News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कभर स्टोरी राजनीति विचार

कम्युनिस्ट बनायो, टीआमाविले !

२०३६ सालको पुष महिना टीकापुरलाई कुहिरोले दिनभरी ढाकेको हुन्छ । फुरफुर शित लहर चल्छ । शित लहरले पैदल यात्रीको कपाल फुस्रो देखिन्छ । टीकापुर टाउन प्लान हो । तर पनि त्यस समयमा पक्कि घरहरु धेरै थिएनन् । ब्लक ए मा टेकबहादुर बोहराको एक तले घर थियो । भुइँ तलामा कपडा पसल थियो । नेपाल बैंक लिमिटेड, जनकपुर चुरोट कारखाना, सुरत बिस्टको बुबाले सञ्चालन गरेको मट्टितेल पसल, धनी गिरीको पूर्णा गिरी स्टोर सायद यति नै पक्कि नीजि घर पक्कि थिए । अरु सबै जसो घर झुप्रा तर टायलले छाएका थिए । टीकापुर टाउन भने पनि टीकापुर विकास समिति नजिकै रहेको अस्थायी बजारमा सयौं कच्ची घरहरु थिए । टीकापुर आवासीय माध्यमिक विद्यालयको विशाल छात्राबास बन्दै थियो । प्रस्तावित अस्पताल पनि आधुनिक ढाँचामा बन्दै थियो ।

तर टीकापुर आवासीय माध्यमिक विद्यालयका भने काठैकाठले बारेको टायलले छाएको ३ वटा टहरा थियो । विद्यालय कच्ची भए पनि यस विद्यालयमा आफ्‌ना सन्तानलाई पढाउन पाउनु यहाँका बासिन्दा गर्व गर्दथे । किन की त्यो एउटा आवासीय(बोर्डिङ) विद्यालय थियो । त्यहाँ केरलबाट आएका थोमस र मेरी वर्गिसले अंग्रेजी भाषमा पढाउनु हुन्थ्यो । भर्ना हुनका लागि लिखित परीक्षा उत्तीर्ण हुनु पर्दथ्यो । वरिपरिका सरकारी विद्यालयमा भन्दा शुल्क पनि केही बढि थियो । विद्यालयमा विद्यार्थी आकासे नीलो कमिज र गाढा नीलो प्यान्ट वा स्कर्ट र सेतो कपडाको जुत्ता लगाउँदथे । भारतीय निवृत्त भारतीय सेनाका सुवेदार टेकबहादुर थापा मगरले कवाज खेलाउनु हुन्थ्यो । विद्यार्थीलाई अंग्रेजी गीत सिकाइन्थ्यो । भलिवल, फुटवलका लागि ठूलो मैदान थियो । अहिले पनि छन् । शिक्षकदेखि विद्यार्थीसम्म सबै अनुशासनमा रहन्थे । र, वरिपरि नजिकै कुनै माध्यमिक विद्यालय पनि थिएनन् ।

त्यही विद्यालयमा आफ्‌ना सन्तानलाई पढाउने इच्छा हाम्रो बुबा आमाले राख्नु स्वभाविक थियो । हाम्रो ठूलो दाजुले पहाडबाट नै पढ्न छाड्नु भएको थियो । माइला दाई मुनुवाको जनता माध्यमिक विद्यालयमा पढ्दै हुनुहुन्थ्यो । म, भाई र दुईवटा बहिनीहरु पढ्नु पर्ने थियो । मैले कक्षा ४ कालागि परीक्षा दिएँ । मेरो नाम एक नम्बर नै निस्कियो । भाई र ठूली बहिनी कक्षा २ मा र माइली बहिनी कक्षा १ मा भर्ना हुन योग्य भयौं । मेरो मासिक पढाई शुल्क ७ रुपियाँ थियो । २०३६ सालको समयमा ७ रुपियाँ निकै महंगो मानिन्थ्यो । मलाई याद छ, त्यस समयमा आठ आना (पचास पैसा) मा एक दुध हालेको चिया र एउटा पाउरोटी आउँथ्यो । यसले पेट भरिन्थ्यो र दुध हालेको चियामा पाउरोटी डुबाएर खानु हाम्रो सोख हुन्थ्यो ।

