News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विचार

नेकपा (बहुमत) को नवौँ महाधिवेशनले दिएको सन्देश

सङ्घर्ष, बलिदान र दसबर्षे जनयुद्धको जग र जनक्रान्तिको यात्रामा क. प्रज्वल लगायतका १२ जना सहयोद्धाको सहादत र बलिदानबाट जन्मेको पार्टी नेकपा (बहुमत) हो । साथै नेपालका कम्युनिस्ट पार्टीहरू दलाल संसदीय पुँजीवादी व्यवस्थामा पतन भएको बेला तिनीहरूको चिहानबाट जन्मेको पार्टी (बहुमत) हो ।

बिषय प्रबेश

आज नेपालमा क्रान्ति र प्रतिक्रान्तिको बीचबाट धेरै कम्युनिस्ट पार्टीहरूलाई दलाल संसदीय पुँजीवादी व्यवस्थाले खाइसकेको छ । अर्को तिर केही नयाँ जोगीहरू पनि संसदीय संशोधनवादको टाङ्मुनि छिरीसकेका छन् । तर हामीले क्रान्तिको मार्गमा कोर्न सक्ने राजनीतिक वैचारिक लाइन र पार्टी निर्माण गर्नतिर जुटिरहेका छौँ । त्यसका लागि हाम्रो पार्टीले वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशाको स्पष्ट खाका कोर्दै क्रान्तिकारी नेता, कार्यकर्ता र उत्पीडित जनताहरूलाई सङ्गठन र सङ्घर्षमा गोलबन्द गर्दै क्रान्तिलाई पुर्नगठन गर्ने गरी हाम्रो पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनले दायित्व लिएको छ ।

१) नेकपा (बहुमत) को गठन :

२०७९ सालमा हामीले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गठन गरेका हौँ । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व क्रान्तिकारी आन्दोलनबाट संसदीय संशोधनवाद भागेर सुधारवाद, संसद्वाद र अन्तत दलाल पुँजीवादी व्यवस्थाको शरणमा पुगेपछि (बहुमत) को रूपमा पुनर्गठन गरेका थियौँ । विचारधारात्मक सङ्घर्षमा तत्कालीन नेतृत्व अल्पमतमा परेको थियो हामी (बहुमत) मा थियो । अर्थ थियो कि सङ्ख्याभन्दा बढी विचारसँग जोडिएको छ । (बहुमत) सर्वहारा वर्गको विचारको केन्द्र हो । क्रान्तिकारी कम्युनिस्टहरूको विचारको (बहुमत) हो । नेपाली जनताको आशाको केन्द्र (बहुमत) हो । वैज्ञानिक समाजवादी क्रान्तिको केन्द्र (बहुमत) हो । त्याग उर्जा समर्पितबाट जन्मेको (बहुमत) हो । सङ्घर्ष, बलिदान र दसबर्षे जनयुद्धको जग र जनक्रान्तिको यात्रामा क. प्रज्वल लगायतका १२ जना सहयोद्धाको सहादत र बलिदानबाट जन्मेको पार्टी नेकपा (बहुमत) हो । साथै नेपालका कम्युनिस्ट पार्टीहरू दलाल संसदीय पुँजीवादी व्यवस्थामा पतन भएको बेला तिनीहरूको चिहानबाट जन्मेको पार्टी (बहुमत) हो । राजनीतिक बैचारिक, सङ्गठन र सङ्घर्षको बीचबाट पुर्नगठन भएको पार्टी (बहुमत) हो । वैज्ञानिक समाजवादी क्रान्ति गर्नुपदर्छ भन्ने पार्टी (बहुमत) हो । त्यस कारणले नवौँ राष्ट्रिय महाधिवेशनमा व्यापक छलफल बहसलाई केन्द्रिकृत गर्दै पार्टी सङ्गठन, युवा र विद्यार्थी लगायतका मोर्चाहरूलाई लामो अभियानबाट रूपान्तरण हुने छौँ । यसप्रकारको पार्टी (बहुमत) हो । क्रान्ति हुन्छ, गरिन्छ भन्ने शाहास र आँट गर्ने पार्टी (बहुमत) हो ।

२) नेकपा (बहुमत) र सङ्घर्ष :

