News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विचार

म अझै आशावादी छु

म अहिले ८४ वर्षको भए । २००७ साल, २०१७ साल, २०४७ साल र २०६३ सालहरूमा नेपालमा भएका राजनीतिक परिवर्तनहरूको म प्रत्यक्षदर्शी र सहभागी ब्यक्ति पनि हुँ । म मार्क्सवादको प्रकाण्ड विद्वान् पनि होइन । मार्क्सवादी सिद्धान्तका बारेमा घन्टौँ घन्टा बहस गर्ने, धारावाहिक रूपमा चार/पाँच घन्टा बोल्नेहरू नेपालको राजनीतिक व्यवस्था परिवर्तन भयो, अब अवस्था परिवर्तन गर्न बाँकी छ भन्दै दलाल पुँजीवादी व्यवस्थामा गए । राजनीतिक व्यवस्था परिवर्तन हुने भनेको एक राजनीतिक अवस्थाबाट अर्को राजनीतिक अवस्थामा जाने भन्ने हो । नेपालमा राजनीतिक परिवर्तनहरू त अवश्य भएका छन् तर राजनीतिक व्यवस्थामा परिवर्तन भएका छैनन । हरेक पटक राजनीतिक व्यवस्था परिवर्तनका लागि भएका जनआन्दोलन जनक्रान्ति जनयुद्धमा नेपाली जनताले ठूलो बलिदानी गरेका छन् तर राजनीतिक व्यवस्था परिवर्तनको सट्टा सधैँ पुरानो सत्तासँग सम्झौतामा क्रान्ति आन्दोलनहरू टुङ्गिँदै आएका छन् ।

नेपालकै इतिहासमा नेपाल कम्युनिस्ट पार्टी माओवादीले गरेको दश बर्से जनयुद्ध एक्काइसौँ शताब्दीको विश्वकै महान् युद्ध थियो । यसले सामन्तवादी तानाशाही राजतन्त्रको अन्त्य गर्न सफल भए तापनि राजतन्त्रअन्तर्गतको आर्थिक, सामाजिक स्थितिमा परिवर्तन भएन । पुरानो सत्ताको कर्मचारी संयन्त्र सेना, पुलिस, कर्मचारीमा कुनै परिवर्तन भएन । जनयुद्धको दमनमा लागेका व्यक्तिहरूले सजाय पाउनु सट्टा गणतन्त्रमा पनि उनीहरूकै हालीमुहाली यथावत रह्यो । जनगणतन्त्रको लक्ष्य राखी जनयुद्धको नेतृत्व गरेको माओवादी जनयुद्धको मुख्य नेतृत्व दलाल संसदीय व्यवस्थाद्वारा समाजवाद ल्याउने भन्दै दलाल संसदीय व्यवस्थामा हाम्फाल्यो । पुरानो संसदीय व्यवस्था र हालको संसदीय व्यवस्थामा जनताले खासै अन्तर पाउन सकेका छैनन् । अझै व्यवस्था परिवर्तनकै खाँचो छ ।

हुन त म अहिले ८४ वर्षको भए मेरो उमेरसँग क्रान्तिको कुनै सरोकार नहुने कुरा मैले बुझेको छु । हो ची मिन्हले भनेका थिए– हामी हजार वर्ष लडिसक्यौँ, आवश्यक पर्‍यो भने अझ हजार वर्ष लड्न तयार हुनेछौँ । त्यसैले क्रान्ति निरन्तताको कुरा हो भने व्यक्ति क्षणिक कुरा हो । उमेर र समयले जति साथ दिन्छ, निरन्तर लक्ष्य प्राप्तिका लागि लागिरहने प्रतिबद्धताका साथ अगि बढिरहने मेरो चाहना छ । म क्रान्तिप्रति पूर्ण आशवादी छु ।