कक्षा ४ मा हामी १ सय २० जना थियौं । सानो कोठा भएकाले बस्नकालागि हानथाप हुन्थ्यो । हामीलाई अंग्रेजी थोमस वर्गिस(हेडसर)ले पढाउनु हुन्थ्यो । उहाँले सिसाकलम तिखो पारेर चार लाइनको कापीमा कर्सिभ राइटिङ लेखाउनु हुन्थ्यो । गणित रामकृष्ण उप्रेती, नेपाली ऋषिराम रेग्मी, विज्ञान र स्वास्थ्य ऋषिकेश पण्डित, शेरबहादुर रावलले सामाजिक पढाउनु हुन्थ्यो । वर्गाकार सानासाना कोठा भएको कापीमा गणितका सवाल र जवाफ तयार पार्दथ्यौं । अरु विषय त मलाई ठीकै लाग्दथ्यो । तर अंग्रेजीमा अंग्रेजी गीत, हस्तलेखन, श्रुतिलिपिले निकै आकर्षित गर्दथ्यो । त्यसैगरी नेपालीमा वर्णविन्यास, हस्तलेखन र श्रुतिलिपिले पनि पढ्नमा रुची बढाएको थियो । विज्ञान त ऋषिकेश सरले जादूमयी तरिकाले पढाउनु हुन्थ्यो ।

त्यो विद्यालयको अर्को आकषर्ण थियो, त्यहाँ डेस्क र बेञ्च । डेस्कमा किताव र कापी राख्न पाइन्थ्यो । कक्षा कुनै कारणले खाली भएमा हामी सरहरुले दिएको अभ्यास गरेर बस्दथ्यौं । नसकिएको विषयको किताव र कापी मात्र हामी घर लिएर जान्थ्यौं । अरु किताव तिनै डेस्कमा राख्दथ्यौं । किताव, कापी, कलम कहिल्यै हराउँदैन्थ्यो । हामी स्कूलमा मात्र नभएर घरमा पनि झुठो बोल्दैन्थ्यौं ।

कक्षा ४ मा धेरै विद्यार्थी भएकाले एक महिनापछि नै दुईवटा सेक्सन बनाइएको थियो । म ए सेक्सनमा परेको थिएँ । कक्षा कोठा नपुगेकाले हाम्रो पढाइ बिहान र दिउँसो गरेर हुन्थ्यो । एक हप्ता एउटा सेक्सनको विहान अर्कोको दिउँसो अनि त्यसलाई अदलबदल गरिन्थ्यो ।

एक पटक हाम्रो कक्षा १ बजेदेखि शुरु हुने भएको थियो । ड्वाङपुरबाट राजु श्रेष्ठ लहरु(सानो गोरु गाडा जसमा स्थानीय धनीमानी बसेर यात्रा गर्दथे) चढेर स्कुल आउँदथे । उनी दशै बजे आइपुगे छन् । म, जगदिश , उत्सव मिलेर १ बजेसम्म गुच्चा खेल्यौं । अनि घण्टि लागेपछि दौडेर कक्षा कोठमा गयौं । पहिलो घण्टी उप्रेती सरको थियो । उप्रती सर कोठामा प्रवेश गर्ने बित्तिक्कै हामीले गुच्चा खेलेको कुरा सिर्जना शाहले चुकली लगाइ दिइ हालिन् । त्यो बेला केटीहरुले केटाका विरुद्ध चुकुली लगाउने गर्दथे । उप्रेती सरले हातमा भएको लट्ठीले जगदिश र उत्सवलाई दुई दुई लट्ठीले साँप्रा सठ्याउनु भयो । अब मेरो पालो आयो ।

बढो नम्र भाषमा भन्नु भयो बाबु गुणराज तिमीलाई त यो लट्ठीले पुग्दैन । बाहिरबाट अलि मोटो लट्ठी ल्याउ त ।
हामी त गुरुको आदेश इमान्दारीका साथ शिरोधार गर्ने चेला पर्‍यौं । म बाहिर गएर मोटो बेसर्माको हाँगो भाँचे ल्याएँ । सानो ल्यायो भने फेरि ठूलो ल्याउन भन्नु हुन्थ्यो । त्यसैले मैले पहिला नै ठूलो ल्याएको थिएँ । उप्रती सरले ल बाबु सिधा उभियौ त !

