मार्क्सवादी दिशानिर्देश
क्रान्तिको प्रत्यक्ष कार्यभारको रूपमा भीषण, रक्तपातपूर्ण, विध्वंसकारी लडाइँको आवश्यकतालाई जनसाधारणबाट छुपाउनुको अर्थ हो, स्वयम् आफैँलाई र जनतालाई धोखा दिनु हो । – लेनिन
सर्वहारा क्रान्तिको प्रथम झिल्को सन् १८७१ को पेरिस कम्युन थियो । सामन्तवादविरुद्धको क्रान्तिमा ऐतिहासिक विजयको ध्वजा फहराउँदै विश्वभर ‘प्रजातन्त्र’ र ‘स्वतन्त्रता’ को शङ्खनाद गरिरहेको जल्दोबल्दो पुँजीपति वर्गका विरुद्धको त्यो प्रथम विद्रोह अवश्यम्भावी तर एक असाधारण परिघटना थियो । आफ्ना अनुभवजन्य कमजोरी, दृष्टिकोणमा रहेको अस्पष्टता र अपरिपक्व कार्यशैलीका कारण ७२ दिनको अल्पसमयमै पेरिस विद्रोह पराजित भयो । पेरिस विद्रोहको आधा शताब्दीपश्चात् सन् १९१७ मा रसियन कम्युनिस्ट पार्टी र त्यसका सर्वोच्च नेता कमरेड लेनिनको कुशल नेतृत्वमा विजयी सर्वहारा मजदुर वर्गीय समाजवादी क्रान्ति सर्वहारा वर्गको अर्को त्यस्तो सफलता बन्न पुग्यो, जसले एउटा सुस्पष्ट र सुसङ्गत रणनीतिलाई उच्चस्तरमा संस्थागत गर्यो । रसियन क्रान्तिको विजय मजदुर वर्गका विगत तमामखाले विद्रोहहरू, त्यस क्रममा उसले बेहोर्नुपरेका कठोर यातना र उदात्त बलिदानका कथा र गाथाहरूले भरिपूर्ण सामाजिक क्रान्तिको विज्ञान र सर्वहारा सैन्य रणनीतिका कलाले सुशोभित एउटा भव्यतम् संश्लेषण थियो । लेनिनवादी सिद्धान्तका रूपमा स्थापित उक्त सैन्य रणनीतिको केन्द्र औद्योगिक देशहरू थिए । औद्योगिक एकाधिकार पुँजीपति वर्ग र त्यसले अभ्यस्त बनाएको औद्योगिक सर्वहारा वर्ग सर्वहारा क्रान्तिको कमान्डर थियो भने राजधानी, ठूला सहरहरू र औद्योगिक स्थलहरू लडाइँका अग्रमोर्चा थिए ।
सामन्तवादका विरुद्धको युद्धमा आफूसँगै काँधे–बाहुली गरेको मजदुर वर्ग, जसले सामन्तहरूका गर्धनमा तलवार प्रहार गर्ने पुँजीपतिका हातहरू सशक्त बनाइदिएको थियो, पुँजीवादी क्रान्तिकै सह–उत्पादन र आफू स्वयम्ले युद्ध रणनीतिहरू सिकाएको मजदुर वर्गबाट जब पुँजीपति वर्ग अकल्पित पराजित भयो, तब उसले आफ्नो पुरानो सत्रु सामन्तवादसँग सहकार्य गरेर उदीयमान सत्रु मजदुर वर्गका विरुद्ध दमनको नयाँ रणनीति अपनाउन सुरु गर्यो । नयाँ रणनीतिअनुरूप पुँजीवादले विकसित देशका मजदुर आन्दोलनहरूमा प्रथमतः घुसपैठ गर्ने र मजदुर आन्दोलनका प्रभावशाली नेताहरूलाई खरिद गर्ने तथा द्वितीय, चरम दमन र हत्या अभियान सञ्चालन गर्ने नीति अख्तियार गर्यो । उता, विकासोन्मुख तथा औपनिवेशिक देशहरू जहाँ मध्य–युगीन सामन्ती उत्पीडनद्वारा गरिब किसानहरूको जीवन तवाह भइरहेको थियो, त्यहाँको सत्तामा साम्राज्यवादले आफ्ना कठपुतलीहरू खडा गरेर तिनै जनताको रगत–पसिना मिलिभगतमा चुस्ने तथा त्यहाँको प्राकृतिक साधन स्रोतमाथिको लुटपाट सुरु गर्यो । उपनिवेश राष्ट्रहरूमा प्रतिरोधी आन्दोलनको व्यापक आधारभूमि खडा भयो ।
साम्राज्यवादी एकाधिकारको आफ्नो स्वभाविक चरित्रअनुरूप पुँजीवादी प्रतिस्पर्धी गुटहरू जसको नेतृत्व यिनेगिनेका राष्ट्रहरूले गरेका थिए, बजारको होडबाजीमा उनीहरूले एकअर्कोलाई उछिन्नुपर्ने, आफ्ना औपनिवेशिक देशहरूमाथिको बर्चस्व कायमै राख्न सक्षम हुनुपर्ने र बजार विस्तारको आवश्यकता परिपूर्ति गर्न अरूको अधीनमा रहेका क्षेत्रहरूलाई खोस्नुपर्ने विवशताको चौबाटोमा आइपुग्यो । एकातिर मजदुर किसानको विद्रोह, अर्कोतिर साम्राज्यवादका विरुद्धको राष्ट्रिय मुक्ति युद्ध र झन् अर्कोतिर पुँजीवादी देशहरूबिचको आपसी युद्ध विश्वको यो एक नितान्तै नयाँ परिस्थिति थियो । सर्वहारा क्रान्तिका लागि यो एक भीषण