आजभन्दा ८४ वर्ष पहिलाको समय र परिस्थिति अहिले दन्त्यकथा जस्तो लाग्छ । म किशोर अवस्थाको हुँदा देशमा काँग्रेसको चहल–पहल थियो । कम्युनिस्ट पार्टी गठन त भएको थियो तर काँग्रेसहरूले यसलाई भयङ्कर डरलाग्दो भूत जस्तो, जनताको महान् सत्रु हो भने जसरी प्रचार गर्थे । कम्युनिस्टहरूले सबैको धन लुट्छन्, आमा, बाबु, दाजुभाइ, दिदी, बहिनी भन्न पाइँदैन, धर्म मान्न दिँदैनन्, दमै, कामी, बाहुन, सार्की, सबै बराबर भन्छन् । विवाहवारी भेडा–बाख्राको जस्तो हुन्छ । सबैलाई सुँगुरको मासु कोचाउँछन् । साठी वर्ष भएपछि मारिदिन्छन् । पहिले मैले कम्युनिस्टबारे सुने–बुझेका कुरा यिनै थिए । अन्धविश्वास अशिक्षाले ग्रस्त समाजले कम्युनिस्टहरूलाई यसरी नै बुझ्दथे, मैले पनि यसरी नै बुझेको थिए । मेरो गाउँ सिन्धुली काँग्रेसमय थियो । मेरा काका नै काँग्रेसका नेता थिए । काँग्रेसले घर–जग्गा नहुनेहरू सबैलाई चार बिगाहका दरले जग्गा, एक हल गोरु, एउटा दुहुनो भैंसी दिन्छ, भन्थे । म १३ वर्षको उमेरमा यस्तो व्यवस्था ल्याउन काँग्रेसमा लागेँ ।

२०१५ सालको चुनावमा काँग्रेसको उम्मेदवारलाई जिताउन जिउज्यान दिएर लागेँ । काँग्रेसले जित्यो पनि, सरकार पनि काँग्रेसको बन्यो तर जनताले केही पाएका थिएनन् । त्यत्तिकैमा पञ्चायत आयो, धेरै काँग्रेसीहरू पञ्च बने । अब राजनीति गरेर मात्र भएन भनेर म पढ्न काम खोज्न काठमान्डुमा आएँ । २०२१ सालमा बाँसबारी छालाजुत्ता करखानाले तालिम र काम दुबै दियो । काँचो छाला सङ्कलनका लागि कारखानले मलाई हेटौँडा वीरगञ्जमा पठायो । कारखानामा काम गर्दा पञ्चायतको मजदुर सङ्गठनको केन्द्रीय सङ्गठनमा मनोनित भएर काम पनि गरेको थिएँ । यसको काम मजदुरको हकहितका बारेमा काम गर्ने थिएन, राजाको गुणगान गाउने मजदुर आयात गर्ने थियो । तैपनि ज्याला बढाउन आवाज उठाउने काम भयो, ज्याला पनि बढ्यो । त्यसैले गर्दा मलाई बाहिर पठाएको रहेछ ।

काँचो छाला सङ्कलन गर्न म वीरगञ्जमा बसेको थिए । वीरगञ्जमा कम्युनिस्टहरूसँग भेटघाट हुन थाल्यो । उनीहरूले तपाईं एक मजदुर जस्तो मान्छे कम्युनिस्ट हुनुपर्छ, मजदुरको पार्टी त कम्युनिस्ट पार्टी हो, काँग्रेस त धनी साहु भारतको दलाल पार्टी हो भनेर बुझाए । २०१८ मा भारतको सहयोगले हातहतियारसहित हाम्रो छिमेकी गाउँको मानिसको हत्या गर्न आएकाहरूलाई सहयोग पनि गरेको थिएँ । कम्युनिस्टहरूले काँग्रेसबारे भनेका कुरा र मैले गरेको अनुभव मिल्न पुग्यो । म काङ्गेस छाडेर कम्युनिु्‌ट बन्ने विचारमा पुगेँ ।