म उहाँको आदेशलाई मान्दै उभिएँ । अनि उहाँले मेरा दुवै खुट्टाका पिडौंलामा दुई स्वाँठ लगाउनु भयो । लट्ठी भाँचियो । भाँचिएको लट्ठीको एउटा छेस्को पिडौँलामा बिज्यो । मेरा आँखाबाट आँशु आयो । मनमनै सिर्जनासँग खुबै रिस उठ्यो । तर के गर्ने गल्ति आफ्‌नै थियो । स्कूल सकिएपछि दौडेर गुच्चा लुकाएको ठाउँमा गएँ । गनेको १ सय ३ वटा गुच्चा रहेछ । त्यो बेलामा ५ पैसामा एउटा गुच्चा आउँथ्यो । ती सबै २ रुपियाँमा बेचिदिएँ । जगदिश र उत्सव मेरा मिल्ने साथी थिए । उनीहरुसँग मिलेर मिठाइ खाइयो स्याङ्जाली बाजेको दोकानमा गएर । त्यस दिनदेखि मैले कहिल्यै गुच्चा खेलिन ।

हाम्रो घरको आर्थिक अवस्था ज्यादै नै कमजोर थियो । म पढ्नमा राम्रो नभएको भए टीकापुर आवासीय माध्यमिक विद्यालयमा भर्ना हुन सक्दैन्थें । आमाबुबाले एउटा छाप्रोमा चियाको दोकान राख्नु भएको थियो । त्यहाँको कमाइले मुमा(आमाको आमा), आमा, बुबा, कान्छा बुबा, दुई जना दाई, म, भाई र ३ जना बहिनीको पेट पाल्नु पर्दथ्यो । छाक टार्न धौ धौ हुन्थ्यो । त्यसैले मैले क, ख पढ्न सिक्ने प्रवीण अर्याल, संगिता थापा, गोपाल पुन, शशी अर्याललाई दिनको १ घण्टा पढाउने गरेको थिएँ । एक जनालाई पढाए बापत १० रुपियाँ पाउँथे । यसरी मेरो एक महिनाको कमाइ चालिस रुपियाँ हुन्थ्यो, त्यसले म, भाई र दुईवटी बहिनी शुल्क तिरेर पनि बच्दथ्यो ।

मंसीरमा हाम्रो वार्षिक परीक्षा हुन्थ्यो । परिणाम आयो म पहिला भएँ । बोर्डिङ स्कूलमा पहिलो हुनु सानो कुरा होइन । हामी ४ कक्षाबाट ८० जना कक्षा ५ मा गएका थियौंं । कक्षा ५ मा पनि हामीलाई बस्न पुग्ने बेञ्च पुगेन । हामी एउटा बेञ्चमा ५देखि ६ जनासम्म बस्दथ्यौं । कक्षा ५ हामीलाई नेपाली रेग्मी सरले नै पढाउनु भयो । गणित पढाउन उदयसिंह सुनार बम्बैबाट पढेर आउनु भएको थियो । भाषागत समस्या भए पनि राम्रो पढाउनु हुन्थ्यो । अंग्रेजी पढाउन मानसिंह रावल पनि बम्बैमा नै पढेर आउनु भएको थियो । उहाँ असाध्यै हसिलो हुनुहुन्थ्यो । सामाजिक बलबहादुर रावल सर जो टीकापुर आवासीय माध्यमिक विद्यालयको संस्थापक प्रधानाध्यपक हुनुहुन्थ्यो, उहाँले पढाउनु हुन्थ्यो । उहाँसँग राम्रो जानकारी थियो । उहाले बेलाबेलामा हाजिरी जवाफ गराउनु हुन्थ्यो । विज्ञान ऋषिकेश सरले नै पढाउनु भयो । पूर्व व्यावसायिक शिक्षा अमना विश्वकर्मा मेडमले पढाउनु भयो ।