चुनौती र असाधारण सम्भावनाको परिस्थिति बन्न आइपुग्यो । यो नयाँ, भीषण र असाधारण परिस्थितिका बिच सर्वहारा क्रान्तिको कार्यभारलाई वहन गर्ने ऐतिहासिक जिम्मेवारी चिनियाँ क्रान्ति (सन् १९२७–२०४९) र त्यसका सुयोग्य नेता कमरेड माओले पूरा गरे । चिनियाँ क्रान्तिमार्फत् सर्वहारा क्रान्तिको नयाँ सैन्य रणनीति उद्घाटित भयो र त्यो माओवादी सिद्धान्तका रूपमा संश्लेषित भयो । साम्राज्यवादी उत्पीडनमा थिचिएका अर्धसामन्ती, अर्धऔपनिवेशिक र औपनिवेशिक देशहरूको प्रतिनिधित्व गरेर सञ्चालित चिनियाँ क्रान्तिमा गरिब किसान वर्गको अग्र–नेतृत्व, मजदुर वर्गको घनिष्ट सहयोग तथा राष्ट्रिय पुँजीपति वर्गको समेत सहयोगात्मक सहकार्य थियो । विशाल ग्रामीण भू–भागहरू चिनियाँ क्रान्तिका अग्रभाग थिए, सहरहरू पृष्ठभागीय मोर्चाको भूमिकामा क्रियाशील रहे ।
रुस र चीनको विजयसम्म आइपुग्दा विश्वको एक तिहाइ भू–भागमा स्थापित मजदुर वर्गीय सत्ता माओको निधनसँगै पुँजीपति वर्गको सत्तामा पुनर्स्थापित भयो । सर्वहारा क्रान्ति भयानक प्रतिक्रान्तिमा फेरियो । अझ त बिसौँ शताब्दीको ७० र ८० को दशक वरिपरिबाट सुरु गरिएका क्रान्तिहरूसमेत धमाधम पराजित भए । विशेषतः गोन्जालोको गिरफ्तारीलगत्तै विघटित पेरुको जनयुद्ध र कथित शान्ति प्रक्रियाको नाममा विघटित नेपालको जनयुद्ध सर्वहारा क्रान्तिका पछिल्ला अत्यन्तै पीडादायक परिघटना हुन्, जसले ८० प्रतिशत भू–भाग कब्जा गर्न सफल हुँदा हुँदै पनि विघठित हुनुपर्यो । पचासौँ वर्षदेखि जारी भारतीय जनयुद्ध, फिलिपिन्स र टर्कीको जनयुद्ध अपेक्षाकृत गुणात्मक बन्न सकिरहेको छैन ।
देशको प्रतिक्रान्ति र पराजय मूलतः आन्दोलनभित्रबाटै पैदा भएको पुँजीवादी दृष्टिकोण र त्यसलाई अङ्गीकार गर्ने पुँजीवादका प्रतिनिधिहरूको धोका र षडयन्त्रको चक्रव्यूहमा फस्नुको परिणामबारे गहन समिक्षा गर्नु विश्व सर्वहारा क्रान्तिको पहिलो चुनौती हो । त्यसका अलावा आजको भूमण्डलीकृत साम्राज्यवादद्वारा प्रत्यक्ष–परोक्ष सञ्चालित दमनका रणनीतिहरूलाई परास्त गर्नु सर्वहारा क्रान्तिको दोस्रो चुनौती हो । यी दुबै आन्तरिक र बाह्य चुनौतीहरूको सक्षमतापूर्वक सामनाको योगमा मात्रै सर्वहारा क्रान्तिको आउँदो विजय अन्तर्निहित छ । त्यसका लागि सर्वहारा आन्दोलनले मार्क्सवाद–लेनिनवाद–माओवादको आधारभूत मार्गदर्शनमा रहेर सिद्धान्त, राजनीति, सङ्गठन र सङ्घर्षको क्षेत्रमा आफूलाई पुनर्संगठित गर्नु र प्रत्येक देशको क्रान्तिद्वारा त्यसलाई मौलिकता प्रदान गर्नु आजको प्रमुख कार्यभार बन्न गएको छ । विगत रुस र चीनको अनुभवझैँ आज पनि सर्वहारा वर्गको यो विश्वव्यापी चुनौती सर्वप्रथम एउटा देशबाटै उद्घाटित हुने ऐतिहासिक सम्भावना र आवश्यकताको निकै वजनदार कार्यभारलाई प्रत्येक देशका क्रान्तिकारीहरूले गहिरो आत्मबोध गर्न र पहलकदमी लिनु जरुरी छ ।
आधारभूत अन्तरविरोधहरू र क्रान्तिको चरित्र
क्रान्तिको चरित्रलाई निर्धारण गर्ने सार्वभौम महŒवको विषय भनेको विश्वव्यापी आधारभूत अन्तरविरोधहरूको अवस्था र प्रकृतिमा हुने हेरफेर हो । हाल विश्वमा तीन आधारभूत अन्तरविरोधहरू : १) श्रम (सर्वहारा वर्ग) र पुँजी (पुँजीपति वर्ग) बिचको अन्तरविरोध, २) अन्तर पुँजीवादी (साम्राज्यवादी) अन्तरविरोध, ३) साम्राज्यवाद र उत्पीडित राष्ट्र एवम् जनताबिच अन्तरविरोध विश्वव्यापी स्विकार्य छन् । शीतयुद्धको आरम्भदेखि सोभियत सङ्घ विघटन पूर्वसम्मको स्थितिमा समाजवाद र पुँजीवादबिचको अन्तरविरोधलाई पनि आधारभूत अन्तरविरोधअन्तर्गत परिभाषित गरिएको थियो, जो हाल छैन ।