हामीले जनसङ्घर्ष मार्फत नेकपा (बहुमत) गठन गरेका हौँ । पहिला त राजनीतिक वैचारिक रूपमा सङ्घर्ष गर्दै तमाम खाले नवसंशोधनवाद, अकर्मण्यतावाद र संसदीय संशोधनवादका विरुद्ध सबै खाले पेचिलो लडाइँ लड्दै पार्टीलाई जनसङ्घर्षमा पार्टी सङ्गठन, युवा, विधार्थी लगायतका ज.ब.स मोर्चहरूले विभिन्न समयमा गरेका सङ्घर्षहरूले पार्टी सङ्गठनलाई उर्जाशील, जुझारू र क्रियाशील बनाउँदै जन्मेको पार्टी (बहुमत) हो । परुन्तु जनसङ्घर्ष मार्फत पार्टी सङ्गठन स्थापित गरेका छौँ । कास्कीको माछापुच्छ्रेमा युवाहरूको नेतृत्वमा निर्वाचन अवज्ञा गर्दै ढोङ फुटाएको थियौँ । बाग्लुङको बोडी गाड गाउँपालिकाका स्वास्थ्य प्रमुख बिनय केसीलाई कालोमोसो, कोहलपुरस्थित खानेपानीका प्रमुखलाई कार्यालयमा कालोमुसो, गोलपार्कका मेयरलाई कार्यालयमा कालो मुसो, बी.पी. कोइराला मेमोरियल अस्पतालका प्रमुखलाई कालो मुसो, साथै काठमाडौँ सरकारका प्रमुखहरूको कार्यालयमा अर्धनग्न प्रदर्शन गरेका थियौँ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबार भित्र प्रदर्शन । प्रधानमन्त्री निवास बालुवाटार भित्र प्रदर्शन । सर्बोच्च अदालत कार्यालयको मुल ढोकामा प्रदर्शन, संसद् भवनका ढोकामा प्रदर्शन, मन्त्री निवास अगाडि प्रदर्शन, यातायात बिभागका प्रमुखलाई कार्यालयमा कालोमसो, डीडीसीका प्रमुख सञ्जिब झालाई कार्यालयभित्र कालोमसो, नापी बिभागका प्रमुखलाई कार्यकक्षमा कालोमसो, सुर्खेत जिल्लामा लघुबित्तका कार्यालय प्रमुखलाई कालोमसो, महेन्द्रनगर नगरपालिकाका कर्मचारीलाई कालोमसो, लम्किचुहा नगरपालिकाका शिक्षाशाखा प्रमुखलाई कालोमसो, डडेल्धुरामा खानेपानी उपभोक्त समितिका भ्रष्टाचारी सचिवलाई जुत्ताको माला र कालोमसो लगाउँदै दलालहरूका चिहान खन्दै जनसङ्घर्षबाट जन्मेको पार्टी (बहुमत) हो ।

परन्तु नेपालगञ्ज कि एकल महिला निर्मला कुर्मीको हत्याका मुख्य आरोपी लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीलाई मन्त्री पदबाट बर्खास्त, रुकुमपूर्वबाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद धनबहादुर केसीलाई जिल्ला अदालत रुकुमको फैसला अनुसार कारागार पठाउन सफल, सयौँको सङ्ख्यामा गरिब, विपन्न, मजदुर र किसानलाई मिटर ब्याजको जालोमा पारी बेघरबार बनाउने मिटर ब्याजका नाईके दुर्गाप्रसाद पन्तलाई कालोमोसो र जुत्ताको माला लगाई जनकारवाही, सोझासाझा चौधरी समुदाय लगायतका अन्य सिमान्तकृत वर्गका जनसमुदायमा अनेकन प्रकारका शोषण दमन गर्दै फर्जी कपाली तमसुक बैंकिङ कसुर चेक अनादर, घर जग्गा रोक्का गर्न हडप्न्ने, कैद बराबरको बिगो रकम जम्मा गरी जेल पठाउने अशिष्ट गाली गलौज गर्ने अपमान गर्ने, भाडाका गुन्डाको प्रयोग गरी मानसिक तथा शारीरिक यातना दिने लगायतका अनेकन अपराध गर्ने, आत्महत्या देखि विस्थापित हुन बाध्य पार्ने कुख्यात मिटर ब्याजीको सङ्गठित गिरोह सञ्चालन गर्ने माधव बस्नेत र धर्मबहादुर बस्नेतको दाङको मुख्य बजार घोराही बीपी चोकमा नाक काटेर ऐतिहासिक जनकारवाही, हजारौँ जनताको निक्षेप दुरूपयोग गरी बित्तिय अपराध मच्चाएको कर्णाली बिकाश बैंकलाई कारवाहीको दायरामा लिई जनताको बचत सुरक्षीत गर्न समयमै राष्ट्र बैंकलाई ध्यानाकर्षणसहित पहल लिएको थियो पार्टीले ।