त्यस वर्ष अरु दुई जना शिक्षक हाम्रो स्कूलमा नयाँ आउनु भएको थियो, रत्नप्रसाद सञ्ज्याल र कुलराज पन्थी । रत्नप्रसाद सञ्ज्याल कालीकोटबाट र कुराज पन्थी लम्जुङ धमिलीकुवा राइनासबाट आउनु भएको थियो । मेरी आमालाई बुबाले गाली गर्दा राइनासे भन्नु हुन्थ्यो । त्यसैले राइनास भन्ने ठाउँको नाम याद थियो । पहिलो दिन पन्थी सर कक्षामा प्रवेश गर्नु भयो र आफ्‌नो परिचय दिँदै नाम र ठेगाना ब्ल्याबोर्डमा लेख्नु भएको थियो । देब्रे हातले असाध्यै राम्रा अक्षर लेख्नु हुन्थ्यो । उहाँले आफ्‌नो परिचय बोर्ड लेखिरहँदा कक्षा कोठामा हल्ला भयो । अनि उहाँ पछाडि फर्किएर चकको टुक्रा हल्ला भएतिर फ्याँक्दै ए तोरी लाहुरे भन्नु भयो । उहाँले तोरी लाहुने भन्दा झनै हाँसो उठ्यो । कालो वर्णको पन्थी सर झनै रिसाउनु भयो । सरले थाहा नपाउने गरी उहाँको नाम हामीले तोरी लाहुरे सर राखेका थियौं ।

त्यसै वर्ष पञ्चायत विरुद्ध आन्दोलन गरेकाले राजाले जनमत संग्रह घोषणा गरेका थिए । त्यसको प्रभाव हाम्रो स्कूलमा पनि परेको थियो । हेमराज भट्टराई, नयनसिंह बमलगायतका कक्षा १० का दाईहरुले स्कूलमा वर्गिस सरका विरुद्ध के कुरा लिएर हो नारा जुलुस गर्ने भनेका रहेछन् । त्यो दिन स्कूलसम्म जुलुस लिएर जाने योजना रहेछ । मलाई खासै थाहा थिएन । वर्गीस सर बजारबाट आइ राख्नु भएको थियो । मेरो घर अगाडि आएर ए गुररास के गर्दछौ भन्नु भयो । म खाना खादै थिएँ । उहाँले ल खाउ म बसिराख्छु भन्नु भयो । मलाई स्वभावैले अपप्ठ्यारो लाग्ने नै भयो । त्यसैले छिटो छिटो खाएँ । अनि सरसँगै स्कूल गएँ । उहाँ बाटोमा केही बोल्नु भएन । मलाई अचम्म लाग्यो हेडसरले मलाई पर्खेर नै किन लैजानु भयो भन्नेमा ।

वर्गिस सरको स्कूलमा त उच्चसम्मन नै थियो । उहाँलाई बजारमा पनि निकै सम्मानका साथ हेर्दथे । बजार हाम्रा बुबाहरु चरोट ताने बसिरराखेका छन् भने पनि वर्गिस सरलाई टाढाबाट देख्ने बित्तिक्कै चुरोटको आगो निभाउँदथे । उहाँले जो कोहीलाई चुरोट खाएको देखेमा गाली गर्नु हुन्थ्यो ।

एक पटक खड्बहादुर सिंह जो पूर्वमन्त्री, गाउँ फर्क राष्ट्रिय अभियानका अध्यक्ष पनि हुनु भएको थिए, साथै टीकापुर विकास समितिका आजीवन अध्यक्ष भैराख्नु भयो, उहाँको २०४४ सालमा आफैले चलाएको गाडी दुर्घटनामा पनि मृत्यु भएको थियो । एक दिन उनी चुरोट तान्दै स्कूल भित्र छिर्नु भएछ । वर्गीस सरले देखे पछि तपाईँ कम्पाउण्ड बाहिर गएर चुरोट सकेर मात्र स्कूलमा आउनु होला भनि पठाएको घटना हामीलाई सुनाइएको थियो । पूर्वमन्त्री टीकापुर टाउन प्लानिङका मुख्य अभियान्ता र स्कूलका संरक्षकलाई चुरोट खान नदिने हेडसरको थोमस वर्गीस भनिन्थ्यो ।