रुसमा क्रान्तिको विजय र त्यसवरिपरिको अवधिमा पुँजीपति र श्रमिक वर्ग तथा अन्तरसाम्राज्यवादी अन्तरविरोधको अवस्था मात्रै रहेको थियो । किनकि, त्यो बेला पुँजीवाद भर्खरै साम्राज्यवादमा विकसित हुँदै थियो । समाजवाद सामाजिक क्रान्तिको गर्भमै रहेको अवस्थामा समाजवाद र पुँजीवादबिचको अन्तरविरोध तथा साम्राज्यवाद र उत्पीडित राष्ट्र एवम् जनताबिचको अन्तरविरोध हुने कुरै भएन । अझै पछाडि तन्केर हेर्ने हो भने मार्क्स–एंगेल्सको समयमा अन्तरसाम्राज्यवादी अन्तरविरोधसमेत थिएन, केवल श्रमिक र पुँजीपति वर्गबिचको अन्तरविरोध मात्रै थियो । मार्क्स–एंगेल्सले आधारभूत रूपमा त्यही धरातलमा टेकेर वर्गसङ्घर्षको नियम उद्घाटित गरे र त्यसको तत्कालीन स्वरूप पुँजी र श्रमबिचको अन्तरविरोधलाई विस्तृत व्याख्या गरे ।
मार्क्स–एंगेल्सको समयमा उद्घाटित एवम् संश्लेषित सर्वहारा वर्ग र पुँजीपति वर्गबिचको अन्तरविरोधले सर्वहारा वर्गको आम सशस्त्र विद्रोह (General Armed Instruction) को सैन्य रणनीति निरुपण गर्यो । त्यसै गरी, लेनिन–स्टालिनको समयमा उद्घाटित श्रम र पुँजी तथा पुँजीवादी समूहहरूबिचको आपसी अन्तरविरोधको अवस्थाले क्रान्तिकारी गृहयुद्धसहितको सहरिया सशस्त्र विद्रोह (Armed Instruction With Revolutionary Civil War) को रणनीति विकास गर्यो । मार्क्सको समयभन्दा लेनिनको समयमा भएको सर्वहारा सैन्य रणनीति विकासको वस्तुगत आधार थियो– अन्तरसाम्राज्यवादी अन्तरविरोध अर्थात् पुँजीपतिका समूहहरूबिच अन्तरविरोधको विकास, जुन परिस्थिति मार्क्सको समयमा थिएन । ठिक त्यसै गरी, माओको समयसम्म आइपुग्दा समाजवाद र पुँजीवादबिचको अन्तरविरोध तथा साम्राज्यवाद र उत्पीडित राष्ट्र एवम् जनताबिचको अन्तरविरोध थपिए । जसको परिणाम विश्वयुद्धहरू भए र ती सर्वहारा वर्गीय नेतृत्वको राष्ट्रिय मुक्ति युद्ध एम् क्रान्तिकारी गृहयुद्धमा विकसित भए । चीनको क्रान्ति राष्ट्रिय मुक्ति युद्धसहितको गाऊँबाट सहर घेर्ने दीर्घकालीन जनयुद्ध (Protracted Peoples War With National Liberation War) को रणनीतिमा आधारित थियो ।
माओकालीन समयमा समाजवाद र पुँजीवादबिच अन्तरविरोधको परिणाम प्रत्येक देशको सर्वहारावादी आन्दोलनलाई समाजवादी राष्ट्रद्वारा (मुख्यतः रुस) गरिने सहयोग थियो भने भने साम्राज्यवाद र उत्पीडित राष्ट्र एवम् जनताबिच अन्तरविरोधको परिणाम हरेक राष्ट्रको देशभक्त पंक्तिसँग सर्वहारा वर्गको सहकार्य तथा साम्राज्यवादी युद्धको संयुक्त प्रतिरोध थियो । त्यो अवस्थाले संसारभर समाजवादी/जनवादी क्रान्ति र राष्ट्रिय मुक्ति युद्ध तथा आन्दोलनको लहर सुरु भयो । स्मरणीय कुरा के छ भने ती देशहरूको राष्ट्रिय मुक्ति युद्ध सर्वहारावादी क्रान्ति र मजदुर–किसान वर्ग तथा देशभक्तहरूको सत्तामा बदलियो, जहाँको कम्युनिस्ट पार्टीले सर्वहारा क्रान्तिको नेतृत्वमा राष्ट्रिय मुक्तिको युद्ध जोड्न सफल भयो र ती देशहरूको युद्ध केवल पुँजीवादी राष्ट्रिय स्वाधीनतामा सीमित भयो, जहाँको कम्युनिस्ट पार्टीले राष्ट्रिय मुक्ति युद्धलाई सर्वहारावादी क्रान्तिको नेतृत्वमा सञ्चालन गर्नुको साटो उल्टो आफैँ राष्ट्रिय मुक्ति युद्धको पिछलग्गु भयो ।