२०२५ सालमा क. पुष्पलालले पार्टी पु्‌नगर्ठन गरी मार्क्सवाद–लेनिनवाद–माओ विचारधारालाई पथप्रदर्शक सिद्धान्तको नयाँ पार्टी बनाएका रहेछन् । त्यसमा हेटौँडाका बद्रीप्रसाद खतिवडा, बन्दीपुरका शैलेन्द्रकुमार पिया जसले चितवनमा व्यापार गरेर बसेका थिए, यसै पार्टीमा काम गर्दा रहेछन् । उनीहरूले मलाई अध्यात्मवादको अँध्यारोबाट भौतिकवादी उज्यालो देखाई दिए । जनताका सत्रु कुन हुन् ? मित्र कुन हुन् ? सर्वहारा कान्ति के हो ? आदि कुराहरू बुझाउने काम गर्नुका साथै, मलाई कम्युनिस्ट पार्टीमा जोड्ने काम पनि गरे, यसरी म कम्युनिस्ट पार्टीमा जोडिएको थिएँ । हाम्रो काम गर्ने क्षेत्र चितवन वीरगञ्जलगायतका दस/बाह्र जिल्लामा थियो ।

चितवनबाट ‘नयाँ राँको’ नामको पत्रिका पनि चलाएका थियौँ । यसको संस्थापक सदस्यमा म पनि थिएँ । शैलेन्द्रकुमार पियाको निवासमा खोजतलासी गर्दा २०२७ सालमा ‘नयाँ राँको’ पत्रिका बरामत भएछ । यसैका आधारमा हामी सबैलाई गिरफ्तार गरेर वीरगञ्ज अञ्चलाधीश कार्यालयमा लग्यो । केही महिना जेल बसेर रिहा भइयो । त्यसपछि पोखरा–भैरहवाका जुत्ता कारखानाका डिपोहरूमा काम पनि गरेँ । कम्युनिस्ट हो भन्ने थाहा पाएपछि मलाई डिमोसन गरियो । २०३१ सालमा राजीनामा दिएर सिन्धुली गएर २०३५ सालसम्म शिक्षक पेसा पनि गरेँ ।

पुष्पलालको पार्टी फुटेर तितर–बितर भयो । बद्रीप्रसादहरू झापाली समूहमा लागे । ऋषि देवकोटा चौम मसालमा लागेछन् । म पनि मसालमा लागेँ । शिक्षण र पार्टीको काम सँगसँगै गर्दै थिएँ । पार्टीले गाउँ–गाउँका शोषक सामन्त सुदखोरमाथि भौतिक कारबाही गर्ने सर्कुलर पठायो । सिन्धुलीमा पनि एक कारबाही गर्ने निर्णय भयो । दलबहादुर रजन मगरको नेतृत्वमा भिमान बजारका मिल मालिक रघुनाथ कोइरामाथि जनकार्वाही स्वरूप कुटपिट भयो । हत्या नै गर्ने योजना त थिएन तर कोइरालाको मृत्यु भयो । यसमा हामी सबैलाई पक्राउ पुर्जी जारी भयो । मलगायत धेरै भूमिगत भयाँै । त्यस समयदेखि भूमिगत भएर पार्टी काममा पूर्णकालीन कार्यकर्ताको रूपमा अझसम्म क्रियाशील नै छु । परिस्थितिमा परिवर्तन हुँदा कहिले खुला र कहिले भूमिगत रूपमा मेरा जीवनका ६० वर्ष बितेका छन् ।