त्यस्तो कडा हेडसरले मलाई सँगै लिएर स्कूल जानु भयो । हाम्रो नियमित कक्षा शुरु भयो । हाम्रो कक्षाका केही साथीहरु आएका थिएनन् । मलाई सम्झना भए अनुसार सीता भट्टराई, जगदीश पण्डित, सावित्रा पण्डित र राजेन्द्र पोख्रेल थिएनन् । केही समयपछि ५०—६० जनाको जुलुस बजारतिरबाट आयो । हेडसर आएर हामीलाई तिमीहरुका दाजुदिदीले गरेको काम हेर्न बाहिर आयो भन्नु भयो । हामी बारिह गेटसम्म पुग्यौं । गेटमा बाँसको गरालो लाएको थियो । खालियो । अनि हेडसरले पढ्न चाहानेहरु भित्र आयो भनेर ठूलो आवाजमा भने । ५—६ जना बाहेक सबै भित्र ह्वार्रर भित्र पसिहाले । मलाई अहिले सम्झना भएसम्म हेमराज भट्टराई, सरद केसी, नैनबहादुर बम, कमला पोख्रेल थिए । हेमराज भट्टराईलाई कृष्णप्रसाद भट्टराई सरले कपालमा समातेर भित्र तान्नु भयो । त्यपछि त्यो विरोध कार्यक्रम लगभग समापन भयो ।

२०३६ सालको आन्दोलनका कारण पञ्चायतले सबै स्कूल कलेजहरुमा स्ववियुको अधिकार दिएको थियो । हाम्रो स्कूलमा कक्षा ५ देखि १०सम्म एकजना स्ववियु सदस्य कक्षाबाट छान्ने र ५ जना पदाधिकारी निर्वाचन गर्ने नीति बनेछ । म कक्षा ५ बाट निर्विरोध स्ववियु सदस्यमा निर्वाचित भएँ । पदाधिकारीमा पञ्च र कम्युनिस्टको छुट्टा छुट्टै प्यानल बनेको रहेछ । कम्युनिस्टबाट नैनबहादुर बम र पञ्चका तर्फबाट महेशबिक्रम शाह अध्यक्षका उमेदवार थिए । हामीले जोड गरेर नै नैनबहादुर बमको प्यानेललाई जितायौं ।

शुक्रबारको दिन थियो । मलाई मिति ठ्याक्कै याद भएन । नैनबहादुर बम, हेमराज भट्टराई, कृष्णप्रसाद सर। ऋषिकेश सरहरुले हामीलाई अहिले अस्पतालमा लिएर जानु भयो । हामी ३०—४० जना जति थियौं । के के कुरा गर्नु भयो थाहा भएन । मलाई सचिव बनाइए छ । म मुख्य इकाइ समिति टीआमाविको सचिव भएछु ।बहुदल निर्दलको समय थियो । मेरो माइला दाई काँग्रेस भन्दै हिड्नु हुन्थ्यो । मलाई जिस्काएर तँ के होस् ? म त काँग्रेसको नेता भएँ भन्नु भयो । मैले पनि म कम्युनिस्टको नेता भएँ भनिदिएँ ।

दाइले बुबालाई कुरा लगाइ दिनु भएछ । घरमा जाँदा त बाउ बुढा बम भएर बसेका । देख्ने बित्तिक्कै तँलाई बच्चे मुर्दार त कम्युनिस्टको नेता भइस् । यसले त हाम्रो जात फाल्यो, धर्म फाल्यो । कम्युनिस्ट भनेका जात मान्दैनन्, आमाबाबु मान्दैनन्, धर्म मान्दैनन्, भाईबहिनी नातापाता केही मान्दैनन् । तँलाई असति !

मलाइृ बुबाले गाली गरेकोमा चित्त दुखेन । मैले त नहुने काम गरेछु भन्नेमा पछुतो लाग्यो । भोलिपल्ट स्कूल जाँदा सीतासँग भेट भयो । मैले सीतालाई भने ए सीता मेरो नाम कम्युनिस्टबाट हटाइ दिन भनिदेउ न हेमराज दाईलाई भनेर । मलाई बुबाले गाली गर्नु भयो । अनि कम्युनिस्ट भनेका त नराम्रा पो हुँदो रहेछन् भने ।

सीताले हेमराज दाई भनिछन् । हेमराज दाईले स्कुल जाने बाटोमा नै बेस्सरी झपारे, तैंले संगठन छाड्छु भनिस् भने तेरा खुट्टा भाँचिदिन्छु । अब भएन फर्साद, संगठन नछाडौं बाउले मार्ने छाडौं हेमराज दाईले खुट्टा भाँच्ने । त्यसको केही दिनपछि बहुदल, निर्दलको परिणाम घोषणा भयो । निर्दलले जित्यो । तर राजनैतिक सर्गर्मी कायमै थियो ।