परन्तु हाम्रो पार्टी नेकपा (बहुमत) ले फेवाताल संरक्षणको लागि पोखराको फेवाताल किनारमा रहेको वाटर फ्रण्ट होटलको पर्खाल भत्काउदै तालको जग्गा अतिक्रमण विरुद्ध तालको ६५ मि. मापदण्ड कायम गर्नु पर्दछ भन्दै सुरुवाती जनसङ्घर्षको काम गरेका थियौँ । र सिमसार क्षेत्रमा राज्य संयन्त्र विचौलियाको मिलेमतोमा गरिने डोजर आतङ्क र फेवातालको खुम्चिदो क्षेत्रफल र घट्दो गहिराईलाई ध्यानमा राखी फेवातालको मापदण्ड अनुसारको क्षेत्रफल र गहिराईलाई बचाइराख्न ठोस योजना बनाई यसको संरक्षणमा र फेवातालको किनाराबाट ६५ मिटर भित्र पर्ने सम्पूर्ण अवैधानिक संरचनाहरू हटाउन र भु– तथा जल माफिया कर्ण शाक्य, पियुसलाल आमात्य लगायतका फेवातालको सार्वजनिक जग्गामा लुटखसोट मच्चाइरहेका माफियाहरू र फेवातालको आधा भन्दा बढी जमिन व्यक्तिको नाममा ल्याउने कर्मचारी र जनप्रतिनिधि र फेवाताल, वेगनाशताल लगायतका सात वटा तालहरूको अतिक्रमणका बिरुद्ध निरन्तर जनसङ्घर्ष जारी राख्ने छौँ । यी जनसङ्घर्षबाट नेकपा (बहुमत) को गठन भएको हो ।

३) नवौँ महाधिवेशनको उद्घाटन :

काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा २०८१ माघ ४ गते सुक्रबारका दिन क. कञ्चनको अध्यक्षतामा र प्रमुख अतिथि आसारे काका र पार्टीका सल्लाहकार समितिका कमरेडहरू आफ्नो मन्तव्य राख्दै नवौँ महाधिवेशन भव्य रूपमा उद्घाटन गरेका थियौँ । क्रान्तिकारीहरूले राता टोपी लगाउँदै हललाई क्रान्ति रूपी रंङ भरी राखेको अवस्था थियोे । साथै जनवादी गीत सङ्गितले हललाई मोहित बनाएको थियो । हल भित्रका राता मान्छेहरू आफैँमा खुशी, उत्साह, उमङ्गको सिमा नै थिएन । हल भित्रका राता मान्छेहरूले क्रान्ति र प्रतिक्रान्तिलाई आफ्नै जीवनमा देखेको हुनाले यो नवौँ राष्ट्रिय महाधिवेशन क्रान्तिको महाधिवेशन हुनेछ । प्रतिक्रान्तिबिरुद्ध क्रान्तिको झन्डा फहराउने छौँ । सबैखाले संशोधनवाद, प्रतिक्रियावाद, संकिर्णवाद, आत्मसमर्पणवाद, दलाल संसदीय पुँजीवादी व्यवस्था र संसदीय संशोधनवादका बिरुद्ध लड्ने नवौँ राष्ट्रिय महाधिवेशनको मुख्य कार्यभार बनाएका छौँ । देशभक्त, क्रान्तिकारी कम्युनिस्टहरूको निराशालाई उत्साहमा बदल्ने, प्रतिक्रान्तिलाई क्रान्तिमा बदल्ने, निराशालाई आशामा बदल्ने हाम्रो नवौँ राष्ट्रिय महाधिवेशनको उद्देश्य हो ।

परन्तु केही चाटुकारहरू र जोगीका हुन्डी जस्ता चेतना भएकाहरूले हाम्रो पार्टीको बिरुद्ध लेख्ने र महाधिवेशनका बिरुद्ध बोल्ने लेख्ने जस्ता हर्कत देखा पर्यो तर यी हर्कतले हामीलाई केही फरक परेन बरू यस्ता हर्कतबिरुद्ध राजनीतिक वैचारिक रूपमा सङ्घर्ष गर्दै हामीले महाधिवेशनलाई भव्य र सभ्यका साथ सफल भएका छौँ ।

४) बन्दसत्र र बहस :