भूमिगत रूपमा उपत्यकामा मजदुर फाँटमा काम गरी मजदुर सङ्गठनलाई विस्तार गर्ने काम गरेँ । उपत्यकामा निर्मल लामाले कमान्ड गर्थे । पार्टी एक ढिक्का थियो । सिद्धान्तका बारेमा त्यति बहस हुँदैन थियो । पार्टीमा मोहनविक्रमको देशभक्त र जनतान्त्रिक शक्तिहरूको सरकारको र लामाको सशस्त्र विद्रोहका दुई लाइन थिए । पास देशभक्त र जनतान्त्रिक शक्तिहरूको सरकार भएको थियो । पुष्पलाललाई गद्दार भनिएको थियो र झापाली समूहलाई उग्रवादी भनिएको थियो । काँग्रेसलाई प्रधान दुस्मन किटान गरिएको थियो । अरू सबै कम्युनिस्ट समूहहरूलाई दक्षिणपन्थी संशोधनवादी करार गरिएको थियो । आफ्नै जनवर्गीय सङ्गठनहरूको संयुक्त मोर्चा बनाइएको थियो । तैपनि पार्टीको विस्तार राम्रै भएको थियो ।

मोहनविक्रमलाई जलजला काण्डमा कार्वाही भयो, त्यसपछि पार्टीभित्र भाँडभैलो सुरु भयो । पार्टी सिद्धान्तमा बच्ने हो, व्यक्तिका आधारमा बनेको पार्टी व्यक्तिको पतनसँगै पतन हुनु कुनै ठूलो कुरा भएन । मोहनविक्रमपछि निर्मल लामा महासचिव भए । उनले आफ्नो लाइन लागू गर्न खोज्नु कुनै नौलो कुरा थिएन । क. पुष्पलाललाई श्रद्धाञ्जली दिँदै पुष्पलालको मृत्यु कम्युनिस्ट आन्दोलनमा क्षति भन्ने लेख र २०३६ सालको विद्यार्थी आन्दोलनमा अब जनताले हतियार उठाउने बेला भयो भनेर पार्टीको मुखपत्र मसालमा लेख लेखेकै कारण लामालाई कार्वाही भयो र भक्तबहादुर श्रेष्ठ महासचिव भए । उनी पनि गिरफ्तार भए ।

मोहनविक्रम, लामा दुबै कार्बाहीमा थिए । भक्तबहादुर जेलमा थिए । यस्तो समयमा बसेको केन्द्रीय समितिको बैठक छोडेर जयगोविन्द शाह र सूर्यनाथ यादव हिँडे । चौथो महाधिवेशनको केन्द्रीय समिति अल्पमतमा परेर विघटन भयो । पार्टी पुनर्गठनका लागि भएको २०४० सालको राष्ट्रिय सम्मेलनले क. चित्रबहादुर केसीको नेतृत्वमा मसालको पुनर्गठन गर्दा म मसालको केन्द्रीय समितिमा चयन भएँ र हालसम्म मसाल, मशाल, एकता केन्द्र, नेपाल कम्युनिस्ट पार्टी माओवादी, एमाओवादी, ड्यास माओवादी, विप्लवले पुनर्गठन गरेको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र हाल नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय सल्लाहकारको अध्यक्षको रूपमा क्रियाशील छु ।

नीति ठीक भएमा सब ठीक हुने र नीति गलत हुँदा सब बेठीक हुने कुरा प्रत्यक्ष भोगेको पनि छु । पाँचौँ महाधिवेशनले मोहनविक्रमलाई हलबाट निष्काशन गरेर नेतृत्व बहुमतको आधारमा किरणले लिए तापनि दस्ताबेज चित्रबहादुरको नै पास भएको थियो । नीतिसहितको नेतृत्वले मात्र क्रान्तिलाई अगि बढाउन सक्छ, प्राविधिक नेतृत्वले गर्न सक्ने कुरा केही थिएन । मोहनविक्रमले छुट्टै मसाल गठन गरेर गए । पाँचौँ महाधिवेशनको पार्टी एक वर्ष पनि टिकेन । बहुमतले मोहनविक्रम समूहलाई व्यक्तिवादी भन्दै पार्टीबाट हटायौँ तर नीति कार्यक्रम दुबैको एउटै थियो । २०४३ सालमा युवाहरूले सेक्टर काण्ड घटाए । यो एक छलाङ थियो तर पार्टीमा पार्टीको नीति विपरीत काम भयो भन्ने रडाको भयो । सेक्टर काण्डका कमरेडहरूलाई कारबाही भयो । महासचिव क. किरणले पनि महासचिव पद छाडिदिए । प्रचण्ड महासचिव बन्न पुगे ।