दोस्रो विश्वयुद्धको समाप्ति (सन् १९४५) पश्चात् र ८० र ९० को दशक वरिपरि विकसित नवउदारवादी अर्थ प्रणाली र त्यसकै जगमा उभिएको नवऔपनिवेशिक राजनीतिक प्रणालीको विकाससँगै अन्तरपुँजीवादी अन्तरविरोध एवम् साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूबिच अन्तरविरोधको स्वरूपमा व्यापक हेरफेर भएको छ । प्रत्यक्ष उपनिवेश र प्रत्यक्ष युद्ध अप्रत्यक्ष उपनिवेश (नवउपनिवेश) र छद्म युद्धमा बदलिएको छ । त्यसो त दुनियाँमा युद्धहरू नभएका भने होइनन्, हतियार उत्पादन र बिक्रीको कार्य रोकिएको पनि होइन । आणविक हतियार विकासको पहुँचमा शक्ति राष्ट्रहरूको वृद्धि बढिरहेको छ । आश्चर्यको कुरा के छ भने जब जब यसखाले विनासकारी अस्त्रहरूको विकास भयो, तब विश्वयुद्ध टर्दै गयो र औपनिवेशिक (नवऔपनिवेशिक) देशहरूमा राष्ट्रिय मुक्ति युद्धको सम्भावनासमेत कमजोर बन्दै गयो ।
प्रविधिको हरेक क्षेत्रमा आश्चर्यजनक विकास र प्रयोगको कारण श्रम र पुँजीको तिब्र अन्तर्राष्ट्रियकरण (भूमण्डलिकरण), भौतिक श्रमको स्थानमा बौद्धिक (कृत्रिम बौद्धिकतासहित) श्रमको बढोत्तरी, पुँजीको चरम वित्तीयकरण र एकाधिकार आदि परिणाम पैदा भएका छन् । यसले श्रम र पुँजीबिच अन्तरविरोधको स्वरूप र प्रकृतिलाई समेत निकै नयाँ ठाउँमा पुर्याइदिएको छ । जस्तो कि बिसौँ शताब्दीको आरम्भमा जन्मिएको साम्राज्यवाद मूलतः औद्योगिक पुँजी र औद्योगिक राष्ट्रको राजकीय एकाधिकारको जगमा उभिएको थियो भने आजको साम्राज्यवाद वित्तीय पुँजी र पुँजीका एकाधिकारी समूहहरूको एकाधिपत्यमा उभिएको छ । अत्यन्त अल्प–संख्यामा रहेका पुँजीवादी एकाधिकारी व्यक्ति र समूहहरूका लागि विश्वका सीमा रेखाहरू नामेट भएका छन् । उत्पादनका प्रमुख साधनहरू : जमिन, पुँजी र प्रविधि उनकै कब्जामा छ । संसारभरका एक प्रतिशत धनीहरूको हातमा बाँकी ९९ प्रतिशत मानिसहरूको बराबरी सम्पत्ति सङ्केन्द्रित भएको छ । प्रत्येक देशमा त्यहाँको सीमित एकाधिकारी र दलाल पुँजीपतिको तप्का धनकुबेर बनेको छ र जनता दिनदिनै गरिबीको दुष्चक्रमा फसिरहेका छन् । राजनीतिको व्यवसायीकरण र व्यवसायको राजनीतीकरण तथा अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण भइरहेको छ । खुल्ला बजार र उदारीकरणको नीतिले एउटा देशको पुँजीपति संसारकै पुँजीपति बन्न सम्भव भएको छ र त्यसले चरम एकाधिकार पैदा गरेको छ । एकाधिकार पुँजीको विश्वव्यापी प्रभुत्वकै कारण विकासोन्मुख देशको राष्ट्रिय पुँजी र राष्ट्रिय पुँजीपति वर्ग दलाल पुँजी र दलाल पुँजीपति वर्गमा फेरिएको छ । विश्वका अरबौँ जनता बेरोजगारी, अभाव र अपमानको बोझले थन्थिलो बनिरहेका छन् ।
विश्वका आधारभूत अन्तरविरोधहरूको प्रकृति र स्थानमा हुने हेरफेरले सर्वहारा सैन्य रणनीतिको विकासमा समेत व्यापक हेरफेर हुँदै आएको छ । जुन परिस्थितिहरूमा जुनखाले अन्तरविरोधको विशिष्टता र प्राधान्यताले जुन खाले क्रान्तिको चत्रिलाई निरुपण गरिदिएका थिए विकसित अवस्थामा त्यसलाई हुबहु लागू गर्न खोज्नु अवस्तुवादी र अवैज्ञानिक कार्य हुन्छ । त्यो मार्क्सवादविरुद्धको संशोधनवाद, सुधारवाद र अवसरवाद हुन पुग्दछ । त्यसले क्रान्तिको विजयलाई प्रतिनिधित्व गर्ने होइन कि बरु पराजयको निम्तो गर्छ । आजको अवस्था र विकसित सम्पूर्ण तथ्यहरूले श्रम र पुँजीबिचको अन्तरविरोधलाई एक पटक फेरि अन्तरविरोधहरूको केन्द्रीय स्थानमा उभ्याई दिएको छ । हुन त पुँजीवादको जन्मसँगै पैदा भएको यो प्रथम त्यस्तो अन्तरविरोध हो जो विकसित परिस्थितिमा अरू तीनवटा आधारभूत अन्तरविरोधहरूको योग तथा अरू अनेकौँ अन्तरविरोधहरूको विकासमा अभिव्यक्त भयो, आज पनि त्यसकै विशिष्ट परिणाम स्वरूप ती क्रियाशील छन् । तर, तिनको स्वरूप र स्थानमा व्यापक फेरबदल आएको छ, त्यसप्रति नजरअन्दाज गर्नु मार्क्सवादको उल्लङ्घन मात्रै नभएर सर्वहारा क्रान्तिको विजयलाई छेको लगाउने विवेकहीन कार्य हुन जान्छ ।