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को बन्द सत्र कृतिपुरमा शुरु भएको थियौ । बन्दसत्रमा दीर्घराज पाण्डेको अध्यक्षतामा इश्वरी दाहाल, सरला रेग्मी, डम्बर विश्वकर्मा र वैजनाथ माझी रहनेगरी अध्यक्ष मण्डल गठन गरिएको छ । उक्त बन्द सत्रलाई अध्यक्ष दीर्घराज पाण्डेले सञ्चालन गरेका थिए । पार्टीका महासचिव धर्मेन्द्र बास्तोला क. कञ्चनले राजनीतिक प्रतिवेदन तथा विधान प्रस्तुत गर्नुभएको थियो । महासचिव क.कञ्चनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा विधानमाथि १६ वटा ग्रुप विभाजन गरेका थियौ । सबै ग्रुपहरूले कार्यादिशा, कार्यनीति, विधान र रणनीतिक सम्बन्धि व्यवस्थित धारणा राख्नु भयो ।

परन्तु वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशालाई क्रान्तिकारी कार्यदिशाको निर्माण कसरी गर्ने हामीसँग हजारौँ प्रश्नहरूले पहाड जस्तै खडा भएर आएका थिए र अब प्रचण्ड विप्लवले नसकेको क्रान्तिलाई यिनीहरूले सक्छन् भन्ने तमाम् खाले प्रश्नको बीचबाट हामीले महाधिवेशन मार्फत कार्यदिशाको निर्माण र नेपालको कम्युनिस्ट आन्दोलनमा देखा पर्दै आएको संशोधनवाद र निराशालाई क्रान्तिमा बदल्ने गरि बहस छलफल गर्दै पास गरेका छौँ । साथै हामीलाई संशोधनवादी दृष्टिकोणबाट प्रश्न गर्नेहरूलाई क्रान्तिकारी झापड दिन सफल भएका छौँ ।

परन्तु कार्यनीति आफैँमा खुकुलो हुन्छ, क्रान्तिकारी लिडरको हातमा परे क्रान्तिकारी नै हुन्छ, संशोधनवादी लिडरको हातमा परे संशोधनवादी नै हुन्छ तर, नेपालको कम्युनिस्ट आन्दोलनलाई कार्यनीतिले नै जनयुद्ध र विभिन्न आन्दोलनलाई सम्झौतामा टुङ्गाएको हुनाले यो कार्यनीतिमा बहस छलफल हुनु स्वाभाविक नै हो । तर जीवन भरी कम्युनिस्ट आन्दोलनमा लागेका नेता, कार्यकर्ताले कार्यनीतिले दिएको धोकाको समीक्षा गर्दै अव यो कार्यनीतिले पनि धोका दिँदैन भन्ने हजारौँ प्रश्न र तर्क गर्दै कार्यनीतिमा क्रान्ति केन्द्रित बहस छलफलसहित पास गरेका छौँ ।

परन्तु क्रान्तिकारी पार्टीमा रणनीतिक भन्ने विषय महत्वपूर्ण हुन जान्छ । त्यसकारणले क्रान्तिकारी लडाकू पार्टीको निर्माण नै आजको महत्वपूर्ण हतियार हो । आज यो महाधिवेशनले क्रान्तिकारी रणनीतिकको निर्माणको दिशामा अगाडि बढेको देखेर क्रान्तिकारी आन्दोलनमा सारा संशोधनवादी, दलाल पुँजीवादी, दक्षिणपन्थीहरूले वैचारिक हतियारलाई भुत्ते बनाउनेतर्फ केन्द्रित भएका छन् । यो स्थितिमा हामीले पार्टी क्रान्तिको निर्माणको दिशामा ठोस पाइला चलेका छौँ । आज रणनीतिको रक्षा, प्रयोग र बिकाश नहुनेमा सशक्त पार्टी निर्माण हुन नसक्नु र देशमा दलाल पुँजीवादी संसदीय व्यवस्था र कम्युनिस्ट पार्टी भित्रका संशोधनवादी, दक्षिणपन्थीहरूको कारणले पनि रणनीतिको विकाश प्रयोग हुन सकेको छैन । परन्तु हाम्रो पार्टीले नवौँ राष्ट्रिय महाधिवेशनबाट विगतको समीक्षा गर्दै रणनीतिकको विकाश प्रयोग र रक्षालाई ध्यान दिँदै क्रान्ति केन्द्रित बहस छलफल गरेका छौँ ।

५) सङ्गठन :