प्रचण्डको नेतृत्वको मशालले पाँचौँ महाधिवेशनको नीति–कार्यक्रममा व्यापक परिवर्तन गर्‍यो । जनयुद्धको लाइन बनाएर अगि बढ्यो । अन्य समूहलाई मिलाएर एकता केन्द्र निर्माण गर्‍यो । संसदमा भाग लिएर भण्डाफोर आन्दोलन चलायो । संसद् छाडेर सडक आन्दोलन पनि गर्‍यो । जनयुद्धको आधार तयार भएपछि एकता महाधिवेशन गरेर जनयुद्धको लाइन पास गर्‍यो । जनयुद्धमा जान नमान्नेहरूलाई पार्टीबाट हटाएर पार्टीको नाम नेपाल कम्युनिु्‌ट पार्टी माओवादी बनायो । सबै तयारी पूरा गरी जनयुद्धमा गयो र दश वर्ष जनयुद्ध चलायो ।

यसमा मेरो सक्रिय भूमिका रहेको थियो । दशौँ हजारको बलिदानी, हजारौँ हजार बेपत्ता, लाखौँ घाइते अपाङ्ग भएर देशको लगभग ८०% भूभागमा हाम्रो सरकार पनि चलेको थियो । जनयुद्ध रक्षा सन्तुलन र प्रत्याक्रमणमा विकास भएको थियो । प्रतिक्रियावादी सत्ता र हाम्रो सत्ता दुबै प्रतिस्पर्र्धामा थिए । हामी जनतामा फैलिँदै गएका थियौँ भने प्रतिक्रियावादीहरू खुम्चिँदै गएका थिए तर सैन्यगत हिसाबले प्रतिक्रयावादी सत्ताले अमेरिका र भारत जस्ता साम्राज्यवादीबाट सहयोग लिइरहेको थियो । तत्काल सैन्य कारबाहीले मात्र सत्ता लिन गाह्रो थियो । कार्यनीतिक रूपमा लचिलो भएर जनमत बटुल्न आवश्यक थियो । कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्ने हुन्थ्यो । रणनीतिक रूपमा हाम्रो प्रथम लक्ष्य जनगणतन्त्र नै थियो ।

दोस्रो राष्ट्रिय सम्मेलन गरेर गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको चुनावको नारा पास भयो । यो कार्यनीतिलाई होसियारीपूर्वक लागू गर्न कथम् कदाचित देश हाम्रो कार्यनीतिमा आएमा नेतृत्वका मुख्य मानिसहरू संसद्–सरकारमा नजाने दोस्रोे वा तेस्रोे तहका कमरेडहरूलाई पठाएर हस्तक्षेप गर्ने र क्रान्तिलाई जनगणतन्त्रमा पुराउने भन्ने प्रस्ताव पनि पास गरेका थियौँ । १२ बुँदे सम्झौताद्वारा राजाको लात खाएका संसदवादीहरू हाम्रो एजेन्डामा आए । १९ दिने जनआन्दोलनले हाम्रो एजेन्डामा देश गयो । अझ हाम्रो एजेन्डामा गणतन्त्र थिएन । शान्ति सम्झौता गर्दा संविधानसभाको पहिलो बैठकले गणतान्त्रिक देश नेपाल हुनेछ भन्नेसमेत भयो ।

देश संविधानसभाको चुनावमा जाने भयो । मुख्य नेतृत्वमा रहेकाहरूले पहिलाको निर्णय पालना गरेनन् । सबै मुख्य नेतृत्वका मानिसहरूले संविधानसभाको चुनाव लडे र जिते पनि । लगभग बहुमत सदस्यहरूमा माओवादी विजयी भए । तत्कालीन समयमा म पार्टी केन्द्रको सल्लाहकार समितिको अध्यक्ष थिएँ । म पनि समानुपातिक सदस्यका रूपमा संविधानसभाको सदस्यमा मनोनित भएर संसदमा गएँ । माओवादीको नेतृत्वमा सरकार बन्यो पनि । प्रधानमन्त्री स्वयम् प्रचण्डै भए । प्रचण्डले कार्यनीतिलाई रणनीतिमा बदल्न कोसिस गर्न थाले । जनसेना शिविरमा थिए ।