पुँजीको सार्वदेशिक र अन्तरनिर्भर चरित्रको कारण पुँजी र श्रमबिचको अन्तरविरोध आफ्नो विकसित स्वरूपमा : साम्राज्यवाद र सर्वहारा श्रमिक वर्ग तथा उत्पीडित जनताबिचको अन्तरविरोधमा फेरिएको छ । यो अवस्था न त विश्वयुद्धसहितको क्रान्तिकारी गृहयुद्धको अवस्था हो, न राष्ट्रिय मुक्तिको अवस्था नै । नवउपनिवेशवाद र नवउदारवादका विरुद्धको यो क्रान्ति विकसित देशहरूको एकाधिकार पुँजीपति वर्ग एवम् विकासोन्मुख देशहरूमा दलाल पुँजीपति वर्गका विरुद्धको त्यस्तो मजदुर वर्गीय क्रान्ति हो, जसको महारथि केवल सर्वहारा वर्ग रहेको छ भने सारथिको स्थानमा श्रमिक तथा उत्पीडित समुदाय रहेको छ । भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको उत्पीडनमा हाडछाला बनाइएको मजदुर वर्गको सर्वहारा तप्का मात्र नभएर श्रमिक वर्गको त्यो उल्लेख्य हिस्सा जो समाजको विविध क्षेत्रमा कार्यरत मजदुर वर्गकै एउटा विकसित अङ्ग हो, पुँजीवादी जंगली उत्पीडनको भुक्तभोगी अर्को एउटा तप्का हो । पितृसत्तावादी उत्पीडनका सिकार बनेका संसारभरका महिलाहरू, कथित सभ्यताको शुलीमा चढाइएका निग्रो र दलितहरू, आफ्नो भाषा–संस्कृति र ज्ञान–विज्ञानबाट बञ्चित संसारभरका आदिवासी जनजाति एवम् सिमान्तकृत अल्पसंख्यक जनसमुदायसमेत साम्राज्यवादी उत्पीडनको यातना शिविर झेलिरहेको तप्का हो । अतः भूमण्डलीकृत एकाधिकारी वित्तीय साम्राज्यवादविरुद्धको यो क्रान्ति विगत राष्ट्रिय मुक्ति क्रान्तिको कार्यभारलाई समेत आफूमा अन्तर्निहित (Inherent) गरेको वैज्ञानिक समाजवादी क्रान्ति हो ।
नेपाली क्रान्तिको रणनीति र कार्यनीति
प्रत्येक युद्धका सामान्य र विशिष्ट नियमहरू हुन्छन् । क्रान्तिकारी युद्ध र बुर्जुवा युद्धका आफ्नै सामान्य र विशेष नियमहरू हुन्छन् । प्रत्येक देशको क्रान्तिकारी वा बुर्जुवा युद्धका आ–आफ्नै नियमहरू हुन्छन् । युद्धसम्बन्धी यो सार्वभौम पद्धतिलाई आत्मसात् गरेर नै क्रान्तिकारी युद्धको, त्यसमा पनि प्रत्येक देशको क्रान्तिकारी युद्धको रणनीति र कार्यनीतिलाई निर्क्यौल गर्न सकिन्छ । मालेमावादी सिद्धान्तअनुसार युद्धको विशिष्टतालाई निर्धारण गर्ने आधारभूत तत्वहरू हुन् : समय, स्थान र स्वरूप । सामान्यतः समयको अर्थ हो, फरक सामाजिक युग र सामाजिक अवस्थाहरू । स्थानको अर्थ हो, फरक देशहरूको भूगोल । र, स्वरूपको अर्थ हो, युद्धको प्रकृति । यसले के कुरालाई पुष्टि गर्दछ भने एउटै समय र स्थानमा पनि फरक स्वरूपका युद्धहरू हुनु एवम् एउटै स्वरूपका युद्धहरू पनि फरक समय र स्थानमा फरक ढङ्गले लड्नु अनिवार्य हुन्छ ।
समय तŒवका दृष्टिले सर्वहारा वर्गका लागि २१ औँ शताब्दीको त्यस्तो युद्ध लड्नुपरिरहेको छ, जहाँ उसको सशक्त प्रतिद्वन्द्वी बुर्जुवा वर्ग साइबर संयन्त्र, आणविक अस्त्र र मानवरहित ड्रोनद्वारा सुसज्जित छ । स्थान–तत्वका दृष्टिले हाम्रो देश चीन र भारत दुई विशाल भूगोल, जनसंख्या र सामरिक शक्ति भएका देशबाट घेरिएको, विश्व महाशक्ति अमेरिकाको सामरिक स्वार्थ केन्द्रित, आन्तरिक भूगोल : हिमाल, पहाड र तराईको विषमतायुक्त अवस्थितिमा रहेको छ । स्वरूपका दृष्टिले हाम्रो लडाइँ एक त्यस्तोे क्रान्तिकारी युद्ध हो, जहाँ एकातिर राष्ट्रिय स्वाधीनता रक्षाको कार्यभार रहेको छ भने अर्कोतिर, मजदुर–किसानलगायत श्रमजीवी वर्गको अधिकार रक्षाको कार्यभार अन्तर्निहित रहेको छ । उपर्युक्त चुनौतीहरूलाई सकुशल सामना गरेर के नेपाली क्रान्तिकारी युद्धको विजय सम्भव छ ? के नेपाली जनताको विजय सुनिश्चित छ ? जब कि हिजो आफ्नो समयमा सशस्त्र युद्ध गरेर त्यसकै टेकोमा सत्तासीन काँग्रेस, एमाले मात्र होइन, दश वर्षको भीषण जनयुद्ध लडेको एउटा तप्काले सिंहदरबार र बालुवाटारको छतमाथि चढेर क्रान्तिको औचित्यमाथि नै प्रश्न गरिरहेको छ । यीलगायतका तमाम प्रश्नहरूको उचित जवाफ नै नेपाली क्रान्तिको रणनीति र कार्यनीतिहरू हुन् ।
