अमेरिकासँग मात्रै छ ।
ट्रम्पले इरानले विनाशर्त आत्मसमर्पण गर्न इरानलाई चेतावनी पनि दिएका थिए । इरानले यसअघि वार्ताका लागि तयार भएको तर ट्रम्पले भनेजसरी विनासर्त आत्मसमर्पणको प्रस्ताव भने अस्वीकार गरेको थियो ।
त्यसपछि इजराइल र अमेरिका दुवैसँग राम्रो सम्बन्ध भएको युरोपेली नेताहरुले इरानसँग वार्ता अगाडि बढाएका थिए । बेलायतका विदेशमन्त्री डेभिड लामीले अमेरिकाले मध्यपूर्वको संकट समाधानका लागि दिएको छोटो समयको अवधि खतरनाक र गम्भीर रहेको बताएका छन् ।
त्यस्तै फ्रान्सका विदेशमन्त्री जिन नोएल बारोले सैन्य आक्रमणबाट इरानको आणविक समस्याको स्थायी समाधान नरहेको बताएका छन् । उनले इरानी सत्ता परिवर्तन थप खतरनाक हुने समेत बताएको बिबिसीले लेखेको छ ।
यसबीच इरान र इजराइल बीचको आक्रमण प्रत्याक्रमण श्रृंखला दोस्रो सातामा प्रवेश गरेको छ ।
गत साताको शुक्रबारदेखि इजराइलले इरानमाथि आक्रमण थालेको थियो । त्यसयता इरान र इजराइल दुवैले एक अर्काका सैन्य र भौतिक संरचनामा आक्रमण गरिरहेका छन् ।
इजराइलले शनिबार इरानमाथि नयाँ चरणको आक्रमण सुरू भएको उद्घोष गरेको छ । इजराइली सहर तेल अविभमा पनि विस्फोटका ठूला आवाजहरू सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँका ठुल्ठूला भवनहरूमा आगलागी भएको भनिएको छ ।
प्रतिक्रिया