देशभर वाईसीएल गठन गरेर युवाहरू खटिरहेका थिए । जनमत पूरा माओवादीको पक्षमा थियो । आँट गरेको भए स्थिति माओवादीको पक्षमा हुने थियो । प्रचण्डलगायतका केही उच्च नेतृत्वले अब शान्ति संविधानको माध्यमले समाजवादमा पुग्न सकिन्छ भन्ने प्रस्ताव ल्याउन थाले । पार्टीभित्र दुई लाइन सङ्घर्ष सुरु भयो । क्रान्तिकारी पक्षको बहुमत पनि बन्यो । प्रचण्डले जनयुद्ध कालमा बनेका संरचना ध्वस्त पार्दै जान थाले । क्रान्तिकारीहरूले कि त पार्टीभित्र दुई लाइन सङ्घर्ष चलाउँदै पार्टी कब्जा गर्नुपर्थ्यो, कि त पार्टी पुनर्गठन गर्नुपर्थ्यो । दुई लाइन सङ्घर्ष चलाउने नाममा निष्क्रिय मतको कुनै अर्थ हुँदैन थियो । पार्टी पुनर्गठन गर्न आवश्यक थियो र गरियो पनि । तर, नेतृत्व तहमा अकर्मण्यतावादी व्यक्तिहरूलाई ल्याइयो । यसैबाट माओवादी आन्दोलन अकर्मण्यतामा फस्यो । केही काल प्रचण्डले नेतृत्व गरेको एमाओवादी र किरणले नेतृत्व गरेको ड्यास माओवादी दुबैको लाइन समान, पार्टी मात्र फरक रूपमा रह्यो ।

ड्यास माओवादीले सातौँ महाधिवेशन गर्दा पनि नीति, कार्यक्रम र नेतृत्व परिवर्तन गर्न क. किरण तयार भएनन् । एउटै नीति–कार्यक्रमका दुई पार्टी चल्ने कुरा भएन । ड्यास माओवादीमा फेरि असन्तुष्टि फैलियो । क. विप्लवले युवाहरूलाई लिएर नयाँ पार्टी पुनर्गठन गरे । जनयुद्ध कालमा म प्रवासमा र आधार इलाकामा रहेर काम गरेको थिएँ । आधार इलाकाको कमान्ड क. विप्लवले गरेका थिए । उनीबाट म प्रभावित थिएँ र उनको पार्टी नेपाल कम्युनिस्ट पार्टीमा स्थायी समितिको सदस्य हुँदै केन्द्रीय सल्लाहकारको अध्यक्ष भएर काम गरेँ । विप्लवले बिना–तयारी हतियार उठाउने काम गरे । बाह्र जनाको सहादत नै भयो । हजारौँ गिरफ्तार भए । सयौँ जेलमा पुगे । यस्तो त्रासदी बेहोर्न सक्ने विप्लवको पार्टी सङ्गठन पनि थिएन र उनको इच्छाशक्ति पनि थिएन । त्रासदी कालमा दलाल तस्करहरूलाइ आतङ्कित पारेर ठूलो धनराशि जम्मा गर्न भने सफल रहे । अब उनको उद्देश्य जम्मा भएको धन जोगाउनेमा नै छ । सरकारसँग तीन बुँदे सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आए । मृतकहरूलाई सहिदको मान्यता दिलाउने कुरा सम्झौतामा पनि राखेनन् । शान्ति सम्झौतापछि आठौँ महाधिवेशनको बाह्रौँ बैठकमा अबको क्रान्तिको कार्यभार संसदीय चुनावमा भाग लिएर पूरा गर्ने हो भन्ने प्रस्ताव ल्याए । उनको प्रस्तावको पक्षमा पन्ध्र जना मात्र देखिए भने विरोधमा ४९ जना देखिएका थिए । यसरी विप्लव पूरा अल्पमतमा थिए । बहुमत सदस्यहरू विरोधमा देखेर क. कञ्चनको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी बहुमत पुनर्गठन गर्दा सबै विरोधीहरू क. कञ्चन नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा आएनन् र विप्लवसँगै रहे । अहिले विप्लव कहाँ पुगे, भनिरहनुपरेन ।