मनोबलको श्रेष्ठता सर्वहारा सैन्य रणनीतिको आधारभूत जीवन तत्व हो । भलै युद्धमा प्रविधिको महत्वपूर्ण भूमिका कुनै पनि सेना र युद्धका लागि इन्कारी हुँदैन । बुर्जुवा सैन्य रणनीतिमाथि सर्वहारा सैन्य रणनीतिको श्रेष्ठता दुश्मनको प्रविधि दुश्मनका विरुद्ध प्रयोग गर्नुको क्रान्तिकारी विशेषतामा निर्भर रहेको छ । यदि सर्वहारा वर्गले आफूलाई सुदृढ र योजनाबद्ध अगि बढाएको खण्डमा प्रत्येक देश र हर–समयको युद्धमा उसको लागि प्राविधिक सक्षमता सम्भव हुन्छ । आखिर रुस, चीनलगायतका देशहरूको प्रतिक्रियावादी शक्ति त्यहाँको क्रान्तिकारी शक्तिको तुलनामा तालिम र प्रविधिको दृष्टिले बलियो हुँदा हुँदै पनि पराजित हुन पुग्यो, हाम्रै देशमा दश वर्षको जनयुद्ध लड्दा सुरुआती समय जनसेनाको लागि कमसल प्रविधियुक्त रहे पनि अन्ततः प्रतिक्रियावादी सत्ताकै प्रविधि जनसेनाको प्रविधिमा फेरियो । इतिहासका हरेक प्रगतिशील र क्रान्तिकारी युद्धको यो एक आम नीति हो ।
भारत र चीनबिचको भू–परिवेष्ठितता नेपाली क्रान्तिको अनुकूल र प्रतिकूल दुवै चुनौती हो । दुबै देश विश्व स्तरमै आर्थिक र सामरिक शक्ति सम्पन्न देश हुनुको साथै प्रतिस्पर्धीसमेत भएकोले नेपालमाथिको प्रत्यक्ष सैनिक हस्तक्षेप दुवैका लागि त्यति सहज छैन, जुन नेपाली क्रान्तिको अनुकूल पक्ष हो । यसका बाबजुद विश्वव्यापी भाइचारा सम्बन्धका लागि भौगोलिक सीमाबद्ध हुनु नेपाली क्रान्तिको प्रतिकूल पक्ष हो । भारत र चीनको सामरिक प्रतिद्वन्द्विता तत्कालका लागि न्यून भए पनि एक–अर्काबिच उच्च प्रतिस्पर्धाको कारण उनीहरूबिच युद्धको सम्भावनालाई इन्कार गर्नु असम्भव छ । त्यसका साथै, अमेरिकी चुनौती पनि दुबै देशका लागि समान छ ।
नेपालको भूगोल हिमाल, पहाड र तराईमा विभक्त छ । हिमाली क्षेत्रमा सत्ताको पहुँच कमजोर छ । त्यहाँको बसोबासमा श्रमजीवी जनताको अत्यधिक बाहुल्य रहेको छ । पहाड र तराईको अधिकांश ग्रामीण इलाकामा श्रमजीवी वर्गकै बाहुल्य रहे पनि सहरहरू, केन्द्रीय राजधानी र प्रादेशिक राजधानीका जिल्लाहरूमा राज्यको बलियो पहुँच रहेको छ र त्यस इलाकामा निम्न–मध्यम, मध्यम र उच्च वर्गको बसोबास रहेको छ । यसर्थ, हिमाल, पहाड र तराईको अधिकांश ग्रामीण इलाका क्रान्तिको सङ्गठनका लागि अग्रभागीय क्षेत्रहरू हुन् भने सहर, सदरमुकाम र राजधानीहरू पृष्ठभागीय क्षेत्रहरू हुन् । तर, सङ्घर्षका दृष्टिले भने ग्रामीण इलाकाहरू पृष्ठभाग हुन् भने सहर, सदरमुकाम र राजधानीहरू अग्रभाग हुन् ।
नेपाली समाजको बनौट विविधतापूर्ण छ । सत्ताको केन्द्रमा हालीमुहाली गरेको सीमित हिस्साबाहेक अत्यन्तै ठूलो तप्का आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक उत्पीडनद्वारा तवाह हुँदै आएको छ । प्रत्येक घरमा रहेको र पितृसत्तावादको जाँतोमा पिसिँदै आएको महिला समुदाय, जात व्यवस्थाको दलनमा रहेको देशभरकै दलित समुदाय, विभिन्न भाषा–संस्कृतिको उत्पीडनमा रहेको जनजाति समुदाय र अल्पसंख्यक मुस्लिमलगायतको समुदाय हिजोको सामन्ती सत्ताबाट र आजको दलाल पुँजीवादी सत्ताबाट उपेक्षित र अपहेलित रहेको छ । यो तप्का नेपाली क्रान्तिको आधारभूत हिस्सा हो ।