एक दिन हाफ छुट्टीको समयमा जेम्स दाईको दोकानमा कलम किन्न गएको थिएँ । कमला दिदीले म फस्ट भएको उपलक्ष्यमा चकलेट दिनु भयो । त्यसै समयमा घण्टि लाग्यो । मैले चकलेटको खोस्टो भईमा फालें र चकलेट मुखमा हालेर दौडिएँ । त्यही समयमा हेडसरले ए ए गुररास तिमी रुक भन्नु भयो । म रोकिएँ । नजिकै आएर एउटा हातले मेरो कान समात्नु र अर्को हातले बिस्तारै खुट्टामा पिट्नु भयो । तिमी नम्बर वान बदमास चकलेटको र्‍यापिङ ग्राउण्डमा फाल्ने, उठाइ हाल । मैले हतार हतार चकलेटको खोस्टा टिपेर डस्टविनमा फालें ।

मेरो ठूलदाई वर्षाको छुट्टीमा नारायणगढ जानु भएको थियो । फर्किदाँ मेक्सिम गोर्कीको आमा, निकोलाइ आस्त्रोभस्कीको अग्नि दिक्षा, जिन जिङ्गमाई द सङ्ग अफ योङ्ग ल्याउनु भएको थियो । मैले यिनी सबै किताव लुकी लुकी पढेर सकेको थिएँ । त्यसपछि थाहा भयो कि कम्युनिस्ट कस्ता हुँदा रहेछन् भन्ने । त्यो समयदेखि अहिलेसम्म म साम्यवादप्रति आकर्षित भई राखेको छु ।

यसरी टीकापुर आवासीय माध्यमिक विद्यालयमा लगातार ७ वर्ष पढें । मैले अघि नै भने मेरो घरको आर्थिक अवस्था निकै नाजुक थियो । आमा प्राय विरामी हुनुहुन्थ्यो । बुबालाई पनि पेटको रोगले सताएको थियो । कक्षा ६ मा पढ्दा विकास समितिले हाम्रै स्कूलको पछाडि राजीपुर जाने बाटोमा वृक्षारोपन गरिराखेको थियो । विरुवा रोप्न खाल्डो खन्नेलाई दिनको ८ रुपियाँ ५० पैसा दिने गरेको रहेछ । म विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खन्नु पर्दथ्यो । यसरी खन्दा तातो पानीले खुट्टाको पैतला खाएर बेहाल भएको थियो । त्यही क्रममा टीकापुर विकास समितिका मुख्य प्रशासक मीनबहादुर रावलले मलाई उहाँको निवासमा बोलाउनु भयो । उहाँले छोरा विकास र छोरी धरतीलाई ट्युसन पढाउन भन्नु भयो । मैले मजदूरीमा काम गरेको मन परेको रहेनछ । कक्षा ५ मा पढ्दा नै उहाँसँग मेरो परिचय भएको थियो ।

हामी कक्षा ६ मा पढ्दा मात्र अहिलेको अस्पतालमा सरेका थियौं । सर्दाखेरी हामीले आफ्‌नो बेञ्च र डेस्क आफै लिएर गयौं । थोमस सरको परिवारले नै त्यसै वर्ष विद्यालय छाड्यो र रत्नप्रसाद सञ्ज्याल सर हेडसर हुनु भयो । भर्खरै वर्गिस सरले छाडेर गएपछि केही समय उहाँलाई विद्यालय सञ्चालन गर्न निकै अप्ठ्यारो भयो । तर पछि विद्यालयलाई लयमा नै ल्याउनु भयो । विद्यालयको व्यानर लेख्ने, चित्र बनाउने काममा मलाई स्कूलले लगाउँदथ्यो । मैले कुची र रंगसँग खेल्न त्यही स्कूलमा सिकें आफैले । कक्षा ५ मा पढ्दा ५० रुपियाँको तमसुक नाटकको कुमारको पात्र भएर खेलें । कक्षा ८ मा मुनामदनमा आमाको भूमिका खेलें । जसमा मैले दोस्रो परस्कार पाएको थिएँ । कक्षा ९ चौबाटो र कक्षा १० मा पर्खाल भित्र खेलेको थिएँ । म विद्यालयको वार्षिक उत्सवमा नाच्ने र गाउने पनि गर्दथें । हामी कक्षामा ८ मा पढ्दा जुनियर रेडक्रस सर्कलको स्थापना हाम्रो स्कूलमा भएको थियो । २०४० सालको बाडीका समयमा हाम्रो सर्कलले गरेको सेवालाई लिएर जिल्ला रेडक्रसले उत्कृष्ट सर्कल घोषणा गरेको थियो ।