क. किरणको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) मा बादलले बहुमत पुर्‍याएर प्रचण्डसँग एकता गरेर गए । अल्पमतले फेरि क. किरणको नेतृत्वमा पार्टी पुनर्गठन गर्दै (क्रान्तिकारी माओवादी) नामको पार्टी चलाउँदै थिए । संकीर्णतामा क्रान्ति हुने कुरा भएन । मिलेसम्म संसद्बाहिरका सबै क्रान्तिकारीहरू मिल्नु नै क्रान्तिको हितमा हुन्थ्यो । लामो छलफल बहसपछि क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मिलाएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनाइयो । एकता महाधिवेशनको तिथि–मिति तोक्दै दस्ताबेज लेखनको काम पनि भयो । महासचिव क. किरण संकीर्णता र सारसंग्रहवादी सोचमा परिवर्तन आएन । उनको दस्ताबेजभन्दा भिन्न खालको दस्ताबेज क. कञ्चनले केन्द्रीय समितिमा छललजका लागि प्रस्तुत गर्दा यसलाई निषेध गरियो । क. किरणको सबैको चित्त बुझाउने सारसंग्रहवादी खालको दस्ताबेजमा महाधिवेशनको कुनै अर्थ थिएन । एकता असफल घोषणा गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लाई पुनर्गठन गर्र्दै अहिले नवौँ महाधिवेशनको सँघारमा छ ।

क्रान्तिकारीहरूले एक पटक क्रान्तिमा भाग लिएपछि हारबाट पनि शिक्षा लिएर अगि बढ्न आवश्यक हुन्छ । क्रान्तिमा भाग लिनु भनेको कष्टसाध्य काम हो । यदि अन्तसम्म क्रान्तिमा लाग्न सकिँदैन भने क्षणिक रूपमा नेता बन्नुको कुनै अर्थ छैन । अहिले मलाई आशा, विश्वास र भरोसा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र यसको नेतृत्वप्रति छ । यो पार्टी सानै किन नहोस्, पचास/साठी वर्षदेखि कम्युनिस्ट आन्दोदनमा जीवन बिताएको एक पुस्ता, विगतको जनयुद्धमा विभिन्न मोर्चा सम्हालेको दोस्रोे पुस्ता र क्रान्तिलाई आत्मसात् गरेर आफ्नो जीवनलाई क्रान्तिमा डोहोर्‍याउन आएको युवा पुस्ताद्वारा यो पार्टी बनेको छ । पार्टी सङ्कीर्णता, जडसूत्रवाद, सारसंग्रहवाद, संशोधनवाद, नवसंशोधनवादबाट कम प्रभावित छ । पार्टीलाई प्रतिक्रियावादी संशोधनवादमा पतन गराई व्यक्तिगत सुखसुविधा प्राप्त गरिरहेको बेला यसका विरुद्ध खडा भएको जनशक्ति यो पार्टीमा छ । पार्टीको नवौँ महाधिवेशनमा पार्टीले सिद्धान्त, पार्टी सङ्गठन, कार्यनीति र रणनीतिका बारेमा खुला बहस र छलफलद्वारा सही मार्ग लिनेछ र अबको क्रान्तिको कार्यभार पूरा गर्नेछ भन्नेमा म ढुक्क छु ।

प्रतिक्रिया