पुँजीवादको अति–एकाधिकार र भूमण्डलीकरणले विकासोन्मुख देशहरूको राष्ट्रिय अर्थतन्त्र टाक्सिएर तहस–नहस भएको छ । ती देशहरूको कृषि मरणासन्न अवस्थामा पुगेको छ भने औद्योगिक पुँजीको विकास मृगतृष्णा बनेको छ । राष्ट्रिय पुँजीपति वर्ग दलाल पुँजीपति वर्गको प्रतिगामी भूमिकामा फेरिएको छ । विकासोन्मुख देशहरूको अनिवार्य विश्वव्यापी नियतिझैँ नेपालमा उद्योगहरू स्थापना गरेर उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुको साटो श्रम शक्तिलाई बेचेर रेमिटेन्सको भरमा अर्थतन्त्र सञ्चालनको आत्मघाती नीति अनुशरण गरिएको छ । परिणामतः नेपालको कूल जनसंख्याको एक तिहाइ भाग (करिब एक करोड) वैदेशिक रोजगारीमा छ । विदेशबाट फर्किएको जनशक्ति बेरोजगार र अर्ध–बेरोजगार भएर बाँच्नुपर्ने बाध्यता रहेको छ । लाखौँको संख्या स्थायी रूपमै विदेश पलायन भइरहेको छ । हिजोको अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्था आज दलाल पुँजीवाद र नव–औपनिवेशिकतामा फेरिएको छ ।
उपर्युक्त सम्पूर्ण विश्लेषणको निचोडमा के भन्न सकिन्छ भने दलाल पुँजीवादी सत्ताका विरुद्ध सशस्त्र सङ्घर्ष गर्नु, जनताको बिचबाट जनसेनाको गठन गर्नु, जनताले प्रयोग गर्ने प्रविधिलाई प्राथमिकतामा राख्नु र जनशैलीको भरपूर प्रयोग गर्नु क्रान्तिकारी युद्धका आम नियम हुन् भने त्यो सशस्त्र सङ्घर्ष दीर्घकालिक या अल्पकालिक हुनु, जनसेनाको संरचना नियमित या अनियमित हुनु, सहर र गाउँ, वैधानिक र अवैधानिक इत्यादि कामको तालमेल मिलाउनु नेपाली क्रान्तिका विशिष्टता हुन् ।
एउटा निश्चित अवस्थामा विद्रोह जनयुद्धमा विकसित हुनु र जनयुद्ध विद्रोहमा रूपान्तरण हुनु क्रान्तिकारी युद्धको सार्भभौम नियम नै हो । विद्रोह र जनयुद्ध जनताको विरोध र प्रतिरोधका सामान्य स्वरूप हुन् । सामान्य अर्थमा विद्रोह जनयुद्ध हो र जनयुद्ध विद्रोह पनि हो तर, विद्रोह र जनयुद्धबिचको विशिष्ट भिन्नतालाई भने क्रान्तिकारीहरूले उचित ख्याल राख्न जरुरी छ । विद्रोहलाई आम सशस्त्र विद्रोह (Insurrection) र जनयुद्धलाई दीर्घकालीन जनयुद्ध (Protracted peoples war) को सङ्कुचित परिभाषामा कैद गर्नु गलत कार्य हो । उत्पीडित वर्ग र तप्काको जनताले लडेका सबै युद्धहरू ती जनयुद्ध नै हुन् । तर ख्याल राख्नुपर्ने कुरा के छ भने सबै विद्रोहहरू जनयुद्धमा अनिवार्य विकसित नहुन पनि सक्छन् जब कि सबै जनयुद्ध आफैँमा विद्रोह भने अवश्य हुन्छन् । यसर्थ, सर्वहारा सैन्य कार्यदिशाका रूपमा परिचित गाउँबाट सहर घेर्ने दीर्घकालीन जनयुद्ध र सुरुमै सहर कब्जा गर्ने अल्पकालीन सशस्त्र विद्रोह सर्वहारा वर्गीय युद्ध अर्थात् जनयुद्धका विशिष्ट रणनीति मात्र हुन् ।
समान्यतः दीर्घकालीन जनयुद्ध अर्ध–सामन्ती एवम् अर्ध–औपनिवेशिक मुलुकको कम्युनिस्ट पार्टीद्वारा प्रतिरक्षात्मक रणनीति अवलम्बन गरेर सञ्चालन गरिने युद्ध प्रणाली हो भने आम सशस्त्र विद्रोह विकसित मुलकको कम्युनिस्ट पार्टीद्वारा आक्रमणात्मक रणनीति अवलम्बन गरेर सञ्चालन गरिने युद्ध प्रणाली हो । यी दुवै रणनीतिहरू आफ्नो समय र स्थानमा वैज्ञानिक र वस्तुवादी हुँदा हुँदै पनि यी दुईको परिपूरक परिचालन नै आजको आवश्यकता र क्रान्तिकारी युद्धको विश्वव्यापी आवश्यकता बन्न गएको छ । किनकि, न त विकासोन्मुख देशहरू नै अब अर्ध–सामन्ती वा अर्ध–औपनिवेशिक रहेका छन्, न विकसित मुलुकहरू नै शास्त्रीय औद्योगिक मुलुक रहन गएका छन् । यसर्थ, अबको हाम्रो सैन्य रणनीतिको आधारभूत विशेषता हुन जान्छ दीर्घकालीन जनयुद्ध (Protracted people’s war) र अल्पकालीन सशस्त्र विद्रोह (Insurrection) को रणनीति एक–अर्कामा परिपूरक परिचालन गर्नु ।