मीनबहादुर अंकलको माध्यमबाट मेरो सम्पर्क खडगबहादुर सिंहसँग भयो । उहाँले मलाई असाध्यै माया गर्न थाल्नु भयो । आफ्‌नो गाडीमा मलाई लिएर पनि हिड्नु हुन्थ्यो । कक्षा ९ मा पढ्दा मेरो दाहिने खुट्टाको समस्या आउँदा लखनउ उपचारका लागि लिएर जानु भयो । डक्टर गोयलसँग उहाँको राम्रो रहेछ । मीनबहादुर अंकलले डक्टर गोयलको क्लिनिकमा लैजानु भयो । उनले चेक गरेर औषधि दिए । तर सञ्चो भएन ।

कक्षा १० पढ्दा जिल्लास्तरिय निवन्ध प्रतियोगिमा म प्रथम भएको थिएँ । मलाई प्रथम पुरस्कार स्वरुप ३ सय रुपियाँ पुरस्कार दिएको थियो । उक्त पैसाले मैले आमालाई चिनियाँ धोती, सबै भाइबहिनीलाई एकएक वटा चाइनिज कलम किनेको थिएँ । तर भारतको पलियामा पुलिसले समातेर पैसा माग्न थालेको थियो । हेमराज अंकल(हेमराज गिरी) र म गौरीफन्टाबाट बस चढेर पलियामा झरेका थियौं । उहाँ व्यापार गर्नु हुन्थ्यो । केही समयको बहस पछि पुलिसले हामीलाई छाडिदिएको थियो ।

मलाई सबै सरहरुले मन पराउनु हुन्थ्यो । पन्थी सरले देख्यो कि पढ्न जा भन्नु हुन्थ्यो । उहाँले हामी कक्षा ९ र १० मा कृषि पढाउनु भयो । कक्षा १० मा उहाँले केशरमान, सुरत बिष्ट, तीर्थ बोहरालाई अंग्रेजी ट्युसन पढाउनु हुन्थ्यो । कहिले काँहि हामीलाई अंग्रेजी पढाउन आउनु हुन्थ्यो । उहाँको अंग्रेजी पढाउने तरिका अचम्मको थियो । अहिले पनि उहाँले ओलेम्पिक गेम इन म्युनिख भन्ने पाठ पढाएको याद छ । टी एच इ द एच, यु जी ई एस टी ए डी आई यु एम द ह्युज स्टेडियम, विशाल रंगशाला डब्ल्यु ए एस वाज, एफ आई एल एल ई डी फिल्ड, भरिएको थियो । उहाँले यसरी पढाउँदा हिज्जे, उच्चारण र अर्थ एकै चोटी याद हुन्थ्यो । कक्षा १० शेरबहादुर सरले विज्ञान पढाउनु भयो । जगदिश, तीर्थ र म तेस्रो बेञ्चमा बस्दथ्यौं । शेरबहादुर सर कक्षामा प्रवेश गर्दा ढोकाबाटै थाप्दे गुण्राज थाप्दे भन्नु हुन्थ्यो । तीर्थेले हल्ला गर्ने बुढाले मेरो टाउको लट्ठिले ट्वाङ पार्ने । काने गधा बदमास थियो । तर पनि शेरबहादुर सरले मलाई माया नै गर्नु हुन्थ्यो । उहाँले मलाई गुणराज पिजडा भित्रको सुगा उड्दा त्यसको तौलमा फरक पर्छ कि पर्दैन भनेर सोध्नु हुन्थ्यो । सञ्ज्याल सरले अनिवार्य र ऐच्छिक गणित पढाउनु हुन्थ्यो । उहाँसँगका धेरै संस्मरण छन् । तर एउटा घटना मलाई खुवै याद आउँछ ।