हामीले नवौँ राष्ट्रिय महाधिवेशनबाट सङ्गठनात्मक प्रणालीलाई निरन्तरता, क्षमता, आवश्यकता, क्रियाशीलता, वर्गीय पक्ष धैर्यता र विश्व दृष्टिकोणलाई बुझ्‌ने, लागू गर्ने र विचारधारात्मक स्पष्टता, राजनीतिक बैचारिक रूपमा स्पष्टता, सङ्गठनात्मक प्रणालीमा लेनिनवादी पद्धतिलाई आत्मसात गर्ने, वर्गसङ्घर्षलाई जीवन बनाउने, संस्कृतिलाई अन्तर्राष्ट्रिय सर्वहारा विश्व दृष्टिकोण बनाउने र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई क.माओले भनेजस्तै ‘क्रान्ति नजित्दासम्म लड्नु, क्रान्तिको झन्डा नमर्दासम्म बोक्नु’ भन्ने कुरालाई बिचार सिद्धान्त बनाउँदै क्रान्तिको झन्डा अझैँ माथि उठाउने विचार दृष्टिकोण निर्माण गर्दै मार्क्सवाद–लेनिनवाद–माओवादलाई दह्रो गरी पकड्ने, ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादका नियमलाई अझ गहिराईमा बुझ्ने लागू गर्ने उद्घोषका साथ हाम्रो पार्टीले ५ पुर्नगठन र ६ अभियानलाई दृढतापूर्वक जनताको बीचमा पुर्याउने दृष्टिकोणसहित आज पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट ९९ जना केन्द्रीय समितिको निर्माण गरेका छौँ । साथै सङ्गठनमा कुनै बेला जनवाद प्रधान हुन्छ भन्ने कुनै बेला केन्द्रीयता नै प्रधान हुने गरेको हुन्छ । जनवाद प्रधान हुँदा पार्टी भित्रका केही ब्यक्तिहरू अराजक हुँदै जान्छ भन्ने केन्द्रीयता प्रधान हुँदा जनवादको रटान लगायर पार्टी नेतृत्वको आलोचना मात्रै गर्ने हुन्छ । त्यसकारणले नवौँ राष्ट्रिय महाधिवेशनबाट सङ्गठनमा जनवाद र केन्द्रीयताको तालमेल मिलाउँदै पार्टी सङ्गठन अनुशासित एकताबद्व र मर्यादित बनाउँदै, पार्टीले क्रान्तिकारीहरूसँग एकताको पहल गर्दै सङ्गठनलाई जनताको बीचमा पुर्याउने कोसेढुङ्गा बनाउँदै । अनि मात्रै क्रान्ति केन्द्र, सङ्गठन केन्द्र, पार्टी एकता क्रान्ति केन्द्र र बहस छलफल गर्ने छौँ ।

अन्त्यमा :

आज नेकपा (बहुमत) गठन गरेदेखि नै हाम्रो पार्टी जीवनमा विभिन्न आरोहअवरोह हुँदै संसदीय संशोधनवाद र तमाम खाले प्रतिक्रियावादीहरूसँंग राजनीतिक वैचारिक सङ्घर्ष गर्दै आज नवौँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेका छौँ । पार्टी महासचिवदेखि राजनीतिक प्रतिवेदन लेखन समितिका कमरेडहरूले राजनीतिक प्रतिवेदन, समग्र कार्यदिशा, कार्यनीति र विधानको विषयमा बोल्दासम्म पार्टीको समग्र बिषयमा स्पष्ट हुँदै राजनीतिक प्रतिवेदन, कार्यनीति, समग्र कार्यदिशा र विधानलाई हलले उत्साहका साथ पास गरेको थियो । त्यसकारणले हामीले क्रान्ति विरोधीहरूलाई महाधिवेशनबाट गतिलो झापड दिन सफल भएका छौँ । हाम्रो बिरोधीले यो पार्टीको महाधिवेशनबाट फुटेर टुक्राटुक्रा भइदिए हुन्थ्यो भन्ने सपनालाई हाम्रो पार्टीको ऐतिहासिक नवौँ राष्ट्रिय महाधिवेशनले यी संसदीय संशोधनवादीहरूको सपनाका बिरुद्ध एक ढिक्का, एक रूपताका साथ सिङ्गो हलले पार्टी महासचिवले ल्याएको राजनीतिक प्रतिवेदन एक मतले पास गरेपछि संसदीय संशोधनवादीहरू र प्रतिक्रान्तिकारीहरू आतङ्कित भएका छन् । तर, हाम्रो पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन सानदार रूपमा सम्पन्न गरेका छौँ ।

प्रतिक्रिया