नेपाली क्रान्तिलाई आधारभूत रूपले तयारी र आक्रमणको दुई चरणबाट सम्पन्न गर्नुपर्दछ । प्रथम चरणअन्तर्गत जनसङ्घर्ष, जनप्रतिरोध सङ्घर्ष र जनविद्रोहको शृङ्खला रहनेछ । यो तीन शृङ्खलाको प्रक्रियाले जनता र पार्टी, विचार र व्यवहार, नेता र कार्यकर्ता, कार्यदिशा र कार्यनीति, कार्यशैली र सङ्गठनबिचको सम्बन्धलाई व्यवस्थित र सुदृढ बनाउनेछ । जनसङ्घर्ष, जनप्रतिरोध सङ्घर्ष र जनविद्रोहको अन्तरसम्बन्धका बारेमा के कुरा स्पष्ट हुनु आवश्यक छ भने यी सङ्घर्षका सामान्य र उच्च रूपहरू मात्र हुन् । सरासरी प्रक्रियाबाट हेर्दा यी एकपछि अर्को विकसित हुँदै जाने भर्याङका खुड्किला भए पनि ती एक–अर्कामा अन्तरसम्बन्धित भएर गुज्रिनु अनिवार्य हुन्छ । सामान्य अवस्थामा एउटा स्वरूपबाट अर्को स्वरूपमा विकसित हुनु र विशिष्ट अवस्थामा एक–अर्काबिच क्रमभङ्गताको स्थिति पैदा हुनुलाई परिस्थितिको विकास र आत्मगत अवस्थाको सन्तुलनले प्रत्यक्ष प्रभाव पार्ने हुँदा त्यसलाई क्रान्तिकारीहरूले हमेसा ख्याल राख्नुपर्ने हुन्छ ।
जनसङ्घर्ष प्रत्येक क्रान्तिकारी युद्धमा जनसहभागिता सुनिश्चित गर्ने क्रान्तिकारी कार्यशैली अर्थात् जनशैली (Mass line) हो । भलै जनसहभागिताको प्रकृति सबै स्थान र समयमा एकै स्वरूप र एकै स्तरको नहुन सक्छ । तर पनि क्रान्तिकारी युद्धको सबैभन्दा आधारभूत विशेषता भनेकै जनसहभागिता हुने भएकाले जनताका विशिष्ट मागहरूलाई आन्दोलनमा विकसित गर्न जनसङ्घर्षको प्रक्रिया अनिवार्य हुन्छ । जसरी रुसको कम्युनिस्ट पार्टीले आफ्नो सापेक्षतामा शान्ति, रोटी र जमिनको नारा अगि बढाएर जनतालाई क्रान्तिकारी आन्दोलनमा सहभागी बनायो, त्यसरी नै चीनको कम्युनिस्ट पार्टीले स्वाधीनता र जनवादको नारा दिएर क्रान्तिमा जनसहभागितालाई सुनिश्चित गरेको थियो । नेपालको सन्दर्भमा आजसम्मका जनसङ्घर्षहरूले क्रान्तिको निर्णायक कार्यभारलाई पूरा गर्न नसकेको तथ्यलाई ग्रहण गर्दै समयानुकूल विभिन्न नारा र कार्यक्रमहरूको विकास गरेर तयारीको यो प्रथम चरणलाई पूरा गर्नुपर्ने हुन्छ ।
नेपाली क्रान्ति विश्व सर्वहारा क्रान्तिकै एक अंश हो । यसको कार्यभार एकातिर सर्वहारा वर्गका विश्वव्यापी चुनौतीहरूको सामना गर्नु हो भने अर्कोतिर नेपाली क्रान्तिकारी आन्दोलनका चुनौतीहरूको सामना गर्नु हो । आफ्नो सापेक्षतामा नेपाली क्रान्ति मूलतः नेपाली समाजका अन्तरविरोधहरूको उचित र अग्रगामी समाधान हो । युद्ध रक्तपातपूर्ण राजनीति हो र राजनीति रक्तपातहीन युद्ध हो भन्ने मालेमावादी मान्यतालाई आत्मसात गर्दै पहिलो चरणमा जनताको अधिकार बहाली गर्न रक्तपातहीन युद्ध अर्थात् जनसङ्घर्षको सञ्चालन अनिवार्य हुन्छ । तर, जनअधिकार प्राप्तिको सङ्घर्षमा दमन भएमा त्यो प्रतिरोध सङ्घर्षमा विकसित हुनु प्राकृतिक सर्त नै हुन जान्छ । त्यति बेला रक्तपातपूर्ण राजनीतिको चरण स्वतः विकसित हुन्छ । त्यसलाई स्विकार नगर्नु सुधारवाद, संशोधनवाद र आत्मसुरक्षावाद हुन जान्छ । अतः विश्व सर्वहारा क्रान्तिको कार्यभार अन्तर्निहित नेपाली क्रान्तिको विजय सुनिश्चित गर्न निम्न नाराहरू बुलन्द गरौँ ! मार्क्सवाद–लेनिनवाद–माओवाद दृढतापूर्वक आत्मसात गरौँ ! दक्षिणपन्थी अवसरवाद र संसवादविरुद्ध निर्मम सङ्घर्ष गरौँ ! नवउपनिवेशवादको अन्त्य गरौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा दृढतापूर्वक अगि बढौँ ! दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरौँ ! सङ्घीय समाजवादी गणतन्त्रको स्थापना गरौँ !
प्रतिक्रिया