हामी भर्खरै कक्षा ९ मा पुगेका थियौं । कक्षा ९को रेखागणितको शुरुमा नै केही स्वयं सिद्ध तथ्यहरु थिए । जस्तै कोण, भुजा, कोण र भुजा, कोण, भुजा । उहाँले यो स्वयंसिद्ध तथ्य कण्ठ गरेर आउन भन्नु भयो । भोलिपल्ट बाहिर घाम तपाउन लैजानु भयो र स्वयंसिद्ध तथ्य सोध्न थाल्नु भयो । कसैले पनि पढेर आएको थिएन । नृपलाई सोध्नु भयो । उसले आउँदैन सर भयो । अब आयो पालो मेरो, मैले पनि पढेको थिएन । मतिर हेरेर हाँस्नु भयो तिमीले पनि पढेका छैनौं । मैले स्वीकृतिमा टाउको हल्लाएँ । अब बुढाले भ्याए भन्ने लागेको थियो । एउटा आँखा सानो बनाएर मुसुक्क हास्दै भन्नु भयो, भोलि सबैले पढेर आउनु नत्र कान हम्माएर यो कम्पाउण्ड घुमाउ न्या हुँ । उहाँको कुरा सुनेर हामी सबै हाँस्यौं । हामी किन हाँस्यौं भन्ने कुरा बुढाले बुझ्‌नु भयो । उहाँ पनि हाँस्नु भयो कान हम्माएर !

खड्गबहादुर सिंहको विशेष पहल र सक्रियतामा काठमाडौंको कुनै चर्चित स्कूल मलाई लाग्छ बुढानीलकण्ठको नमूनामा हामीले विद्यलाय शिक्षा पूरा गरेपछि मात्र पुरानै ठाउँमा नयाँ बिल्डिङ तयार भएको हो । राजा वीरेन्द्रले उक्त बिल्डिङको उद्घाटन गरेकाले उक्त विद्यालयको नाम वीरेन्द्र विद्यामन्दिर रहन गएको हो ।

मेरो पहिलो प्रेम र जीवन संगिनी उर्मिला, भाई शंकर, छोरा अंकित, बहिनी इन्दिरा, ईश्वरी, सरस्वती, छोरीहरु गरिमा, रञ्जु, गिरिष्मा, गोमा, मोनिका, मोनाली र मनिफाले त्यसै विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका हुन् । त्यसैले उक्त विद्यालय मेरो मानसपटलमा रहिरन्छ नै साथै उक्त विद्यालयप्रति मेरो लगाव रहेको छ । मलाई अहिले पनि लाग्छ म त्यो विद्यालयमा नपढेको भए सायद कम्युनिस्ट हुँदैन्थें । त्यस विद्यालयमा पढेका मैले दाई दिदी भन्ने धेरै सम्मानित व्यक्ति हुनुहुन्छ । त्यसमा पनि प्रशान्त अर्याल अहिलेसम्म साथी भैराखेको छ । साथीहरु सयौं भए । तर पनि सुरत बिष्ट, जंग बम, जयराज नेपाल, तीर्थ बोहरा, सीता भट्टराई, राधा राई जानकी गिरी, सीता खतिवडा, दाईहरुमा हेमन्त रावल, सुरत रावल, हिक्मत थापाहरुसँग आत्मियता भैराख्यो । प्रशान्त र म सडक विभागको बिग्रेर बसेको ट्रली भित्र लुकेर घण्टौं उपन्यास, कविता, निबन्ध पालै पालो पढ्दथ्यौं । बढि साथीहरु मसँग सिक्नका लागि भए । केशरमानको बुबा, जानकी गिरीको बुबा, प्रशान्तको बुबाआमा, सुरत बिस्टको बुबाआमा, देवीप्रसाद न्यौपानले मलाई स्नेह गर्नु हुन्थ्यो । मैले त्यही लेख्न सिकें, पेन्टिङ्ग गर्न सिकें, नाच्न, गाउन, अभिनय गर्न सिके । सबैभन्दा ठूलो कुरा मैले अध्ययन गर्न सिकें । त्यसैले उक्त विद्यालयप्रति म आभारी छु । ंसन्दर्भ टीकापुर आवासीय माध्यमिक विद्यालय (वीरेन्द्र विद्यामन्दिरको स्वर्ण महोत्सव)

प्रतिक्रिया